सुरज सुवेदीकाे “फलैँचा” कथा

“यो धागो समातेर तिमी परसम्म जानु,” उसले भनी ।

2141913304Suraj-Subedi-(1)

“कति परसम्म ?” मैले सोधेँ ।

“जबसम्म यो सकिँदैन,” उसले जवाफ दिई ।

“म त यसको अन्त्य नजिकै देखिरहेको छु,” मैले संवाद अफ्ट्यारो बनाउन खोजेँ । वार्तालाप चलिरह्यो ।

“गइरहनू, फर्किएर नहेर्नू ।”

“पाइला अडिए भने ?”

“त्यसको जिम्मा आफैंले लिनुपर्छ ।”

मलाई त्यो जवाफ सुन्न मन थिएन । हुन सक्छ उसलाई त्यो प्रश्न । तर, हामी दुवैले सुन्यौं ।

उसले हातमा खै के ल्याएकी रहिछे– मलाई थमाइदिई । हिँड्ने बेला उसैले भनेको मान्ने भएर मैलेफर्किएर हेरिनँ ।

मैले त्यो के हो भनेर पनि खोलिनँ । नाकनजिकै लगेर बास्ना भने लिन खोजेँ तर केको हो, चिन्न सकिनँ । त्यसमा उसको पर्फ्युम पक्का पनि थिएन । अरु बेला गिफ्ट दिँदा पर्फ्युम छर्किएरमात्र दिन्थी । त्यो कुनै हलुका सामान थियो । हल्लाउँदा आवाज निकालेर हल्लिन्थ्यो ।

म गइरहेको उसले हेरी कि हेरिन- थाहा पाइन । ऊ उभिइरहेको मैले हेर्न सकिनँ । त्यसैले फर्किइनँ । फर्किएपछि बाटो गह्रौं हुन्छ । किन फर्किइनँ भन्नेसोच्दामात्र पनि गह्रौं हुन्छ ।

० ० ०

म हिँडिरहेँ । सेटिङबारे भन्न सक्दिनँ । मैले खासमा मसिनो बाटोबाहेक केही देखिरहेको छैन । हातमा समातेको डोरी भने महसुस गरिरहेको छु । बाटो लामोहुँदै गर्दा डोरी पनि गह्रौ हुँदै गएको छ । घिस्रिएको आवाज थोरै आइरहेछ ।

बाटोमा केही थान मान्छेहरू भेटिएका थिए । उनीहरूले मलाई देखे, मैले उनीहरूलाई । बोलचाल गरेनौं । एउटै बस कुरिरहेका मान्छेहरू बस स्टेसनमा सँगैउभिएर पनि नबोलेजस्तो । वा एउटै सिटमा बसेकाहरू । वा परीक्षामा एउटै बेन्चमा परेकाहरू । बोल्ने मान्छेहरूभन्दा कति धेरै छन् नबोल्ने मान्छेहरू !मलाई कसैसँग बोल्न मन थिएन । कोही परिचित भयो भने अपरिचित हुनुको मजा रहन्न ।

“भाइ उतै जाँदै हो ?” आफूले बोलाउँदिन भनेर पनि नहुने । मुख बन्द गर्न सकिएला तर कान बन्द गर्न सकिन्न । कसैले मतिर फर्किएर सोध्यो ।

उतै भनेको कता ? मैले भेउ पाउन सकिनँ । सोध्न पनि मन लागेन । मैले सोध्नुको अर्थ ऊसँग परिचयको सम्भावना बढ्नु हुन्थ्यो । म परिचय दिन र गर्नदुइटै मन नपराउने मान्छे ।

म नबोलेको देखेर उसले फेरि सोध्न खोज्यो । मलाई प्रश्नमा प्रश्न थपिन खोजेको मन परेन । हतपत जवाफ दिँए¸ “हो हो ।”

“कहाँ जान लाग्नुभएको ?” उसले फेरि सोध्यो । मैले जुन कुरा टार्न खोजेको थिएँ, त्यो अझै कठिन बनेर मेरो नजिक तेर्सियो । उसले पहिला ‘त्यतै ?’भन्यो अनि मैले ‘हो’ भनेपछि ‘कता ?’ भन्यो ।

“तेतै भन्नुभा हैन अगि ?” म झर्किन खोजेँ ।

“नरिसाउनुस् न । मैले त बाटोको गन्तव्यतिर पो देखाउन खोजेको । तपाईँ पनि म जाने बाटो नै जान खोज्नुभएको हो जस्तो लागेर सोधेको पो त ।” मझर्किएको देखेर थोरै हच्किए पनि ऊ चुप लागेन । यसो भन्दै गर्दा उसले टाउको कन्याउन टोपी झिक्यो । मैले देखेँ- उसको कपाल पातलो थियो । तालुलगभग खाली हुन लागिसकेको ।

उसको अनुहार कहीँ कसैसँग मिलेजस्तो लागेन । मान्छे चिन्न पनि कोही जस्तो लाग्नुपर्ने रहेछ । झुस्स दाह्री एकदमै नसुहाएको थियो उसलाई । तालुछोडेर कपाल गालामा आइपुगेको जस्तो लाग्थ्यो । आँखा वरपर मसिना धर्साहरू कोरिएका थिए ।

“मलाई तपाईँ कता जान लागेको भन्ने थाहै छैन । म कसरी जवाफ दिऊँ तपाईँको प्रश्नको ?” मलाई ऊभन्दा पर गएर बस्न मन भयो । त्यसैले यसो भन्दैअलिक पर सरेँ । ऊ म भएतिर आउन खोजेन । बरु परैबाट ठूलो-ठूलो स्वरमा कराएर गफ गर्न थाल्यो ।

ऊ कराएको सुनेर अरू मानिसहरूले ऊतिर हेरे अनि मतिर । उसको जवाफ फर्काउन मैले पनि ठूलो बोल्नु पर्‍यो । ऊ सुन्दैनथ्यो एकपटकमा । फेरिदोहोर्‍याउनुपर्ने । एकछिन बोल्दा नै मुख गलिहाल्यो । टाढा गएर पनि उसले नछोडेपछि म फेरि नजिक फर्किएँ ।

“आउनु त यतै पर्‍यो,” ऊ विजेताजस्तो भएर हाँस्यो ।

उसका आँखा धमिला थिए, बोली भने कडा । मैले नियालेँ उसलाई । कानको छेउमा सानो खत थियो । त्यसलाई ऊ बेलाबेला कन्याउँथ्यो । तर, धेरै बेर भनेनियालिनँ ।

उसले ‘मलाई निकै बेर हेर्नुभयो त’ भन्ला भनेर डर लाग्यो । बरु ऊतिर हेर्नु नपरोस् भनेर कालो चस्मा झिकेर लगाएँ । सिसा मैलिएको रहेछ ।पछिल्लोपल्ट कहिले लगाएको थिएँ भन्ने पनि याद थिएन । झिकेर सिसा पुछेँ ।

“सिसा त जोडले पुछ्नुभयो,” ऊ फेरि छेउमा आयो ।

“मैलो भएछ अनि,” मैले मसिनो स्वरमा भनेँ ।

“म पनि मद्दत गरिदिऊँ कि ?”

“पर्दैन ।”

उसले कोटको टाँक खोल्यो । भित्री गोजीबाट एउटा चस्मा निकाल्यो । र, भन्यो, “त्यो पुछ्ने एकपल्ट मलाई पनि पास गर्नु है त ।” मैले नाइँ भन्नै नपाई उसले पुछ्ने तानिसकेको थियो ।

“कालो चस्माले यथार्थ छेलिन्छ हो?” चस्मा पुछ्दै ऊ नै बोल्यो ।

मलाई यथार्थ छेलिनु र नछेलिनुसँग मतलब थिएन । त्यसैले जवाफ नदिई चुप बसेँ ।

“तपाईँले कालो चस्मा लगाएको त मलाई हेर्न त हो नि । म बुझ्छु त्यति कुरा । किन डराउनुहुन्छ, नलगाई हेर्नुस्,” ऊ हाँस्यो । जोडजोडले हाँस्यो र भन्यो,”त्यो चस्मा तपाईँको खल्तीमा मैले नै हालिदिएको हुँ ।”

म झस्किएँ ।

“नझस्किनुस्,” उसैले भन्यो, “तपाईँ मसँग बिल्कुलै सुरक्षित हुनुहुन्छ । मै भन्दिन्छु । खासमा म तपाईँ जाने ठाउँमा हैन, तपाईँ म गएको ठाउँमा आउँदैहुनुहुन्छ ।”

उसले आश्चर्यको कुरा गर्‍यो । हुन त मलाई चस्मा कतिबेला बोकेँ, थाहा थिएन तर पनि उसले मेरो खल्तीमा चस्मा राखिदिनु अनौठो कुरा थियो । मैलेपत्याउन खोजेर पनि सकिनँ ।

“भेउ पाउन किन खोज्नुहुन्छ ? हुन्दिनुस् । कुनै-कुनै कुरा त भेउ नपाउँदा नै जाती हुन्छ । गएँ म । तपाईँ डराउनुभयो । जोक्स नबुझ्ने मान्छेहरूसँग मेरोकुरै मिल्दैन,” मेरो अनुहारमा अचानक दौडिएको डरको तरङ्ग शायद उसले पढ्यो र उठेर हिँड्यो ।

म उसलाई बोलाउन उसको नजिक जान खोज्दै थिएँ । ऊ उठेर गइहाल्यो । कस्तो अचम्मको मान्छे रहेछ !

० ० ०

“आशा छ धागो छोडेको छैनौ । लिएरै जाँदै छौ,” उसले झोलामा सानो चिट हाल्दिएकी रहिछे, “तिमी जानासाथ मैले यता समाइराखेको धागो छोडिदिएँ ।अब तिमीलाई धागो तान्न गाह्रो हुँदैन । चुँडिने सम्भावना पनि हुँदैन । बस् तिमी हिँड्न भने नछोड्नू ।”

मैले किन उत्सुक भएर झोला खोल्न खोजेँ, थाहा छैन । कृष्ण धरावासीले खाँबोमा झुन्ड्याइएको झोला खोल्दा सती प्रथाबारेको त्यस्तो दुखान्त कथाभेटाएका थिए । मैले केही भेट्नेवाला थिइनँ । हुन त मलाई के थाहा ? उनको कथा पढेकाले म झोला खोल्न लालायित भएको त हैन ? खुल्दुली भयानकहुन थालेको महसुस भयो । ज्यादा खुल्दुलीले इडिपसको पतन भएको नाटक पढिसकेको छु । तर, आफूलाई पर्दा संसारका कुनै किताबले पनि दुईस्तै पाठसिकाउन सक्दैन ।

मेरा हातहरू गल्न खोजिरहेका थिए । हात टेकेर हिँडेको थिइनँ तर पनि खुट्टा हैन, हात गलिरहेको थियो । मलाई गल्न पनि रमाइलो भएजस्तो भयो ।

उकालो झनै ठाडो हुन थाल्यो । घरिघरि गन्तव्यतिर हेर्न खोज्छु । डाँडातिर जाँदै गरेको घाम टल्किन्छ । आँखा बिझाउँछ र पुन: तल हेर्छु । हरेक पाइलामाजमिन फरक-फरक भइरहेको छ । ढुङ्गा अलग–अलग छन् । झारहरु अलग छन् । मौसमै अलग हुँदै गइरहेको जस्तो ।

सबैभन्दा मुख्य कुरा मलाई कता गइरहेको हुँ भन्ने कुरा थाहा छैन । त्यसैले अगाडि बाटोको अड्कल पनि छैन । बितेको बाटो पनि बिर्सिँदै गइरहेछु । यतिसबैथोक अलग देखेर पनि मलाई उसले छोडेको डोरी लिएर हिँड्न नरमाइलो लागिरहेको छ ।

“गल्नुभएको हो ?” अघिकै मान्छे फेरि नजिकै आइपुग्यो । ऊ एकछिन पहिला तलबाट उक्लिरहेको देखेको थिएँ ।

“हैन,” म उसलाई फेरि पनि तर्काउन खोज्छु ।

“झुट नबोल्नुस् । यस्तो उकालो म कति धेरै चढिसकेको छु । मलाई थाहा नभए जस्तो । बोल्ने साथी भएन भने बाटो काट्न असहज हुन्छ । तपाईँ त झन्धागो लिएर हिँड्नुभएको छ,” उसले मलाई कुममा समातेर भन्यो ।

“चाहिने कुरा चाहिँ गर्दैन, नचाहिने कुरा चाहिँ गरिराख्छ,” मनमनै यसो भनेँ तर सोधेँ, “बरु भन्नुस् धारा कतै छैन यहाँ ?”

“थाहा छ, मैले तपाईँको कुम किन समाएँ ? किनकि तपाईँ कुममा विश्वास गर्नुहुन्छ,” ऊ आधा हाँसो हाँसेको छ । मेरो जवाफ नआइकन जवाफ दिएरउसले संवादलाई एकोहोरो बनाएको छ ।

म केही बोल्न खोज्दै गर्दा उसले नै बोल्न दिएन ।

“नगर्नुस् । सक्नुहुन्छ भने धागोमा पनि विश्वास नगर्नुस् । यी सबै चिज टेम्पोररी हुन् । धागो किन बनेको हो थाहा छ ? छिन्नलाई । धागोले बनाएकासबैथोक सम्झिनुहोस् त कसरी छिन्छन्,” ऊ खिस्स हाँस्यो र थप्यो, “अब टेम्पोररी भनेको नबुझ्ने होला । अस्थायी भनेको क्या ।” दिक्क मान्दै भन्यो,”जोक पनि बुझाउनु पर्छ यार ।”

मैले उसलाई फेरि नियालें । त्यस्तो उकालो हिँडेर पनि ऊ थाकेको थिएन । उसले फेरि टाउको कन्याउन टोपी खोल्यो र कन्यायो । टाउकोमा धेरै खतहरूरहेछन् ।

“मैले किन टाउको कन्याएँ भन्ने कुरामा पनि जिज्ञासा होलान् तपाईँलाई । हैन ?” उसले ब्याक टु ब्याक प्रश्न गर्‍यो ।

मलाई उसको कुरा चित्त बुझेको छैन । तर उसलाई यो कुरा थाहा छैन । ऊ लगातार बोलिरहेको छ । मलाई दिक्क लगाउने एकमात्र इन्टेन्सन भएजस्तो ।आजकाल मान्छे अरूले सुन्दै छन् कि छैनन् भन्ने कुरा ख्यालै नगरी बोल्नमा मात्र ध्यान दिन्छन् । ऊ त्यस्तै एक मान्छे भएको छ ।

“तपाईँ ज्यादा नै बोल्दै हुनुहुन्छ थाहा छ ? मलाई तपाईँको कुरा सुन्नु नै छैन,” अति भएपछि म ऊसँग झर्किएँ । तर, मलाई रिसाउन पनि धेरैबेर आएन ।गाली गर्ने शब्द पनि एकैछिनमा सकिए ।

“हैन हैन, म बढी बोलेको हैन, तपाईँले चाहिँ कम बोल्नुभएको हो । तपाईँ बोल्नुहुन्छ होला भनेर म बोलिरहेको,” यति भन्दै उसले मेरो कुममा हात राख्यो ।

“मेरो कुमबाट हात हटाउनुस् । मलाई तपाईँको कुनै कुरा सुन्नु छैन,” मैले उसलाई हप्काएँ ।

एकछिन दुबैजना चुपचाप भएर हिँडेपछि एउटा चौतारी आयो । हामी त्यहाँ बस्यौं । बिस्तारै चलेको सिरसिर हावाले आनन्दित बनायो ।

ऊ ढल्कियो । म उठेर हिँड्दा पनि सुतिरहेकै थियो ।

० ० ०

बोकेको भन्दा पनि नबोकेको भारी गह्रुंगो हुन थालिसकेको छ । उकालो सकिएको छैन । बीचमा एकछिन सुस्ताउन भनेर अर्को चौतारीमा बसेको छु ।त्यतिन्जेल अघि भेटिएको मान्छे भेटिएन । ऊ पनि थाक्यो होला शायद ।

चौतारीमा कसैको नाममा फलैंचा लगाइएको रहेछ । यस्ता कति धेरै फलैंचा बनेका होलान् संसारमा ? स्मारकहरु ? शालिकहरु ? संसार ध्वस्त भयोभने यिनीहरूको के हुन्छ ?

कतैबाट मसिनो हावा चलिरहेको छ । कतै गइरहेको होला ऊ पनि मजस्तै । अघिसम्म पसिनाले लपक्क भिजेर तात्तिएको जिउ चिसो हुन थालिसकेको छ ।मैले गोलगन्जी फुकालेर निचोरेँ । पानीजस्तै भएर पसिना बग्यो ।

“आँसु पनि पसिनाजस्तै नुनिलो हुन्छ है,” ऊ टुप्ल्क्क आइपुग्यो । उसले यसपटक मलाई छोएन ।

“हुँदो हो । मैले आँसु पिएको छैन, त्यसैले थाहा छैन,” मैले भनेँ ।

“बानी गर्दै गर्नुस् । तपाईँ त्यही पथमा हुनुहुन्छ । डोरी छोड्दिनुस् । काँध खाली गर्नुस् भनेको थिएँ, गर्नुभएनछ त,” उसले पहिलोपटक मेरो आँखामा हेर्‍यो। मैले नै आँखा तर्काएँ ।

“सम्झना सँगाल्ने बानी छ मेरो । सकुन्जेल बोक्छु, नसके फालिदिन्छु । तपाईँलाई केको खसखस ?”

उसलाई त्यसो भन्दै गर्दा कताकता गला भासिएजस्तो भयो । आँसु आउनलाई गहिरो पीडा भएजस्तो । मलाई ‘फालिदिन्छु’ भन्न ज्यादा कठिन भयो ।त्यो डोरी मैले चाहेर पनि फाल्न सकिरहेको थिइनँ ।

“गधाको बारेमा सुन्नुभा’छ ? उसलाई भारीको यस्तो नशा हुन्छ रे कि भारी नभए हिँड्न पनि सक्दैन रे ! तपाईँ पनि किन भारीको नशा लगाउन खोज्नुहुन्छ?”

“यति सानो डोरी त हो के भारी छ र ?” मैले अझै पनि आफ्नो बचाउ गरी नै राखेको थिएँ । उसले सम्झाउन खोजेको कुरा मैले बुझिरहेको थिएँ तर मलाईबुझ्न मन थिएन ।

“हो ! डोरी सानै हो तर तपाईँले एकातिर मात्र समाइरहनुभएको छ । भुइँमा लत्रिरहेको छ । घिसार्दै हुनुहुन्छ तपाईँ त्यसलाई । याद गर्नुस्, घिसारेको घाँसगाईबस्तुले पनि खाँदैन ।”

ऊ कन्फिडेन्ट सुनियो । मसँग उसलाई फर्काइहाल्ने कुनै जवाफ नभएकोमा सन्तुष्ट पनि देखियो । गएर फलैंचामा बस्यो । गोजीबाट केही निकाल्यो रभन्यो¸ “तपाईँको बारेमा केही पर्सनल कुरा गरौँ न हामी हुन्न ?”

“म तपाईँलाई राम्रोसँग चिन्दिनँ । बाटोमा भेटिएको मान्छे हो तपाईँ । म तपाईंसँग पर्सनल कुरा किन गरुँ ?” म फेरि झोक्किएँ ।

“तपाईँको यही त कमजोरी छ । अरूलाई चिन्ने चक्करमा आफूलाई भुल्नुहुन्छ । नचिनेको नाटक गर्नुहुन्छ । खासमा तपाईँले चिन्दिनँ भन्ने धेरैलाईचिन्नुहुन्छ । तर, चिनेका धेरैलाई बिर्सिनुभयो ।”

उसले ममाथि लगाएका धेरै आरोप सही हुन् जस्तो लाग्न थालेका थिए । तर मैले नचिनेको मान्छे q कसरी मेरो बारेमा सबै कुरा बताइरहेछ भन्ने जान्नउत्सुक थिएँ म ।

“प्रश्न सोध्न हतार नगर्नुस् । भन्नुस् नाम के हो ?” मभन्दा पहिला उसैले प्रश्न मतिर हुत्यायो ।

मैले नाम भनेँ ।

“वतन ? याने कि ठेगाना ?”

मैले ठेगाना भनेँ ।

“के गर्नुहुन्छ ? नँढाटी भन्नुस् ।”

“नाटक हेर्छु ।”

“मतलब ?”

“काठमान्डूमा धेरै नाटक चलिरहेका हुन्छन् । तिनलाई हेर्छु । मन लाग्यो भने समीक्षा पनि लेख्छु ।”

“यो कुरा मलाई थाहा थिएन ।”

“तपाईँलाई थाहा हुनु जरुरी पनि त छैन । मलाई नै पनि कहिलेकाहिँ यो कुरा थाहा हुँदैन ।”

ऊ केही चिन्तित देखियो । भन्यो, “अभिनय हेर्नुहुँदो रहेछ । थाहा छ- अभिनयमा के हुन्छ ? गर्दागर्दै आफ्नो यथार्थ पनि अभिनय लाग्न थाल्छ । पात्रहरूआफैं हुन् जस्तो लाग्छ । बहुत पीडाको काम हो यो हेर्नुस् ।”

“तपाईँलाई कसरी थाहा भयो ? तपाईँ पनि अभिनय गर्नुहुन्थ्यो ?”

“हैन¸ मेरो साटो तपाईँले नै गरिरहनुभएको छ । म तपाईँको अभिनय महसुसमात्र गर्छु । तपाईँले मलाई कहिल्यै महसुस गर्नुभएन ।”

“मैले बझिनँ । तपाईँ मलाई चिन्नुहुन्थ्यो ?” मैले सोधेँ ।

“आफैंले आफैंलाई पनि नचिन्ने हुन्छ ? तर, तपाईँले मलाई चिन्नुभएन ।”

“आफैं ?” म झस्किएँ । दोस्रोपटक झस्किँदै थिएँ म ।

“हो । म तपाईँको भविष्य थिएँ । तपाईँलाई यहाँसम्म ल्याउनु थियो मलाई,” भनेर ऊ उठ्यो र फटाफट हिँड्यो । फलैंचा खाली भयो । मैले ऊ कता गयो,देखिनँ । पर सुनेर भन्यो, “धागो छोड्नुभएन भने फेरि भेटौंला ।”

म उठेर ऊ बसेको फलैंचानजिकै गएँ । झल्याँस्स भएँ । त्यो फलैंचा मेरै नाममा बनाइएको थियो ।

 

photo

NOC1-250x300