हामी बाँचिरहेको रोचक समयबारे कहिले लेखिने ?

 
 

खगेन्द्र संग्रौलाdownload

 

नेपाली साहित्यका लागि ०७३ साल कस्तो रह्यो भन्ने विश्लेषण गर्दा म त्यति उज्यालो देख्दिनँ । यो वर्ष अघिल्लो सालभन्दा एकदमै विशिष्ट छ भन्ने मलाई लाग्दैन । बिछट्टै नयाँ कुरा आएको छैन । अघिल्लो सालका वैचारिक र कलात्मक प्रवृत्तिकै निरन्तरता जस्तो देख्छु । यो वर्ष खासै उल्लेख्य चर्चित किताबहरु आएनन् ।

पछिल्लो समय पुस्तकहरु धेरै प्रकाशित भइरहेका छन् । यसै पनि प्रकाशन संस्थाहरुको संख्या बढेको छ, तिनीहरुको बीचमा प्रतिस्पर्धा पनि बढेको छ । पुस्तक उत्पादनको गुणवत्ता पनि बढेको छ । यी सबै त वित्तीय प्राविधिक कुरा भए । साहित्यको वैचारिक मापदण्डकै आधारमा हेर्ने हो भने त्यस्तो विशिष्ट रचना आएको मलाई लाग्दैन ।

समाज जब गतिमान हुन्छ, त्यो गतिले विभिन्न नयाँ पात्रहरु, प्रवृत्तिहरु र विचारहरु जन्माउँछ । नेपाली समाज चाहिँ चाकाचुली जस्तो घुमिरहेको छ । समाज एउटै वृत्तमा र एउटै रुढीमा घुमिरहेको हुनाले सामाजिक यथार्थबाट नयाँ कुरा लेख्नका निम्ति सामग्री नै बनेको छैन जस्तो लाग्छ ।

किनकि हामीकहाँ चिन्तनका सबै क्षेत्रमा राजनीतिको प्रत्यक्ष हस्तक्षेप र भयानक दबाव छ । समाज जड र स्थिर अवस्थामा रहेको हुनाले त्यसको प्रतिविम्बन साहित्यमा आएको हो कि जस्तो लाग्छ ।

पछिल्लो समयम साहित्यमा दुई-तीनवटा कुरा आए । एउटा चाहिँ जनजातिहरुको पहिचानको मुद्दा यो वर्ष पनि मुखरित भएकै हो । यस्तै, नारीवादी चेतनालाई पनि प्रखर रुपमा प्रस्तुत गरिएको छ । तर, वैचारिक दृष्टिकोणबाट उक्त दुई कुरा जति गहिरा छन्, त्यसको कलात्मक अभिव्यक्ति त्यति बलियो गरी आएको जस्तो लाग्दैन ।

मेरो कुरा गर्ने हो भने, यो वर्षको मेरो लेखरचनामा पनि त्यस्तो कुनै विशिष्टता छैन । वैचारिक र कलात्मक दृष्टिबाट त्यसमा कुनै उल्लेख्य कुरा छैन । त्यो खालि लेखनको निरन्तता, परिमाणको निरन्तरता हो

जनजातिको पहिचानको मुद्दा र नारीवादी चेतनाको कुरा पनि यही वर्ष प्रारम्भ भएका विशिष्ट प्रवृत्ति हैनन् । करिब एक दशकयता उठेका विचारका तरंगहरु जसरी साहित्यमा आइरहेका छन्, त्यसैको परिमाण थपिएको हो । गुढमै नयाँ कुरा आएको हैन ।

मेरो कुरा गर्ने हो भने, यो वर्षको मेरो लेखरचनामा पनि त्यस्तो कुनै विशिष्टता छैन । वैचारिक र कलात्मक दृष्टिबाट त्यसमा कुनै उल्लेख्य कुरा छैन । त्यो खालि लेखनको निरन्तता, परिमाणको निरन्तरता हो ।

हामीकहाँ लेखकहरुले के-के विषय उठाइरहेका छन् त भनेर हेर्ने हो भने रिक्तता देखिन्छ । लेखनको विषय भएका तर लेखकहरुले भेउ नपाएको अवस्था भयानक छ । हामी बाँचिरहेको यो समय अत्यन्त रोचक समय हो । अत्यन्त रोमान्टिक र उमंगमय समय हो । जस्तो भनौं न, सारा संसारभरि साम्यवाद प्रतिरक्षामा गइरहेको बेलामा नेपालमा जनयुद्ध भयो, नागरिक स्तरबाट राज्यलाई हतियारको चुनौती दियो, त्यसको कथा लेखिएकै छैन ।

यस्तै, नेपाली समाजको ढाडमा किर्नोको रुपमा रहेको राजतन्त्रको भारलाई हामीले आन्दोलनबाट फाल्यौं । त्यो कथा पनि लेखिएको छैन । अनि बहिष्करण र सीमान्त कुनामा परेका सारा मान्छेहरु कुनाकानीदेखि यो राज्य मेरो हो, यहाँ मेरो पनि अंश भाग हुनुपर्छ, मैले समान अधिकार पाउनुपर्छ, मेरो पनि इज्जत हुनुपर्छ भनेर समाजव्यापी रुपमा जागृत भएका छन् । त्यो विराट् जागरणको कथा पनि लेखिएको छैन ।
यसरी विविध कुरा लेखिन बाँकी रहनुमा अन्ततः लेखकमै आएर प्रश्न ठोक्किन्छ । लेखकहरुकै प्रवृत्तिगत दोषका कारणसमाजका विषयहरु उधिन्न नसकिएको हो ।

एकथरी प्रतिभासम्पन्न लेखकहरु छन्, उनीहरु साहित्यको वादबाट चोखो हुनुपर्छ, राजनीतिबाट पर हुनुपर्छ, विवादमा मुछिनु हुँदैन भनेर बसेका छन् । उनीहरु साकाहारी हुन् । अहिले अलिकता राम्रो लेखिरहेका भनेकाहरु पनि मुख्यतः यी साकाहारी नै छन् ।

समाजका यथार्थको सामना गर्न नसकेर ती साकाहारीहरु भागिरहेका छन् । त्यसले गर्दा समृद्ध यथार्थका पाटोहरु हाम्रो साहित्यमा कलात्मक ढंगले विम्बित भएको छैन ।

अर्काथरी लेखक चाहिँ कुवाको भ्यागुता जस्ता छन् । ती भनेका आफूलाई विशुद्ध प्रगतिवादी भन्नेहरु हुन् । त्यो जमात ठूलो छ, त्यसमा प्रतिबद्ध, समर्पित र इमान्दार लेखकहरु पनि छन् । तर, प्रवृत्तिगत संकीर्णताको कारणले उनीहरु आफैंले निर्माण गरेको पिँजडाको कैदी बनेका छन् । तिनको लेखनमा लचकता पनि देखिँदैन, कलात्मकता पनि एकदमै कमजोर छ ।

यो एक दशकमा नेपाली साहित्यमा केही कुरा आउँदै आएन भन्ने त होइन । समाजका सीमान्त कुनाका कथाहरुलाई ल्याउने चेष्टा त गरिएको छ । तर, विराट् राजनीतिक उथलपुथलबाट लेख्नको लागि जति सामग्री उत्पन्न भएको छ, त्यसलाई लेखकले साहसका साथ हस्तक्षेप गरेको र यथार्थको समग्रतालाई कलात्मक दृष्टिकोणले प्रतिविम्बित गर्न नसकेको कुरा चाहिँ सत्य हो ।(कुराकानीमा आधारित)

 

photo

NOC1-250x300