नेपालको नयाँ नक्सा जारी (पत्रकार सम्मेलनमा मन्त्रीले पढेको वक्तव्यको  पूर्णपाठसहित)

nepal-map

२०७७ जेठ ७ बुधबार, सरकारले नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् ।मन्त्री अर्यालले नेपालले जारी गरेको नयाँ नक्सालाई भारतले सकारात्मक रूपमा लिने अपेक्षा सरकारले गरेको बताइन् ।आगामी दिनमा भारतसँग द्धिपक्षीय वार्ता र कुटनीतिक प्रयासमार्फत समस्याको समाधान गर्न प्रतिबद्ध रहेको मन्त्री अर्यालकाे भनाई छ । यसलाई भारतले पनि सकरात्मक रुपमा लिने आफुहरुको विश्वास रहेको मन्त्री अर्याल बताइन । सरकारले सबै स्थानीय तह र अन्तर्राष्ट्रिय सीमासहितको नक्सा सार्वजनिक गरेको हो । यस नक्सालाई विद्यालयको पाठ्यपुस्तकदेखि सबै औपचारिक रुपमा प्रयोगमा ल्याईने मन्त्री अर्यालले जानकारी दिइन् ।

यथेस्ट प्रमाणका आधारमा विगतमा छुटेको भाग समेटेर नक्सा जारी गरेको मन्त्री अर्यालले बताइन् । ‘सुगौली सन्धिअनुसार गुन्जी, नाभी र कुटी र लिम्पियाधुरासमेत समेटेर नक्सा जारी भएको छ ।’ उनले भनिन ‘हाम्रा पूर्वजले रचिदिएकाे भुगाेलका कारण हामीले गाैरव गर्न पाएका छाैं ।’

नक्सा सार्वजनिकसँगै अब देशभर यसैलाई प्रयोगमा ल्याइने छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।त्यसअघि शुक्रबार सरकारको नीति तथा कार्यक्रममार्फत नयाँ नक्सा जारीको घोषणा भएको थियो ।कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा जारी गर्ने विषयमा सरकारले गरेका निर्णयबारे मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई जानकारी गराएका थिए ।

नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई फिर्ता लिएर छाड्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले अब यो विषय टुंगोमा पुर्‍याएरै छाड्ने अठोट गरेका छन् ।  तर, नक्सा बनाउनजस्तो सजिलो जमिन फिर्ता ल्याउन नभएको भन्ने सांसदहरूको जिज्ञासालाई पनि प्रधानमन्त्री ओलीले स्विकारेका छन् ।‘सजिलो हुन्थ्यो भने त हिजै फिर्ता आइसक्थ्यो । अवश्य छैन, नक्सा बनाउनजस्तो सजिलो । तर, नक्साले हाम्रो दृढतालाई प्रतिबिम्बित गर्छ । हामी जमिन फिर्ता लिनेवाला छौँ,’ उनले थपे, ‘हामीलाई थाहा छ, भारतको भूगोल, जनसंख्या, अवस्था र हाम्रो अवस्थाको भिन्नता । तर, यी भिन्नता न्याय निरुपणमा प्रतिबिम्बित हुनुहुँदैन । सत्य स्थापनामा प्रतिबिम्बित हुनुहुँदैन । सत्य, सत्य हो । आकार, प्रकार, हैसियत हेरेर न्याय निरुपण र सत्य स्थापना हुँदैन पनि । स्विकार्न सकिँदैन पनि ।’

पत्रकार सम्मेलनमा मन्त्रीको वक्तव्य

लामो समयपछि नेपालको सीमाका विषयमा रहेको समस्यालाई सम्बोधन गर्दै मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग समेटिएको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्न पाउँदा यस घडीमा हामी सबै गौरवान्वित र पुल्कित भएका छौ । नेपाल सरकारको आर्थिक बर्ष २०७७÷०७८ को  वार्षिक नीति तथा कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट घोषणा भए बमोजिम त्यसको एक हप्ता भित्रै नेपालको राजनैतिक एवम् प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक गर्न पाउँदा आज मलाई अत्यन्त खुशी लागेको छ ।

यस अवसरमा यो गौरवशाली इतिहास निर्माण गर्न आम नेपाली जनताले देखाएको चासो र दिएको साथप्रति म आभार व्यक्त गर्दछु । नेपाली जनताको यही मर्म र भावनाको जगमा उभिएर हामीसँग उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यले देखाएको सत्यको पथमा समर्पण भावनाका साथ अघि बढ्ने प्रेरणा मिलेको यहाँहरु समक्ष स्मरण गर्न चाहान्छु । नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने यो अवसरमा सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण हो । जुन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारको काँधमा आइपुगेको तपाइहरुसामु छर्लङ्ग छ । साथै नेपालको अद्यावधिक (राजनितिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्ने यो सुनौलो अवसर यो युगको सर्वाधिक स्मरणीय क्षणका रुपमा मैले लिएको छु । नेपालमा मात्र होइन सिंगो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मन पनि बदलिएको छ । त्यतिमात्र होइन नेपालको बदलिएको मानचित्रले जनताको मनोबललाई अझ उच्च बनाएको छ । सीमाका विषयमा सिंगो राष्ट्र एक ढिक्का भएको यो ऐतिहासिक घडीमा हाम्रो दृढ संकल्प र अटल आत्मविश्वासका साथ हामीले संकलन गरेका यथेष्ठ प्रमाणहरुका आधारमा यस अघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने विन्दुमा आइपुगेका छौं ।

हाम्रो भूभागलाई जोगाउन पूर्वजहरुले बलिदानी गरेको इतिहासलाई हामीले कदापी विर्सन सक्दैनौं । पूर्वजहरुले रचिदिएको भौगोलिक इतिहासका कारण आज हामी नेपाली भन्न पाएका छौं । नेपाली हुनुमा हामी गौरव गर्दछौं । नेपाल निर्माणको अढाइ सय वर्षको दौरानमा धेरै आरोह अवरोह झेलेका पनि छौं । आजको यो ऐतिहासिक क्षणमा आइपुग्दा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको शिर झुक्न दिएको छैन र दिने पनि छैन भन्ने विश्वास यहाँहरुमा राख्न चाहान्छु । त्यति मात्र होइन सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पुरा गर्ने दिशामा राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ संकल्पित छ ।

सन् १८१६ मार्च ४ मा तत्कालीन ईष्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धीअनुसार काली नदी र सो भन्दा पूर्बको भूभाग नेपाल राज्यको अभिन्न अंग भएको तर हाल नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्बका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकोले ती भूभाग समेत देशको सिमानाभित्र पर्ने गरी तथा काली नदीको उद्गमस्थल  लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार गरी प्रकाशन गर्न र प्रचलनमा ल्याउन नेपाल सरकार, मन्त्रिपरिषद्को  मिति २०७७÷०२÷०४ गतेको बैठकले नेपालको अद्यावधिक राजनीतिक प्रशासनिक नक्सा स्वीकृत गरी लागू गर्न निर्णय गरेको छ ।

यस बिषयमा जग्गा नापजाँच नियमावली बमोजिम गठित समितिको मिति २०७६÷११÷१३ को बैठकले उक्त भूभाग समेटी नक्सा प्रकाशन गर्न गरेको सिफारिस एवं यस बिषयमा संघीय संसदको विभिन्न समितिहरुका बैठकले निर्देशन दिएको थियो । उक्त अद्यावधिक नक्सा प्रकाशनको लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट मिति २०७७÷०२÷०४ गते सहमति प्राप्त भएको थियो ।

राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्न देशको सिमानाको स्पष्ट अभिलेख महत्वपूर्ण हुने र सो को लागि देशको सम्पूर्ण भूभाग स्पष्टसँग देखिने नक्सा प्रकाशन गरी  प्रचलनमा ल्याउन अत्यन्त आवश्यक रहेको सन्दर्भमा विगतमा नेपालको नक्सामा छुटाइएका गुन्जी, नाभी, कुटी लगायतका भूभाग समेटी ती भूभाग समेत देशको सिमानाभित्र पर्ने गरी तथा काली नदीको उद्गमस्थल  लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक, राजनितिक, प्रशासनिक नक्सा तयार गरी प्रकाशन गर्ने निर्णय भएबाट नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ । आगामी दिनमा छिमेकी मित्रराष्ट्र भारत सरकारसंग द्विपक्षीय वार्ता र कुटनीतिक प्रयास मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध छौ । मित्रराष्ट्र भारतले सकारात्मक रुपमा लिनेछ भन्ने विश्वास लिएका छौ ।

यस विषयमा मार्गनिर्देशन गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, सुझाब, सल्लाह दिनुहुने अभियन्ताहरु, विज्ञहरु, नागरिक समाज, अहोरात्र खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरु, राजनीतिक दल र सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरु प्रति आभारी छु ।

यस बन्दाबन्दीको अबस्थामा पनि अहोरात्र खटेर आफ्नो ज्ञान सीप र प्रविधिको उपयोग गर्दै नापनक्साका मान्य सिध्दान्त, अन्तर्राष्ट्रिय प्रचलन, देशको मौजुदा कानून, नम्स, भ्यालुज र स्टाण्डर्स पालना गरी नक्सा तयार गर्ने नापी विभागका प्राविधिक एवं यस मन्त्रालय अन्तर्गतका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । सञ्चारमाध्यमको योगदानका निम्ति आभारी छु ।

अन्तमा यो अद्यावधिक, राजनितिक, प्रशासनिक संस्करणको नक्सा छिट्टै वेब भर्सन र हार्डकपी दुबै प्रकाशनमा ल्याइने छ । अब उप्रान्त नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकहरूमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग गरिनेछ । म यहाँहरूमार्फत आम नक्सा प्रयोगकर्ताहरूमा अपिल गर्न चाहन्छु अब उप्रान्त सबैले यही नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्नुहुनेछ ।  कोभिड १९ को महामारीको कारणले विश्व आक्रान्त भइरहेको वर्तमान समयमा नेपाल सरकार सम्पूर्ण नागरिकको सुरक्षाका निम्ति अहोरात्र खटिरहेको यथार्थ जग जाहेर नै छ । यस महामारीका बिरुद्ध एकताबद्ध भएर लड्न सम्पूर्ण नेपाली जनता एवं महानुभावमा हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी