साउदी जेलमा परेका श्रीमान्को रिहाईका लागि रोल्पाकी मनिकाको ६ महिने काठमाडौं संघर्ष

काठमाडौं, चैत २५ । रोल्पा ठवाङ गाविस वडा नं. ५ किन मनिका बुढामगर मंसिर १८ देखि डेढ बर्षको छोरा सहित काठमाडौंमा भौतारिरहेकी छिन् । उनका श्रीमान् २८ बर्षिय दिलबहादुर घर्तीमगर १० महिनादेखि साउदी अरबमा सबारी दुर्घटना गराएको आरोपमा जेलजिवन बिताइरहेका छन् । उनी निर्दोस रहेको र मृतकका परिवारले ब्लड मनि मागेकाले उनको उद्धारका लागि उनी विभिन्न सरकारी कार्यालय, संघसंस्था र मेनापावर कार्यालय धाइरहेकी छिन् ।

गएको बर्ष माघ १८ गते उनका श्रीमान दिलबहादुर घर्तीमगर बैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगे ।

म्यानपावर कम्पनीले स्काभेटर चालकको काम दिने भन्दै लगेपनि उता लगेर ट्रक चलाउने काममा लगाएको थियो ।

दिलबहादुरसँग ट्रक चलाउने लाइसेन्स थिएन । गएको जेठ ३१ गते उनले चलाएको ट्रकमा एउटा कार ठोक्कियो र कारमा सवार भएका साउदी नागरिकको निधन भयो । त्यसैदिन देखि उनी थुनामा परे ।


अदालती प्रक्रियाका क्रममा मृतकका आफन्तले दिलबहादुरसँग २ लाख २५ हजार ब्लडमनी मागेका छन् । ब्लडमनीको अभावमा उनी साउदीको जेलमा कष्टकर जीवन बिताइरहेका छन् ।

दिलबहादुर पहिलोपटक साउदी अरब पुगेका भने होइनन् । त्यसअघि उनले साउदी अरबमै २८ महिना स्काभेटर चलाउने काम गरेर नेपाल फर्केका थिए । नेपालमा साँढे २ बर्ष बसेर फेरी उनी सोही काममा लागि अर्को कम्पनीबाट साउदी अरब पुगेका थिए तर कम्पनीले अर्को काममा लगाएको थियो ।

जेल राखेको छ महिनापछि साउदी अदालतले मृतकका परिवारले २ लाख २५ हजार साउदी रियाल ब्लडमनी मागेको र सो रकम बुझाए जेलमुक्त हुने फैसला गरेको थियो ।

श्रीमान साउदी अरबमा यसरी फसेपछि उनको उद्धारका लागि पहल गर्न मनिका गत मंसिरदेखि ३ कक्षामा पढ्दै गरेकी छोरी दिदीको जिम्मा लगाएर साँढे २ बर्षका छोरालाई काखी च्यापेर उनी काठमाडौं आएकी थिइन् ।

रोल्पामा उनी सामान्य खेतीपातीका साथै सिलाइ कटाईको काममा लागेकी थिइन् । मंसिरदेखि उनी काठमाडौमा म्यानपावर कम्पनी र सरकालाई उद्धारका लागि हारगुहार गरिरहेकी छिन् ।

म्यानपावर कम्पनीले भन्यो–रोल्पाली नेतालाई भन्नु

उनी शुरुमा दिलबहादुरलाई साउदी अरब लैजाने म्यानपावर कम्पनीमा पुगिन । म्यानपावकार मान्छेले शुरुमा उनलाई अदालतले फैसला गरेको प्रमाण ल्याउन भन्दै फिर्ता पठाउने ग¥यो ।

पछि दिलबहादुरले प्रमाणको फोटोकपी पठाइदिए तर म्यानपावरले ‘हाम्रो पहुँच छैन, हामीले सक्दैनौ । तपाई रोल्पाको मान्छे, रोल्पातिर धेरै नेता छन् उनीहरुलाई गएर भन्नु’ भनेर उनका लागि म्यानपावर कम्पनीको ढोका बन्द गरिदियो ।

त्यसपछि उनी नेता, सांसद मन्त्रीको दैलो धाउन थालिन् । तर कसैले पनि सहयोग गर्लान जस्तो लागेन । त्यसपछि उनले सभामुख ओनसरी घर्तीलाई भेटिन् । सभामुख घर्तीले साउदी दुताबासमा फोन गर्दा दुताबासले आफूलाई थाहा नभएको बतायो ।


नुवाकोटको दिनेश आलेले भने दिलबहादुरलाई भेट्ने गर्थे । दुख सुखका कुरा गर्ने, र उनको अवस्थाको जानकारी घरसम्म पठाइदिने गर्थे ।

मनिकाले भनिन् – ‘६ महिनापछि मुद्दाको फैसला भएपछि दिलबहादुर काम गर्ने कम्पनीको मान्छे गएर नक्कली प्लेनको टिकट र पासपोर्ट देखाएर अब ३ दिनभित्र नेपाल पठाँउदैछौ, यो कागजमा सही गर भनेर सही गर्न लगाएछ ।’

त्यसै दिन उनले श्रीमती मनिकालाई फोन गरेर पर्सि घर आँउन लागेको खबर सुनाएका थिए । ३ दिन पछि उनी नेपाल आँउने त कता हो कता एकहप्तासम्म उनको फोन समेत आएन ।

अर्को जेलमा सरुवा गर्ने क्रममा दिलबहादुरले आफूलाई कम्पनीले फसाएको थाहा पाए । सडक दुर्घटनामा कम्पनीको कुनै जिम्मेवारी नभएको र त्यसको जिम्मेवारी आफूले लिने भन्दै अरबी भाषामा लेखिएको कागजमा सही गर्न लगाएको कुरा उनले पछि मात्र थाहा पाए ।

उनलाई फेरी अर्को जेल सारियो ।

मनिकाले फेरी सभामुखलाई गुहार गरिन् । सभामुख घर्तीले फेरी दुताबासका कर्मचारीलाई दिलबहादुरको अबस्था बुझ्न भनिन् ।

उनलाई फेरी पहिलेकै जेलमा ल्याएको अवस्थामा दुताबासका कर्मचारीले भेटे । उनले कम्पनीले फसाएको र २ लाख २५ हजार साउदी रियाल ब्लड मनी मागेकोले उद्धार गर्न आग्रह गरेका थिए ।

दुताबासले ट्राफिक रिर्पोट हेरेर मृतकका परिवारलाई भेटेर ब्लड मनि मिनाहा गर्न वा घटाउन आग्रह गरेको थियो । तर उनीहरुले मानेनन् ।

दुताबासले फेरी मुद्दा पुनरावलोकनका लागि अदालतमा पेस ग¥यो । मुद्दा पुनरावलोकन गरेको कागज मनिकाले कन्सुलर कार्यालयबाट प्राप्त गरेपछि उनले उक्त कागज लिएर सहयोगका लागि चिनेका मन्त्री, संसाद सबैको दैलोमा धाइन् । तर कसैले सहयोग गरेनन् ।

केही सीप नलागेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटिन् । नेपाल सरकारले उद्धार गर्न सक्छ वा सक्दैन निचोड दिनुप¥यो भन्दै उनी प्रधानमन्त्रीको दैलोमा पुगिन् ।

गत फागुनको दोश्रो साता मनिकाले प्रधानमन्त्रीलाई भेटिन । उनले ब्लड मनी सरकारले तिर्ने नगरेको बताँउदै ब्यक्तिले तिर्नुपर्ने रहेको बताए । उता मुद्दा फैसला पनि होस, यता ब्लडमनी पनि संकलन गर्दै गरौँ ।

मुद्दा फैसला हुनेबित्तिकै ब्लड मनि तिरेर दिलबहादुरलाई नेपाल फर्काउन सकिन्छ भनेका थिए । उनले दुताबासमा पनि अनलाइनबाट पनि कुरा गरे ।


प्रधानमन्त्रीको आश्वासन पछि पीडित परिवारले चैत ३ गत काठमाडौंमा पत्रकार सम्मेलन गरेर ब्लड मनीको लागि सहयोग गर्न आग्रह ग¥यो ।

दिलबहादुरको अवस्था बारेमा समाचार प्रकाशन भएपछि मलेसिया, साउदी अरब, कतार लगायतका देशबाट मनिकालाई फोन आउन थाल्यो । कतिपय स्थानमा संस्थागत रुपमा कतिपयले ब्यक्तिगत रुपमा सहयोग गर्ने बचन दिए ।

साउदी दुताबासले रोक्यो ब्लड मनी उठाउने काम

दिलबहादुरको उद्धारका लागि विभिन्न देशबाट ब्लडमनीका लागि आर्थिक सहयोग संकलनको काम भइरहेको बेला साउदी दुताबासले नै रोकिदिएको मनिकाले बताइन् ।

उनले भनिन्– ‘साउदी अरबमा रहेको नेपाल मगर संघले ब्लड मनी उठाउनका लागि साउदी अरबका कायम मुकायम राजदुत आनन्द प्रसाद शर्मालाई सोध्दा उनले दिलबहादुरले जानी जानी आफैले पुनरावेदन गरेको भन्दै ब्लडमनीका लागि पैसा नउठाउनु भनेर ब्लक गरेछन् ।’

साउदीमा उठेको पैसा पनि संघको सञ्जालभित्रै रहेको मनिकाले बताइन् । तर अन्य देशहरुमा भने ब्लडमनी उठाउने काम भइरहेको छ ।

गत मंसिर २६ गते दिलबहादुरलाई अर्को जेलमा राखिएको छ । त्यसपछि माघ २४ गतेसम्म उनी सम्पर्कबिहिन भएको उनले बताइन् । माघको अन्तिम साता अरबीहरुले लुकाएको फोनबाट उनले घरमा सम्पर्क गरेका थिए ।

दिलबहादुरले मनिकालाई बताएअनुसार २ सय भन्दा बढी कैदीलाई एकैठाँउमा राख्ने गरेको छ । दिनमा एकछाक मात्र खान दिने गरेको छ । जेल जमिनमुनी दुई तलाको रहेको छ । जेलको चिसोका कारण शरीर सुन्निने समस्या छ ।

यताबाट फोन गर्न मिल्दैन, अरबीहरुले लुकाएको फोनबाट मनिकासँग दिलबहादुरले कुरा गरेको १५ दिन भयो । अब फेरी कहिले फोन आँउछ र कुरा गर्न पाइन्छ त्यसको कुनै टुङ्गो छैन् ।

मनिका अहिले साँढे दुई बर्षको छोरालाई लिएर काठमाडौंको नयाँ बसपार्कको एक गेष्ट हाउसमा बसेकी छिन् । गेष्ट हाउस दिलबहादुरलाई बैदेशिक रोजगारीमा पठाउन सहयोग गर्ने उनकै छिमेकीको हो ।

कहिले अढाई बर्षको छोरालाई काखी च्यापेर त कहिले गेष्ट हाउस संचालक छिमेकी दिदीलाई हेर्न लगाएर उनी श्रीमान्को उद्धारका लागि सरकारी निकाय र संघसंस्थामा धाइरहेकी छिन् ।

२ लाख २५ हजार साउदी रियाल ब्लड मनी जुट्यो भने बिनाकसुर जेलमा परेका आफ्ना श्रीमान छुट्न सक्छन भन्ने उनको विश्वास छ । साउदी अरबमा नेपाल मगर संघले दिलबहादुरलाई उद्धारका लागि ब्लड मनी संकलन गरिरहेको बेला दुताबासका कर्मचारीले रोेकेकोमा उनलाई दुःख लागेको छ । झन् दुताबासले सहयोग गर्नुपर्नेमा किन रोक्यो भन्ने उनको प्रश्न छ ।

रोल्पाको जलजला एकता समाजले पनि उनको श्रीमान दिलबहादुरको रिहाइका लागि ‘दिल बहादुर उद्धार समिति’ भनेर शूरु गरेको छ ।

समितिले दिलबहादुरको उद्धारमा सहयोगका लागि मनिका बुढामगरको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. ११९००२६६१८१० मा रकम जम्मा गर्न आग्रह गरेको छ ।

अदालतमा पुनराबेदन मुद्दा प्रक्रिया चलिरहे पनि दिलबहादुरले ब्लडमनी बुझाएको दिन उनी जेलमुक्त हुने मनिकाले बताइन् । मृतकका आफन्तले ब्लड मनि घटाउलानकी भनेर पुनराबेदन हालिएको हो । तर अरु देशमा ब्लड मनी मिनाहाको ब्यवस्था भएपनि साउदीमा त्यो अवस्था नहुने कुरा आफूलाई साउदी अरबबाट फर्किएका रोल्पालीले सुनाएको उनले बताइन् ।

पैसा नतिरेसम्म यो केश आजिवन जन्मकैद जस्तो हुने भएको आफूले थाहा पाएको भन्दै उनले आफ्नो श्रीमानलाई स्वदेश फर्काइदिनका लागि उनले सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने