“सिरानेमाथि ओलीको फोटो राख्न मन थियो, कसले देला बाबु !”-निर्मल भट्टराई

                       लेखक : निर्मल भट्टराई  

केही समय अघि तमोर नदीको गढतीरबाट म उकालो लाग्दै थिएँ । सालका पात झरेर उकालो बाटो पुरै ढाकिएको थियो । एकदशक अघिसम्म दोहोरी लत्ता यात्रु पाइने त्यो बाटो आज सुनसान छ । नेकपा(एमाले)को नौ महिने शासनकालमा शुरू भएको ‘आफ्नो गाउँ आफै बनाऔं’को बजेटको कारण माथि डाँडाबाट मोटरबाटो बनेपछि त्यो बाटो आक्कलझुक्कल मात्र मानिस हिड्दा रहेछन् । आफु तन्नेरी हुँदा जिल्ला सदरमुकाम जाँदा भरिया र अधबैंसे यात्रुलाई उछिनेर बुर्कुसी मारेको झल्झली सम्झदै स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै उकालो चढें म ।
तन्नेरी हुँदा त्यो नाके उकालो हिड्दाका अनेकन् घटनाहरु छन् । तर अड्चालीस सालको एउटा घटना चाहिँ मेरो दिमागको वल्लो छेउदेखि पल्लो छेउसम्म बारम्बार कुदिरह्यो । म अखिलको राजनीतिमै भएको बेला बहुदल आएलगत्तै अड्चालीस सालको संसदीय चुनावमा तेह्रथुमको चुनाबमा खटिनु पर्‍यो । हामी चुनावी अभियानको सिलसिलामा तेह्रथुमको आठराईतर्फ जादैंथियौं । कोया खोलापारिको नाके उकालो बाटोको थकान मेट्न घुमाउने चौतारोमा बस्यौं ।
त्यतिबेला हामी बाटो हिड्दा खुब वैचारिक बहस गर्थ्यौं । माओ र पार्टीको लाइन नौलो जनवादको सबै कोणबाट छलफल गरिन्थ्यो । दिनमा करिब दुई दर्जन पटक माओको नाम नलिइ ‘झापाली’हरूको दिनचर्या वित्तैनथ्यो । यतिसम्म कि चुरोट नखान आग्रह गर्दा चुरोटका अम्मली कमरेडहरू ‘माओले पनि चुरोट खानुहुन्थ्यो’भन्थे ! जननेता मदन भण्डारीलाई धन्यवाद दिनुपर्छ, वहाँले जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर हामी सबैलाई सजिलो बनाइदिनुभयो । विगतमा जस्तो पटकपटक माओलाई सम्झनुपर्ने सकसबाट मुक्त गराइदिनु भयो । नेपाली क्रान्तिको मौलिक बाटो निर्माण भयो ।
चौतारामा बसेर हामी माओत्सेतुङ्गको महानताको बहस गरिरहेका थियौं । बहस चलिरहेको बखत एउटी पचास नाघेकी, नाकमा बढेमानको बुलाकी लगाएकी एक लिम्बुनी स्याउलाको भारी बोकेर त्यहीं आईपुगिन् ।
एक जना साथीले उटिपट्याङ्ग प्रश्न सोधिहाल्यो —“माओत्सेतुङ्गको घर कतातिर पर्छ आमै ?”
उनले एकछिन सोचिन् र भनिन् —“ख्वै मामाको घर त उ….माथि छ , मामासेतुङ्ग त मु चिन्दैन बाबु”
सबै गलल्ल हाँसे ।
“मुलाई जिस्क्याउछ कि क्याहो मोरा हो ।”—आमै रिसाउदै उकालो लागिन् ।
मेरो मन मष्तिष्कमा यस्तै अनेकन कुरा खेल्दै थिए । सुनसान त्यो घुमाउने चौतारोमा कुनैबेला शुक्रबारे बजारबाट फर्कनेहरु स्थानीय लिम्बुनीले बनाएको एक दुई डबका जाँड सड्क्याएर घर लाग्दथे । तर आधुनिकतासँगै त्यो चलन अब इतिहास भइसकेको छ । अहिले त परम्परागत जाँड भाँडमा गएको छ, ह्विस्की र वियरले बजार पिटेका छन् ।
“यता आइजो”—नजिकैको झाडीबाट आवाज आयो । म झस्कें ।
अलिकति स्याउला काखी च्यापेर एउटा बुढो झाडीबाट फुत्त बाहिर निस्क्यो ।
टाउकाको पछिल्लो भागमा अलिअलि सेतो कपाल, सिङ्गै पिपलको रुखको चित्र देखिने उनको अनुहारको चाउरी, चाउरीको खोल्साबाट बगिरहेको पसिनालाई म ट्वाल्ल हेरिरहें ।
स्याउला चौतारामा राखेर बुढा सोझै नजिकैको धारामा गए । अनुहारको पसिना पखाले र अन्जुली थापेर तनतन पानी पिए । घाँटीमा बेरेको घुर्मैलो गम्चाले अनुहार पुछे र खुइइय गर्दै चौतारामा आएर बसे । एक हुल बाख्रा उनको वरिपरि झुम्मिए ।
मलाई उनले टाउकोदेखि पैतालासम्म एकटक हेरिरहे । उनलाई दोहोरो सास फेर्न केही समय लाग्यो । मेरो डायरी नियाले ।
“हैना बाबुलाई त मैले चिनिन नि । बाबुको घर कता पर्‍यो ?”
“उ..पारीपट्टि”—मैले औंलाले देखाउदै भनें । “धेरै पहिले काठमाण्डौ गएको । दशबर्ष पछि यता फर्कदैछु । मा..थि पोक्लवाङ्गको भट्टराई हुँ ।”
“अनि बाबैको घर चाहिँ कता पर्‍यो नि ?”—मैले सोधें ।
“उ..त्यो झुप्रो हो मेरो, घर छैन पुरानो घर थियो, भुकम्पले भत्कायो । ”
अलि उता एउता स्याउले झुप्रो रहेछ ।
“कतिबर्ष पुग्नुभयो ?”
“९० सालको भुईंचालो म कोक्रोमा थिएँ रे बाबु । ख्वै कति बर्ष पुगें ?”
“घरमा को को हुनुहुन्छ ? बुढो मान्छे आफैं बाख्रा चराउन आउनु भएछ ।”
“म एक्लै छु बाबु, कोही छैनन् । बुढी बितेको दश बर्ष भयो । एउटा छोरो थियो । पैसा कमाउन कोरिया गएको, मेसिनमा बेरिएर मर्‍यो रे । लास पनि देख्न पाइन । बुहारी पल्ला गाउँको केटोसँग मधेशतिर घरजम गरेर बसेकी छ रे ।” बुढाका आँखा रसाए ।
म अरु जिज्ञाशा राख्न खोज्दै थिएँ तर बुढा बोलिरहे ।
मलाई बुढेसकालमा हेर्ने कोही छैन बाबु । मलाई त मन मुहान अधिकारीले हेरिरहेका छन् । उनको पार्टी एमालेले हेरेको छ । आफूलाई दालभात खान सानो टुक्रा खेत छ । नुन तेल मसला उनैले जुटाइ दिएका छन् । के पी ओलीले हाम्रो भत्ता बढाएर महिनाको चार हजार पुर्‍याएका छन् । उनको सरकार रहिरहेको भए अहिलेसम्म पाँच हजार पुग्थ्यो । तर के गर्नु,विरोधीहरू मिलेर उनैलाई हुत्याइ दिए । देउबा, प्रचण्ड र के रे के रे अँ माधव नेपालहरूले हामीजस्ता दुःखी गरिब जनताको सरकारलाई देखि सहेनन् ।”
उनी निरन्तर बोलिरहे । मैले एन्टोन चेखवको “दुःख” शीर्षकको कथा सम्झें । कसैलाई आफ्नो वेदना पोख्न नपाउँदाको मानिसको पीडा सम्झें । म सुनिरहें ।
पहिले पहिले म आफैं गाविस गएर भत्ता थाप्थें । अहिले म त्यति टाढा हिंडेर पुग्न सक्तिन । अहिले यहाँ एमाले पार्टीले जितेको छ । वडाका मान्छे मलाई घरमै पैसा पुर्‍याउन आउछन् । देउतै आएजस्तो लाग्छ मलाई । मेरो झुप्रोमा मन मुहान अधिकारीको फोटो र म बस्छौं, अरु कोही छैन । फोटोका मन मुहान अधिकारीले मलाई माया गर्छ, म उनलाई माया गर्छु । अहिले हाम्रो भत्ता चार हजार बनाउने ओलीको फोटो पनि मेरो सिरानेमाथि राख्ने मन छ, तर मलाई कसले दिन्छ र ?”
मैले थकाइ मारेको करिब एक घण्टा भइसकेको थियो । अझै ती बुढाको कुरा सुनिरहन मन थियो मलाई । पार्टीले जनतालाई गरेको सानो सेवाको गहिराइ अझै नाप्न मन थियो मलाई । तर समयले नेटो काटिसकेको थियो । घाम ओरालो लागिसकेका थिए । टाढा पुग्नुथियो ।
“नमस्कार है बा, म हिडें अब । टाढा पुग्नुछ ।”
बुढाले हात कमाउदै नमस्कार फर्काए ।
म निकै माथि पुगुन्ज्याल बुढाले मतिरै हेरिरहे ।
बुढाको नजर म तिर होइन, मेरो कालो डायरीमा टाँसिएको रातो सूर्य चिन्हको स्टीकरतिर थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक