सुमधुर सम्बन्धभित्रको घिनलाग्दो खेल – गोपाल बुढाथोकी

सुमधुर सम्बन्धभित्रको घिनलाग्दो खेल – गोपाल बुढाथोकी

विचार विश्लेषण
 

नेपालमा अनौठो सत्तापक्ष र विपक्षको संस्कृति छ । सत्तामा मात्र होइन, पार्टीभित्रको सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध पनि अनौठो हुन्छ । लोकतान्त्रिक देशमा सत्तापक्ष र विपक्ष हुनु स्वाभाविक मात्र नभएर अपरिहार्य पनि हो । तर, नेपालमा चाहिं हरेक पार्टीहरू मोर्चाजस्ता छन् र हरेक पार्टीमा सत्तापक्ष र विपक्ष हुन्छन् । भरखर खुलेको नयाँ शक्तिमा पनि विपक्षी खेमा देखा परिसकेको छ ।

बङ्गलादेशमा सत्तापक्ष र विपक्षका नेताहरूबीच बोलचाल समेत हुँदैनथ्यो । शेख हसिना वाजेद र वेगम खालिदा जिया पालैपिलो प्रधानमन्त्री भए । एउटा पार्टी सत्तामा जाँदा अर्काे नबोल्ने, अर्काे पार्टी सत्तामा जाँदा अर्काे नबोल्ने । विचित्रको राजनीतिक अभ्यास थियो बङ्गलादेशमा । कतिसम्म भने बिहे र मलामी पनि दुवै पार्टीका नेता एकसाथ नजाने, एउटा गयो भने अर्काे नजाने । बङ्गलादेशमा त्यस्तो राजनीतिक संस्कृतिमा सुधार आउँदैछ तर नेपालमा भने सुधार होइन बिगार पो बढ्दैछ । हाम्रोमा फरक विचार राख्ने नेताहरूको पनि सुमधुर सम्बन्ध हुन्छ । आपसमा जति नै बाझेका जुधेका नेता भए पनि पछि मिलिहाल्छन् । यस्ता दर्जनौं उदाहरण छन् ।

एमाले फुटेर माले जन्मियो । मालेका नेता बामदेव गौतमका सबैभन्दा चर्काे आलोचक थिए केपी ओली र प्रदिप नेपाल । पछि माले र एमाले एकीकरण भयो । अहिले केपी र बामदेवको घाँटी जोडिए सरह छ । बामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री बने, उनको राजनीतिक सल्लाहकार बने प्रदिप नेपाल । अर्काे उदाहरण– बाबुराम भट्टराईले माओवादी त्यागेर नयाँ शक्ति खोले । छोरीको बिहेमा बाबुरामले बरु भारतीय राजदूतलाई बोलाए तर प्रचण्डलाई बोलाएनन् । अहिले बाबुरामलाई चोरबाटोबाट सांसद बनाउन प्रचण्ड लागिपरेको समाचार आइरहेको छ । बाबुराम र प्रचण्ड नियमित भेट्न थालेका छन् । उता कांग्रेसमा पनि शेरबहादुर देउवा र गिरिजाप्रसाद फुटे, पछि मिले । गिरिजा गुटमा रहेका धेरै नेता देउवा गुटमा पुगेका छन् भने देउवा गुटकाहरू पनि विपक्षमा गएका छन् ।

राजनीतिमा स्थायी सत्रु र मित्रु कोही हुँदैनन् भन्ने भनाई जहाँ पनि लागू हुन्छ, नेपालमा पनि लागू हुन्छ । तर, जति नै विरोधी भए पनि सुमधुर राजनीतिक र व्यक्तिगत सम्बन्ध राख्नु नेपाली राजनीतिको संस्कार हो । माथि लेखियो–यो संस्कारमा सुधार होइन बिगार आउँदैछ/बढ्दैछ । हो, सुमधुर राजनीतिक र व्यक्तिगत सम्बन्ध देशका लागि उपयोगी हुन्छ । तर, नेपाली नेताहरूको सम्बन्ध भने सुमधुरभन्दा अलि माथिल्लो तहमा विकास हुन थालेको छ । यस्तो सम्बन्धलाई हामी ‘भागबण्डाको सम्बन्ध’ भनेर बुझ्छौं । फरक पार्टीका नेताहरू पनि कालो कोठाभित्र बसेर राज्यका पद तथा कमिसन भागबण्डा गर्छन् । राजनीतिक समाधानको विषयमा उनीहरू मिल्न सक्दैनन् तर भागबण्डाको विषय आउनासाथ सहमति गरिहाल्छन् । यस्तै सहमति देखियो प्रहरी महानिरीक्षक पदको नियुक्तिमा । पहिले त गृहमन्त्री विमलेन्द्र निधि र कांग्रेस सभापति देउवा अनि प्रधानमन्त्री प्रचण्डको पनि मत नमिलेको कुरा आयो । तर, भित्रभित्रै भागबण्डा गरेर तीनजना एकढिक्का भए जयबहादुर चन्दको पक्षमा । उनीहरू कसरी मिले ? प्रष्ट छ–भागबण्डा भयो ।

सिर्फ एउटा पदमा पनि भागबण्डा हुने विचित्र अभ्यास छ नेपालमा । एउटा पदमा कसरी भागबण्डा गर्छन् ? कुरा साधारण छ । भविष्यमा हुने अन्य नियुक्तिमा अर्काे नेता या पक्षलाई भाग दिने सर्तमा । प्रहरी महानिरीक्षक पद पनि यसरी नै भागबण्डा गरिएको बुझ्न गाह्रो छैन । बरु, भविष्यमा कुन पद अर्काे पक्षलाई दिने भनेर भागबण्डा गरियो भन्ने चाहिं बुझ्न सकिएको छैन । अँ, भागबण्डाको अर्काे विधि पनि छ । नियुक्तिको लाभ दामासाहीले बाँड्ने । ठूलो नियुक्तिमा ठूलै आर्थिक चलखेल हुने जगजाहेर छ र त्यस्तो चलखेलको रकम दामासाहीले बाँड्ने चलन पनि जनजाहेर छ । आइजी नियुक्तिमा भने कुरा अर्कै भो, सर्वाेच्च अदालतको २०७३ फागुन १ गतेको अन्तरिम आदेशले नियुक्ति रोक्का गरिदियो ।

अन्यत्र कतै नभएको राजनीतिक संस्कारजस्तै अन्त कतै नभएको अदालत छ नेपालमा । सरकारको हरेक कामकारवाहीमा हस्तक्षेप गर्ने हैसियत राख्छ अदालतले । सरकारले गरेको निर्णय लागू हुन्छ नै भन्ने ठेगान हँुदैन । किनभने कसै न कसैले मुद्दा हालिदिन्छ अनि अदालतले त्यसमा निर्णय दिन्छ । सरकारको पक्षमा फैसला आए निर्णय लागू हुन्छ नत्र हुँदैन, सरकारले अर्काे बाटो लिनुपर्ने हुन्छ । हाम्रोमा अदालतले अतिरिक्त क्रियाकलाप गर्छ भन्ने पनि जगजाहेर विषय हो । तर, अदालतलाई अतिरिक्त क्रियाकलाप गर्ने बाटो पनि सरकार र यिनै नेताहरूले दिन्छन् । राज्यसंयन्त्रको प्रकृयाका दृष्टिले प्रहरी महानिरीक्षक नियुक्ति ठूलो विषय होइन, साधारण विषय हो । यस्तो विषयमा पनि दलहरू हानाथाप गर्छन्, नेताहरूले गुट निर्माण गर्छन्, एउटालाई बोक्ने र अर्काेलाई पछार्ने काम गर्छन् । मुख्य कुरा गल्ती गर्छन् अनि त्यो गल्ती इजलासमा बहसको विषय बन्छ ।

जबसम्म भागबण्डाको संस्कृति जनताको इजलासमा बहसको विषय बन्दैन, जबसम्म भागबण्डा संस्कृतिमा आर्थिक विकृति मिसिइरहन्छ तबसम्म अदालतमा यस्ता मुद्दा पुगिरहन्छन् । अहँ, हाम्रा नेताहरूको आपसी सम्बन्ध र राजनीतिक संस्कार कति राम्रो छ भन्न नहुने अवस्था छ । किनभने सम्बन्धकै आडमा उनीहरू भागबण्डा गर्छन् । राजनीतिक विषयमा मारामार गर्छन् तर भागबण्डामा भने मिलिहाल्छन् । भागबण्डामा मिल्ने राजनीतिक संस्कारले नेपालमा धेरै संस्था र निकायहरूको राजनीतिकरण भएको छ, त्यस्ता संस्था चौपट भएका छन् । त्यति मात्र होइन, ठूलाठूला, खरिद, ठेक्कापट्टामा समेत दलीय भागबण्डामा भागशान्ति जयनेपाल हुने गरेको छ । माथि भागबण्डामा सबै काम फत्ते हुने तर समाजलाई चाहिं विभाजित बनाउँदै लैजाने काम भइरहेको छ । अब प्रहरी महानिरीक्षक नियुक्तिमा परेको मुद्दालाई नै हेरौं । एकथरी मानिस एउटाको पक्षमा लाग्नेछन्, अर्काथरी अर्काेको पक्षमा लागेर बहस गर्नेछन् । बहस मात्र किन ? आपसमा गालीगलौज नै गर्नेछन्, हिलो छ्यापाछ्याप गर्नेछन् ।

नेपालमा सुमधुर राजनीतिक संस्कार र सम्बन्धको पर्दा पछाडि घिनलाग्दो खेल फस्टाइरहेको छ । सतहमा यो खेल भागबण्डा संस्कृतिका रुपमा देखिने गरेको छ । नेता र पार्टीहरूको सम्बन्ध सुमधुर हुँदा मुलुकलाई क्षति हुने यो विचित्रको अवस्था नेपालमा मात्रै छ कि अन्य देशमा पनि होला ? छ कसैसंग यो प्रश्नको जवाफ ?

विक्ली नेपालबाट साभार गरिएको

 

photo

NOC1-250x300