मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको प्रसुति गृह (बर्थिङ सेन्टर)मा भाद्र १० गते राति आएको अविरल वर्षाले क्षति पुर्याएको हुरेन्डेक नेपालले जनाएको छ । यही २०७७ जेठ ५ गतेबाट सञ्चालनमा आएको यस प्रसुति गृह (बर्थिङ सेन्टर ) मा राखेको औषधी लगायतका अन्य सामाग्रीहरु बाढीले बगाएको छ । खोलामा आएको बाढीले रुख, काठ, माटो र ढुङ्गा बगाएर ल्याउँदा प्रसुति गृहका लागि प्रयोग हुने स्वास्थ्य सामग्री लगायत अन्य सामानहरुमा क्षति भएको हो ।
बर्थिङ सेन्टरको भान्सा कोठा र भित्रका पर्खाल भत्केर क्षति भएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नवराज रावतले जानकारी दिए।
कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगुमा कतिपय स्थानमा सडक सञ्जालसँग नजोडिएका स्थानहरुमा अझै पनि यहाँका गर्भवती महिलाहरूले दुःख खेप्दै आइरहेका छन् । खत्याड गाउँपालिकाभित्र बस्ने विकट गाउँकी गर्भवती आमाहरूको र गर्भमा रहेको बच्चाको सुरक्षाका लागि गर्भवती आमाहरूले समयमा प्रयोग गर्ने एक मात्र प्रसुति गृह केही समयअगाडि मात्र सञ्चालनमा आएको थियो ।
बर्थिङ सेन्टरमा बाढी पहिरोले क्षति पुगेपछि त्यहाँका महिलाहरुलाई सुत्केरी गराउन कठिनाइ हुने हुरेन्डेक नेपालले जनाएको छ । सोही बाढी–पहिरोले खत्याड गाउँपालिका वडा नं. ३ मा प्रसुति गृह आसपाका क्षेत्रमा रोपिएको धान बाली, कोदोलगायत अन्य अन्नबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।