काठमाडौँ, १० असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलको निचोडबारे टोली नेताले ‘बिफ्रिङ’ सम्पन्न भएको छ ।
राजनीतिक, सांगठनिक र विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न एमाले केन्द्रीय सदस्यहरूलाई १० समूहमा विभाजन गरिएको थियो । शनिबारको बैठकमा समूहगत छलफलको निचोड प्रस्तुत गरिएको पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । समूगत छलफलको निचोडअनुरूप जनताको बहुदलीय जनवादको मार्गनिर्देशनमा नेपालको लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र अब समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशा बनाउनुपर्ने निष्कर्ष समूहगत छलफलबाट आएको उहाँले जानकारी गराउनुभयो ।
नेताहरूले पार्टीमा सात उपाध्यक्षको व्यवस्था गरिनुपर्ने सुझाव दिएको जानकारी गराउँदै उहाँले पार्टीमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने सुझाव पनि आएको जानकारी दिनुभयो । त्यो कार्यान्वयन भइरहेको विधानमा पनि व्यवस्था रहेको जानकारी गराउँदै उहाँले ७० वर्षे उमेरहद पनि कायमै राखिएको बताउनुभयो ।
कम्युनिस्ट पार्टीसँग छलफल गरेर विभाजनकारी प्रवृत्तिमाथि संघर्ष गर्दै एउटै पार्टी बनाउने कार्यदिशा पार्टीले तय गर्नुपर्ने सुझाव पनि आएको नेता भट्टराईले जानकारी गराउँदै एमाले कम्युनिस्ट आन्दोलनको एकताको प्रतीक र प्रवृत्ति भएकाले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कार्यभार एमाले नै पूरा गर्नुपर्ने सुझाव बैठकमा प्रस्तुत भएको जानकारी गराउनुभयो ।
नीति निर्माण, जनप्रतिनिधि, पार्टीको नेतृत्वमा समेत युवाहरूको उल्लेख्य सहभागिता बढाउन पनि सुझाव आएको जानकारी गराउँदै उहाँले महिला, जनजाति, दलित, अपांगता भएका व्यक्तिहरूलाई समावेश गरेर राष्ट्रिय चरित्र र समावेशी खालको पार्टी बनाउनुपर्ने सुझाव टोलीका नेताहरूले दिएको बताउनुभयो ।
भोलि बिहान ११ बजे पुनः बैठक बस्ने र आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले जवाफ दिने भट्टराईले जानकारी दिनुभयो । एमालेको यही असोज १५–१७ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमाथि छलफल भइरहेको हो ।