मुलुककै ठूलो सबस्टेसन उद्घाटन

काठमाडाैं, माघ २०ः मुलुकको विद्युत् विकासमा दूरगामी प्रभाव पार्ने सबैभन्दा ठूलो ढल्केबर सबस्टेसन सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन सोमबार उद्घाटन गरेपछि सञ्चालनमा आएको हो। यो १३ बिघा जमिनमा फैलिएको ४०० र २२० केभी सबस्टेसन हो।

विद्युत् प्राधिकरणका अनुसार मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ। नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब २० करोड रूपैयाँ लगानीमा निर्माण भएको सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो हो।

ढल्केबर सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीनवटा गरी ९४५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्छ। यसैगरी, २२०/१३२ केभी सबस्टेसनमा रहेका तीनवटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभिए छ भने अर्को ३१५ एमभिए जडान भइरहेको छ। सबस्टेसन सञ्चालनमा आएसँगै नेपाल र भारतबीचको ढल्केबर–मुजफ्फरपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत दुई मुलुकबीच हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिने छ। हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि दुई/दुई सय मेगावाट बिजुली ढल्केबर सबस्टेसनबाट हेटौंडा र इनरुवातर्फ पठाउन सकिनेछ। दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेनसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन सकिने छ।

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न नभएसम्मका लागि अहिले रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब तीन सय मेगावाट विद्युत् पूर्व–पश्चिम पठाउन सकिने छ।

आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिने छ। अत्याधुनिक यो सबस्टेसनलाई भविष्यमा थप विस्तार गर्न मिल्ने गरी बनाइएको छ। भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केबर सबस्टेसनमा प्राप्त हुने छ। ४०० केभी सबस्टेसन निर्माणका लागि २२ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो। तराईको डुवान, शीतलहर र कोभिड–१९ ले सबस्टेसनको निर्माण प्रभावित भएको थियो। आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनइए इन्जिनियिरिङले गरेको थियो।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना अन्तर्गत २२०/१३२ केभी सबस्टेसनको निर्माण भएको हो। उत्पादित बिजुलीको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सदृढीकरण गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको