असार १५, झापाबजार – राष्ट्रिय राजनीति र आर्थिक-सामाजिक क्षेत्रमा मुलुककै अग्रणी सुदूरपूर्वी जिल्ला झापाका दुर्गम दक्षिणी गाउँ नीति-निर्माता र जनप्रतिनिधिको नजरमा पर्न सकेका छैनन् । भारतीय सीमाका यी गाउँमा उत्साहित भएर बुधबार मतदान गरेका मतदाताले गाउँ अधिकारसम्पन्न भएको र बजेट सोझै गाउँमै आएकाले अब चुनिएर आउने जनप्रतिनिधिले गाउँ विकसित र समृद्ध हुने अपेक्षा गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।
झापाका दक्षिणी गाउँमा थारू, चौधरी, मेचे, कोचे, सन्थाल, राजवंशी, मुसलमान, बाहुन, क्षत्री, राई, लिम्बूजस्ता लगभग नेपालका सबैजसो जातिसमुदाय अद्भुत मेलमिलापका साथ बसोबास गर्छन् । सामान्य उपचार वा शिक्षा-दीक्षाका लागि उनीहरू विर्तामोड, दमक वा भद्रपुर जानुपर्छ । राज्यका निकाय र जनप्रतिनिधिको नजर आफूकहाँ नपरेको भन्दै खिन्नता व्यक्त गर्छन् उनीहरू ।
बुधबार मतदानको दिन मतदानकेन्द्रका चियापसलमा धुर्रिएका सर्वसाधारणले राज्यसत्ताप्रति र नेताप्रति आक्रोश व्यक्त गरे । अहिलेको सदरमुकाम भद्रपुरभन्दा ५० किलोमिटर टाढा रहेको झापा जिल्लाको पुरानो सदरमुकाम झापाबजारका दुई-तीन चियापसलमा अन्नपूर्णकर्मी पुग्दा मतदाताको मनमा आक्रोश थियो तर मुखमा मुस्कान । सामाजिक सद्भाव र मेलमिलापमा अग्रणी यो गाउँमा सामान्य उपचारका लागि पनि एम्बुलेन्स वा गाडी खोजेर ३५ किलोमिटर टाढा विर्तामोड पुग्नुपर्छ ।
‘हामीलाई जनप्रतिनिधिले हेलाहोचो गरे,’ झापा गाउँपालिका-४ का विजय कोचले भन्नुभयो, ‘हामी समाज र मनका धनी छौं तर विकासमा धेरै गरिब । जिल्लाको पुरानो सदरमुकामलाई साँच्चै हेला गरिएको छ ।’ विरलै सञ्चारकर्मी पुग्ने र राष्ट्रिय समाचारमा कहिल्यै नआउने झापाबजारमा अन्नपूर्णकर्मी पुग्दा गाउँलेहरू घेरेर आफ्ना समस्या बताउन थाल्थे ।
झापा गाउँपालिका-४ मा रहेको डिल्लीराज मावि मतदान केन्द्र अगाडिको चियापसलमा स्थानीय मतदान र भावी जनप्रतिनिधिले गर्नुपर्ने कामबारे चर्चा गर्दै थिए । बिहानैदेखि लाम लागेर चाँडै मतदानको काम सके पनि मतदाताहरू सामुन्नेको चिया पसलमा बसेर २० वर्षपछि भएको निर्वाचनको चर्चा-परिचर्चा गरिरहेका थिए । उनीहरूले स्थानीय समस्याबारे बेलिबिस्तार लगाए । चियापसलमै भेटिएका समीरउद्दीन मियाँले झापाको पुरानो सदरमुकामका समस्याबारे विस्तृतमै बताउनुभयो । उहाँले भन्नुभयो, ‘झापा जिल्लामै भएर यहाँ आधारभूत आवश्यकता नै पूरा हुन सकेका छैनन् । बाटोघाटो, विद्यालय, कलेज, अस्पताल, खानेपानी, खोलाको कटान- यहाँ समस्यैसमस्या छ ।’
अब चुनिएर आउने जनप्रतिनिधिलाई झापाबजारका स्थानीयले आफ्ना समस्या शृंखलाबद्ध सुनाउनाका साथै समाधानको प्रेस्क्रिप्सन पनि सुनाए । झापा गाउँपालिकाको दायाँ-बायाँ रहेका विरिङ र कन्काई खोलाको कटान रोकेर यहाँका खेतीयोग्य जमिन बचाउन उनीहरूको माग छ । त्यसपछि किसानका लागि भरपर्दाे सिँचाइ, मलबिउमा सहुलियत दिनुपर्ने उनीहरूले बताए । दक्षिणी क्षेत्रको अर्को महत्ववपूर्ण समस्या नागरिकता हो ।
वंशजकै आधारमा नागरिकता पाएकाहरूका छोराछोरीले पनि नागरिकता नपाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरे । अर्को समस्या, अस्पताल र सुविधापूर्ण बाटोघाटो अभाव हो । ‘यति भए हामीलाई पुगिहाल्छ,’ स्थानीय समीरउद्दीन मियाँले हाँस्दै भन्नुभयो, ‘अब आउने जनप्रतिनिधिले केही गर्लान् कि !’
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।