स्वदेशमै रोजगारका नाममा बढ्दो शोषण र ठगी

नेपालमा आन्तरिक श्रम बजारमै पनि नेपाली कामदारहरु विभिन्न शिर्षकमा ठगीँदै आएका छन्। कलकारखाना, कार्यालय होस् वा घरेलु कामदारहरु कम्पनी मालिक वा रोजगारदाताबाट ठगीने वा शोषणमा पर्ने क्रम बढ्दो छ। त्यसैले अधिकांश मानिस भन्ने गर्छन्–नेपालमा परिश्रम गरेर खाने पनि वातावरण छैन।’ 

नेपालको आन्तरिक श्रम क्षेत्रको मामिलामा नेपाली कामदारको हक हित र सुरक्षाको लागि श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका थुप्रै विभाग तथा कार्यालय स्थापित छन्, तर पनि नेपाली श्रम बजारमा ठगी तथा शोषणका समस्या दिनानुदिन बढ्दै गइरहेका छन्। 

नेपाली श्रम बजारमा कम्पनीले भनेजति तलब नदिने, समयमा तलब नदिने, सरकारले तोकेको पारिश्रमिक अनुसार तलब नदिने, बढी समय काम लगाउने, कामदारलाई दुव्र्यवहार गर्ने कामबाट आफूखुसी बिनाकारण हटाउने तथा घरेलु कामदारका हकमा कामदारले असुरक्षित महशुस गर्नुपर्ने, अझ महिला घरेलु कामदारको हकमा काम गर्ने घरकै मालिकबाट यौनशोषण लगायतका समस्या सम्बन्धी उजुरी श्रम विभागमा आउने गरेको बताउँछन् श्रम तथा व्यबसाय जन्य सुरक्षा विभागका प्रवक्ता ऋषिराम भुसाल।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता ऋषिराम भुसालले भने, ‘नेपाली कामदारको हकहितका लागि हामी दिनरात लागि परिरहेका छौँ।’ प्रवक्ता भुसालका अनुसार देशका विभिन्न ठाउँमा रोजगार सूचना केन्द्रहरु खुल्ने प्रकृया हुँदैछ त्यसपछि नेपाली कामदारले सहज र सुरक्षित आफ्नो सिप र क्षमता अनुसारको काम पाउने व्यबस्था हुँदैछ। 

भुसालले थप देशका विभिन्न स्थानियतहहरुमा रोजगारकेन्द्र खुलेपछि नेपाली कामदार रोजगारका नाममा शोषण र ठगीको चपेटामा पर्ने समस्या निराकरण हुने दाबी गरे। उनका अनुसार महिला कामदार माथि हुने शोषण र बाल श्रमजस्ता क्षेत्रमा समेत विभागले काम गर्दै आइरहेको छ। 

नेपाल सरकारले भने प्रत्येक नेपाली कामदारका हकमा लागू हुनेगरी यही आर्थिक वर्षदेखि १३ हजार ४ सय ५० रुपैयाँ न्युनतम पारिश्रमिक तोकेको थियो। तर सरकारले नेपाली कामदारको हकमा तोकेको पारिश्रमिक कागजमा मात्र सीमित भएको छ। अझैपनि नेपाली कामदार विभिन्न कलकारखाना र कार्यालयमा  रु ४÷५ हजार पारिश्रमिकमै कामगर्न बाध्य छन्। 

आर्थिक वर्ष २०७४/०७५ मा मात्रै रोजगारका शिलशिलामा श्रमशोषणमा परेका तथा कम्पनी वा साहुले काम लगाएर तलब नदिएका जस्ता विभिन्न शिर्षकमा ठगीएका ३ सय ७७ नेपाली कामदारहरुले व्यक्तिगत उजुरी दिएको र ७७ वटा सामुहिक उजुरी परेको श्रम तथा व्यबसायजन्य सुरक्षा विभागको तथ्यांकमा उल्लेख छ। 

स्वदेशमै नेपाली कामदारहरु विभिन्न शिर्षकमा ठगिँदै आइरहेका छन्। ठूलो संख्यामा बेरोजगारी समस्याको चपेटामा रहेका युवाहरुलाई विभिन्न कलकारखाना तथा कार्यालयका रोजगारदाताले नै समयमा तलब नदिने, ८ घण्टा भन्दाबढी समय काममा लगाएर समेत ओभरटाइमको थप पारिश्रमिक नदिने जस्ता समस्या नेपालमै थुप्रै छन्। तर पनि विभागमा उजुरीका लागि भने कम युवा मात्र पुग्ने गरेको बताउँछन विभागका प्रवक्ता भुसाल। 

चालु आर्थिक वर्षमा समेत गत असोज महिना सम्मको तथ्यांक हेर्दा रोजगारका नाममा ठगिन तथा शोषणमा पर्नेहरुको संख्या बढ्दै गइरहेको देखिन्छ। गत वैशाख महिनादेखि गत असोज महिनासम्म २ हजार भन्दाबढी व्यक्तिगत उजुरी र ३ सय भन्दाबढी सामुहिक उजुरी परेको विभागको तथ्यांकमा उल्लेख छ। 

थुप्रै नेपाली कामदार स्वदेशमै श्रमशोषणमा परिरहेका छन्। तर उनीहरु सबै उजुरीका लागि विभागसम्म नपुग्ने हुँदा विभागमा उजुरी दिने कामदारहरु को संख्यामात्र श्रमशोषण तथा रोजगारको नाममा ठगीमा पर्नेकामदारको वास्तविक संख्या भने होइन।
 

 

 

photo

NOC1-250x300