‘मलाई आशा छ, नेपालको न्यायालयले मलाई न्याय दिन्छः चौधरी

गच्छदार प्रवृत्ति’ जवसम्म रहिरहन्छ तवसम्म यहाँको विकास हुँदैन

काठमाडौं, पुस १६। प्रतिनिधिसभा निर्वाचनमा आफ्ना प्रत्यासी उम्मेद्वारले षड्यन्त्र गरेर हराएको भन्दै नेकपा एमालेकी प्रत्यासी उम्मेदवार भगवती चौधरीले सर्वोच्च अदालत को संवैधानिक इजलासमा पुनः मतगणनाको माग गर्दै मुद्दा दायर गर्नुभएकोमा सर्वोच्च अदालतले सुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेस गर्न आदेश दिएको छ ।

वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रवार संवैधानिक इजलासले सुनुवाइ गर्दै मतपत्र, मतपेटिका र अरू कागजता पेस गर्न आदेश दिएको हो ।

शुक्रवार प्रधानन्यायाधीश गोपाल पराजुलीसहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित कागजात ल्याउन  आदेश दिएको हो । चुनावसम्बन्धी मुद्दा संवैधानिक इजलाशले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले निर्वाचित विजय कुमार गच्छदारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाई बोलाएको छ ।

गएको मङ्सिर २१ गते भएको दोस्रो चरणको चुनावमा गच्छदारले ३८ हजार ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत पाउनुभएको थियो । त्यस क्षेत्रमा एक सय २५ वटा मतपेटिका थिए । गच्छदारसँग चौधरीको ३२१ को झिनो मतान्तर छ । मतगणनाका क्रममा सुनसरी–३ मा विवाद भएको थियो ।

निर्वाचनमा नेपाली काँग्रेसका प्रत्यासी उम्मेदवार गच्छदारले प्रहरी प्रशासन र निर्वाचन आयोगका कर्मचारीलाई प्रभावमा पारेर आफूलाई हराएको भन्दै नेतृ चौधरीले गत साता सर्वोच्च अदालतमा पुनः मतगणनाको माग गर्दै रिट दायर गर्नुभएको थियो ।

यसै विषयमा हामीले नेतृ चौधरीसँग छोटो कुराकानी गरेका छौँ ।

प्रतिनिधिसभा निर्वाचनमा षड्यन्त्र गरेर हराईएको भन्दै सर्वोच्चमा रिट हाल्नु भएछतपाईँलाई हराईएको नै भनेर दाबी गर्ने आधार के छन् 

जसरी दोस्रो संविधानसभा निर्वाचनमा राज्य संयन्त्र नै प्रयोग गरेर मलाई हराइएको थियो, यस पटक पनि त्यस्तै गरिएको हो । मेरा प्रत्यासी उम्मेदवार विजयकुमार गच्छदारले यहाँका प्रहरी, निर्वाचन आयोगका कर्मचारीलाई नै प्रभावमा पारेर चुनाव जितेको दाबी गर्न सक्छु ।

आधारका कुरा गर्दा हामीसँग प्रमाण छ । मतदानको दिन मतदान अघिकृतले मुचुल्का उठाउन प्रयोग गरिने खाली कागजपत्र मतगणना र मतपेटिक सिल गर्न प्रयोग गरिने ने.रा.मा.वि. बेलाहा (क) मतदान केन्द्र ३९३ को मुचुल्का फाइल मतगणना स्थल बाहिर भेटिएको छ । मत गणनाको क्रममै अर्घकट्टि सहितको नौ वटा मतपत्र फेला परेको थियो । अर्धकट्टी सहितको मतपत्रको सिरियल हेर्न दिईएन । मतपेटिकामा प्रयोग गरिने सुरक्षण शील तोडिएको अवस्थामा मतपत्र भण्डारण स्थलवाहिर भेटिएको छ । ज्ञानोदय आदर्श विद्यालय खनार मतदान केन्द्र नं. २९७ को मतपेटिकाको सुरक्षण शील नै थिएन । जनता मा.वि. सिमरियामा मतदान केन्द्रमा खटीएका कर्मचारी स्वयमबाट मतदान गरेको हामीसँग फोटो समेत सुरक्षित छ । मतदान स्थलभित्र मोबाइल फोन लैजान निषेध थियो तर, नवीन शिक्षा निकेतन मा.वि. दुहवी केन्द्रमा मतदान स्थलभित्रै दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले मोबाइल प्रयोग गरी मतदाताहरुलाई मत खसाल्न प्रभावित गरेको प्रमाण छ ।

यतिमात्र हैन रुख चिन्ह भएको मतपत्रहरुको स्वस्तिक छापको आकार प्रकार फरक (सामान्य आकार भन्दा ठुलो) रहेको मतपत्रहरुलाई समेत मतगणना अधिकृतले सदर गरेका छन्, भने सूर्य चिन्हमा राम्ररी लागेका कतिपय मतहरुलाई बदर गरिदिएका छन् । चिमडी मतदान केन्द्रमा सुनसरी जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक बिद्यानन्द माझीले मतदानका दिन बिहानदेखि मतदाताहरुलाई रुख चिन्हमा भोट हाल्न सिकाएका छन् । पशुपति आधारभूत विद्यालय सोनापुर बालकुण्ड मतदान केन्द्रमा सहायक मतदान अधिकृतले नै एघार सय भन्दा बढी मतदाताहरुको मत खसालेका छन् । यिनै विभिन्न तथ्यहरुले सुनसरी निर्वाचन क्षेत्र नं. ३ को चुनाव निष्पक्ष र धाँधली रहित हुन नसकेको ठहर गर्दै निश्पक्ष छानबिन र पुनः मतगणनाको माग गर्दै मैले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुँ ।

यी कुराहरू मतदान स्थल र मतगणना हुँदाहुँदै किन सार्वजनिक गर्नुभएन 

निर्वाचन अधिकृत, मतगणनास्थलका कर्मचारी, जिल्ला प्रहरी कार्यालयकै वरिष्ठ प्रहरी उपरिक्षक नै हाम्रा विरुद्धमा थिए । मैले बारम्बार मतगणना स्थलमा यस्ता कुराहरू उठाइरहँदा सुनुवाई भई दिईएन । मेरा प्रतिनिधिले रुख चिन्हमा ‘फरक स्वस्तिक छाप छ यो बदरहुन्छ’ भन्दा त्यहाँ खटिएका अधिकृत र प्रहरीले कुनै बास्ता गरिएन । मतगणना भइरहँदा मैले बारम्बार यी कुरा मिडिया लाई जानकारी गराएको छु ।

मतगणना हुँदाहुँदै बिचमा तपाईँले मतगणना स्थगित गर्नुको कारण के थियो 

करिब ६४ हजार मत गणना भइरहँदा मतगणनास्थल परिसरमा मतदानको दिन मतदान अधिकृतले मुचुल्का उठाउने कागजपत्र मतगणना परिसर बाहिर भेटियो । जसमा मतपत्र सिल गर्ने प्लाष्टिकको सामग्री काटेर राखिने गरेकोमा च्यातेर फ्याकिएको थियो । भने, ९ ओटा मतपत्रहरु अर्धकट्टी सहितको भेटियो । हामीले  ती मतपत्रको सिरियल नम्बर हेर्न खोज्यौं । तर, निर्वाचन अधिकृत टिका घिमिरेले ‘कुन कानुनमा छ, सिरियल हेर्ने !’ भन्दै हेर्न दिएनन् । त्यसपछि हामीले मतगणना स्थगित गरेका थियौँ ।’ पछि हाम्रो अनुपस्थितिमै मतगणना सुरु गर्ने काम भयो ।  हामीले जतिसुकै निश्पक्ष र धाँधली रहित निर्वाचन हुनुपर्छ भनेर सुरुदेखि नै सतर्कता अपनाए पनि हुन सकेन ।

निर्वाचन सम्पन्न भईसकेपछि आएर तपाईँले धाँधली भएको भन्दै रिट दिएकाले सुनुवाइ होला र 

जतिबेला मतगणना स्थगित भयो त्यत्ति बेलै यो विषयलाई हामीले गम्भीर रूपमा लिएर अघि बढेको भए, अहिले यो अवस्था नआउन पनि सक्दथ्यो । हामीलाई त्यत्तिबेला पुनः भरतपुरकै अवस्था त आउँदैन भनेर केही आशंका पनि भयो । बाम गठबन्धनको जनलहरबाट देशभर प्रतिकृयावादी र यथास्थितिवादीहरु अत्तालिएको अवस्थामा संविधान कार्यान्वय गर्ने निर्वाचन नै भाँडिने पो होकी भनेर पनि हामी संयमित भएका थियौँ ।

जब निर्वाचनमा धाँधली भयो, मलाई पराजित गर्न सिङ्गो राज्य संयन्त्र नै लागेको थाहा भयो त्यसपछि मैले कानुनी अवस्थालाई बुझेर नै रिट दायर गरेकी हुँ । र,  सम्मानित अदालतले सम्पूर्ण मतपेटिका सहित कागजात झिकाउन आदेश पनि दिएकोले मलाई नेपालको कानुनले न्याय दिन्छ भन्नेमा विश्वास पनि छ ।

यदि न्यायालयले तपाईकै पक्षमा निर्णय गरिदियो भनेतपाईँले जित्ने आधार नै कसरी हुन्छ 

नेकपा एमालेका सयौँ भोटहरु बदर गरिएका छन् । सूर्य चिन्हमा लागेका प्रस्ट (स्पष्ट स्वस्तीक छाप) भोटलाई बदर गरिएको छ भने, रुखमा लागेको स्वस्तीक छाप (स्वष्ट नखुलेको) लाई पनि सदर गरिएको छ, अर्धकट्टी सहितका मतपत्र छन्, एउटै व्यक्तिले सयौँ भोट हालेका छन् । यी सबै कुरालाई स्वच्छ ढङ्गले छानबिन भयो भने मलाई यहाँका जनताले स्पष्ट रूपमा जिताएको प्रमाणित हुन्छ । मेरो जित हुन्छ ।

यो क्षेत्रमा यस पटक जनताले परिवर्तनका पक्षमा भोट दिएका थिए । र, त्यो परिवर्तनको पक्ष मेरै पक्षमा थियो ।

तपाईँलाई के लाग्छतपाईँलाई महिला उम्मेदवार भएकै कारणले हराईएको हो 

म महिला भएकै कारणले मात्रै हराईएको हो भनेर भन्न सकिने अवस्था त छैन, तथापि, जसले यो क्षेत्रमा २६ वर्षदेखि शासनसत्ता चलाइरहेको छ, जो सत्ता र कुर्सी विना एक छिन पनि बस्न सकिरहेको छैन । जो वर्षौदेखि यहाँका मुस्लिम, आदिवासी, जनजाति, थारु चौधरीको नाममा राज्य सत्ताको चरम दुरुपयोग गरिरहेको छ । त्यस व्यक्तिले हारेपछि आफ्नो विराशत नै गुम्छ भन्ने डरले सामदाम दण्ड भेद प्रयोग गरेर नै मलाई हराएको हो । यदि महिला भएकै कारण राज्यसत्ता लागेर मलाई हराउने काम भएको हो भने, त्यो तमाम् महिलाहरुका लागि दुर्भाग्य हो ।

जनताको नाममा राज्य सत्तामा जाने तर, त्यही जनताको मुक्तिका लागि केही नगर्ने ‘गच्छदार प्रवृत्ति’ जवसम्म रहिरहन्छ तवसम्म यहाँको विकास हुँदैन । र, यसपटकको निर्वाचनबाट पुनः त्यही व्यक्ति नै सत्तामा आईदिनाले यो क्षेत्र पुनः १० वर्ष पछि परिसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।