कुबेलाको बाढीले लियो ८८ को ज्यान

काठमाडौँ कत्तिक ०४: मुलुकका विभिन्न भागमा गरी बाढीपहिरोबाट बुधबार साँझसम्म ८८ जनाको ज्यान गएको छ। अत्यधिक वर्षा तथा बाढीका कारण प्रदेश १ मा ५१, सुदूरपश्चिममा २६, कर्णालीमा ८, लुम्बिनीमा २ र वाग्मतीमा एकजनाको मृत्यु भएको छ। २५ जना अझै बेपत्ता छन्। बेपत्तालाई खोज्ने, विस्थापितलाई सुरक्षित ठाउँमा सार्नेजस्ता कार्यमा स्थानीय तह तथा प्रहरी प्रशासन सक्रिय भएका छन्।

मोरङस्थित हाम्रा संवाददाता चुमन बस्नेतका अनुसार पूर्वाञ्चलभरि भारी वर्षा, बाढी तथा पहिरोले ५१ जनाको ज्यान लिएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण पाँचथरमा २२ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

पाँचथरको मिक्लाजुङ–५ स्थित चिसापानी गाउँका ११ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईका अनुसार इलाममा १३, धनकुटामा ७, सुनसरीमा ५, उदयपुरमा २, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको छ।

पहिरोमा परी प्रदेश १ मा ९ जना बालबालिकाको मृत्यु भएको छ। जसमा २ बालिका र ७ बालक रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाबाट बाढी र पहिरोको थप विवरण आउने क्रम जारी रहेकाले क्षति अझ बढी हुनसक्ने प्रवक्ता राईले बताए।

प्रहरीका अनुसार प्रदेश १ मा ८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको छ। बाढीका कारण तराईका झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट एक हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

इलामस्थित हाम्रा संवाददाता भीम चापागाईंका अनुसार बाढीपहिरोमा परी एकै घरका ४ सहित १३ जनाको मृत्यु भएको हो। पहिरोले पुरेर ११ जना, खोलाले बगाएर र रुखले किचेर एकएकजनाको मृत्यु भएको हो। २ जना बेपत्ता छन्। चार घाइतेको उपचार भइरहेको छ। पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

विराटनगर विमानस्थल र विद्युत् सेवा अवरुद्ध

बाढी सुनसरीको दुहबीस्थित विद्युत् प्राधिकरणको ग्रिडमा पसेपछि मंगलबार साँझदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणका निर्देशक राजन ढकालले ग्रिडमा जमेको पानी फ्याँकेर मर्मत गरेपछि विद्युत् सेवा सुचारु हुने जानकारी दिए।

त्यसैगरी विराटनगर विमानस्थलको रनवेमा बाढी पसेपछि हवाई सेवा ठप्प भएको छ। टर्मिनल भवन, रनवे, ट्याक्सी वेलगायतका स्थानमा पानी भरिएर सेवा अवरुद्ध भएको छ। विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार पानी सुकेर हिलो सफा गरेपछि मात्रै विमानस्थल सञ्चालनमा आउनेछ।

यता प्रदेश नं. २ मा बाढीका कारण एक जना बेपत्ता भएको लहानस्थित हाम्रा संवाददाता मिथिलेश यादवले जनाएका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा कटानमा परेको सडक तर्ने क्रममा बाढीले बगाउँदा सोही नगरपालिका–९ का २३ वर्षीय लालु भनिने जीतेन्द्र मण्डल बेपत्ता भएका हुन्।

महुली खोलाको बाढी बस्तीमा पस्दा २५ घर डुबानमा परेका छन्। राजविराज नगरपालिकाका सरकारी कार्यालय पनि डुबानमा परेका छन्। वर्षा रोकिएसँगै पानीको सतह भने घटिरहेको हाम्रा संवाददाताले जनाएका छन्।

यस्तै वाग्मती प्रदेशअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ स्थित चाल्ने खोलाको भेलले बगाउँदा २२ वर्षीया सविता भुजेलको मृत्यु भएको छ। मामाघरबाट टीका लगाएर फर्कंदै गर्दा उनलाई भेलले बगाएको हो। उनको शव डेढ किलोमिटर तल स्थानीयले फेला पारेका थिए।

सुदूरपश्चिमस्थित हाम्रा संवाददाता दिलबहादुर छत्यालका अनुसार बाढी र पहिरोले त्यहाँ २६ जनाको मृत्यु भइसकेको छ भने २४ जना बेपत्ता छन्। सयौं परिवार विस्थापित भएका छन् भने सयौं चौपाया मरेका छन्।

सुदूरपश्चिममा बाढी पहिरोले डोटीमा १३ जना, बैतडीमा ४ जना, डडेल्धुरामा २, बझाङमा ६ र कैलालीमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विक्रम चन्दले बताए। बाढीपहिरोबाट प्रदेशभरिमा ११ जना घाइते भएका छन्। सुदूरपश्चिममा आइतबारदेखिको अविरल वर्षाले ठूलो धनजनको क्षति गरेको हो।

बझाङमा पहिराले घर बगाउँदा बेपत्ता भएका २३ जनाको खोजी जारी छ। पहिरोमा परी गगने सार्कीका परिवारका १८ जना बेपत्ता भएका थिए। उनका परिवारका दाजु भाई, भाईबुहारी, छोराछोरी, नातीनातीना पहिरोमा परेर बेपत्ता भएका हुन्।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षाकर्मीको बुधबार घटनास्थलमा पुगेका छन्। खाद्य सामग्री र औषधिसहित सुरक्षाकर्मी घटनास्थल पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दले बताए।

यसैगरी कैलालीमा माछा मार्न गएर सम्पर्कविहीन भएका लम्कीचुहा नगरपालिका वडा नं. ३ का तीनजनालाई कर्णालीको ललटपिया टापुबाट बुधबार सकुशल उद्धार गरिएको छ। आइतबार माछा गर्न गएर कर्णाली नदीको बीच टापुमा फसेका उनीहरूलाई तीन दिनपछि स्थानीय १० जनाको टोलीले उद्धार गरेको हो।

सुदूरपश्चिममा पहिरोले सबै राजमार्ग अवरुद्ध बनाएको छ। भीमदत्त पन्त राजमार्ग, जयपृथ्वी सिंह राजमार्ग, केआई सिंह राजमार्ग, पहलमानपुर राजमार्ग ठाउँ ठाउँमा पहिरो गएर अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दले बताए। प्रदेशका ७ पहाडी जिल्लामा सञ्चार सेवा र बिजुली पनि अवरुद्ध छ।

पहिरोले घर पुर्दा ६ जनाको मृत्यु

यस्तै कर्णाली प्रदेशको हुम्लामा पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको सुर्खेतस्थित हाम्रा संवाददाता नगेन्द्र उपाध्यायले जनाएका छन्। बेलुका साढे आठ बजेतिर आएको पहिरोले घर पुर्दा खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका ६ जनाको मृत्यु भएको हो।

स्थानीयका अनुसार खाना खाएर सुतिरहेका बेला घरमाथिबाट पहिरो खसेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख हेरम्ब शर्माले खर्पेलगाउँका केही घर पहिरोको जोखिममा परेको बताए।कर्णालीकै कालिकोटको तिलागुफा नगरपालिकामा भेलले १७४ भेडा बगाएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा बाढीबाट एक हजार कुखुरा मरेको हाम्रा स्थानीय संवाददाता लक्ष्मण घिमिरेले जनाएका छन्। बाढीले चुत्राबेसीको बस्ती डुबानमा पारेको छ। ६० घरमा बाढी पसेको छ । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द