हाम्रा नेताहरू स्वार्थ समूहको भरिया बने

हामी विधिको शासनको कुरा गर्छौं । हाम्रो जुन लोकतान्त्रिक पद्धति छ, गर्ने भनेको विधिको शासनले हो । कानुन बमोजिम काम गर्नुपर्छ भन्ने हो । कानुन भन्नाले आवरणमा मात्र भन्ने होइन । कानुन त लेखिएको हुन्छ, त्यसको व्याख्या गर्ने एउटा तरिका होला ।Om-Prakash-aryal

कतिपय कानुन सही ढंगले लेखिएका छैनन्,  तिनको पनि जग भनेको फेरि पनि सिद्धान्त नै हुन् । सिद्धान्तमध्ये पनि विश्वव्यापी मूल्यमान्यताहरुमा आधारित भएर गर्ने हो । त्यसको आधारमा गरेको छ कि छैन, जवाफदेही खोज्ने भनेको अन्तिममा त्यहीँ नै गएर हो ।

नत्र कानुनको दफा देखाउने, अफिसको लेटरप्याड प्रयोग गर्ने, मैले कानुन बमोजिम गरेँ भन्ने अनि त्यसैलाई सुशासन मान्ने हो भने हामी कहिल्यै पनि वास्तविक समस्यासम्म पुग्दै पुग्दैनौं । हामीले शासक वा जनप्रतिनिधि भनेका व्यक्तिहरुलाई पनि अर्को कुनै शक्तिले भरिया बनाइरहेको छ । त्यसैले त्यहाँसम्म हामी पुग्नुपर्छ भन्ने लाग्छ ।

लोकमानसिंह कार्कीको नियुक्ति प्रकरणमा कानुनी पहलकदमी लिएपछि मलाई पछिल्लो समय नायकको रुपमा हेरिन्छ । तर, त्यो हदसम्म त म स्वीकार गर्दिनँ । एउटा पात्र हुँ र एउटा प्रयाससम्म गरेको हो । फेरि नायक कस्तालाई भनिन्छ ! त्यो कर्ताप्रधान भयो, त्यति राम्रो होइन कि जस्तो लाग्छ । त्यो तहमा मलाई नबुझ्दा नै वेश हुन्छ कि जस्तो लाग्छ ।

जनताले अप्ठेरो अवस्थामा देशमा नायक खोज्ने रहेछन् । हाम्रो विचारको पद्धति नै नायक खोज्ने खालको छ । हामी जति पनि शास्त्रहरु पढ्छौं अथवा एउटा कथा/उपन्यास पढ्यौं भने पनि त्यहाँ दुइटा ध्रुव हुन्छ । एउटा खलनायक हुन्छ र अर्को नायक हुन्छ । खलनायकले अति दुःख दियो भने कहीँ न कहीँ लगेर त बिसाउनुपर्ने हुन्छ । एउटा आश जाग्ने काम र कसले सुधार गर्देला भनेर हामी पनि खोज्छौं । हाम्रो विचारको पद्धति अनुसार त्यसैको वरिपरि मलाई राखिएको होला । तर, मैले त्यो हदसम्मको दाबी गरेको छुइनँ ।

देशमा पनि खलनायकहरु हुन्छन् । यो धेरै हदसम्म सत्तासँग जोडिएको कुरा भएकोले सत्ताको प्रकृति नै शक्ति कसरी आर्जन गर्ने भन्ने हुन्छ । त्यसमा हामीले सामान्यतया सुरुमै सम्झौता गरिदिन्छौं । अहिलेसम्म हाम्रो विचार निर्माण भइरहे अनुसार हामीले गलत पात्र र प्रवृत्तिलाईजसरी वैधता दिइरहेका छौं, यो प्रक्रिया नै गलत हो । खासमा हरेक कुरा मूल्यमान्यतामा आधारित भएर गर्नुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । त्यो हुन नसकेपछि प्रणाली नै ध्वस्त हुने जस्ता कुरा र कहालीलाग्दो अवस्था आउँछ । अन्तिममा कहीँ न कहीँबाट त्यसले निकास पाउनैपर्ने हुन्छ । त्यतिखेर कसले जस लिने भन्ने कुरा अर्कै कुरा हो भन्ने लाग्छ ।

जनताको कुरा नसुनिने गरी शासकको छाला बाक्लो भएको देखिन्छ । त्यसरी छाला बाक्लो हुनुमा हाम्रो पनि भूमिका छ ।

जे कुरा बढी नकारात्मक हो, यो व्यक्ति र प्रवृत्ति खराबै हो भन्दाभन्दै पनि उसलाई सर्वशक्तिमान बनाउने काम पनि कहिलेकाहीँ हुन्छ । यो मिडियासँग पनि जोडिएको कुरा हो । कुनै पात्रलाई त्यति धेरै पनि हाउगुजी बनाउनु हुँदैन । जवाफदेही खोज्ने क्रममा सारा फोकस त्यहाँ जसरी हामीले गर्‍यौं, लोकमानको सन्दर्भमा पनि त्यो भयो । मान्छे उकुसमुकुस भएर बोल्नै डराउने स्थिति किन भयो भने, हामीले खराब त भन्यौं, तर सर्वशक्तिमान उही नै हो भन्ने स्थापति गर्‍यौं ।

तर, त्यस क्रममा हामीले अर्को पाटोलाई पनि हेर्नुपर्छ ।  गलत कुरालाई ठूलो हाउगुजी बनाएर स्थापित गर्नुभन्दा सकारात्मक पहल कदमीलाई मूलधारमा ल्याउनुपर्छ । यदि अँध्यारो छ भने टुकी बाल्नुस् र त्यसमा तेल भर्नुस् अँध्यारो त्यत्तिकै जान्छ । खालि अँध्यारो भो, कालो भो भन्दैमा कालो हट्दैन ।

लोकमान अख्तियारमा नियुक्त भएपछि त्यस प्रकरणमा राज्यका सबै अंगले धर्म छोडेको बेला मिडिया पनि त्यतिबेला दुई धारमा देखिए । कतिपय मिडियाले सार्वजनिक सेवाको लागि अयोग्य साबित भइसकेका व्यक्तिलाई संवैधानिक पदमा नियुक्त गर्नु अनुचित भएको बताए भने कतिपयले लोकमानलाई बल थपे । त्यसले मिडियामा पनि शासकको प्रभाव छ भनेर देखायो । खासमा शासक भनेको पनि स्वार्थ समूह हो । निश्चित स्वार्थ समूहले चलाइरहेका हुन्छन् ।

देख्दा हाम्रा नेताजीहरु भने पनि उहाँहरु कसको भरिया हो भनेर खोज्दै जाने हो भने त स्वार्थ समूहकै भरिया बनेको देखिन्छ । त्यसको प्रभाव मिडियाहरुमा पनि छ ।

नेपालमा हरेक कुरालाई स्वार्थ समूहले प्रभावमा पारिरहेको छ । त्यतिखेरको मिडिया यति धेरै विभाजित भयो । मिडियाको काम त कसैले व्यक्तिगत रुपमा कुनै पहल कदमी लिएको छ भने त्यसलाई जगेर्ना गर्दै मूलधारमा ल्याउने हो नि ! तर, त्यतिखेर कुन मिडियाले कसको चरित्रहत्या गर्छ भनेर डराउनुपर्ने स्थिति भयो । त्यसबाहेक भौतिक आक्रमण र अरु केही कुराको डर भएन । ओहदामा नभएपछि अरु केहीको त डर पनि नलाग्ने रैछ । हामी जस्तो मान्छेलाई के को डर लाग्छ भने, चरित्रको सुरक्षा हुन्छ कि हुँदैन ? मिडियामा पनि त्यस्तो खालको कुरा थियो । त्यस कारण हामीले शासक र मिडिया अलग गर्न सक्दैनौं । नेपालको सन्दर्भमा शासकहरु मिडियामा पनि छन् । विभिन्न स्वार्थ समूहले मिडियामा लगानी गरेका छन् । मिडियाभित्र पनि हामी जस्तो कामकाजी मान्छेहरु छन्, जसले धर्म छोडेको छैन । जसले व्यक्तिगत लाभका लागि भन्दा पनि निश्चित मूल्यमान्यतामा अडिएर आफ्नो पेशागत काम गरिरहेका छौं । त्यसैले मात्र थेगेको र अहिले निकास दिएको हो । नत्र भने राजनीति त के भयो भने,राजनीतिको उद्देश्य एउटा वैधताको लागि हो । वैधता भन्ने कुरा नैतिकतामा आधारित हुने हो । कानुनले जेसुकै भनोस्, नैतिकतालाई धेरै तल गिराएपछि त अनैतिक मान्छेलाई पनि प्रश्न गर्न मिलेन । मिडियाबाट पनि त्यस्ता पहलकदमीहरु भए । मानिलिऊँ, हामीलाई पनि यो पनि लोकमान जस्तै हो भनेर स्थापित गरेको भएदेखि त आखिरमा उनीहरुले जित्थे नि त । तर,त्यति चाहिँ गर्न सकेनन् । त्यसबाट बचेको हुनाले नै लोकमान र यो वर्ग फरक छ भन्ने हेराइ भयो । पार्टीका केही नेताहरुले गरे पनि त्यो छवि हासिल गर्न सकेनन् । आम मान्छेलाई पर्दापछाडिका लोकमान भनेका यिनै हुन् भन्ने लाग्यो । उनीहरुले कुनै जनमत बनाउन पनि सकेनन्, कुनै पहलकदमी लिन पनि सकेनन् ।

 सुरुमा त लोकमानको नियुक्तिबारे मिडियाबाटै कुरा आयो । मिडियाबाट ल्याइदिएपछि त्यहाँ अरुको भूमिका सुरु हुन्छ । हुन त मिडियाको पनि सामाजिक उत्तरदायित्व हुन्छ । त्यसमा अरु कसले कसरी पहलकदमी लिने हो भन्ने कुरा आउँछ । त्यसपछि मिडिया विभाजित भयो । कान्तिपुर लगायत केही मिडियाले लोकमानको विरुद्धमा अग्रसरता लिए । केही चाहिँ उल्टो बाटो पनि हिँडे । तर, पछिल्लो समयमा त्यो अलि कम भयो ।

नागरिक जवाफदेही बन्नु पर्दैन ?

शासक त हामी पनि शासक नै हौं । मेरो आफ्नो जुन सीमा छन्, आफ्नो लागि त म पनि शासक हो नि ! आफ्नो लोभ, क्रोधभनेका मानवीय मूल्यमान्यताभन्दा बाहिरका कुरा हुन् । यसैले सुरुवात त आफैंबाट हुनुपर्छ । आफ्नो परिवारबाट हुनुपर्छ अनि समाजबाट हुनुपर्छ । जो आफैं जवाफदेही छैन र आफू नै मूल्यमान्यतामा अडिएको छैन भने उसले अरुलाई प्रश्न गर्ने नैतिकता नै रहँदैन । मानौं म आफैं भ्रष्टाचार गरिरहेको छु, अनि अरुलाई चाहिँ सदाचारी देख्न खोज्नु भनेको त्यसरी जवाफदेही हुँदैन ।

हामी केही उदाहरणीय कामहरु हेरौं । त्यसलाई मूलधारमा ल्याऔं । त्यसले समाजमा जुन नैतिकता स्थापित गर्छ, त्यो जत्तिको बलवान् अरु केही पनि हुँदैन । रियाक्टिभ (प्रतिक्रिया दिने)मात्र भएर हुँदैन । मिडियाको पनि जवाफ दिन खोज्दै जाँदा कुरामा त्यसको समाधान केही न केही क्रिएटिभ विन्दुमा लगेर छोड्दिनुपर्छ ।

 (पोखराको नेपाल साहित्य महोत्सवमा आइतबार शासकको जवाफदेही विषयमा अधिवक्ता अर्यालले राखेको विचारको सम्पादित अंश)

 

photo

NOC1-250x300