प्रहरी निरीक्षक कारवाहीमा

ramkumar_yadav-597d621b9bfb09.21437563विराटनगर : तस्करी चलाउन ‘सेटिङ’ मिलाएर तस्करसँग रकम लिने गरेको विवादमा तानिएपछि विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवमाथि कारवाही सुरु गरिएको छ । ‘सेटिङ’ मिलाएर नेपाल-भारत सीमावर्ती क्षेत्रमा तस्करीको लाइन चलाउने गरेको विवादमा मुछिएपछि कारवाहीका लागि उनलाई शनिबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ । उनलाई जिप्रका तानिए पनि उनका ठाउँमा रानीमा कसैलाई पठाइएको छैन । पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टरार्इको निर्देशनमा यादवमाथि कारवाहीका लागि थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।

‘मिलेमतो गरेर तस्करीको लाइन चलाएको घटनामा यादवको प्रत्यक्ष संलग्नता देखिएपछि तानिएको हो,’ भण्डारीले भने, ‘यस विषयमा थप अनुसन्धान सुरु गरिएको छ ।’ उनका अनुसार यादव प्रहरीको सीमावर्ती युनिट रानीको प्रमुख बनेर गएदेखि नै तस्करी मौलाएको गुनासो बढिरहेको थियो । इन्सपेक्टर यादव छ महिना अघिदेखि नै विवादित बन्दै आएका थिए। स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा मौलाएको तस्करी, सीमा अपराध नियन्त्रण, अपराध अनुसन्धान एवं नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा यादवको भूमिका र काम कारवाही शंकास्पद बनेको भन्दै उनका गतिविधिमा प्रहरीका उच्च अधिकारीले विगतदेखि नै निगरानी बढाएका थिए । त्यही क्रममा तस्करसँग मिलेमतो रहेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा तानेर कारवाही अघि बढाउन निर्देशन दिइएको डीआईजी भट्राईले बताए ।
उनका अनुसार भारतबाट नेपालतर्फ हुने कपडा, दैनिक उपभोग्य वस्तु, माछा, औद्योगिक कच्चा पदार्थ, कम्प्युटर तथा गाडीका पार्टपूर्जा लगायत र नेपालबाट भारततर्फ हुने सुपारी, गिट्टी, बालुवा, सुनचाँदी लगायतका वस्तु तस्करीमा इन्सपेक्टर यादवको प्रत्यक्ष संलग्नता देखिएको छ ।भारतबाट नेपालतर्फ हुने लागूऔषध ओसारपसार पनि उनको भूमिका शंकास्पद देखिएको भन्दै अनुसन्धान थालिएको छ । ‘प्रारम्भिक छानविनबाट एक जना तस्करसँग सबै भन्दाबढी मासिक एक लाख रुपैयाँसम्म लिंदै आएको पाइएको छ,’ प्रहरीका एक अधिकारीले भने, ‘तस्करीको लाइन चलाउनेसँग मासिक १० हजार भन्दाबढी असुल्ने गरेको देखिन्छ ।’ रामकुमार पूर्व संचारमन्त्री एवं राजपा नेता राजकिशोर यादवका भाइ र पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालयका गाउँले पनि हुन् । पूर्व गृहमन्त्री विमलेन्द्र निधीसम्म सहज पहुँच भएकाले २०७३ साल पुस १८ गते इप्रका रानीमा उनको काज सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयको पुस ६ गतेको इन्सपेक्टरको सरुवा सूचीमा उनको दरबन्दी जिल्ला ट्राफिक कार्यालय मोरङ कायम गरिएको भए पनि त्यसको १२ दिन वित्न नपाउँदै र ट्राफिक कार्यालयमा हाजिर नै नभइकन ६ किलोमिटर दूरीमा रहेको इप्रका रानीमा उनको काज सरुवा भएपछि त्यतिबेला नै उनी विवादमा परेका थिए । त्यसअघि उनी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।

प्रहरी उच्च स्रोतका अनुसार प्रहरीका लागि आर्षक ठाउँका रुपमा चिनिएको रानीमा उनी मोरङ ट्राफिकको जिम्मेवारी सम्हाल्न नआइकन शक्तिकेन्द्र धाएर र उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो काज सरुवा गराउन सफल भएका थिए । तत्कालिन मोरङ प्रहरी प्रमुख एसपी हालका एसएसपी विश्वराज पोखरेलको पालामा २०७० सालमा पनि उनी मोरङमै विशेष (घुमुवा) प्रहरीको प्रमुख थिए ।मोरङ बसेका बेला अपराध नियन्त्रण र अनुसन्धानमा उनको भूमिका शंकास्पद देखिएपछि र काम कारवाहीमा हेलचेक्राई गरेसँगै आर्थिक विवादमा मुछिएपछि पोखरेलले कारवाही गरेर उनलाई घुमुवाको इन्चार्जबाट हटाएका थिए । त्यसपछि मोरङकै इलाका प्रहरी कार्यालय पथरीका इन्चार्ज बनाएर पठाइएका यादव त्यहाँ पनि विवादरहित् बन्न सकेनन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा रहँदा सीमा क्षेत्रबाट हुने गरेको दुई नम्बरी धन्दाका बारेमा यादव राम्रो जानकार रहेको उनी निकट स्रोतले बतायो । ‘घुमुवाका रुपमा काम गर्दा तस्करीको लाइनसमेत खुलाएको र सुपारी तस्करबाट मोटो रकम लिएका कारण उनी कारवाहीमा परेका थिए’ एक प्रहरीले भने, ‘तस्करीको लाइन खुलाउन र मिलाउन यादव सिपालु प्रहरी अधिकृत हुन् ।’ केही वर्षदेखि ठप्प रहेको भारततर्फ हुने सुपारी र बालुवाको तस्करी उनी रानीको प्रमुख बनेर गएदेखि मौलाएको थियो ।‘सीमा क्षेत्रमा बसेर यादवले तस्करसँग राम्रै मिलेमतो र उठबस गरेको पाइयो । कारवाहीका लागि तानेर उसको अरु ‘कनेक्सन’ पनि खोतलिँदै छ,’ डीआईजी भट्राईले भने, ‘सीमा क्षेत्रमा प्रहरीले मात्रै तस्करी निमिट्यान्न बनाउन सक्छ भन्ने पनि हुँदैन । नियन्त्रण गर्न नसके पनि मिलेमतो गरेर पैसा लिर्इ तस्करी चलाउन मिल्दैन ।’ स्रोतका अनुसार पहिलो चरणमा सचेत गराउने र ग्रेड रोक्का समेतको कारवाही गरेर उनीमाथि थप अनुसन्धान अघि बढाउने प्रक्रिया सुरु गरिएको छ । थप अनुसन्धानपछि थप कारवाही गर्नु पर्ने देखियो भने त्यसका लागि प्रहरी प्रधान कार्यालयमा प्रतिवेदन पेश गरिने डीआईजी भट्राईले बताए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने