२१औं शताब्दीको विशेषता, वैकल्पिक राजनीतिक प्रणालीको आवश्यकता

RC-Tiwariआर.सी. तिवारी, २१औं शताब्दीको समकालीन विश्वमा राजनीतिक विचारधारा र प्रणालीमा तिव्र संक्रमणको अवस्था विद्यमान रहेको देखिन्छ । सन १९८० को दशकपछि राजनीतिमा आएको नयाँ प्रवृत्ति र यसले लिएको नयाँ आकारबाट नवीन विश्व व्यवस्थाको रुपरेखासमेत प्रष्ट देखिएको अवस्था छ । परम्परागतरुपमा राजनीतिका संरचनागत, आत्मगत र औपचारिक कानुन वा कुटनीतिक तत्वलाई मात्र अध्ययन गर्दा यो स्थिर अध्ययनका रुपमा रहेको थियो । गतिहिन स्थिर अध्ययनले गतिशील प्रणालीलाई अध्ययन गर्न सक्दैन । यसैक्रममा राजनीतिको विश्लेषणमा प्रणाली सिद्धान्तको विकास गर्दा डेबिट स्टनले वातावरणीय तत्वलाई महत्वपूर्ण विश्लेषणको तत्वका रुपमा लिएका छन् । समकालीन विश्वमा वातावरणका अनेकन आयामहरु छन् ।

खासगरी बदलिंदो आर्थिकस्वरुप, सामाजिक पुनःउत्थानवाट उत्पन्न परिस्थितिहरु, प्रौद्योगिकिकरणबाट उत्पन्न भएका सम्भावना र चुनौतिहरुजस्ता तत्वहरु नै वातावरणका लागि जिम्मेवार छन् । प्रणाली सिद्धान्तको मुल आधार भनेको जसरी वातावरण र प्राणीबीचको अन्तरसम्बन्ध

आर.सी. तिवारी

क्रिया, प्रतिक्रिया र अन्तरक्रियाको संघर्षबाट नै वातावरण तथा यसमा रहेका कार्यरत प्राणीको विकास हुन्छ, त्यसरी नै व्यक्ति मात्र नभएर राजनीति, राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्ध पनि यहि वातावरणमा रहेर क्रियाशील हुँदा उमाथि वातावरणले प्रभावित गर्दछ भने वातावरणलाई उसले प्रभावित गर्ने कार्य गर्दा हुने क्रिया र अन्तरक्रियाले राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधि पनि निर्माण र परिवर्तित हुँदै विकास हुने गर्दछ । त्यसैले मागको उत्पत्ति र कार्यान्वयन वातावरणमा हुने हुँदा वातावरण नै राजनीतिको आधार तत्व हो र यो वस्तुगत जगत हो । सन् १९९० पछि बन्दै गएको भुमण्डलीकृत विश्वव्यवस्थाले राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक गतिविधिमा नविन घटनाहरु घट्ने क्रमले राजनीतिक पर्यावरण वा वातावरणमा तिव्रतम् संक्रमण र गतिशील अवस्था देखापरेको छ । आर्थिक, राजनीतिक, कुटनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र प्रकृतिजन्य परिस्थिति आदि बाट उत्पन्न समग्र परिस्थिति संक्रमणको परिणाम हो ।

२१औं शताब्दीको विशेषता

सन् १९९० मा सोभियत प्रणालीको विघटनपछिको अमेरीकी एकल ध्रुविय नेतृत्वले अन्तराष्ट्रिय वातावरणमा उत्पन्न गरेको उदारीकरण, औपचारिक लोकतन्त्र, आर्थिक विश्वव्यापिकरण, संसारीकरण, निजिकरण, व्यापारिकरण, खाद्य संकट, कृषि क्षेत्रको संकट, जातिय युद्धहरुबाट उत्पन्न सभ्यता र संस्कृतिबीचको नव द्वन्द्वको स्थितिहरु आदि चुनौति समाधान गर्न विद्यमान राजनीतिक प्रणाली असफल भएकोले नयाँ वैकल्पिक विचार राजनीतिक प्रणालीको खोज हुन पुगेको देखिन्छ ।

समकालीन विश्वमा अमेरिकी एकल ध्रुविय राजनीतिमा देखिएको चरम संकट र आर्थिक सम्वृद्धिसहित चीन विश्व महाशक्ति राष्ट्रका रुपमा उदाउंदै गएको परिस्थिति छ । चीनले प्रतिवर्ष ५ अर्ब डलर सेनमा खर्च गरिरहेको र उसँग ४० लाख नियमित सेना रहेकोले सन् २०२० सम्म विश्वशक्ति हुने निश्चित छ । यसरी हेर्दा विश्व फेरि बहुकेन्द्रिय राजनीतिक यात्रामा पुग्ने देखिन्छ । रुस, चीन र भारत अमेरिकी एकल ध्रुविय विश्व व्यवस्थाबाट उन्मुक्त हुनकालागि रणनीतिक साझेदारी गर्न सन् २००७ र २००९ मा नै सहमत भई अघि बढिसकेका छन् । विश्व बिस्तारै बहुलविश्व प्रणालीतर्फ उन्मुख छ । अमेरिका, इराक र अफगानी युद्धमा पराजिततर्फ उन्मुख हुनु, अफ्रिकामा अमेरिकाको प्रभाव घटी चीनको प्रभाव बढ्दै जानु, दक्षिणपूर्वि र पूर्वि एसियाकाराज्यहरु अमेरिकाविहिन नयाँ क्षेत्रिय व्यवस्थाका लागि प्रयासरत रहनुले विश्व प्रणालीमा परिवर्तन आएको देखिन्छ । यसले नयाँ राजनीतिक प्रणाली विकासको ढोका खोलिदिएको छ ।

हाल विश्वमा तेस्रो विश्वको बढ्दो महत्व रहन गएको छ । विश्वमा १५० गरिब, पिछडिएका, विकासशील राष्ट्र छन् भने ४९ राष्ट्र अल्पविकसित छन् । यिनको कुल क्षेत्रफल ७ करोड २४ लाख वर्ग कि.मि. छ र ५५ प्रतिशत भू-क्षेत्र ढाकेको छ । यिनको जनसंख्या ३ अर्ब २४ करोड (१९७९) छ । विश्वका झण्डै आधाभन्दा बढी जनसंख्याको समृद्धिको लागि संसारभरबाट नयाँ राजनीतिक विचार र प्रणालीको खोजी र माग हुनु स्वभाविक देखिन्छ । यी सबै राष्ट्रका लगभग समान समस्या छन् । जीविकोपार्जनका लागि कृषिमा निर्भरता, निर्यातमा आश्रित, असन्तुलित जनसंख्या वृद्धि, अस्थिर राजनीतिक व्यवस्था, भ्रष्टाचार र सैन्य सामग्रीमा ठूलो खर्चजस्ता कुरा यसका विशेषताको रुपमा देखिन्छ ।

आजको विश्व सैनिक प्रतिस्पर्धा भन्दा आर्थिक गुटबन्दीको हो । सन् १९९० मा सोभियत रुसको पतनसंगै सैनिक शक्तिको ठाउँ आर्थिक शक्तिले लियो । यस क्रममा युरोपेली संघ, आसीयन, एपेक र संघाई सहयोग संगठनजस्ता क्षेत्रिय संघहरु बने भने जी १५, जी ७, जी ८ जस्ता समूहहरुको गठन भयो । ४९ राष्ट्रको अल्पविकसित मुलुकको संगठनले पनि आफ्नो आर्थिक हितका लागि बार्गेनिङ गरिरहेको छ । विश्व आर्थिक समृद्धितर्फ अग्रसर छ । यसको असर हरेक राष्ट्रमा परेको प्रष्ट देख्न सकिन्छ ।

२१औं शताब्दीमा लोकतन्त्रको नयाँ प्रवृत्ति देखा पर्‍यो । सन् १९९० पछि सामाजिक आन्दोलन र क्रान्तिले प्रभाव बढाउन पुग्यो । यस अघिका लोकतन्त्रको बहुमतिय प्रणाली र संसदीय प्रणालीजस्ता कुराको सट्टा समावेशी लोकतन्त्रको स्थापनाका लागि नयाँ आन्दोलन सुरु भएका छन् । केन्या, दक्षिण अफ्रिका, नेपाललगायतका मुलुकमा समावेशी लोकतन्त्रको औपचारिक अभ्यास सुरु भएका छन् । बहुमतिय पद्धतिको सट्टा समावेशी पद्धति लोकतन्त्रको नयाँ प्रवृत्ति बनेको पाईन्छ । यसले राजनीतिक विचारधारामा नयाँ आयाम थपिदिएको छ ।

२१औं शताब्दीमा पुँजीवादमाथि चरम संकट देखापरिरहेको छ । खुल्ला र प्रतिस्पर्धा अनियन्त्रित तथा अनुशासनहिन आर्थिक प्रणालीमा आम्दानी भन्दा उपभोगमा बढी खर्च गर्ने प्रवृत्तिका कारण पुँजीवादमा संकट आएको हो । पुँजीवादी आर्थिक प्रणाली भएका देशले अर्थतन्त्रमाथि राज्यको कुनै किसिमको नियन्त्रण हुनुहुँदैन भन्ने सिद्धान्तलाई परित्याग गरी राज्यद्वारा नियन्त्रण र नियोजन गर्ने सिद्धान्त अपनाउनवाध्य भएका छन् । यसले समाजवादको नियन्त्रणमुखी अर्थव्यवस्थाको मार्ग लिन यी पुँजीवादी विश्व अगाडि बढेकाले पुँजीवादी आर्थिक सिद्धान्तलाई पुनः परिभाषित र पुन संरचना गर्नुपर्ने भएको छ । यस कारण वैकल्पिक राजनीतिक विचारधाराको उदय हुने सम्भावना झन टट्कारो बनेको देखिन्छ ।

वैकल्पिक राजनीतिक प्रणालीको आवश्यकताalternative-politics-768x284
सूचना प्रविधिको विकास र भुमण्डलीकरणको कारणले एउटा खास भूगोल वा राज्यको माग र आवश्यकतालाई हेरेर पृथक राजनीतिक प्रणाली विकास गर्न र लागू गर्न सकिदैन । नयाँ राजनीतिक प्रणालीमा समग्रताको प्रभाव प्रतिबिम्ब हुन्छ । नयाँ राजनीतिक विचारधाराको वस्तुगत आधार विश्वव्यापी आर्थिक तथा सामाजिक क्रियाकलाप नै हो । जसलाई नयाँ विचारधारा निर्माण गर्न प्रभावपार्ने वातावरणको रुपमा लिनु पर्दछ । डेबिट स्टनले वातावरणलाई इनपुट र राजनीतिक प्रणाली जो निरन्तर चल्ने प्रक्रिया हो यसलाई आउटपुटका रुपमा मानेर अन्तराष्ट्रिय प्रणालीको विश्लेषण गरेका छन् । यसमा उनले वातावरणबाट प्रणाली भित्र माग र समर्थन प्राप्त हुन्छ । यसलाई इनपुट भनेका छन् ।

राजनीतिक प्रणालीभित्र यो इनपुट प्रवेश भएपछि प्रणालीले त्यसमाथि प्रतिक्रिया गरेर रुपान्तर गर्दछ । यही रुपान्तरणलाई नीति निर्माण प्रक्रिया भनिन्छ । त्यसैले वातावरण नै नयाँ राजनीतिक विचारधारा निर्माणको आधार तत्व हो । २१औं शताब्दीको विशेषतालाई हेर्दा विश्वमा तिव्र गतिमा सामाजिक र आर्थिक पक्षमा उथलपुथल भई रहेको साथै नयाँ-नयाँ अन्तरविरोध पैदा भएकोले त्यसको हल गर्न नयाँ विचारधारा राजनीतिक प्रणालीमा जरुरी देखिन्छ ।

नेपालको सन्दर्भ
नेपालमा नयाँ लोकतान्त्रिक संविधान जारी भएपछि राजनिती एउटा नयाँ अध्ययनमा जाने प्रवल सम्भावना देखिन्छ । यसका लागि सचेततापूर्णरुपमा केहि प्रयत्नहरु पनि भएका छन् । यसको उदाहरणका लागि नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भटराईले समग्रताको दृष्टिकोण भन्दापनि एउटा खास राज्य वा भूगोललाई केन्द्रीय विषय बनाएर वैकल्पिक राजनीतिको बहस अघि सार्नुभएको छ । म पनि यसबाट प्रभावित छु ।

नेपालको आधुनिक इतिहासलाई विभिन्न वस्तुगत आधारसहित तीन भागमा विन्यास गरिएको छ । भौगोलिक एकीकरणको युग, लोकतान्त्रीकरणको युग र आगामी दिनको आर्थिक समृद्धिको युग । समकालीन समाजमा देखिएको अन्तरविरोध हल गर्ने काम राजनीतिक प्रणालीको हो । नेपाली समाजको अन्तरविरोध ठोस विश्लेषण र स्पष्ट आधारका साथा पाँच ‘स’ को माध्यमबाट डा. भटराईले हल गर्ने प्रयास गर्नुभएको पाईन्छ । नेपालजस्ता अन्य कैयन अल्पविकसितदेखि जहाँ भर्खरै लोकतान्त्रिकरणको प्रक्रिया पूरा भई राजनीतिक स्थायित्व भएका देशहरुलाई पनि डा. भटराईले व्यक्त गर्नुभएको दृष्टिकोण फाइदा हुने देखिन्छ । कुनै पनि राज्य नयाँ युगमा प्रवेश गर्दा सही दिशानिर्देश गर्न सक्ने व्यक्तित्वले मात्र राष्ट्र र जनतालाई समृद्धिको सिंढी चढाउन सक्छ ।

अबको युग प्राविधिक राजनीतिको युग हो । आर्थिक समृद्धि हासिल गर्न विशुद्ध राजनीतिले मात्र पुग्दैन । अर्को पक्ष राजनीतिक विचारधारा कार्यान्वयन गर्ने साधन राजनीतिक दलहरु हो । यस्ता दलहरु आफ्ना सामाजिक संरचनाका आधारमा नै निर्माण हुनु राम्रो हो ।

पार्टी निर्माणमा विभिन्न जातिय क्लस्टरको विषय नयाँ शक्ति नेपालले उजागर गरेको छ । यसले समावेशी र सहभागीतामूलक पार्टी पनि निर्माण हुने मैले महसुस गरेको छु । जसरी नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ मौलिक र अध्ययनयोग्य भयो, नयाँ समृद्ध नेपाल निमार्णका लागि तय गरिएको यो विचार पनि अति कमविकासशील राष्ट्रहरुका लागि मार्गनिर्देशक सिद्धान्त बन्न सक्छ । अन्त्यमा, वर्तमान नेपालको राजनीतिक आग्रह, पूर्वाग्रह, प्रतिशोध र अभिमानबाट ग्रसित छ । राजनीतिमा जातीवाद हावी छ । यस्तो अवस्थामा सुरुवाती दिनहरुमा नयाँ शक्ति पार्टी र डा. भटराईप्रति आम मानिस आक्रोशित नहुन सक्छन् । समय लाग्न सक्छ तर सत्य जति ढिलो भएपनि सत्य नै हुन्छ । केहि दशकका लागि नेपालको समृद्धि डा. भट्टराईको दृष्टिकोणलाई आत्मसाथ गर्दा नै सम्भव देखिन्छ ।

 

photo

NOC1-250x300