विद्युत् ठगी : प्रत्येक कर्मचारीलाई सवा दुई करोडको मुद्दा

Money1काठमाण्डौ १९ फागुन । मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले बुझाएको प्रतिवेदनमा विद्युत् चोरी आरोपमा १५ व्यवसायीविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । ठगी र संगठित अपराध मुद्दामा साढे सात वर्ष कैद सजाय माग गरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइएको डिएसपी रवीन्द्र रेग्मीले बताए । ठगी मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुनेमा संगठित अपराध मुद्दामा ५० प्रतिशत थप सजाय हुन्छ ।
मिटर उल्टो घुमाएर ठगी गरेको आरोपमा मिटररिडर र सुपरभाइजर गरी प्राधिकरणका १५ कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । मिलेमतोमा विद्युत् चोरीको आरोप लागेका सात व्यवसायीसमेत पक्राउ परेका छन् । फरार आठ कर्मचारी र आठ व्यवसायीलाई समेत प्रतिवादी बनाएर प्रहरीले मुद्दा अघि बढाएको छ ।
प्रहरीले २३ कर्मचारी सबैको बिगो दाबी एउटै कायम गरेको छ । व्यवसायीलाई भने फरक–फरक बिगो दाबी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।
महिनामा लाखौैँ रुपैयाँको विद्युत् खपत गर्ने उद्योगहरूबाट कमिसन लिएर मिटररिडरहरूले मिटरको सुई उल्टो घुमाएर राज्यलाई ठगी गर्दै आएका थिए । कमिसन लिएर कर्मचारीले मिलेमतोमा वर्षाैँदेखि प्राधिकरणलाई करोडौैँ नोक्सान पु¥याउँदै आएका थिए । प्रहरीका अनुसार अनुसन्धानमा सयौैँ उद्योगबाट उनीहरूले मिटर घटाएर पैसा लिने गरेको खुलेको थियो ।
ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको र यसमा प्राधिकरण कर्मचारीको मिलेमतो रहेको सूचनाका आधारमा प्रहरीले एक महिनादेखि अनुसन्धान सुरु गरेको थियो । कर्मचारीहरूको पिछा गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । मिटर घटाउँदा–घटाउँदैकै भिडियोसमेत खिचेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अपराध महाशाखाले काठमाडौंमा मात्र अनुसन्धान गरेको छ ।
कर्मचारीकै मिलेमतोमा देशभरिकै ठूला उद्योगमा बिजुली चोरी भइरहेको प्रहरी स्रोत बताउँछ । नौ सय मेगावाट बिजुलीमध्ये २६ प्रतिशत अर्थात् दुई सय ४० मेगावाट चुहावट भइरहेको विद्युत् प्राधिकरणको तथ्यांक छ । चुहावट भएकोमध्ये करिब आधा बिजुली चोरी हुने गरेको छ । एक वर्षमा करिब सात अर्ब रुपैयाँबराबरको बिजुली चोरी हुने गरेको छ । धेरै विद्युत् खपत हुने उद्योगहरूमा कर्मचारीकै मिलेमतोमा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको हो । तर, केही महिनायता विद्युत् प्राधिकरणले विद्युत् चोरीविरुद्ध कारबाही तीव्र बनाएको छ ।
पक्राउ परेका कर्मचारी
महानगरीय अपराध महाशाखाले माघ पहिलो साता प्राधिकरणका कर्मचारीहरू सुमन श्रेष्ठ, टहलबहादुर कार्की, मनिज श्रेष्ठ, भगवान पाण्डे, सूर्यबहादुर थापा, ठाकुर महर्जन, प्रदीप शर्मा, श्याम बस्नेत, ओम ढुंगाना, दिलबहादुर साउद, अच्युत खड्का, महादेव प्रधान, सूर्यबहादुर कार्की, अन्नपूर्ण सापकोटा, पदमराज जोशीलाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यवसायीहरू तपन घोष, कुमार लामा, रमेश चुँडाल, बुद्धकुमार लामा, परवेज आलम र दिवाकर प्रधान पनि प्रहरीकै हिरासतमा छन् ।
फरार कर्मचारी
फरार रहेका प्राधिकरण कर्मचारीमा सुमनराज पाण्डे, महालक्ष्मी केसी, शेरबहादुर सिलवाल, दीपक अधिकारी, जितबहादुर न्यखुसी, हरिबोल ढकाल, बालकृष्ण श्रेष्ठ र टंकप्रसाद पराजुली छन् । ठगीमा उनीहरूको समेत संलग्नता देखिएको प्रतिवादी बनाएर मुद्दा अगाडि बढाएको प्रहरीले जनाएको छ । फरार रहेका व्यवसायीमा कौशलादेवी राठी, हरि भट्ट, मञ्जु भट्ट, सञ्जय अग्रवाल, झइन्द्रप्रसाद घिमिरे, रमेशकुमार लुनिया, मुरारी थापामगर र रामकृष्ण ढुंगेलविरुद्ध पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
बिजुली चोरी नियन्त्रणबाट १ अर्ब २५ करोड उठ्यो
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युत् चोरी नियन्त्रण अभियानबाट १ अर्ब २५ करोड रुपैयाँ उठाएको छ । चुहावट हुँदै आएको बिजुलीको बिलिङ गरेर चालू आवको बाँकी अवधिमा थप एक अर्ब २५ करोड उठ्ने देखिएको छ, यो सँगै चुहावट नियन्त्रणबाट मात्रै प्राधिकरणलाई २ अर्ब ५० करोड रुपैयाँ थप आम्दानी हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत आर्थिक वर्ष ०७२-७३को पुसमा ग्राहक तथा वितरणतर्फको चुहावट २०.३८ प्रतिशत रहेकोमा यस वर्ष ३.६३ प्रतिशतले घटेर १६.७५ प्रतिशतमा झरेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने