April 7, 2020

यूएईमा सँगै बस्ने १२ नेपालीमध्ये ५ जनामा कोरोना, संक्रमित र स्वस्थ एकैठाउँ बस्न बाध्य

संयुक्त अरब इमिरेट्सको दुबई शहरमा एकैठाउँ बस्ने १२ जना नेपालीमध्ये ५ जना नेपालीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । बाँकी ७ जनामा अहिलेसम्म संक्रमण देखिएको छैन ।

तर, वैकल्पिक व्यवस्था हुन नसक्दा बाँकी ७ जना पनि जुनसुकै बेला संक्रमित हुन सक्ने खतरा र त्रासका बीचमा बस्न बाध्य भएका छन् । बाँकी ७ जना पनि संक्रमित भइसकेको हुन सक्ने समेत आशंका छ । यही आशंकाको पुष्टि गर्न उनीहरुको स्वाब परीक्षण गरिएको छ तर रिपोर्ट आउन भने बाँकी छ ।

यी १२ जना नेपाली ट्याक्सी चालक हुन् । अल अरेविया ट्याक्सी एलएलसीमा कार्यरत उनीहरुले मिलेर दुबई सिटिमा २ वटा कोठा भाडामा लिएर बस्दै आएका थिए । संक्रमणको आशंका भएपछि उनीहरुले अस्पतालमा गएर परीक्षण गराउन सुरु गरेका थिए । सबैभन्दा पहिले यी १२ जनामध्ये ३ जनामा संक्रमण भेटिएको थियो । तर, दुबई स्वास्थ्य विभागले भने यीमध्ये १ जनालाई मात्र अस्पतालमा भर्ना गरेर राख्यो । बाँकी २ जनालाई अस्पतालमा ठाउँ खाली नभएको भन्दै घरमै बस्न भनियो ।

संक्रमितको साथमै रहेका अन्य नेपालीहरु पनि आफूहरु संक्रमित भएको आशंकामा फेरि परीक्षण गराउन गए । यस क्रममा थप २ जनामा संक्रमण देखियो । तर, स्वास्थ्य विभागले भने यी २ जनालाई पनि अस्पतालमा ठाउँ नभएको कारण देखाउँदै अस्पतालमा भर्ना गर्न अस्वीकार गरेको छ । उनीहरुले पटक–पटक स्वास्थ्य विभागमा फोन गरेर आफ्नो स्थितिबारे जानकारी गराएको तर विभागले अस्पतालमा ठाउँ नभएको कारण देखाउँदै भर्ना गर्न अस्वीकार गरेको डिसीनेपालसँगको फोन संवादमा बताए ।

विभागबाट कुनै सहयोग नपाएपछि यी नेपालीले सहयोगका लागि अबुधावीस्थित नेपाली दूतावासमा सम्पर्क गरे । तर दूतावासबाट पनि आफूहरुको समस्या समाधानका लागि खासै चासो नदिइएको उनीहरुले गुनासो गरेका छन् । ‘मैले नेपाल एम्बेसीमा फोन गरेको थिएँ । त्यहाँबाट तपाईहरुलाई दिउँसोसम्म (सोमबार दिउँसो) केही गछौँ भन्नु भएको थियो । तर, एम्बेसीबाट पनि केही गर्नुभएको छैन’ अहिलेसम्म संक्रमणको पुष्टि नभइसकेका धादिङका ती नेपालीले भने ।

उनीहरु पहिलो पटक ६ दिनअघि परीक्षण गराउन गएका थिए । त्यतिबेला ३ जना संक्रमित देखिएका थिए । त्यसको २ दिनपछि थप १ जनामा संक्रमण देखिएको थियो । त्यसको भोलिपल्ट अर्का एकजना संक्रमित थपिए । बाँकी अहिलेसम्म संक्रमित देखिएका छैनन् तर उनीहरुको रिपोर्ट पोजेटिभ आउने वा अहिलेको रिपोर्ट नेगेटिभ नै आए पनि जुनसुकै बेला संक्रमित हुन सक्ने खतरा कायमै छ ।

उनीहरुसँग २ वटा कोठा छन् । संक्रमित एउटा कोठा र संक्रकण नभएका अर्को कोठामा बसेकै अवस्थामा पनि उनीहरु सुरक्षित रहन सक्दैनन् । उनीहरुको किचन, बाथरुम लगायत एउटै छन् र यहाँबाट जुनसुकै समय संक्रमण फैलिने सक्ने खतरा अत्याधिक छ । अहिले यी दुई कोठामध्ये एउटा कोठामा बस्ने २ जना र अर्को कोठामा बस्ने २ जना संक्रमित छन् । अर्का एक जना झापाका नेपाली भने अस्पतालमा छन् ।

                                                      उनीहरु बस्ने घर

१ जनालाई मात्रै अस्पताल लैजानुको कारण भने आफूहरुले बुझ्न नसकेको उनीहरुले बताएका छन् । धादिङका ती युवाले भने ‘एक जनालाई मात्रै किन लग्यो थाहा छैन । सबैको अवस्था एउटै थियो । अरुलाई किन लगेन त्यो हामीले केही सोच्न सकेका छैनौ । हामीले दुबईको स्वास्थय विभागलाई फोन गरेर सोध्दा उनीहरुले अस्पतालमा राख्ने ठाउँ नभएर नलगेको भन्छ ।’

१२ नेपालीमध्ये झापाका एक जना अस्पतालमा छन् । उनीबाहेक उदयपुर, मोरङ, काठमाडा र झापाका अर्का १ जना संक्रमित छन् । उनीहरु कोठामै छन् । नवलपरासी, धादिङ र सुनसरीका १–१ जना तथा सिन्धुपाल्चोक र मोरङका २–२ जनामा अहिलेसम्म संक्रमण पुष्टि भइसकेको छैन । यी सबैको परीक्षण गरिएको छ, रिपोर्ट आउन मात्र बाँकी छ ।

उनीहरुले जतिसक्दो चाँडो दूतावासले पहल गरिदिनुपर्ने माग गरेका छन् । ‘घन्टौँ फोन लगाउँदा बल्लबल्ल कल रिसिभ गर्ने नेपाली दूतावासले हाम्रो समस्या सुनाउँदा झुटो आश्वासन मात्रै दिन्छ । तर, सहयोग गर्दैन’ उनले गुनासो गरे ।

के भन्छ नेपाली दूतावास ?

अबुधाबीस्थित नेपाली दूतावासका अनुसार हालसम्म ११ जना नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएको छ । सोमबार दिउँसो डिसी नेपालले यूएईका राजदूत कृष्ण प्रसाद ढकाललाई सम्पर्क गर्दा ११ जना नेपाली संक्रमित भएको पुष्टि गरेका हुन् । ‘ हामीलाई थप ३ जना नेपालीमा कोरोनाको पुष्टि भएको भन्ने जानकारी आएको छ,’ उनले डिसी नेपालसँगको टेलिफोन सम्पर्कमा भने ‘संक्रमित ९ जना नेपालीको हाल अस्पालमा उपचार भैरहेको छ । हामीलाई जानकारी गराइए अनुसार उहाँहरु सबैको अवस्था नर्मल (सामान्य) छ ।’

राजदूत ढकालले संक्रमित नेपालीको अवस्थामा बारेमा बुझ्न यूएई सरकारसँग दूतावास निरन्तर सम्पर्कमा रहेको पनि बताएका थिए । उनका अनुसार कोरोना संक्रमित नेपालीहरुको उपचार यूएई सरकारले नै नि:शुल्क रुपमा गरिरहेको छ ।

मंगलबार बिहान यो विषयमा बुझ्न डिसी नेपालले नेपाली राजदूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धिताललाई सम्पर्क गरेको थियो । उनले दूतावासमा धेरै नेपालीले आफूहरु संक्रमित भएको हुन सक्ने भन्दै फोन तथा विभिन्न माध्यमबाट गूनासोे गर्ने गरेको बताइन् । धितालले कम्पनीमा कार्यरत आफ्ना कोही साथीहरु संक्रमित भएपछि उनीहरुले अत्तालिएर फोन गर्ने गरेको बताइन् ।

आफूहरुलाई यस प्रकारका गुनासोहरु धेरै आउने गरेको भन्दै दूतावासले यसको व्यवस्थापन गरिरहेको उनको भनाइ छ । ‘हामीसँग अहिले यसप्रकारका गूनासोहरु धेरै आउने गरेका छन् । दूतावासको सबै मेनपावर अहिले यस्तै गूनासो व्यवस्थापन तथा यहाँका आधिकारिक निकायहरुसँग समन्वय गर्न खटिरहेका छौँ,’ उनले भनिन् ।

धितालले संक्रमण पुष्टि हुनेबित्तिकै अथवा लक्षण देखिन साथ स्वास्थ विभागबाट एम्बुलेन्स लिन नआउँदा नेपालीहरु आत्तिने गरेको भन्दै नआत्तिन आग्रह पनि गरिन्। आफुहरुसँग अहिलेसम्म अस्पतालमा भएकाहरुको मात्र तथ्यांक भएको उनले बताइन् ।

‘अहिलेसम्म ११ जना संक्रमित भएको र २ जना ठिक भएको भन्ने तथ्यांक हामीलाई यहाँको परराष्ट्र मन्त्रालयले दिएको हो’ उनले भनिन् ‘मन्त्रालयले दिएको तथ्यांकमा भएका सबै नेपाली अस्पतालमा हुनुहुन्छ ।’ धितालका अनुसार संक्रमण पुष्टि भएको तर अस्पतालमा भर्ना नभएकाहरुको तथ्यांक दूतावाससँग पनि छैन ।

ती संक्रमित ट्याक्सी चालकको विषयमा पनि परराष्ट्र मन्त्रालयले आफूहरुलाई कुनै जानकारी नदिएको बताइन् । दूतावासले यो विषयमा मन्त्रालयसँग तुरुन्तै समन्वय गरेर समधान गर्ने पनि उनको भनाइ छ ।

कोरोनाबाट यूएईमा एक नेपाली महिलाको निधन

सोमबार मात्र एक नेपाली महिलाको मृत्यु भएको खबर आए पनि धितालले त्यसको समेत पुष्टि गर्न सकिनन् । ‘मृत्यु भएको भन्ने खबर अस्पतालले परिवारलाई दिएको भन्ने छ तर मन्त्रालयले हामीलाई आधिकारिक जानकारी उपलब्ध गराउन बाँकी भकोले अहिले पुष्टि गर्न सकिन्न । मन्त्रालय खुलेपछि मात्र आधिकारिक जानकारी आउँछ’ उनले भनिन् ।

सोमबार यूएईको बरदुबईमा घरेलु कामदारका रुपमा कार्यरत देवदह रुपन्देहीकी एक नेपाली महिलाको निधन भएको थियो ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमानलाई उपलब्ध गराएको थियो।रिपोर्टमा उनको मृत्यु गत शुक्रबार भएको पुष्टि गरिएको बताइएको छ ।

यूएईमा रहेका नेपालीहरूको अवस्थाबारेमा प्रधानमन्त्री ओलीको चाँसो

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन्।

विश्वभर कोरोना भाइरसको संक्रमण भइरहेका बेला विदेशस्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग संवाद गरेको प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

छलफलमा युवराज शेख मोहम्मदल युवराजबाट नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री ओलीले ट्वीटरमा उल्लेख गरेका छन् ।

यूएईका लागि राजदूत राजदूत कृष्णप्रसाद ढकालले पनि युवराजबाट नेपालीहरूलाई यूएइका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन् ।

‘विशिष्ट घडीमा युएइमा रहेका नेपालीहरूको हित र सुरक्षालाई उच्च महत्व दिई अभिभावकीय स्नेह र संरक्षकत्व प्रदान गर्नुभएकोमा प्रधानमन्त्री ओली र नेपालीहरूलाई यूएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा युवराजप्रति आभार प्रकट गर्दछौं । ’ राजदूत ढकालले आफ्नो फेसबुकमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी