आफ्नो ठेगानमा बसुन् वन तस्कर प्रेम आले : योगेश भट्टराई

बिहिबार, पुष २९ २०७८,काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले हालका पर्यटनमन्त्री प्रेम आलेमाठी गम्भीर आरोप लगाउँदै आफ्नो ठेगानमा बस्न चेतावनी दिएका छन् । उनले ठेगानमा नबसे ठेगानमा लगाउने चेतावनी समेत दिएका छन् ।पूर्वमन्त्री भट्टराईले पर्यटनमन्त्री प्रेम आलेलाई ठेगानमा बस्न र बोलीमा लगाम लगाउन सुझाव दिए । उनले भने, ‘प्रेम आलेसँग मेरो कुनै लडाइँ नै होइन ।

तर उनी आफ्नो ठेगानमा बसून्, बोलीमा लगाम लगाऊन् । म उनीजस्तो ढोंगी पनि होइन । उनी नेपालको हरियो वन भारततिर तस्करीमा लाग्दा म प्रजातन्त्रका लागि जेलमा थिएँ । आफू १० बोतल अवैध रक्सी ल्याउने अनि कसैले दुई बोतल ल्यायो भनेर झम्टिने स्टन्टबाजी म गर्दिनँ ।’ भट्टराईले आफूले नारायणहिटी संग्रहालयमा क्याफेटेरिया खोल्न निर्देशन दिएको स्वीकार गर्दै क्याफेटेरिया खोल्न नपाउने हो भने त्यहाँ निर्मित भवन किन नभत्काएको भनी प्रश्न उठाएका छन् ।

उनले भ्रष्ट, दलाल र कमिसनखोरलाई बचाउनका निम्ति मिडियाको खेल चलिरहेको आरोप पनि लगाए । भट्टराईले भने, ‘जोसँग विज्ञापन लिनु छ, लेऊ । जोसँग बसेर रक्सी खानु छ, खाऊ तर आनन्दराज बताससँग मेरो व्यावसायिक साझेदारी छ भने किन कुप्रचार गर्छौ ? कुनै फर्म, लगानी या शेयर छ भने किन देखाउन नसकेको ? बकम्फुसे कुरा गरेर हुन्छ ?’

प्राइम टाइम टेलिभिजनमा कुरा गर्दै पूर्वमन्त्री भट्टराईले भने, ‘म २०६७ साउन १५ मा संस्कृति तथा पर्यटन मन्त्री भएको हुँ । भ्रमण वर्ष मनाउने क्रममा म चार घन्टा नारायणहिटी संग्रहालय घुमें । त्यहाँ आगन्तुकका निम्ति विश्रामगृह, शौचालय, चमेनागृह केही देखिनँ । आगन्तुकको असुविधा पनि महसुस गरें । र, मैले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कफीसप सञ्चालनबारे बोलेको हुँ ।’

उनले आफ्नो पालामा नारायणहिटी संग्रहालयभित्र भवन नबनेको जिकिर गरे । भट्टराईले भने, ‘त्यहाँ २०६७/६८ तिरै क्याफ्टेरियाका निम्ति एकतले भवन बनिसकेको रहेछ ।

त्यतिबेला माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसपछि पनि खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । तर क्याफ्टेरिया सञ्चालनमा नआएपछि मैले बोल्नुपरेको हो ।

नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया सञ्चालनका लागि बोलपत्र आह्वान भएको बारेमा आफूलाई जानकारी नभएको उनले बताए । उनले भने, ‘बोलपत्र खोल्न मन्त्री जाँदैन, यसबारे जवाफदेही हुने भनेको मन्त्रालयका सचिव र संग्रहालयका कार्यकारी निर्देशक हुन् ।

नेकपा विवादका कारण मैले यसबारे चासो दिन पनि सकिनँ । मैले २०७७ पुस १५ मा मन्त्री पदबाट राजीनामा दिएँ, पुस २९ गते बतास समूहले क्याफ्टेरिया सञ्चालन अनुमति पायो । त्यसमा मलाई मुछ्नुपर्ने कारण केही छैन ।’

पूर्वमन्त्री भट्टराईले संग्रहालयभित्र क्यान्टिन चाहिने कुरामा आफू अहिले पनि अडिग भएको बताए । उनले भने, ‘के सिंहदरबारभित्र क्यान्टिन छैन ? राष्ट्रपति भवनभित्र क्यान्टिन छैन ? क्याफ्टेरिया भनेको नाइट क्लब हो र ? बेलायतको

बकिंघम प्यालेस, जापानको इम्पेरियल प्यालेस, अमेरिकाको ह्वाइट हाउस, रुसको सेन्ट पिटर्सबर्गमा पनि त्यस्ता चमेनागृह छन् । नारायणहिटीमा क्याफ्टेरिया चाहिँदैन भने त्यहाँ बनेको भवन किन नभत्काएको ?’

उनले आनन्दराज बतासलाई आफूले चिन्ने र पोखरामा रहेको उनको होटलमा बसेको पनि बताए । उनले थपे, ‘म आनन्दराज बतासलाई चिन्छु, उनले पनि मलाई चिन्छन् ।

पोखरामा रहेको उनको होटल आनन्दमा म बसेको पनि छु । तर बतास समूहलाई मैले क्याफ्टेरिया चलाउने जिम्मा दिएको होइन । मपछि पनि चार जना मन्त्री आए । उनीहरुका बारेमा किन प्रश्न उठेन ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा