देउवा–ठाकुर भेटवार्ता: समर्थन फिर्ता लिने चेतावनी

mahanta_thakur-593955d7e18b47.80470042२१ असार – राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

मंगलबार अपराह्न सिंहदरबार पुगेका ठाकुरले तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन हुन्छ कि हुँदैन भनी सोधेका थिए । देउवाले आफू त्यसैका लागि प्रयासरत रहेको जवाफ दिदै केही दिन कुर्न आग्रह गरे पनि ठाकुर असन्तुष्ट हुँदै निस्केको उच्च स्रोतले जनायो ।

अध्यक्षमण्डलका कुनै पनि नेता नलिई सिंहदरबार पुगेका ठाकुरसँग प्रधानमन्त्री देउवाले एक्लै कुरा गरेका थिए । दुई नेताबीच करिब आधा घन्टा कुराकानीपछि ठाकुर भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई भेट्न लैनचौरस्थित दूतावास गएका थिए । पुरीसँग के कुरा भयो भन्नेबारे दुवै पक्षले खुलाउन मानेनन् । यो भेटमा पनि कोही सहयोगी थिएनन् ।

ठाकुरका यी दुवै भेट अति गोप्य राखिएको छ । प्रधानमन्त्री र राजदूतसित यसअघिका भेटहरुमा राजपा अध्यक्षमण्डलका अन्य नेता पनि सहभागी हुन्थे । प्रधानमन्त्री र राजदूत भेट्नुअघि ठाकुरले कान्तिपुरसँग कुरा गर्दै आफू देउवा भेट्न गइरहेको जानकारी दिएका थिए । तर, सिंहदरबार र लैनचौर भेटपछि उनी सम्पर्कमा आउन चाहेनन् ।

साँझसम्म चलेको राजपा अध्यक्षमण्डल बैठक बीचैमा छाडेर ठाकुर सिंहदरबार र लैनचौर गएका थिए । त्यसपछि उनी पार्टी बैठकमा आए पनि दिनभरका भेटबारे कुनै कुराकानी नभएको पार्टी उच्च स्रोतले दाबी गर्‍यो । दोस्रो चरणको स्थानीय चुनाव निर्वाध सफल भएपछि राजनीतिक निकास निकाल्ने र अगाडिको बाटो पहिल्याउनेबारे महत्वपूर्ण छलफल भएको हुन सक्ने अध्यक्षमण्डलका एक नेताले बताए ।

तर उनले त्यसबारे विस्तृत जानकारी पाइनसकेको दाबी गरे । ठाकुरका एक सहयोगीले प्रधानमन्त्री र राजदूतसँगका दुवै भेटको एकअर्कासँग सम्बन्ध रहेको संकेत गरे पनि विस्तारमा भन्न नसकिने बताए ।

ठाकुर र एमाले अध्यक्ष केपी ओलीबीच पनि मंगलबारै छलफल हुने बताइए पनि भएन । केही दिनअघि सानोठिमी निवासमा कान्तिपुरसँग कुरा गर्दै ठाकुरले एमालेका दोस्रो तहका नेताहरुसँग आफ्ना नेताहरुको कुराकानी भइरहेको खुलाएका थिए । उनले राजनीतिक समस्या समाधानका लागि सुरुमा एमाले बाधक देखिए पनि पछिल्ला दिनमा सत्ता नेतृत्वकर्ता कांग्रेसले रुचि नदेखाएको भन्दै रोष प्रकट गरेका थिए ।

राजपा अध्यक्षमण्डलका अर्का नेता राजेन्द्र महतोले आफूहरु सबै पक्षसँग गम्भीर छलफल चलाउने मनस्थितिमा पुगेको बताए । मंगलबार कान्तिपुरसँग कुरा गर्दै महतोले भने, ‘राजनीतिक अवरोध धेरै लम्ब्याउन हुँदैन भनेरै हामी वार्ताहरुमा लचकतासाथ प्रस्तुत भएका हौं, अझै पनि एमालेसहित सबै पार्टीसँग खुला संवाद गर्न तयार छौं ।’ उनले त्यसका लागि पार्टीभित्र कुराकानी चलिरहेको खुलाएका थिए ।

राजपा बैठकले निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक विधानलगायत सांगठनिक दस्तावेजलाई अन्तिम रुप दिएको छ । महतोले आयोगलाई दल दर्ताका लागि विधानमा आवश्यक न्यूनतम प्राविधिक पक्ष मात्रै समेटेर दस्तावेज बुझाउन लागिएको भन्दै संगठन निर्माणसम्बन्धी मतभेद महाधिवेशनमै लगेर टुंगो लगाउने जानकारी दिए ।

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि देउवासँग स्पष्ट बहुमत भने कायम रहनेछ । राजपाले यसअघिको सरकारलाई दिएको समर्थन पनि बीचैमा फिर्ता लिएको थियो । सरकारले माग सम्बोधन गर्न नसक्ने निक्र्याेलनजिक पुगेको राजपाले लिने नया रणनीतिबारे भने पार्टीभित्रै अन्योल छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी