गोरखामा जोगी र भैंसीजस्तै माओवादी र नयाँ शक्ति !

Palungtar-768x451

१० बैशाख, गोरखा । नेपालीमा एउटा उखान छ- ‘जोगी देखेर भैंसी डराउँछ, भैंसी देखेर जोगी डराउँछ ।’ डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा माओवादी र नयाँ शक्तिको सम्बन्ध जोगी र भैंसीजस्तै देखिएको छ ।

 

माओवादीलाई हराउन नयाँ शक्ति र नयाँ शक्तिलाई हराउन माओवादी केन्द्र पर्याप्त हुने भएकाले यसैको वीचबाट कांग्रेस र एमाले जीत निकाल्ने दाउमा छन् ।

पालुङटारः बाबुरामको प्रतिष्ठा

साविक पालुङटार नगरपालिकामा ४ गाविसहरू पालुङटार, गाईखुर, च्याङली, आँपपिपल रहेका थिए । स्थानीय तह पुर्नसंरचना आयोगले थप ३ गाविसहरु मिरकोट, धुँवाकोट र खोप्लाङ थप गरिदिएको हो ।

यस नगरपालिकामा मतदाता संख्या २६ हजार छ । ०५६ सम्म कांग्रेसको प्रभाव क्षेत्रमारूपमा रहे पनि ०६४ र ०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादीका उम्मेदवारहरुले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा विपक्षीहरुलाई भारी मतले पछाडि पार्दै जितेका थिए ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको जन्मस्थल रहेको गोरखा पालुङटार नगरपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले, माओवादी र नयाँशक्तिका बीचमा तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

पालुङटारमा बाबुरामको नयाँ शक्तिबाट मेयरमा भवानी उच्च माविबाट हालै ‘रिर्टायड’ भएका शिक्षक उमाकान्त देवकोटा, अशोक देवकोटा र तेजु गिरी तथा उपमेयरमा दुर्गा न्यौपाने भट्टराई र नारायणी अधिकारीको नाम चर्चामा छ ।

त्यसैगरी माओवादी केन्द्रबाट खोपबहादुर कँडेल, गुणराज देवकोटा विवश चिन्तन र लोकनाथ बगालेको नाम चर्चामा छ ।

कांग्रेसबाट नारायण गुरूङ, दीपक कँडेलमध्ये एकजनाले टिकट पाउने सम्भावना छ । यस्तै कांग्रेसबाट उपमेयरमा कमला देवकोटा, राधा पन्थी र चेतकुमारी श्रेष्ठ सिफारिसमा पर्ने नाम हुन् ।

पालुङटार नगरपालिकाको मेयरमा एमालेबाट जुद्धबिलास भण्डारीले टिकट पाउने सम्भावना बढी छ । उनी साविक पालुङटार गाविसका अध्यक्ष समेत रहेर काम गरेका व्यक्ति हुन् ।

उनीसँगै मेयरमा नगरकमिटी अध्यक्ष प्रकाश न्यौपाने र ओम बराकोटीको पनि नाम पनि सिफारिस भएको छ । एमालेबाट उपमेयरमा इन्दिरा देवकोटा, सिर्जना कँडेल र सुशीला न्यौपानेको नाम सिफारिस भएको छ ।

०५६ सालसम्म कांग्रेसको चुनावी आधार इलाका जस्तै रहेको गोरखा जिल्लाको निर्वाचन क्षेत्र नः २ अन्तर्गत पालुङटार नगरपालिका पर्छ । १० वटा वडा भएको पालुङटार नगरपालिका गोरखा जिल्लाकै दोस्रो नगरपालिका हो ।

बाबुरामको जन्मघर रहेको खोप्लाङ पालुङटार नगरपालिकामै पर्छ । साविकको खोप्लाङ गाविस हाल पालुङटार नगरपालिकामा गाभिएर वडा नं १ हुन पुगेको छ । पालुङटार नगरपालिकामा साविक पालुङ्टार, धुँवाकोट, गाईखुर, च्याङ्ली, मिरकोट, खोप्लाङ र आँपपिपल मिलेर बनेको छ ।

माओवादी र विषेश गरी बाबुराम भट्टराईको सबैभन्दा राम्रो प्रभाव यसै जिल्लामा छ । डा. बाबुराम भट्टराईले माओवादी पार्टीबाट अलग्गिएर नयाँ शक्ति नेपाल पार्टी गठन गरेपछि त्यसको प्रभाव सबैभन्दा बढी यही जिल्लामा परेको कारण पालुङटार नगरपालिकामा आफूहरूले जित्ने भन्दै कांग्रेस र एमाले हौसिएका छन् ।

बाबुरामको प्रभाव क्षेत्र भएका कारण पनि अन्यत्र जस्तो माओवादी केन्द्रलाई पालुङटारमा सजिलो छैन । बाबुरामले आधाआधी बनाएर पार्टी फुटाएको जस्तै प्रभाव गोरखामा देखिन्छ । ०७० सालको संविधान सभाको निर्वाचनमा भारी मतान्तरले जितेका पूर्व स्थानिय बिकासमन्त्री हितराज पाण्डेको क्षेत्रमा पर्ने पालुङटार नगरपालिकामा यसपटक एमाले र कांग्रेसले आ-आफूले जित्ने दाबी गरेका छन् । ०५४ सालको स्थानीय तहको निर्वाचनमा पालुङटार नगरपालिकामा मिसिएका साविकका गाविसहरूमध्ये पालुङटार, गाईखुर, च्याङ्ली, मिरकोटमा एमालेले अध्यक्षसहित अधिकांश पदहरू जितेको थियो । धुँवाकोटमा राप्रपा र खोप्लाङमा कांग्रेसले जितेका थिए ।

आँपपिपलमा उपाध्यक्ष जितेको एमाले ०६४ मा भएको संविधान सभा निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नः २ बाट जमानत मात्रै जोगाउन सफल भएको थियो ।

गोरखामा एमालेको संगठन माओवादीको प्रभावका कारण क्षतविक्षत बनेको थियो । यसपटक विगतमा गुमेको बिरासत फर्काउने दाउँमा एमाले छ । यस्तै कांग्रेस पनि २०५१ र २०५६ साललाई फर्काउने जमर्कोमा छ ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा, गगन थापा सहितका नेताहरुलाई झिकाएर गत फाल्गुण १ गते पालुङ्टारमा आमसभा समेत गरिसकेको छ । माओवादी र नयाँ शक्तिको टकरावका कारण उनीहरूमा उत्साह जागेको छ ।

निर्वाचन चुनाव चिन्ह सम्वन्धी विवादका कारण नयाँ शक्तिले चुनावमा भाग लिने नलिने अझै ठोस निर्णय नगरे पनि पालुङटारमा आन्तरिक चुनावी तयारी गरिरहेको छ । डा. बाबुराम भट्टराईको उपस्थितिमा नयाँशक्तिले शनिबार पालुङ्टारमा शक्ति प्रदर्शन गरेको छ ।

नयाँ शक्ति र माओवादी केन्द्रको तानातानका वीचमा कांग्रेस वा एमालेमध्ये एकले पालुङटार नगरपालिकामा जित्न सक्ने दाबी गरेका छन् । वामपन्थीहरुको भोट विभाजित हुने भएकाले कांग्रेसको पल्ला भारी हुने स्थानीय कांग्रेसका नेता दीपक कँडेल बताउँछन् ।

नयाँ शक्तिले पालुङटारमा पराजय भोगेमा डा. बाबुराम भट्टराईलाई आफ्नै क्षेत्रमा झड्का लाग्न र देशब्यापी रुपमा नराम्रो सन्देश जाने भएकाले पनि बाबुरामले पालुङ्टारलाई प्रतिष्ठाको बिषय बनाएका छन् ।

शनिबार पालुङटारमा आयोजित जनप्रदर्शनपछि डा भट्टराईले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्- पुराना शक्ति बाईबाई, नयाँ शक्ति हाईहाई !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने