चुनाव हर हालतमा हुन्छ, मोर्चा नआए ऐतिहासिक गल्ती हुनेछ

६ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश निर्वाचनमा होमिइसकेकाले अब चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा चुनावमा नआए त्यो उनीहरुका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् ।

 

बुधबार बिहान अनलाइनखबरसँगको विशेष भिडियो वार्तामा प्रधानमन्त्री प्रचण्डले भने- ‘म आम नेपाली जनता, सबै राजनीतिक दल, तिनका कार्यकर्ता र आम नागरिक समाजलाई ढुक्क भएर कुनै संकोच नराखी निर्वाचनमा सहभागी हुन अपील गर्न चाहन्छु ।’

मधेसी मोर्चा चुनावमा आएन भने त्यो उनीहरुको ऐतिहासिक भूल हुने प्रधानमन्त्रीले स्पष्ट पारे । यद्यपि मोर्चालाई समेत चुनावमा सहभागी गराउने प्रयास भइरहेको र उनीहरुले चुनावमा आउन चाहिरहेको प्रधानमन्त्रीले जनाउ दिए ।

मधेसी मोर्चाका साथै बाबुराम र विप्लव लगायतले चुनावको विरोध गरिरहे पनि जनताको पल्ला भारी भइसकेकाले चुनाव नरोकिने प्रधानमन्त्रीले स्पष्ट पारे । उनले अनलाइनखबरसँग भने- ‘जनता नै निर्णायक हो, राज्यका सबै संयन्त्र तम्तयार भएर अघि बढेपछि र जनता तयार भएपछि चुनाव केहीले पनि रोकिँदैन ।’


prachanda

चुनाव हुन्छ कि हुँदैन ? जनतालाई भनिदिनुपर्‍यो प्रधानमन्त्रीज्यू, बैशाख ३१ गते घोषित स्थानीय तहको चुनाव हुन्छ कि सर्छ ? असाध्यै दुविधा भयो…

निर्वाचनको तयारी धेरै अगाडि बढिसकेको छ । अब २०/२२ दिन मात्र बाँकी छ । म अनलाइनखबरमार्फत आम नेपाली जनता, सबै राजनीतिक दल र तीन कार्यकर्ता र आम नागरिक समाजलाई ढुक्क भएर कुनै संकोच नराखी निर्वाचनमा सहभागी हुन अपील गर्न चाहन्छु । कुनै पनि मूल्यमा वा सर्तमा अब निर्वाचन सर्दैन, बैशाख ३१ गते नै हुन्छ । अब यो प्रश्नमाथि छलफल गरिराख्न आवश्यक छैन ।

 

चुनाव तोकिएकै मितिमा पक्कै हुन्छ त ?

मैले त धेरै पहिलेदेखि प्रष्ट भन्दै आएको छु, निर्वाचन तोकिएकै मितिमा हुन्छ । निर्वाचन आयोगले पनि बडो प्रष्टसँग भनिरहेको छ, निर्वाचन तोकिएकै मितिमा हुन्छ ।

हिजो मात्रै मैले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुलाई सुरक्षा स्थिति के छ ? निर्वाचन सम्पन्न गर्न अफ्ठ्यारो महसुस गर्नु भएको छ ? भनेर बिफि्रङ लिएको थिएँ । उहाँहरुले बडो दृढताका साथ हामी चुनाव सम्पन्न गर्न सक्छौं, एकै चरणमा गर्न सक्छौं भनेर तथ्य/तथ्यांकसहित भन्नुभएको छ ।

यो सबैले अब देश निर्वाचनमा गइसक्यो, सरकार यो निर्वाचन हरहालतमा सम्पन्न गर्न दृढ छ । त्यसैले ढुक्क भएर यो प्रक्रियामा सहभागी हुन म सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्न चाहन्छु ।

 

चुनावको माहौल बनिरहेको थियो । तर, गृहमन्त्रीको टि्वटले वीचैमा आशंका बढायो । यसलाई के भन्ने ?

गृहमन्त्रीजीले कुन अर्थमा भन्नु भो, मैले भेटेर कुरा गर्न अझै पाएको छैन । तर, उहाँको स्पष्टीकरण आएको छ, मैले सबै राजनीतिक दललाई सहभागी गराउँदा राम्रो हुन्छ मात्र भनेको हो, निर्वाचनलाई यताउता भनेको होइन भन्नुभएको छ ।

तैपनि उहाँको भनाइ आएपछि थोरै बहस जस्तो देखियो । तर, त्यो कारण देखाएर ‘के हुन्छ ?’ भन्नुपर्ने आवश्यकता छैन ।

म प्रधानमन्त्रीको हैसियतले, जसले निर्वाचन घोषणा गरेको हो, मैले ढुक्क हुन भनिरहेको छु, निर्वाचन आयोगले भनिरहेको छ । सुरक्षा एजेन्सीहरु तयार छौं भनिरहेका छन्, प्रमुख दलहरु निर्वाचन प्रक्रियामा सहभागी भइसके । यो स्थितिमा गृहमन्त्रीको एउटा टि्वटले पैदा गरेको सानो कन्फ्यूजनलाई ठूलो बनाउन आवश्यक छैन ।

 

तर, चुनावका लागि अझै पनि राजनीतिक सहमति भएको छैन, मधेसी मोर्चा सहमतिमा आएको छैन । यो स्थितिमा चुनावमा जाँदा राम्रो हुँदैन कतिपय मानिसहरुले भनिरहेका छन् । तपाई त आफैं मधेस, जानजाति लगायत पिछडिएको क्षेत्रको आवाज उठाउने मान्छे, कसरी मधेसी मोर्चालाई छाडेर चुनाव जान सक्नुहुन्छ ?

तपाईले भनेको जस्तै, यो सरकार गठनको औचित्य सिद्ध गर्नका लागि मधेस, पहाड, हिमाल सबैलाई मिलाउने र मधेसवादी दलदेखि जनजाति सबैलाई मिलाएर चुनावमा लैजान आठ महिना लगातार प्रयास गरेको सबैले देख्नुभएकै छ ।

खासगरी मधेसी मोर्चालाई सहभागी गराउन धेरै प्रयास गरेँ । अहिले पनि गरिरहेको छु । सहमतिको प्रयास सबै सकियो भन्ने होइन । मेरो अहिले पनि मधेसी मोर्चाका प्रतिनिधिहरुसँग कुराकानी भइरहेको छ र म अझै आशावादी छु, उहाँहरु निर्वाचनमा सहभागी हुन आउनुहुन्छ ।

 

मोर्चा चुनावमा कसरी आउला ? चुनाव बिथोल्ने गरी आन्दोलन घोषणा गरिसकेको अवस्था छ…

मैले अपिल गर्दा गर्दै पनि उहाँहरु चुनावमा आउनुभएन भने मैले यही भन्नुपर्ने हुन्छ, मोर्चाका नेताहरुले इतिहासमा निकै ठूलो गल्ती गर्नुभो

मोर्चाका नेताहरुलाई राम्रोसँग थाहा छ कि प्रचण्ड नै मधेसको मुद्दा, आदिवासी जनजातिको मुद्दा, दलित, महिला मुस्लिम सबै उत्पीडितको मुद्दा उठाउने र त्यसका निम्ति ठूलो संघर्ष र बलिदानको नेतृत्व गरेको व्यक्ति हो ।

अहिले पनि उहाँहरु (मोर्चा) ले उठाउने गरेको विषय अनुसार नै संविधानसभामा माओवादी केन्द्र भनौं वा मैले नोट अफ डिसेन्ट राखेको छ भन्ने पनि उहाँहरुलाई थाहा छ । हामी १० प्रदेश होस् भन्ने चाहना राख्ने पार्टी हो भन्ने पनि थाहा छ ।

मैले संविधान संशोधन विधेयक पहिलो वा दोस्रो राख्दा पनि उहाँहरुसँग जति छलफल भएको छ, उहाँहरुले यो कुरा बुझ्नुभएको छ ।

त्योभन्दा पनि मलाई के लाग्छ भने मधेसी जनताले राम्रोसँग बुझिसक्नुभएको छ कि मधेसको पहिचान स्थापित गर्न र हिमाल, पहाड र मधेसलाई जोडेर चुनावतिर लैजान प्रचण्डले बल गरिरहेको छ । यो अवस्थामा म के देख्छु भने मोर्चाले मेरो नेतृत्वको सरकारजति सकारात्मक र मधेसप्रति वैचारिक र भावनात्मक सम्वन्ध भएको र उहाँहरुको मुद्दा सम्बोधन गर्ने अर्को प्रधानमन्त्री तत्काल नै पाइहाल्नुहुन्छ भन्ने लागेको छैन ।

यो स्थितिमा उहाँहरुले आन्दोलन गर्ने, बहिस्कार गर्ने जस्ता जति पनि कुरा गर्नुभएको छ, पक्कै पनि केही दिनभित्र उहाँहरुले रियलाइज गर्नुहुन्छ कि चुनाव बहिस्कार गरेर गल्ती हुन्छ । उहाँहरु र, सम्वाद र सहमतिमा आउनुहुन्छ र चुनाव सम्पन्न हुन दिनुहुन्छ भन्ने विश्वास छ ।

 

यदि मोर्चा चुनावमा आएन भने नि ?

आउँदै आउनुभएन भने उहाँहरुले ठूलो गल्ती गर्नुहुनेछ । किनकि यस्तो सरकार, जो मधेसप्रति यतिधेरै सकारात्मक छ र मधेसको मुद्दा सम्बोधन गर्न यति लागिपरेको छ ।

मधेसमा पहिचान अधिकारको मुद्दा स्थापित गर्न माओवादी नेतृत्वमा १३ सय मधेसी जनताको बलिदान भएको छ । कतिपय उहाँहरुले भन्नुहुन्छ ५० जना मरे, १०० जना मरे, १३ सयको हिसाव कसले गर्ने ? त्यसैले मेरो त राजनीतिक जिम्मेवारी मात्र होइन, भावनात्मक सम्वन्ध छ मधेससँग ।

त्यसैले यो मुद्दाको बाहक र ठूलो बलिदानको जिम्मेवारी मेरो काँधमा भएकाले अधिकार स्थापित गर्न लडिरहेको छु । यो थाहा पाउँदापाउँदै र मैले अपिल गर्दा गर्दै पनि उहाँहरु चुनावमा आउनुभएन भने मैले यही भन्नुपर्ने हुन्छ, मोर्चाका नेताहरुले इतिहासमा निकै ठूलो गल्ती गर्नुभो । म अहिले नै आरोप लगाउन चाहन्न । किनकि आजका दिनसम्म पनि कुराकानी भइरहेको छ र मैले देखेसम्म सकारात्मक ढंगले सम्झौता खोजिराख्नु पनि भएको छ ।

केही केही नेताहरु त बढो चिन्ताका साथ कस्तो गर्न पुगियो, कसरी मिलाउने हो भनेर कुरा गरिराख्नुभएको छ । त्यसैले म उहाँहरुलाई आरोपित गर्ने पक्षमा छैन ।

हाम्रो पार्टीको बैठकले सम्वाद सहमतिको बाटोबाट उहाँहरुलाई चुनावमा ल्याउन पहल गर्नुपर्छ भन्ने निर्णय पनि गरेको छ । यो सबै अर्थमा म आशावादी छु ।

 

तपाई प्रधानमन्त्री भएपछि सबैभन्दा बढी छलफल र मेहनत गरेको विषय संविधान संशोधन, मधेसलाई सम्बोधन नै थियो होला । अहिले पनि गरिरहनुभएको छ । त्यस्तो के रहेछ, जति गर्दा पनि सहमति नहुने ? केही मानिसहरुले भनेको जस्तो जे गरे पनि मधेसी मोर्चा सहमतिमा नआउने नै हो कि ?

यो प्रश्नको उत्तर म निर्वाचनपछि मात्रै दिन्छु । अहिले भन्न सक्दिनँ ।

 

प्रतिपक्षले समेत भनिरहेको छ कि सरकार चुनाव गर्न चाहँदैन, माओवादीलाई हार्ने डर छ, त्यसैले प्रचण्ड चुनाव चाहँदैनन् । यसमा सत्यता छ कि छैन ?

पार्टीलाई चुनाव चिन्ह त दिनु पर्ने हो भन्नेमा छु । तर, बाबुरामजी मैलेले नै दिन नचाहेको जस्तो प्रचार गर्नुभएको छ ।आजभोलि  अलि बिछिप्त हुनुभयो कि जस्तो लाग्छ, बडो माया पनि लाग्छ

मैले निर्वाचन घोषणा गर्ने बेलामा नै प्रष्टसँग भनेको छु कि संविधान कार्यान्वयन र परिवर्तन संस्थागत गर्न निर्वाचन अपरिहार्य छ । त्यसैले मेरो सम्पूर्ण ध्यान निर्वाचन सम्पन्न गराउनेमा छ । किनकि, यो देशको निम्ति आवश्यक छ । मेरो पार्टीले जित्छ कि जित्दैन भन्ने मेरो सरोकार छैन । देशले जित्नुपर्‍यो, जनताले जित्नुपर्‍यो, परिर्वतनका मुद्दाले जित्नुपर्‍यो ।

चुनावमा कांग्रेस आओस्, राप्रपा आओस् वा अरु कोही आउँदैमा यो रोकिँदैन । चुनावमा हारजित त भइराख्छ । अहिले पनि म भन्न चाहन्छु, संविधान कार्यान्वयन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने प्रक्रियाले गति लियो भने मेरा लागि सबैभन्दा सन्तुष्टि त्यही हुन्छ । चुनावको परिणाम मेरा लागि सन्तुष्टि र असन्तुष्टिको विषय हुँदैन ।

जहाँसम्म प्रतिपक्षले लगाउने आरोप हो, त्यसमा कुनै तथ्य र आधार छैन । म अहिले तीतो भाषा प्रयोग गर्न चाहन्नँ । तर, म प्रधानमन्त्री भएपछि उहाँहरुले यतिधेरै आरोप प्रत्यारोप, गालीगलौज गर्नु भो । ८ महिना पुगेर ९ महिनामा जाँदैछ, मैले जे जति काम देश र जनताको पक्षमा गरेँ र अहिले निर्वाचन गर्नका निम्ति जुन गम्भीरता, दृढता र आत्मविश्वासका साथ अगाडि बढिरहेको छु, यो नेपाली जनताले देखेका छन् ।

अहिले पनि उहाँहरुले त्यसोभन्दा कस्तो लाग्छ भने प्रतिपक्ष आतंकित भइसकेको छ । झुटो आरोप लगाएर वा बदनाम गरेर सजिलै प्रचण्ड वा यो सरकारलाई सिध्याउन सकिन्छ भनेर सोच्नुभएको थियो कि ? सुरुमा, जतिबेला उहाँहरुले लम्पसारवादको सिद्धान्त आफैं प्रतिवादन गरेर प्रचार गर्नुभएको थियो, यहाँसम्म आइपुग्दा स्थिति ठीक उल्टो भयो । म अहिले सबै श्रृखंदा भन्न चाहन्नँ ।

निर्वाचनका निम्ति सरकारको जुन दृढता देखिएको छ, यसबाट प्रतिपक्ष शायद आतंकित भएको हुनाले जनतालाई भ्रम दिने साह्रै तल्लो स्तरको प्रचारबाजी बाहेक केही होइन ।

 

निर्वाचन गर्छु भन्ने सरकार र प्रधानमन्त्रीको प्रतिवद्धतामा शंका गरेको होइन तर, वातावरणले अझै शंका गराइरहेको छ । सत्तारुढ राप्रपा आन्दोलनमा छ, माग सम्बोधन भएन भने सरकारबाट बाहिरिने मात्र होइन, चुनावमा भाग नलिनसक्छौं भनिरहेको छ । तपाईकै पूर्वसहकर्मी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति ६८ दल भेला गरेर आन्दोलनमै छ । अर्का पूर्वसहकर्मी विप्लवको पार्टी स्थानीय चुनाव चुनाब विथोल्छु भन्दै हिँँडेको छ, यसबाट सरकार घेराबन्दीमा पर्दैन ?

यो सबै नकारात्मक परिस्थिति, जुन तपाईले भन्नुभयो, एकातिर र जनता निर्वाचन चाहन्छन् अर्कोतिर राख्नुभयो भने जनताको पल्ला धेरै बलियो छ भन्ने मेरो विश्वास छ । जनता निर्वाचन चाहन्छन्, मधेसमा पनि पहाडमा पनि ।

जनताले के कुरा बुझिसकेका छन् भने अहिलेको निर्वाचन भनेको जनतालाई अधिकार सम्पन्न गराउने, आफ्नो गाउँघरमा धेरै अधिकार आउने निर्वाचन हो । त्यसैले अरु टिप्पणीले खास प्रभाव पार्न सक्दैन, जनता नै निर्णायक हुन् भन्न चाहन्छु ।

अर्को, मैले अघि भनेँ कि निर्वाचन आयोग तयार छ, सुरक्षा अंगहरु तयार छन्, जनता तयार छ, नेतृत्व तयार छ । सरकार र प्रधानमन्त्री पूराका पूरा तयार छ भनेपछि साइड साइडमा देखिने कुराहरुले चुनावलाई असर गर्न सक्ने मलाई लाग्दैन ।

दोस्रो, तपाईले सत्तारुढ दलमै पनि फरक मतजस्तो देखियो, ६८ पार्टी भन्नुभो । एकपटक ९२ दल आएका थिए, त्यसको मैले केही हिसाब देख्दिँन । तर, नयाँ शक्ति र बाबुरामजीका सन्दर्भमा मैले केही भन्नुपर्छ जस्तो लाग्छ-

उहाँले आजभोलि जे भन्ने गर्नुभएको छ, बाबुरामजी अलि बिछिप्त हुनुभयो कि जस्तो लाग्छ, बडो माया पनि लाग्छ । चुनाव-चिन्हका लागि मैले निर्वाचन आयोगदेखि पार्टीहरुसँग लगातार छलफल गरेको छु र अझै पनि पार्टीलाई चुनाव चिन्ह त दिनु पर्ने हो भन्नेमा छु ।

अझै ठाउँ छ कि भनेर पार्टीहरुको बैठक बोलाएको छु, चुनाव चिन्हबारे छलफल गर्न । तर, उहाँ प्रचण्डले नै दिन नचाहेको जस्तो प्रचार गर्नुभएको छ । एनसेलको जसरी पनि कर उठाउने भनेर मैले भनिरहेको छु र अर्को कुनै निर्णय पनि भएको छैन । उहाँले बडो विचित्रको प्रचारबाजी गरिराख्नुभएको छ । यसबाट बाबुरामजी बिचरा, बिछिप्त पो हुनु भयो कि भनेर चिन्ता र माया लाग्न थालेको छ । त्यसैले उहाँ भनेको कुराले खासै असर हुन्छ भन्ने लाग्दैन । मोर्चासँग अहिले पनि सम्वादमै छु, उहाँहरु आउनुपर्छ ।

फेरि पनि अन्तिममा के हो भने जनता नै निर्णायक हो । राज्यका सबै संयन्त्र तम्तयार भएर अघि बढेपछि र जनता तयार भएपछि चुनाव केहीले पनि रोकिँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने