विमानस्थलबाटै मानव तस्करी

 

 

manab-taskariकाठमाडाैं, १६ मंसिर ।  पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए ।

तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, तर कर्मचारीले मानेनन् । परिवारसँग बिदा भएर विमानस्थल पुगेका उनी मध्यराति निराश भएर फर्किए । त्यसको दुई दिनपछि ५ मंसिरमा फेरि विमानस्थल पुगे । तर, यसपटक अचम्म भयो ।

एयरलाइन्सको काउन्टरमै अध्यागमनका कर्मचारी उनलाई स्वागत गर्न आइपुगे । केही प्रश्नै नसोधी उनको पासपोर्ट (पासपोर्ट नम्बर ०९४०२७७५) मा डिपार्चरको छाप लाग्यो । दुई दिनको बीचमा अध्यागमन कर्मचारीमा उनले चामत्कारिक परिवर्तन अनुभव गरे । त्यत्तिकै विमानस्थलका कर्मचारीमा त्यस्तो परिवर्तन आएको होइन, यसको पछाडि ७० हजार रुपैयाँले काम गरेको थियो । युएई जानैपर्ने काम भएकाले उनले ७० हजार रुपैयाँ घुस खुवाएर सेटिङ मिलाएका थिए । त्यही सेटिङले कर्मचारीमा त्यस्तो चामत्कारिक परिवर्तन ल्याएको हो ।

ट्राभल एजेन्सीमार्फत सेटिङ

विमानस्थलबाट फर्किएपछि बस्नेतले एयरपोर्ट कर्मचारीबाट पाएको अन्यायबारे आफन्तलाई सुनाए । उनका एक आफन्तको दुबईमा रहेका ट्राभल एजेन्सीका सञ्चालकसँग चिनजान थियो । सो ट्राभल एजेन्सीका सञ्चालकले कुनै चिन्ता लिनु नपर्ने बताए । त्यसका लागि ७० हजार रुपैयाँ लिए । गोंगबु बसपार्कमा रहेको एक ट्राभल एजेन्सीमा पठाए । ट्राभल एजेन्सीका सञ्चालकले कुनै समस्याविनै विमानस्थलबाट उडाइदिने आश्वासन दिए ।

ट्राभल एजेन्सी सञ्चालकको आश्वासनअनुसार बस्नेत ५ मंसिर दिउँसो १ बजे विमानस्थल पुगेका थिए । ३ बजे उडान थियो । विमानस्थलभित्र छिरेलगत्तै बोर्डिङ पास लिनुअघि उनले तिनै ट्राभल एजेन्सीका सञ्चालकलाई फोन गरे । फोन गरेको केही मिनेटमै अध्यागमनका कर्मचारी फ्लाई दुबईको काउन्टर अगाडि आइपुगे ।

माथि अध्यागमनको काउन्टरमा लगेर पासपोर्टमा छाप हानिदिए । भिजिट भिसामा विदेश जान चाहिने दुईतर्फी टिकट, एक हजार अमेरिकी डलर र होटेल बुकिङजस्ता आवश्यक कागजपत्रसमेत चेकजाँच गरेनन् । जब कि दुई दिनअघि तिनै कर्मचारीले सबै कागजपत्र हुँदा पनि जान दिएका थिएनन् । बस्नेतजस्तै दर्जनौँ व्यक्ति त्यसैगरी विमानस्थलबाट ‘सेटिङ’मा उड्ने गर्दछन् । त्यसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि जाने हुन्छन् । गत ५ मंसिरमा गोंगबुको त्यही ट्राभलले तीनजनालाई कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा विदेश उडाएको थियो ।

ट्राभल एजेन्सीको सेटिङ

दुबईमा नेपालीका दर्जनौँ ट्राभल एजेन्सी छन् । त्यहाँ ट्राभल एजेन्सी खोल्न निकै गाह्रो छ । तैपनि ट्राभल एजेन्सी बढ्नुको कारण टिकेटिङको बिजनेस होइन, मानव तस्करी हो । उनीहरूले उताबाट सबै कागजपत्र नेपालमा पठाइदिन्छन्, नेपालमा रहेका उनीहरूका साझेदार ट्राभल एजेन्सी सञ्चालकले सोही आधारमा अध्यागमनका कर्मचारीलाई सेटिङ मिलाएर मानव तस्करी गर्दै आएका छन् ।

राजधानीका दर्जनौँ ट्राभल एजेन्सीको मुख्य काम नै मानव तस्करी भएको विमानस्थलका अधिकारीहरू बताउँछन् । कर्मचारीहरूले सीधै घुस नलिने भएकाले ट्राभल एजेन्सीहरूको सेटिङमा उनीहरूले मानव तस्करी गर्दै आएका छन् । भिजिट भिसामा मानव तस्करी गर्ने दर्जनौँ समूह सक्रिय रहेको स्रोत बताउँछ । खाडी र मध्यपूर्वी देशहरूमा महिलाको समेत विमानस्थलबाटै तस्करी भइरहेको छ । आकर्षक जागिरको सपना बोकेर जानेहरू कतिपय अलपत्र पर्ने गरेका छन्, केही बेचिने गरेका छन् ।

विमानस्थलका कर्मचारी निगरानीमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव होमनाथ थपलिया पनि विमानस्थलमा केही कर्मचारीले सेटिङमा मानव तस्करी गरिरहेको सूचना आएपछि आफूले निगरानी सुरु गरेको बताउँछन् । ‘सेटिङ हुन्छ भन्ने सुनेपछि बिहीबार म आफैँ डेस्कमा बसेर हेरेँ,’ उनले भने, ‘हामीले अलि कडाइ सुरु गरेका छाैँ ।’ कानुनभन्दा पनि अनुहार हेरेर आफूहरूले निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘भिजिट भिसामा जान नपाइने होइन, तर हामीले अनुहार हेरेर नै निर्णय गर्नुपर्ने अवस्था छ,’ उनले भने । भूपाल बस्नेतलाई त्यसरी पैसा असुलिएको घटनाको छानबिन गर्ने थपलियाले बताए । अध्यागमन अधिकारीले हेर्दा राम्रो लवाइखवाई भएको व्यक्तिलाई भिजिट भिसामा जान दिने अरूलाई रोक्ने गर्दछन् । सेटिङमा जानेहरू भने सबैलाई पठाइने गरेको छ ।

स्रोतका अनुसार एकपटक फर्काइएकाको रेकर्ड अध्यागमनमा हुन्छ । तैपनि त्यो रेकर्ड नहेरी अध्यागमनका कर्मचारीले एकपटक फर्काइएकालाई पनि सेटिङमा विदेश पठाउने गरेका छन् । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले मानव तस्करीलगायत गलत गतिविधि रोक्न पटकपटक निर्देशन दिँदै आएको दाबी गरे ।

प्रहरी हटाएपछि बढ्यो मानव तस्करी

भिजिट भिसामा मानव तस्करी बढेपछि तीन वर्षअघि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेको कागजपत्र सुरुमा प्रहरीले चेकजाँच गर्र्ने प्रावधान लागू गरेको थियो । तर, गत वर्षदेखि प्रहरीलाई सो जिम्मेवारीबाट हटाइएको छ । ‘दुवै निकायलाई जिम्मेवारी दिएको भए यस्तो संस्थागत मानव तस्करी हुने थिएन,’ विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘दुवैतिर सेटिङ मिलाउन गाह्रो थियो, तर अहिले अध्यागमनमा घुस र मानव तस्करी भयावह भएको छ ।’ स्रोतका अनुसार अनुसन्धान विभागले गृह मन्त्रालयलाई दिएको प्रतिवेदनमा प्रतिव्यक्ति २० हजारदेखि एक लाखसम्म लेनदेन हुने र अध्यागमनका उच्च तहका कर्मचारीकै मिलेमतो रहेको उल्लेख छ । नवराज मैनालिले नयाँ पत्रिका दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल