ओलीलाई विजयकुमारको प्रश्न- राष्ट्रवाद त भन्नुभयो, परिभाषा के ?

केपी ओली जीको प्रधानमन्त्रीको रुपमा ममाथि दुई वटा गुन छ । त्यसको पैंचो तिर्न मात्रै आएको हुँ । एक चोटी के भयो भने चन्द्रशेखर कार्की हुनुहुन्छ, उहाँले मलाई निमन्त्रणा दिनुभयो । मै त त्यस्तो कार्यक्रममा खासै जान्न भन्दा मैले तपाईँका लागि २० वर्ष फोटो खिचेँ, मेरो एउटा कार्यक्रममा पनि नआउने भनेपछि घर त बोक्सीले पनि छोड्छ भनेर गएँ । जाँदा खेरी उहाँ (ओली)सँग भेट भयो । भोलिपल्ट केपी ओलीलले बोलाउनुभयो ।vijay-kumar

(बालुवाटार) जाँदा एउटा अदभुत घटना घट्यो । सेनाको कमाण्डर आउनुभाथ्यो र तपाईँलाई यहाँ रुख रोपेर मात्रै भित्र लैजानु भन्नु भएको छ भने । मलाई अच्चम लाग्यो । मैले त्यहाँ एउटा रुख रोपेँ र माथि गएँ । केपी ओलीजीसँग मेरो खासै धेरै अन्तर्वार्ता गरेको पनि होइन । १०/१५ वर्ष अघि एक दुई वटा मात्रै हो । परिचय पनि खासै थिएन ।
तपाईँले मलाई रुख रोप्न किन लगाएको भन्दा, विजयकुमार बालुवाटार आएको थियो तर ओलीले कदर नगरी पठायो नभन्नुहोस् । पत्रकारका रुपमा मेरो खासै ‘टच’ हुँदैन । तर, मेरा लागि बालुवाटार त्यति टाढाको विषय होइन । तर, कहिले काहीँ हामी टचमै हुन्छौं ।तर, केही सम्बन्ध यस्ता हुन्छन् कि एक अर्कालाई खासै नजिकबाट चिन्नु पर्दैन, टाढा-टाढाबाट पनि चिन्छौं ।

उहाँले यो पनि भन्नुभयो कि यो तपाईँलाई मेरो पुरस्कार पनि हो ।

पुरस्कारमा मेरो खासै रुची पनि छैन । तर, उहाँले भन्नुभयो कि म हामी यहाँ सधैं बसिरहने पनि होइन, त्यसैले यो हावा सधैं चलिरहोस् । उहाँको आफ्नै ठठ्टा गर्ने शैलीमा भन्नु भो कि ‘भोलि पर्सि हामी गैहाल्यौं भने र जोसुकै प्रधानमन्त्री आइहाले भने पनि ढोकामा मज्जासँग हर्न बजाउन सक्नुहुन्छ र भन्न सक्नुहुन्छ- त्यहाँ मेरो एउटा रुख थियो त्यो हेर्न आएको ।

म कुनै सेवा गर्न पत्रकारितामा आएको पनि होइन । आफ्नो अन्तरमनको आनन्द र स्वार्थ सुखायका निम्ति पत्रकारितामा आएको हुँ । मैले लेखेको बोलेका कुरा कसैले सुनिदिए पढिदिए ठीकै छ । नसुने पनि मेरो कसैलाई केही भन्नुछैन ।

मलाई राम्रोसँग थाहा छ कि कृष्णप्रसाद भट्टराईपछि मलाई अलिकति छोएको केपी ओलीजी प्रति हो । यस कारण होइन कि यहाँले मलाई एउटा रुख रोप्ने मौका दिनुभयो । बालुवाटारको त मैले कोठा-कोठामा रक्सी खाएर छादेर पनि हिँडेको छु । अलिकति कृष्णप्रसाद भट्टराईको कृपाले, त्यसपछि आदरणीय शेरबहादुर जीको कृपाले ।

त्यतिले मात्रै कहानी सिदि्धएन । रुख त भयो-भयो । उहाँ(ओली)लाई भेट्दा मैले रक्सी खान छोडिसकेको थिएँ, चिया लिएर आउनुभयो र एउटा उपहार दिन्छु भन्नुभयो । उपहार कस्तो आयो भने ठूलो छालाको बि्रफकेस जस्तो । उपहार दिँदा विष्णुजी -राजनीतिक सल्लाहकार विष्णु रिमाल)लाई त्यति चित्त बुझेको थिएन । अरुले दिए पनि हुन्छ भनेको जस्तो । फोटो पनि खिचियो । यत्रो ठूलो बि्रफकेस, कुनै दिन त्यो फोटो लिक भयो भने त्यो पैसाको बि्रफकेस होइन है । चीनबाट एउटा ठूलो मान्छेले दिएको चिया रहेछ । त्यस कारण पनि उहाँप्रतिको आकर्षण बढेको होइन ।

मेरो लागि उहाँको ठ्टटाको पछाडि एउटा कालो कोठरीमा १४ वर्ष बसेको मानिस पनि उँभिएको छ । मेरो लागि उहाँ जब हाँसो हुन्छ त्यो भित्रको पीडा म अलिकति बुझ्न सक्छु । मेरा लागि जसरी कृष्णप्रसाद भट्टराईका दुई वटा पाटो छन्, एउटा अध्यात्मिक सादक किसुनजी र अर्को राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई । त्यहाँ म उहाँको मनको पीडा बुझ्न सक्छु । मलाई उहाँको बारेमा किसुन जीले भन्नु भएको थियो । जेलमा बस्दा शरीरभरी खटिराले भरिएको… उहाँले त त्यो कुरा कहिल्यै पनि भन्नु भएन ।

एउटा कुरा भन्न चाहन्छौं, अक्सपोर्ड डिक्सनरी कन्ठ पार्ने मानिसहरु थिए । गणेशमानलाई पनि सबै आउँथ्यो । युग थियो कि अक्सफोर्ड डिक्सनरी कन्ठ पार्ने मानिसहरुलाई निकै ज्ञानी भनिन्थ्यो । आजभोलि अक्सफोर्ड डिक्सनरी कन्ठ पार्ने भनेको मुर्खताको प्रतिक हो । गुगल छ । डिक्सनरी डटकम छ । आजभोलि यदि तपाईका सापनाहरु साकार पार्ने हो भने ‘विसफुल थिङ्किङ’ र ‘विल टु डू’मा फरक छ । उहाँलाई सुर्‍याउँदा सुर्‍याउँदै बलीबेदीमा नपुर्‍याउनुस् । रुपचन्द्र विष्टले भन्नुभएको थियो, यो शहर यस्ता महावीरहरुले भरिएको छ, जो आफ्नो शरीरमा खरोच पनि नलागोस् । अरु सहिद भएको समाचार दिनहुँ सुन्न पाउँ । सपना, महत्वकांक्षा र उद्देश्यमा फरक छ ।

हामीले सपना देख्नुपर्छ । तर, सपना भनेको विसफुल थिंकिङ होइन । विल टु डू चिज हो । यो वैश्य युग हो, यहाँ कुनै पनि आइडियाहरु निश्चित समयपछि कन्भर्ट भएन भने निराशा बढ्दै जान्छ । मेरो स्वप्नदर्शी केपी ओली र उहाँका समर्थकहरुलाई यति भन्छु ।

 

अब किताबको कुरा गरौं । किताब त यो हुँदै होइन । यो तपाईँको भाषण र अन्तर्वार्ताहरुको संग्रह हो । यो किताबले केपी ओलीलाई न्याय गर्दैन । किनभने  लेखन, वाली र उपस्थिती भनेका फरक चिजहरु हुन् । जिन्दगीमा शब्दहरुको कुनै ठूला अर्थ हुँदैन, मृत हुन् । शब्दहरु नै ठूला हुने भए त डिक्सनरी छाप्ने कम्पनिहरु संसारका सबै भन्दा ठूला लेखक बन्थे । शब्दले अर्थ पाउँछ, तिनको संयोजनमा । शब्दले तब अर्थ पाउँछ, जब जीबनसँग जोडिन्छ । भारी शब्द प्रयोग गर्दैमा वाक्य भारी हुँदैन । राम्रो संयोजन गर्नुभयो भने नृत्य गर्न थाल्छ । यो भाषण तपाईँ हेर्नुहोस्, यो अरु कसैले बोल्यो केही औचित्य छैन । उहाँको (केपी ओलीको) बाचनकलामा शक्ति छ । तपाईँ टेलिभिजनमा आउनुभयो भने त सबैले अवकास पाउँछन् ।

यहाँ एउटा शब्दको प्रयोग भयो, सुत्ने र कुद्ने एकै ठाउँ पुग्न । यसलाई साधारण अर्थमा नलिनुस्, विशेषगरी कम्युनिष्ट मानिसहरुले । बडेबडे आए उड्छु भन्ने, तीनको गति कहाँ पुग्यो देखिसक्नु भएको छ । कोही ५ महिनामा ओर्लिए होलान्, कोही ५ वर्षमा । म्यानेजमेन्टको भाषामा भन्नुभयो भने ‘एब्जर्टिभ क्यापासीटी अफ नेशन’ भन्ने हुन्छ । त्यसलाई सपना दिलाएर बढाउन सकिन्छ । तर, त्यसको एउटा सीमा छ । मैले चोकमा जतिसुकै कराए पनि नारायणगोपालको जस्तो गीत गाउन सक्दिँन । किनभने ममा साधनाको अभाव छ । साधना नगरी गीत कागजमा मात्र गाउन सकिन्छ ।

यहाँ राजनीतिक कुरा भए । म त्यता जान चाहन्नँ । एउटा कुरा केपी ओली जीलाई निवेदन गर्न चाहन्छु । इतिहासले कहिलेकाहीँ व्यक्तिमाथि यत्रा जिम्मेवारी उसले चाहे पनि नचाहे पनि खन्याइदिन्छ । व्यक्तिलाई लगभग संस्थाको रुप दिन्छ ।

भाउजूलाई म नमन गर्न चाहन्छु, किनभने कुनै पनि व्यक्तिको निर्माण पछाडि धर्मपत्नीको भूमिका हुन्छ । उहाँको सट्टा कुनै अर्कै किसिमको भएको भए उहाँ पनि अर्कै किसिमको हुनुहुन्थ्यो । तपाई हामीले त केही क्षणको हाँसो मात्र देखेका छौं, १४ वर्ष जेल बस्दा, रोगसँग संघर्ष गरिरहँदा औषधि… त्यो देखेका छैनौं नि ।

तपाईँ (केपी ओली) को मुखबाट राष्ट्रियता राष्ट्रियता सुनिरहेको हुन्छु । यो विषयमा म टिप्पणी गर्दिँन । रुपचन्द्र विष्टले भन्नुहुन्थ्यो, ‘भन्नेले गर्दै गर्दैन, गर्नेले भन्नै पर्दैन ।’

यस-राष्ट्रियता)को बैचारिक उठान तपाईँबाट भइसक्यो । यो मुद्दालाई नेपालको धर्तीमा यसरी गाडिसक्नुभयो कि कसैले यसलाई उखालेर उखाल्न सक्तैन । तर, यसमा परिभाषा के त ? यस्तो विषयमा म हल्का टिप्णी गर्न चाहन्नँ । पहाडमा छँदा खोलाले गडगडाहट गर्नैपर्छ । तर, मैदानमा ओर्लिसकेपछि पनि खोलाले गडगड गर्छ भने त्यसले शोभा दिँदैन ।

हिन्दी फिल्मका एक ठूला एक्टरले भनेका थिए, ५० सालका मर्दले १६ सालके लड्कीके साथ नाचे तो अच्छे नही देख्ता हे ।

एकथरीलाई त रहर होला, तपाईँ दिनदिनै नयाँ टुक्का दिँदै जानुस् । तर, जोक र सेन्स अफ हृयुमरको बीचमा फरक छ । उहाँ र कृष्णप्रसादको उपस्थितिले हाम्रो समाजलाई गौरवशाली बनाएको छ । तपाईले जुन खालको मुद्दाहरु उठान गर्नु भएको छ, तपाईंको डाइगोनोसिस् सही छ । तर, प्रेस्किप्सन कस्तो हुन्छ ? म चाहन्छु कि नेपालको इन्द्रधनुष रुपी परिभाषा हुन सकोस् ।

केपी ओलीप्रति धेरै मानिसहरु जस्तो मेरो ठूलो आशा छ । तर, मेरो आशा उत्तेजनाको आशा होइन । मेरो आशा, इतिहासको शिक्षा र वर्तमानको जटिलताबीच भविष्यको बाटो खोज्न सकौं, त्यसको आशा हो । परिस्थिति जटिल छ, त्यो उहाँले बुझ्न सक्नुहुन्छ । ‘प्रयोगशाला’ भन्ने किताबको पहिलो पाना कहाँबाट सुरु हुन्छ, मैले भनिराख्नु पर्दैन ।

तथापी आज इतिहासले केपी शर्मा ओलीप्रति ठूलो जिम्मेवारी दिएको छ । उहाँले जुन भाव राखेर संसदमा जुन भाषण गर्नुभयो, अरु हेरिरहनु पर्दैन । तपाईँ आउनुभन्दा पहिला, एउटा विराट छाती देखाएर आइरहेको छ नेतृत्व । जसलाई माननीय भनेर सम्बोधन गर्दा माननीय भन्ने शब्दप्रति मलाई गौरवान्वित भएको अनुभूति हुन्छ । उहाँलाई म जिन्दगीभर माननिय नै भनिरहन्छु । चाहे तपाइँ कुनै पदमा बस्नु या नबस्नुस् । अर्को चाँही तपाइँले जाने बेलामा भनेको (संसदको सम्बोधन) चिज ।

हामी दुई कुरामा सारै गौरव गर्छौ, एउटा हिमालमा गर्व छ । तर, प्राय हिमाल नै चिन्दैनौं । अर्को बुद्ध । बुद्धको विषयमा थोरै मात्र थाहा छ । बुद्ध नेपालमा जन्मिएका हुन् मात्र भन्छौं । यो देशको ५० माइलको रेडिएसमा तपाई समुन्द्रको सतहदेखि संसारको चुचुरोसम्म पुग्न सक्नुहुन्छ भने यति सानो ठाउँमा यतिधेरै विविधता संसारको कुनै ठाउँमा छैन । यसलाई संगालेर राख्न हृदयको विशालता आवश्यकता पर्छ ।

मैले मेरो कालखण्डमा देखेको मनमोहन जी हुनुहुन्थ्यो, जसको अगाडि यसरी ठूलो स्वारमा बोल्न सक्तैन थिएँ । तुलना गरेको होइन । स्टोभमा दम दिइरहेको मनमोहन देखेको छु । उहाँको शालीनता र उहाँको त्यागका अगाडि मेरो अहंकारले शिर उठाउने आँट गरेन ।

तपाइँको पार्टीमा गुट सुट मलाई थाहा छैन । तपाईहरुको (मञ्च अगाडि बसिरहेका पार्टीका नेताहरुतिर लक्षित गर्दै) धर्म हुन्छ कि उहाँलाई नेश्नल लिडर बनाउन सहयोग गर्नुहोस् । मनमोहन अधिकारी, मदन भण्डारी, केपी शर्मा ओली भनेको तपाईँको पार्टीको बपौती होइन । हामी फेरि भाँड्न आएको पनि होइन । माधवजीलाई भनिदिनुहोला । उहाँ भएको भए उहाँलाई पनि भन्थें । म चाहन्छु कि केपी ओली जीको तर्फबाट उहाँको जिन्दगीलाई बुझ्न पाऊँ । उहाँका दुखका दिनहरु अझ बुझ्न पाऊँ ।

(ओली प्रधानमन्त्री रहँदाका भाषणहरुको संग्रह विमोचन कार्यक्रममा पत्रकार विजयकुमारले दिएको मन्तव्यको सम्पादित अंशvijay-kumar

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्