हामी किन निदाउँछौं? वैज्ञानिक भन्छन्– अनावश्यक कुरा बिर्सन

downloadहामी किन निदाउँछौं? यो प्रश्नको उत्तर खोज्न धेरै वैज्ञानिकले धेरै अनुसन्धान गरेका छन्। र, त्यही अनुसन्धानका आधारमा नयाँ–नयाँ तथ्य र सिद्धान्त अघि सार्दै आएका छन्। केही वैज्ञानिक भन्छन्, निद्राले दिनभरि थाकेको शरीरमा नयाँ शक्ति सञ्चय गराउँछ। अर्काथरी वैज्ञानिकका अनुसार मान्छेले दिनभरि काम गर्दा दिमागका कतिपय कोष नष्ट भएका हुन्छन्। निद्राले ती नष्ट भएका कोषलाई हटाएर मस्तिष्क सफा पार्ने काम गर्छ। केही वैज्ञानिक यस्ता पनि छन्, जसले निद्रालाई शत्रुबाट बच्ने उपायका रूपमा लिन्छन्। निद्राले प्राणीलाई शान्त मुद्रामा राख्ने हुँदा शिकारी जनावरबाट बच्न सहयोग पुर्याउने उनीहरूको दाबी छ। निद्रासम्बन्धी यस्ता वैज्ञानिक अनुसन्धानकै क्रममा हालै अर्को नयाँ सिद्धान्त प्रतिपादन गरिएको छ। गत साता एक अन्तर्राष्ट्रिय ‘साइन्स जर्नल’ मा प्रकाशित दुई लेखमा मानिस निदाउनुपर्ने नयाँ कारण प्रस्तुत गरिएको छ। ती लेखले भन्छन्– हामीले प्रत्येक दिन असंख्य कुरा सिकेका हुन्छौं, असंख्य चिज देखेका हुन्छौं, असंख्य अनुभव भोगेका हुन्छौं। त्यस्ता सबै सूचना हामीलाई काम लाग्ने हुँदैनन्। निद्राले दिनभरि दिमागमा जमेर बसेका त्यस्ता असंख्य सूचनालाई प्रशोधन गर्छ। र, तीमध्ये काम लाग्ने सूचना स्मरणमा राखेर अनावश्यक सूचनालाई हाम्रो मस्तिष्कको ‘हार्ड डिस्क’ बाट मेटिदिन मद्दत गर्छ। अर्थात्, हामी आफूले सम्झेका नचाहिँदा कुराहरू बिर्सन निदाउँछौं। निद्रासम्बन्धी यो नयाँ सिद्धान्त बुझ्न मस्तिष्कले कसरी काम गर्छ भन्ने थाहा पाउनु जरुरी छ। हाम्रो दिमागमा अनगिन्ती मस्तिष्क नसाहरू (न्यूरोन) आपसमा गुजुल्टिएर बसेका हुन्छन्। त्यस्ता मस्तिष्क नसाको सञ्जालबाट सूचनाहरु तुरुन्तै र प्रभावकारी ढंगले आदानप्रदान हुन्छन्। यसको मतलब, मस्तिष्क नसाहरूबीचको आपसी सम्बन्धले नै हामीलाई कुनै पनि कुरा सम्झन वा थाहा पाउन सहयोग गर्छ। हाम्रा स्मृतिहरू पनि त्यही सञ्जालमा सञ्चित भएर बसेका हुन्छन्। सन् २००३ मा गिउलिओ टोनानी र चिएरा सिरेली नाम गरेका वैज्ञानिकले अघि बढाएको सिद्धान्तअनुसार जागा रहँदा हाम्रो दिमागका अनगिन्ती न्यूरोनहरुबीच सूचना आदानप्रदान वा आपसी सम्बन्ध निकै प्रगाढ हुन्छ। यसरी न्यूरोनहरूबीच प्रगाढ सम्बन्ध हुँदा हाम्रो दिमागमा साना–ठूला, चाहिने–नचाहिने अनगिन्ती सूचनाको कोलाहल मच्चिरहेको हुन्छ। निदाएको समयमा हाम्रो मस्तिष्क एक हदसम्म शून्यतामा जान्छ। यसले न्यूरोनहरूबीचको आपसी सम्बन्ध धेरै हदसम्म विच्छेद गरिदिन्छ। मस्तिष्कको कोलाहलपूर्ण अवस्था विस्तारै शान्त हुँदै जान्छ। यही क्रममा दिनभरि जमेका कोलाहलपूर्ण सूचनामध्ये आवश्यक सूचनाहरू थिग्रिएर हाम्रो स्मृति बन्छ। र, दिमागले आवश्यक नठानेका बाँकी कुरा नष्ट भएर जान्छन्। हामी त्यसलाई बिर्सन्छौं। त्यही भएर अघिल्लो दिनका प्रत्येक पल सम्झन गाह्रै हुन्छ। हामीलाई कति पल पानीजस्तै छर्लंगै याद हुन्छ भने कति पल कुहिरो लागेजस्तो धमीलो हुन्छ। अमेरिकाको विस्कोनसिन मेडिसन विश्वविद्यालयका जीव वैज्ञानिक टोनानी र सिरेलीले अघि सारेको उक्त सिद्धान्तअनुसार निदाएको समय न्यूरोनहरुबीच सम्बन्ध टुट्दा दिमागमा विद्युतीय प्रवाह घट्छ। प्रयोगशालामा औषधिमार्फत् न्यूरोनबीचको सम्बन्धलाई आवश्यकताअनुसार कसिलो वा कमजोर बनाउन सकिने उनीहरू बताउँछन्। यही उपाय लगाएर उनीहरूले चार वर्षअघि आफ्नो सिद्धान्तलाई प्रयोगशालामा जाँचेका थिए। उनीहरूले आफ्नो सिद्धान्त मुसामाथि प्रयोग गरे। यसको निम्ति निदाएका र जागै रहेका केही मुसाको दिमागका तन्तुहरूको अवस्था परीक्षण गरियो। यसबाट के देखियो भने, निदाएका मुसाको तुलनामा जागा रहेका मुसाको दिमागमा न्यूरोनहरूबीचको सम्बन्ध १८ प्रतिशत धेरै हुन्छ। यसको अर्थ, निदाएको बेला दिमागमा न्यूरोनहरूबीच सूचना आदानप्रदान गर्ने प्रक्रिया कम हुन्छ। ‘निदाएको र जागा रहेको समयमा मस्तिष्कले गर्ने व्यवहारबीच यति ठूलो अन्तर देखिनु आश्चर्यलाग्दो थियो,’ टोनानीले भनिन्। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका डा. ग्राहम डेइरिङले पनि निद्रासम्बन्धी यो सिद्धान्त परीक्षण गरेका थिए। यसका लागि उनी र उनका सहकर्मीले मुसाको दिमागमा रहेको प्रोटिनको अवस्था जाँचे। निदाएको बेला मुसाको दिमागमा प्रोटिनको मात्रा निकै कम भएको उनीहरूले पत्ता लगाए। उनीहरूका अनुसार दिमागमा प्रोटिनको मात्रा कम हुनु भनेको पनि न्यूरोनहरूबीचको सूचना आदानप्रदान घट्नु हो। दिमागमा उत्पादन हुने प्रोटिनलाई ‘होमर वन ए’ भनिन्छ। पछिल्लो अध्ययनअनुसार यो प्रोटिन न्यूरोनको सञ्जालभित्र सक्रिय भएर बसेको हुन्छ। तर, जब निद्रा लाग्छ, यही प्रोटिनले दिमागमा रहेका सूचना काँटछाँट गर्न थाल्छ र चाहिने सूचना मात्र स्मृतिमा राखेर बाँकी बिर्साइदिन्छ। डा. डेइरिङ र उनका सहकर्मीले उक्त परीक्षणका लागि मुसालाई विद्युतीय करेन्ट लाग्ने एउटा खोरमा छिराएका थिए। तीमध्ये केही मुसालाई ‘होमर वन ए’ प्रोटिन उत्पादन रोक्ने सुई लगाइएको थियो। खोरभित्र खुर्रर दौडने क्रममा ती मुसालाई करेन्ट लाग्यो। एकचोटि करेन्ट लागेपछि उनीहरू त्यो ठाउँ नजिक जाँदै गएनन्, जहाँ करेन्ट प्रवाह गरिएको थियो। दोस्रो दिन पनि वैज्ञानिकहरूले तिनै मुसालाई त्यही खोरमा छिराए। यसपटक सुई लगाएका वा नलगाएका दुवैथरी मुसा करेन्टको डरले कतै कुदेनन्। जब तिनीहरूलाई अर्को खोरमा राखियो, त्यहाँ यी दुवैथरीका मुसाको व्यवहारमा भिन्नता देखियो। सुई लगाइएका मुसा नयाँ खोरमा पनि डरले चलमलाएनन्। सुई नलगाइएका साधारण मुसा भने नयाँ खोरमा फेरि पहिलेजस्तै कुद्न थाले। वैज्ञानिकहरूका अनुसार यसले के देखायो भने, सुई लगाएर दिमागमा प्रोटिन उत्पादन रोकिएका मुसाले निश्चित खोरमा मात्र करेन्ट लाग्छ भन्ने हेक्का पाउन सकेनन्। प्रोटिनको अभावमा ती मुसाको मस्तिष्कले विश्राम गर्न पाएन। अर्थात्, तिनीहरूको न्यूरोन एकनासले कोलाहलपूर्ण रहिरह्यो। त्यही भएर कुन सूचनालाई कसरी बुझ्ने तिनले जान्दै जानेनन्। टोनानीको अध्ययनअनुसार हाम्रो मस्तिष्कमा संकलन भएका सूचनामध्ये पाँच भागको एक भाग मात्र काँटछाँट हुँदैन। यसबाट दिमागले आवश्यक ठानेका सूचना मात्र जस्ताको तस्तै स्मृतिमा बस्दो रहेछ भन्ने देखिएको टोनानी बताउँछिन्। ‘निदाएको बेला हाम्रो दिमागले बुद्धिमानीसँग सूचना बिर्सने गर्छ,’ टोनानी भन्छिन्। केही वैज्ञानिक भने यो सिद्धान्त प्रमाणित भइसक्यो भन्ने मान्दैनन्। ‘निदाएको बेला मस्तिष्क नसाहरूबीच सम्बन्ध कम हुन्छ, तर प्राणीहरू यसका लागि मात्र निदाउँछन् भन्ने प्रमाणित भएको छैन,’ ओहाइयो मेडिसिन इन्स्टिच्युटका मार्कस एच स्किमडिटले भने, ‘यो निदाएको बेला मस्तिष्कले गर्ने एउटा काम मात्र पनि हुनसक्छ।’ उनका अनुसार दिमाग लगायत मानिसका विभिन्न अंगले निद्राको समय फरक–फरक ढंगले काम गर्छन्। जस्तो, निद्राको समय पाचन प्रणालीमा नयाँ कोषहरू निर्माण हुन्छन्। डा. टोनानी भने अब निद्रा लाग्ने औषधिले हाम्रो दिमागमा कस्तो प्रभाव पार्छ भनेर अनुसन्धान गर्नुपर्ने बताउँछिन्। ‘त्यस्ता औषधिले हामीमा निद्रा जगाउँछ, तर त्यसरी औषधि खाएर निदाएको बेला पनि दिमागमा सूचना काँटछाँट हुन्छ कि हुँदैन र मस्तिष्कको स्मृति निर्माण गर्ने प्रक्रियालाई औषधिले हस्तक्षेप गर्छ कि गर्दैन भनेर अनुसन्धान गर्नुपर्नेछ,’ उनले भनिन्। यो अनुसन्धानपछि भविष्यमा निद्रा जगाउने तत्वलाई मात्र प्रभाव पार्ने, तर स्मृति निर्माण प्रक्रियामा हस्तक्षेप नगर्ने किसिमका औषधि निर्माण हुनसक्ने उनको विचार छ।

 

photo

NOC1-250x300