तारे होटलको अकुपेन्सी कति ?

काठमाडौं, चैत्र १९। कोरोना कहरका कारण मारमा परेका तारे होटल अझै लयमा फर्कन सकेका छैनन् । लकडाउनका कारण पाँच महिना बन्द भएका तारे होटललाई लयमा फर्काउन होटल सञ्चालकले प्रयास गरे पनि सार्थक हुन सकेको छैन ।

यद्यपि, केही सुधारको संकेत देखिएको होटल सञ्चालकहरु बताउँछन् । अहिले तारे होटलको अकुपेन्सी दर (होटलका कुल कोठामध्ये भरिएका कोठा) १२ देखि २५ प्रतिशतसम्म मात्र छ ।

तथ्यांकअनुसार साङ्ग्रिला होटलको अकुपेन्सी दर १२ देखि १८ प्रतिशत रहेको छ । होटलका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर साङ्गे लामाका अनुसार कोरोनाका कारण साङ्ग्रिला होटल बन्द भएन । उक्त होटल लकडाउनका बेला पनि क्वारेन्टिनका रुपमा सञ्चालित थियो । सो समयमा साङ्ग्रिलामा २ सय ५० जना बसेका थिए । जसकारण होटल संचालनमा केही राहत मिलेको लामाको भनाइ छ ।

अहिले पनि सांग्रिलामा पहिलाकै ग्राहक आउने गरेका छन् । यहाँ नेपालीभन्दा भारतीय ग्राहक धेरै आउँछन् । व्यापारबाट होटलको सबै खर्च नपुगे पनि बन्द गर्नुपर्ने स्थिति नआएको लामाले बताए ।

कालिमाटीस्थित पाँचतारे होटल सोल्टीमा २२६ कोठा छन्, जहाँ अचेल दैनिक १२० कोठा प्याक हुन्छन् । सोल्टीमा विभिन्न कर्पोरेट हाउसका कार्यक्रम पनि हुने गरेको छ । जसकारण विदेशी पाहुना नआउँदा पनि व्यापार ठिकै भएको बताउँछन्, होटलका सेल्स म्यानेजर रविन रानाभाट ।

होटलमा नेपाली पाहुना कम आए पनि विभिन्न नेपाली इभेन्ट हुने गरेको रानाभाटले बताए । उनका अनुसार सोल्टीमा आउने अधिकांश पर्यटक भारतीय हुन् । ‘समग्रमा व्यापारबाट होटल सञ्चालन गर्न पुगेको छ’ उनले भने, ‘अहिले नाफा कमाउने कुरा छैन, चल्न सके नै ठूलो कुरा हो ।

सोल्टीले सामाजिक दूरीलगायत सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल संचालन गरेको छ । ‘बाहिरबाट आउने ग्राहकलाई पीसीआर टेष्ट नगरी होटलमा प्रवेश नदिने भएकाले यहाँ आउने पर्यटक वा कुनै पनि ग्राहकमा कोरोना संक्रमणको सम्भावना कम छ’, रानाभाट भन्छन् ।

लाजिमपाटस्थित होटल र्‍याडिसनले लकडाउनपछि पहिलाको भन्दा कम मूल्यमा आफ्ना सीमित ग्राहकलाई सेवा दिइरहेको छ । र्‍याडिसनमा अहिले १० देखि २० प्रतिशत अकुपेन्सी छ ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटलले सरकारले जारी गरेको ‘दोस्रो स्वास्थ्य सुरक्षा मापदण्ड’ पालना गर्दै बुक भएका इभेण्टसमेत रद्द गरेको छ । उक्त होटलले लकडाउनपछि पहिलाको भन्दा ५० प्रतिशत सस्तोमा सेवा दिइरहेको थियो । अहिले होटलको अकुपेन्सी दर अहिले ५ देखि १० प्रतिशत रहेको छ । होटलमा भारतीय ग्राहक नै धेरै हुने रहेको होटलले जनाएको छ ।

काठमाडौंको बौद्धमा रहेको हायात रिजेन्सी होटलमा अहिले विदेशी र नेपालीको सामान्य चहल पहल छ । होटलमा भारतीय पर्यटक भने कम भएको होटलको सेल्स डिपार्टमेन्टले जानकारी दिएको छ ।

अहिले होटलको अकुपेन्सी दर अत्यन्त न्यून रहेको होटलकी सेल्स तथा मार्केटिङ म्यानेजर निमा शेर्पाले बताइन् । उनका अनुसार होटलको अकुपेन्सी दर १० प्रतिशत मात्र रहेको छ । ‘होटल नखोल्दा पनि भएन, खुल्दा पनि अबस्था अत्यन्त नाजुक छ,’ उनले भनिन् ।

अर्को पाँचतारे होटल याक एण्ड यतिमा अहिले ग्राहकको संख्या न्यून छ । विवाहलगायत विभिन्न कार्यक्रमले सञ्चालन खर्च अलिकति धानेको होटलले बताएको छ । होटलमा अहिले अकुपेन्सी दर १० प्रतिशत मात्र रहेको छ । ‘होटलका रुमहरु धेरैजसो खाली नै छन्,’ होटलकी एक कर्मचारीले बताइन् ।

काठमाडौंमै रहेको अलफ्ट होटलको अकुपेन्सी दर अन्य पाँचतारे होटलको तुलनामा राम्रो रहेको छ । होटलका अनुसार अकुपेन्सी दर सरदर ३५ प्रतिशत रहेको छ । बुधबार मात्र होटलको अकुपेन्सी दर ३० प्रतिशत रहेको थियो । अलफ्टमा प्रायः तेस्रो मुलुक तथा भारतका ग्राहक आउने गरेका छन् ।

दरबारमार्गस्थित अर्को पाँचतारे होटल अन्नपूर्ण भने कोरोना महामारीका कारण अहिले पनि बन्द नै छ ।

मापदण्ड खुकुलो बनाएपछि आशा

केही समयअघि मात्र सरकारले नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटक आगमनलाई केही खुकुलो बनाएसँगै होटल व्यवसायी केही उत्साही भएका छन् ।

‘विदेशी पर्यटकलाई नेपाल आउन खुकुलो बनाएसँग हामीमा उत्साह बढेको छ’, ‘होटल एसोसिएसन अफ नेपालका उपाध्यक्ष विनायक शाह भन्छन्, ‘कोरोनाबीचमा पनि सबै सुरक्षाका मापदण्ड अपनाएर पर्यटक ल्याउने बाटो खुलेको छ ।’

हाम्रा एजेन्टमार्फत विदेशी पर्यटक ल्याउने काम सुरु गरिएको उनले बताए ।

सौराहा र पोखराका होटल सुधारको बाटोमा

चितवन सौराहाका ठूला होटलको स्थिति सन्तोषजनक भएको बताउँछन्, ग्रीन पार्क चितवन होटलका म्यानेजर राधाकृष्ण श्रेष्ठ । उनका अनुसार ग्रीन पार्क होटलको अकुपेन्सी दर अहिले ४० प्रतिशत छ । ग्रीन पार्कमा अधिकांश आन्तरिक पर्यटक जाने गरेका छन् ।

सौराहामा विगतका वर्षभन्दा यसवर्ष आन्तरिक पर्यटकको चहलपहल बढी रहेको श्रेष्ठको भनाइ छ । सौराहका स्टार होटलहरुको अकुपेन्सी दर ४० प्रतिशतको हाराहारीमा भएको उनी बताउँछन् ।

पोखरामा पनि होटल व्यवसायले लय समात्न थालेको बताउँछन् होटल माउण्टभ्यू पोखराका होटल म्यानेजर कृष्ण भारती । उनका अनुसार अहिले माउण्टभ्यूको अकुपेन्सी दर ४० प्रतिशत छ ।

अहिले पोखरामा विदेशी पर्यटक पनि बढ्न थालेको भारती बताउँछन् । उनका अनुसार कुल पर्यटकमध्ये पाँच प्रतिशत विदेशी पोखरामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित