त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गामा देखियेको भद्रगोल

आधा घण्टाको बाटोमा सात  घण्टासम्म जाम

काठमाडौँ– १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडकको आगामी दुई वर्षभित्र निर्माण सकिने गरी काम अगाडि बढाइएको छ । कलङ्की–नागढुङ्गा चार लेन र त्रिपुरेश्वर–कलङ्की ६ लेनको हुनेछ । दुई मिटरको ‘ग्रिनबेल्ट’, १.२ मिटर साइकल लेन र अपाङ्गमैत्री फुटपाथ सडकमा रहनेछ । तर, सडक निर्माणमा कैयौँ जटिलता छन् र यात्रुले दुःख भोगिरहेका छन् । ग्राउन्ड रियालिटी जान्ने कोसिस गरेका छन्, कुमार लामाले ।ROAD 2

पात्रः १
नवलपरासीका राम मगर कीर्तिपुर बस्छन् । पेसाले उनी डकर्मी हुन् । उनी विगत १० वर्षदेखि काठमाडौँमा यसै पेसामा छन् । कामको सिलसिलामा उनी कीर्तिपुर–थानकोट दिनमा ४÷५ पटक ओहोरदोहोर गर्छन् । उनको ओहोरदोहोर साइकलमै हुन्छ ।

धुलाम्मे सडकमा यात्रा गर्दा उनी बिरामीसमेत परे । उनी भन्छन्, ‘यो सडकमा उडेको धुलो खाएर म ३ पटक अस्पताल नै भर्ना भइसकेँ । अहिले पनि औषधि खाइरहेको छु ।’ सडकमा उडेको अत्यधिक धुलोका कारण उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको रहेछ ।

उनलाई डाक्टरले केही समय धुलो धुवाँमा नहिँड्न र आराम गर्न सल्लाह दिएका छन् । तर श्वास्थ्य समस्या देखिए पनि धुलाम्मे बाटोमै ओहोरदोहोर गर्न उनी बाध्य छन् ।

पात्रः २
काभ्रे निवासी दीपक कार्की पेसाले चालक हुन् । उनी बुटवल–भैरहवा–काठकाडौँ रुटमा माइक्रो हाँक्छन् । उनले कलङ्की–नागढुङ्गा हुँदै भ्याली बाहिरका लागि माइक्रो हाँकेको १२ वर्ष बितिसक्यो । केही महिनादेखि भने उनलाई दिक्क लाग्न थालेको छ ।ROAD 5

उनी सुनाउँछन्, ‘गाडी चलाउन दिक्क भइसक्यो । यहाँ अत्यास लाग्दो जाम छ । म यहाँ ३ देखि साढे ५ घण्टासम्म जाममा बसेको रेकर्ड छ । जाम नपर्दा आधा घण्टामा पास हुने यो सडकमा त्यत्रो जाम हुँदा के हुन्छ होला तपाईं आफै सोच्नूस् न ।’

लामो समयसम्म जाममा पर्दा कुनै समय त उनको गाडीमा यात्रा गर्ने वृद्ध वृद्धा अशक्त अत्तालिएरै बेहोस् हुने गरेको उनले सुनाए । ‘कति पटक त हजुरबा हजुरआमाका उमेरको प्यासेन्जर लामो जामका कारण आत्तिएरै बेहोस् भएको घटना छ’, उनले भने, ‘यस्तो घटना मेरो गाडीमा पटक पटक दोहोरिएको छ । यस्तो समस्या कहिलेसम्म हो थाहा छैन । जाम पर्ने जाने बेला मात्रै होइन आउने बेला पनि उस्तै छ । म यहाँबाट गएपछि भोलिपल्ट काठमाडौँ फर्किने हो । यहाँ आइपुग्न पनि उस्तै ताल छ । जामै जाम छ ।’

पात्रः ३
सिन्धुली बिनोद  विद्यार्थी हुन् । उनी केही वर्षदेखि उच्च शिक्षाका लागि राजधानीमा बस्छन् । बुधबार उनी आफ्नो काम विशेषले बैतडी जानका लागि कलङ्कीमा गाडी कुरिरहेका थिए ।

उनले आफूले गर्न लागेको यात्राबारे हामीसँग केही कुरा राखे । ‘बैतडी पुग्न राजधानीबाट २४ घण्टाको लामो यात्रा गर्नुपर्ने हुन्छ । जाम सामले गर्दा ५ घण्टा छिटो यात्रा गर्छु ।’, उनले भने ।

उनी आफू घर जाँदा र राजधानी फर्किँदा ८, ९ पटकसम्म तीनदेखि पाँच घण्टासम्म जाममा परेको सुनाए । लामो समयसम्म जाममा पर्दा स्वास्थ्य खलबलिएको उनले सुनाए । उनी भन्छन्, ‘यो बाटोको अत्यधिक जामले गर्दा टाउको दुखेर, रिँगाटा चलेर म बिरामी नै परेँ ।’, उनले भने, ‘त्यो बेलादेखि औषधि नै साथमा लिएर यात्रा गर्नेगर्छु ।’ROAD 1

यी पात्रहरु कलङ्की–नागढुङ्गा सडकखण्ड विस्तार गर्दा सास्ती खेप्ने प्रतिनिधि पात्र मात्रै हुन् । राजधानीमा सवारी साधन भित्रिने र बाहिरिने मुख्य नाकाका रुपमा लिइएको यस खण्डमा सडक विस्तारमा देखिएको अवरोधका कारण काममा ढिलाइ हुँदा यस्तो सास्ती कहिलेसम्म हो भन्ने अझैसम्म निश्चित छैन ।

जसले गर्दा यात्रुहरु पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे बाटोमै यात्रा गर्न बाध्य छन् । साँघुरा सडक, ठूल्ठूला सवारी साधन गुड्ने, सवारीको चाप धेरै, सडक विस्तार गर्दा भत्काइएका संरचनाहरु नहटाइदिने, सडक विस्तारका लागि सडकमै थुपारिएका कच्चा पदार्थहरुले गर्दा यस सडक खण्डमा अत्यधिक जाम हुने गरेको छ ।

अत्यधिक जामकै कारण कलङ्की–नागढुङ्गा सडकखण्ड (९ किमि) आधा घण्टामा पुग्नुपर्ने यात्रु सडकमा ५, ७ घण्टासम्म जाममा बस्न बाध्य छन् । जामले गर्दा यात्रु समयमै गन्तव्यमा नपुग्ने, तनाव पैदा हुने, धुलो धुँवाले यात्रुहरुमा स्वास्थ्य समस्या देखिएको छ ।

यस्तो समस्या कहिलेसम्म ?
यस सडकखण्डमा काठमाडौँ उपत्यका सडक विस्तार योजनाले काम गरिरहेको छ । त्रिपुरेस्वर–कलङ्की–नागढुङ्गा सडकखण्ड (१२ किमि) को भागमा सवारीको चाप धेरै रहेको र सडकको संरचना चौडा गर्नुपर्ने भएको २ लेनमा कायम रहेको सडकलाई ४ लेनका रुपमा विस्तार गर्न लागिएको हो ।

यस सडकखण्डमा निर्माण व्यवसायीहरु गत असारमा सम्झौता भई सर्बे सकेर असोजदेखि काममा खटिएका छन् । निर्माण व्यवसायी काममा खटेको १५ महिना बितिसक्दा पनि विभिन्न कारणले गर्दा कामको गति सुस्त छ ।
जसले गर्दा यात्रु झन् समस्यामा परेका छन् । दुई वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि सडक विस्तारका बेला देखिएका विभिन्न अवरोधका कारण कहिलेसम्म सडक विस्तारको काम सम्पन्न हुन्छ भन्ने प्रश्नको उत्तर कुनै निकायले दिन सकेका छैनन् । यस सडकखण्डको यातायात अवस्था अस्तव्यस्त बनेको छ ।

हामीले गर्दा धुलो उडेको चाहिँ हो

काठमाडौँ उपत्यका सडक विस्तार योजनाका प्रमुख दीपक केसीका अनुसार ‘हाम्रो परियोजनाका कामले गर्दा त्यहाँ जाम भएको होइन । चाइनाले कलङ्कीमा अन्डरपास बनाइरहेकाले सवारी डाइभरसनमा देखिएको समस्याका कारण कलङ्कीदेखि नागढुङ्गासम्मै सवारी साधन रोक्नुपरेको हो ।’, उनले भने ।सडक विस्तारका क्रममा धुलो चाहिँ अत्यधिक उडेको उनले बताए । ‘हामीले धुलो नउडोस् भनेर पानी हाल्ने गरेका छौँ ।’– योजना प्रमुख केसीले भने– ‘हाम्रो कामबाट सवारी रोकिनु परेको छैन । हामीले यातायात सहज बनाउन खाल्डा खुल्डी पुर्नेलगायतका काम गरिरहेका छौँ ।’

 सर्वाेच्चको स्टे अर्डर

सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न अन्तरिम आदेश समेत जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

आदेशमा सो क्षेत्रको सडक विस्तारले त्यहाँका व्यक्तिको स्थायी संरचना पनि भएको देखिएकाले सडक विस्तार हुँदा अपूरणीय क्षति हुनेहुँदा अर्को आदेश नहुँदासम्म नगर्नू नगराउनू भनिएको छ ।

सडक विस्तार हुँदा प्रभावित हुने सानु श्रेष्ठसहितले प्रत्यक्ष रुपमा ४७ जनाको घर पूर्णरुपमा नष्ट हुने र उक्त गम्भीर क्षति रोक्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई २०७२ फागुन ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

त्यस्तै गरी आयोजनाले जनाएअनुसार त्रिपुरेश्वर कलङ्की नागढुङ्गा सडकखण्डको सडक विस्तार कार्यमा कालिमाटी, सतुङ्गल र बलम्बुनजिकको ढुङ्गेअड्डामा अवरोध छ । सर्वाेच्चको स्टेअर्डर र स्थानीयको अवरोध नभएको क्षेत्रमा भने आयोजनाले काम गरिरहेको छ ।

काममा अवरोध कायमै
–स्थानीयको विरोध कायमै छ ।
–सर्वाेच्चको स्टे अर्डर छ ।
–घर टहरा भत्काउन सकिएको छैन ।
–मुअब्जा विवाद अझै कायम छ ।
–खानेपानीको पाइप, विद्युत्, टेलिफोनका पोल सार्न सकिएको छैन ।
–सडक छेउमा रहेका रुख काट्ने प्रक्रियामै छ ।

मन्त्री नै काम रोक्नतिर

त्रिपुरेश्वर –कलङ्की सडकखण्डको सडक विस्तारको काममा मन्त्रीसमेत बाधक बनेका आयोजनाका एक उच्च अधिकारीले बताए ।

गत ८ असोजमा कालिमाटी क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरा भत्काउन पुगेका कर्मचारी र सुरक्षाकर्मीलाई उद्योगमन्त्री नवीन्द्रराज जोशीले फिर्ता पठाए ।

आयोजनाका ती उच्च अधिकारीले भने, ‘यो निजामती कर्मचारीमा आफू भन्दा उच्च मान्छेको अर्डर मान्नुपर्नेले गर्दा काम अड्क्यो । त्यसकारण मन्त्रीले नै आदेश दिएपछि हाम्रो केही चलेन ।’

र पनि यसरी हुँदै छ काम
–त्रिपुरेश्वर–कलङ्की नागढुङ्गा सडकखण्ड (१२ किमि) अन्तर्गत ४ वटा प्याकेजमा निर्माण व्यवसायीहरुले ठेक्का लिई काम गरिरहेका छन् ।

–जहाँ त्रिपुरेश्वर–कलङ्की (३ किमि) सडकखण्डमा बज्रगुरु–बिरुवा –सिएम जेभी, कलङ्की–सतुङ्गल (३ किमि) सडकखण्डमा शर्मा–सैलुङ–कान्छाराम जेभी, सतुङ्गल–त्रिभुवनपार्क (३ किमि) सडकखण्ड लुम्बिनी–सैलुङ–साप जेभी, त्रिभुवनपार्क–नागढुङ्गा (३.१ किमि) शर्मा–सैलुङ–कान्छाराम जेभीले ठेक्का पाएर काम गरिरहेको छ ।

–अवरोध आएको क्षेत्रहरु कालिमाटी, सतुङ्गल र बलम्बु नजिकको ढुङ्गेअड्डाबाहेक खाली ठाउँमा सडक विस्तारको काम भइरहेको आयोजनाले जनाएको छ । समग्रमा परियोजनाको काम २५–३० प्रतिशत सकेको आयोजना प्रमुख दीपक केसीले बताए ।

‘अवरोध बाहेकका सडकखण्डमा व्यपक काम भइरहेको छ ।’, आयोजना प्रमुख केसीले भने, ‘होम पाइप राख्ने काम र पर्खाल लगाउने काम लगभग ८० प्रतिशत सकिएको छ ।’

–आयोजना प्रमुख केसीका अनुसार सर्वाेच्चको स्टेअर्डरबाहेकका सामान्य विवाद भएको क्षेत्रमा स्थानीयसँग अन्तक्र्रिया गर्ने कामलाई व्यापकता दिएको छ ।
–त्यस्तै होमपाइप र पर्खाल लगाइसकेका सडकखण्डमा फुटपथका लागि सडक पेटीसमेत बनाइसकेको जनाउँदै घर भत्काइसकेका र अवरोध नभएको सडकखण्डमा यस वर्ष ३, ४ किमिमा कालोपत्रे गर्ने लक्ष्य रहेको आयोजनाका इन्जिनियर विश्व विजयलाल श्रेष्ठले बताए ।

–सडक विस्तारबाट प्रभावित बनेकाहरु आफ्नो जग्गाको मुआब्ज लिन नआएको काठमाडौँ उपत्यका विकास प्राधिकरण काठमाडौँ जिल्ला आयुक्त दीपक श्रेष्ठले बताए ।

निर्माण व्यवसायी भन्छन् 
–कलङ्की–नागढुङ्गा सडकखण्ड बनाउने ठेक्का पाएका ठेकेदार नवराज भण्डारीले सडक विस्तारका क्रममा हुने गरेको अवरोध सरकारले हटाउनु पर्ने बताए ।

–‘काममा देखिने भनेको स्थानीय बाधा अड्चन नै हो । यो समस्यालाई सरकारले समयमै हल गरे हामी तोकिएको समयमै काम सम्पन्न गर्न सक्छौँ । निरन्तरको विभिन्न अवरोधका कारण हामीले चाहेजति काम गर्न सकिरहेका छैनौँ ।’, ठेकेदार भण्डारीले भने, ‘हाम्रा कामदार र मेसिनहरु पनि त्यत्तिकै थन्किएका छन् ।’

–अहिले स्थानीयको अवरोध र सर्वाेच्चको स्टे अर्डर नभएको स्थानमा काम भइरहेको उनले जानकारी दिए ।

काम सम्पन्न भएपछि यस्तो बन्ने छ सडक
–कुल १२.३० किमिको त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक आगामी दुई वर्षभित्र निर्माण सकिने गरी काम अगाडि बढाएको आयोजनाले हाल ७.५ मिटर फराकिलो दुई लेनको कलङ्की–नागढुङ्गा सडक चार लेनसहित २२ मिटर फराकिलो बनाउन लागिएको छ भने त्रिपुरेश्वर–कलङ्की ६ लेनको हुनेछ ।

–चार लेनको उक्त सडकको बीचमा दुई मिटर फराकिलो ‘ग्रिनबेल्ट’ (हरियाली स्थान) हुनेछ । सडकको दुवैतर्फ १.२ मिटर फराकिलो साइकल लेन हुनेछ ।ROAD 5

–अपाङ्गमैत्री फराकिलो फुटपाथसमेत हुनेछ । सडकका प्रत्येक लेन अन्य स्थानका भन्दा केही फराक चार मिटरका ह
–आयोजना प्रमुख श्रेष्ठका अनुसार फुटपाथका बीचमा दृष्टिविहीनहरुले हिँड्न सहयोग हुने खालको रबर इन्डिकेटरसमेत राखिने योजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल