नेपालमा हिन्दु राजतन्त्रको वकालत गर्ने आदित्यनाथको भारतीय राजनीतिमा उदय

yogi-adityanath-759धर्मको राजनीतिमार्फत् केन्द्रीय सत्तामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग असन्तुष्ट उदारवादी भारतीयहरुलाई सन् २०१७ मा अर्को झट्का लागेको छ। भर्खरै सम्पन्न पाँच राज्यको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को सफलताले सन् २०१९ मा हुने संसदीय चुनावमार्फत् मोदी अर्को कार्यकाल पनि प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखाएको छ। यति मात्र होइन, मोदीभन्दा चर्को रुपले साम्प्रदायिक हिन्दु राष्ट्रवादको वकालत गर्ने गेरुवस्त्रधारी राजनीतिज्ञ योगी आदित्यनाथलाई भाजपाले उत्तर प्रदेशको मुख्यमन्त्री चयन गरेको छ।

बीस करोड मानिसको बसोबास रहेको उत्तर प्रदेश जनसंख्याका आधारमा भारतकै सबभन्दा ठूलो राज्य हो। यहाँ आदित्यनाथजस्ता साम्प्रदायिक राजनीतिज्ञ मुख्यमन्त्री बन्नुले भारतको राष्ट्रिय राजनीतिमै हिन्दु कट्टरवादको बढ्दो प्रभाव देखाउँछ। हिन्दु अतिवादी संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मार्फत् राजनीति सुरु गरेका मोदी प्रधानमन्त्री हुनुअघि गुजरातका मुख्यमन्त्री थिए। सन् १९७२ मा गढवालको राजपुत परिवारमा जन्मिएका ४४ वर्षीय आदित्यनाथको राजनीतिक यात्रा पनि उत्तर प्रदेशको मुख्यमन्त्रीबाट दिल्लीसम्म पुग्ने सम्भावनाको ढोका खुलेको छ। आदित्यनाथ कतिसम्म कट्टर हिन्दुवादी हुन् भने, उनले उत्तर प्रदेशमा चलाउने ‘हिन्दु युवा बाहिनी’ भन्ने उग्रवादी समूहले भारतका अन्य साम्प्रदायिक हिन्दुवादी समूहहरुलाई ‘नरमपन्थी’ को संज्ञा दिन्छ। उनको उक्त संगठन विशेषत: मुस्लिमविरुद्ध साम्प्रदायिक दंगामा संलग्न रहँदै आएको छ।

त्यस्ता आदित्यनाथ भारतको प्रभावशाली राज्यका मुख्यमन्त्री भएपछि नेपाली सामाजिक सञ्जाल र सञ्चार माध्यममा पनि प्रतिक्रिया देखिएका छन्। यसको कारण उत्तर प्रदेश नेपालसँग खुला सीमा जोडिएको राज्य हुनु मात्र होइन, उनी नेपालमा पनि हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने अभियानमा सक्रिय रहनुले हो। आदित्यनाथ पशुपतिको वनकालीमा गत कात्तिकमा आयोजित विश्व हिन्दु महासंघको सम्मेलनमा भाग लिन आएका थिए। त्यतिबेला उनले नेपालमा हिन्दु अधिराज्य र राजतन्त्र पुनर्स्थापनाको खुलेरै समर्थन गरे। शंकराचार्य वासुदेवानन्द सरस्वतीसहित शक्तिशाली हिन्दु नेताहरु उपस्थित उक्त सम्मेलनमा आदित्यनाथले ‘नेपाल र भारत दुई शरीर भए पनि आत्मा एकै भएको’ धारणा राखेका थिए। उनको भनाइ थियो, ‘राजा नेपालका मात्र हुन् तर उनी विश्वभरका हिन्दुहरुका एक मात्र सम्राट हुन्, नेपालको विविधतालाई हिन्दु राष्ट्र र राजतन्त्रले मात्र एकताबद्ध गर्नसक्छ।’ उनी महन्त रहेको ‘नाथ सम्प्रदाय’ को भारतको गोरखपुर र नेपालको गोर्खा जिल्लामा दुई मन्दिर छन्। ऐतिहासिक रुपमा नेपालको गोर्खा राज्य र शाह वंशलाई नाथ सम्प्रदायको आशीर्वाद रहिआएको मानिन्छ। नेपालको तराईमा उनको मन्दिरको प्रशस्त जग्गाजमिन छ। दुई वर्षअघि भूकम्पको समयमा उनले उद्धारका लागि पाटन र गोर्खामा हिन्दु स्वयंसेवक पठाएका थिए।

गोरखनाथ मन्दिरमा भूकम्पपीडितका लागि खाने, बस्ने र उपचारको सुविधा खुला गरेको घोषणा गरेका थिए। सन् १९९४ देखि भारतको प्रभावशाली गोरखनाथ मठका महन्त रहेका आदित्यनाथ २६ वर्षको उमेरमा पहिलोपटक भारतको लोकसभा सदस्य भएका थिए। त्यसपछिको प्रत्येक संसदीय चुनावमा उनले विजय हासिल गर्दै आएका छन्। हिजो एक मठाधीश र सांसदका रुपमा नेपालमा हिन्दु राजतन्त्रको वकालत गर्ने योगी आदित्यनाथले अब भारतकै ठूलो र प्रभावशाली उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि उक्त एजेन्डा अगाडि बढाउँछन् कि बढाउँदैनन् यकिन छैन। तर, भारतीय राजनीतिमा उनको उदयले नेपालका हिन्दुवादी र राजतन्त्र पुनर्स्थापनाका पक्षधरहरुलाई उत्साहित भने बनाएकै छ।

आदित्यनाथको राजनीति मात्र होइन, व्यक्तिगत रुचिहरु पनि हिन्दु धर्मसँगै जोडिएको छ। उनले आफ्नो औपचारिक परिचयमा ‘योग, अध्यात्म र गाई रक्षाको अभियान’ लाई मुख्य चासो बताएका छन्। फुर्सदमा बगैंचा, प्रवचन, भजन र तीर्थयात्रामा समय बिताउन इच्छुक रहेको उनले उल्लेख गरेका छन्। बिजनेस स्ट्यान्डर्डमा छापिएको उनको जीवनीअनुसार लोकसभा सदस्यका हैसियतले उनले जम्मा पाँचवटा विधेयकमा काम गरे। सन् २००९ मा उनले गाईको वधमाथि कानुनी बन्देज लगाउनुपर्ने प्रस्ताव राखे। उनको दोश्रो प्रस्ताव भारतको नाम नै परिवर्तन गर्नुपर्ने विषयमा थियो। उनले संविधानमा उल्लिखित ‘इन्डिया जुन भारत हो’ भन्ने वाक्यांश परिवर्तन गरेर ‘भारत जुन हिन्दुस्तान हो’ भन्ने बनाइनुपर्ने माग गरेका थिए। क्रिश्चियन धर्मको प्रभाव बढेको भन्दै उनले त्यसलाई रोक्न लोभलालचमार्फत् धर्म परिवर्तनमा बन्देज लगाउनुपर्ने तेश्रो विधेयकमा काम गरे। अन्य दुई विधेयकमा अलाहावाद उच्च अदालत बेन्च गोरखपुरमा राख्नुपर्ने र भारतमा सबैका निम्ति समान देवानी कानुन बनाइनुपर्ने (भारतीय मुस्लिमलाई इस्लाम धर्मअनुसार केही छुट्टै कानुन छन्) छन्। यसपटकको चुनावमा भाजपाको साम्प्रदायिकता पनि प्रष्टसँग देख्न सकिन्छ। चार करोड मुस्लिम जनसंख्या रहेको उत्तर प्रदेशमा भाजपा तर्फबटा एक जना पनि मुस्लिम उम्मेदवार थिएनन्। त्यसमाथि प्रत्येक भाषणमा मुस्लिमविरोधी साम्प्रयिक सद्भाव भड्काउने खालका भाषण गर्ने आदित्यनाथलाई नै मुख्यमन्त्री बनाइनु मुस्लिमका लागि अपमान भएको भारतीय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन्।

बितेका वर्षहरुमा आदित्यनाथ स्वयंले पनि आफूलाई हिन्दु साम्प्रदायिक नेताका रुपमा स्थापित गर्दै लगेका छन्। पछिल्लोपटक उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको बन्देज सार्वजनिक रुपले समर्थन गरेका थिए। दुई वर्षअघि उनले मुस्लिम धार्मिक स्थल मस्जिदमा हिन्दु देवी-देवताका मूर्तिहरु स्थापना गर्नुपर्ने विचार राखेका थिए। उनले भनेका थिए, ‘मौका आयो भने हामी देवी गौरी, गणेश र नन्दीका मूर्ति प्रत्येक मस्जिदमा प्रतिस्थापन गर्ने छौं।’ उनले नयाँ शताब्दी हिन्दुत्वको शताब्दी भएको पनि घोषणा गरेका छन्। हिन्दु शताब्दी भारतमा मात्र नभएर संसारभर हुने उनको भनाइ छ। सन् २०१५ मा भारत सरकारले सरकारी कर्मचारीहरुलाई योग दिवसका दिन अिनवार्य रुपमा उपस्थित हुन उर्दी जारी गरेको थियो। त्यसपछि उत्पन्न विवादमा आदित्यनाथले योग दिवसमा उपस्थित नहुने भारतका सरकारी कर्मचारीले देश छाड्नुपर्ने बताए। उनको भनाइ थियो, ‘भगवान शंकर सबैभन्दा ठूला योग गुरु हुन्, जसले योग-साधनाको सुरुआत गरे। महादेव यो देशको कण-कणमा बस्छन्, त्यसैले योग गर्न नचाहनेहरुले हिन्दुस्तान छाड्नुपर्छ।’ सूर्य नमस्कारका विरोधीलाई पनि उनले समुद्रमा डुबेर मर्नू भनी श्राप दिएका थिए। आदित्यनाथ हिन्दु युवती र मुस्लिम युवाबीच प्रेम र विवाहका पनि विरोधी हुन्। सन् २०१५ अगष्टमा उनले भारतका हिन्दु अभिभावकहरुलाई मुस्लिम युवाहरुले छेडेको ‘प्रेमको जेहाद’ बारे सचेत गराएका थिए। उनका अनुसार मुस्लिमले हिन्दु युवतीहरुलाई प्रेमको जालमा फसाउने र धर्म परिवर्तन गराउने गर्छन्। मुस्लिमहरु परिवार नियोजन नगर्ने भएकाले उनीहरुको जन्मदर अत्यधिक रहेको र यसले भारतको जनसंख्यामै प्रभाव पर्न सक्ने उनको विचार छ। आदित्यनाथको धार्मिक प्रहारमा मुस्लिम धर्मावलम्बी कलाकार, लेखक तथा उदारवादी अगुवा पनि पर्ने गरेका छन्। मोदी सरकारमा आएपछि भारतमा बढ्दो असहिष्णुताप्रति चिन्ता व्यक्त गरेका लोकप्रिय सिनेमा स्टार शाहरुख खानविरुद्ध उनी खनिएका थिए। उनले शाहरुखलाई पाकिस्तानी आतंककारी हाफिज सइदसँग तुलना गर्दै शाहरुखलाई भारतको अवस्था मन पर्दैन भने पाकिस्तान जान चुनौती दिए। यतिमात्र होइन, आदित्यनाथ हिंसालाई सार्वजनिक रुपमा समर्थन गर्छन्। एक भिडियोमा उनले भनेका छन्, ‘एक हिन्दु मारियो भने हामी प्रहरीकहाँ जाँदैनौं, हामी १० मुसलमान मार्छौं।’ त्यस्तै, अर्को एक भिडियोमा उनले भनेका छन्, ‘कुनै मुस्लिमले एक हिन्दु महिलालाई उठाएमा हिन्दुले १०० मुस्लिम महिलालाई उठाउने छन्।’ उनको प्रहरी-प्रशासनसँग पनि राम्रो सम्बन्ध छैन। साम्प्रदायिक दंगा भड्कन सक्ने सम्भावना भएकाले उनलाई संवेदनशील स्थानहरुमा जान प्रहरीले बन्देज लगाउने गरेको छ। उनलाई उत्तर प्रदेशका ‘बालठाकरे’ पनि भनिन्छ।उनीमाथि साम्प्रदायिक दंगा भड्काएको, हत्या प्रयास गरेको, धार्मिक वैमस्यता बढाएको जस्ता आरोप छन्। किन आदित्यनाथ यति धेरै कट्टर छन् त ? वास्तवमा उनी महन्त रहेको गोरखनाथ मठ कट्टरपन्थी हिन्दु राजनीतिमा लामो समयदेखि संलग्न छ। उनीभन्दा अघि गोरखनाथ मन्दिरमा महन्त अवैद्यनाथ थिए। सन् १९९२ मा भत्काइएको बाबरी मस्जिद काण्डमा अवैद्यनाथ एक प्रमुख योजनाकार मानिन्छन्। अवैद्यनाथको भनाइ थियो, ‘द्वन्द्व नहोस् भनेर हामीलाई कसैले अर्को स्थानमा राम मन्दिर बनाउने सल्लाह दिन्छ भने त्यो रामलाई रावणसँग लडाइँ नहोस् भनेर अर्की सीतासँग बिहे गर्न सल्लाह दिनुजस्तै हो।’

अवैद्यनाथ सन् १९९१ र १९९६ मा दुईपटक भाजपा तर्फबाट चुनाव लडेर लोकसभा सदस्य भएका थिए। अवैद्यनाथका गुरु दिग्विजय नाथ हुन्, जो सन् १९५० मा हिन्दु महासभाका महासचिव भएका थिए। आफ्नो पार्टीले चुनाव जिते भारतीय मुस्लिमलाई ५ देखि १० वर्षसम्म मतदान अधिकारबाट वञ्चित गर्ने उनले बताएका थिए। (भारतीय अनलाइन स्क्रोल डट इनमा आधारित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका