काठमाडौं,५ असोज । नेकपा एमालेमा २०७४ सालमा प्रवेश गरेका माओवादीका कुशल संगठकका रुपमा स्थापित नेता प्रल्हाद लामिछाने एमालेले आफु लगायतका साथिहरुको क्षमता अनुसारको जिम्मेवारी दिनमा कन्जुस्याइँ गरेका कारण पून माओवादीमा नै फर्कन बाध्य भएको बताएका छन् ।
  पार्टीमा खटपट हुँदा तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एमालेको केन्द्रिय समिति ठुलो बनाएका थिए उक्त जम्बो  ११९९ जनाको एमालेको केन्द्रिय समितिमा ओलीले लामिछानेलाई केन्द्रिय सदस्य बनाएका थिए भने हाल एमाले विभाजन भएपछि बागमती प्रदेश कमिटीको सदस्य बनाएका थिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई टिका खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । माओवादीको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उनी माओवादीमा प्रवेश गरेका हुन् । उनी माओवादीको कुन जिम्मेवारीमा रहने भन्ने टुंगो लागिसकेको छैन ।

माओवादीबाटै संविधानसभा सदस्य बनेका उनी पार्टी विभाजनपछि नयाँ शक्तिमा थिए । २०७४ मा भएको निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी निर्वाचनको एक दिन अघि एमालेमा प्रवेश गरेका थिए । हाल एमाले विभाजन भएसंगै लामिछाने पुनः माओवादीमा प्रवेश गरेका हुन् । लामिछाने तत्कालिन एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल निकट थिए । सिग्देलले एकीकृत समाजवादीमा हस्ताक्षर गरेसंगै लामिछाने माओवादीमा फर्किएका हुन् । लामिछानेको नेतृत्वमा कृष्ण कार्की, प्रेम वाइवा, सुसिल वली, सुजन थापालगायतका २ दर्जन एमाले र जसपाका कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।