सिके राउतः ‘नासाका वैज्ञानिक’ वा ‘मूर्खताका डाक्टर’ ? ‘हतियार उठाएको छैन’ भन्दैमा नाङ्गै हिँड्न संविधानले दिन्छ ?

शान्तिपूर्ण अभियान’ का नाममा नेपाल विखण्डनको बलात् कृत्य गर्दै आएका डा. सिके राउत पक्राउ पर्नासाथ केही ‘मुसा प्रवृत्ति’ का व्यक्तिहरुले सिके राउतको समर्थनमा सोसियल मिडियामा ‘स्याल हुइयाँ’ सुरु गरेका छन् ।

 

सिके राउतले शान्तिपूर्णरुपमै गतिविधि गरिरहेको र उनको यो गतिविधि ‘अभिव्यक्ति स्वतन्त्रता’ एवं ‘मानवअधिकार’ भित्रै पर्ने ती बुद्धिजीवीहरुको दाबी छ । अदालतले समेत सिके राउतलाई देश टुक्र्याउने अभियानका लागि ‘क्लिन चिट’ दिइसकेको हुनाले उनलाई राज्यले पक्रन नमिल्ने राउतका उपवाचकीहरुको जिकिर छ ।

उपवाचकीहरुको अर्को जिकिर के पनि छ भने सिके राउत असाध्यै विद्वान हुन्, बेलायतमा पढेका डाक्टर हुन् र अमेरिकाको नासामा काम गरिसकेका वैज्ञानिकसमेत हुन् । उनको पहुँच संयुक्त राष्ट्रसंघमा समेत छ र उनी मधेसी जनताका मुक्तिदाता नै हुन् । उनको विद्वताका सामु अरु सबै मधेसी-पहाडी नेताहरु पुड्का छन् । यस्तै यस्तै स्याल हुइयाँ सुनिँदैछ, राउतका वाचकी र उपवाचकीहरुको ।

पहिले सुनौं नीलो स्यालको कथा

सिके राउतमाथि टिप्पणी गर्नुपूर्व नीलो स्यालको एउटा रोचक कथाबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

एकादेशको जंगलमा एउटा स्याल थियो । उक्त स्याल कुखुरा खोजी खान गाउँतिर पसेछ । एउटा घरमा रंग लगाउनका लागि ठूलो ड्रममा नीलो रंग घोलेर राखिएको रहेछ । त्यसमा चिहाएर हेर्ने क्रममा स्याल ड्रमभित्र डुबेछ ।

बाहिर निस्कँदा स्यालको खैरो स्वरुप पूरै नीलो भयो । आत्तिएको स्याल शिकार नखोजी बासस्थानतिर दौडियो ।

बाटोमा त्यो स्यालको जम्काभेट बाघसँग भयो । बाघले उसलाई झम्टनुको साटो अचम्म मान्दै सोध्यो- ‘तँ को होस् ? तँजस्तो नीलो जनावर त मैले अहिलेसम्म यो जंगलमा देखेकै थिइनँ ।’

छट्टु स्यालले मौकाको फाइदा उठाउँदैछ भन्यो- ‘म विशेष प्रजातिको बाघ हुँ । र, म अर्को जंगलबाट यहाँ पहिलोपटक आएको हुँ ।’

यति सुनेपछि बाघ तीन छक्क पर्‍यो । जंगलभरिका बाघहरुले भेला भएर नीलो स्याललाई आफ्नो पूर्खा ठानेर सम्मान गरे । ऊ बाघकै ओढारमा बास बस्न थाल्यो । र, शिकार पनि बाघले नै ल्याइदिन थाले ।

यत्तिकैमा एक दिन पल्लो खोल्सामा एउटा स्याल जोडले हाऊ हाऊ गर्दै करायो ।

स्यालको विशेषता के हुन्छ भने कुनै कुनामा एउटा स्याल कराएपछि त्यो आवाज सुन्ने सबै स्यालले पालैपालो कराउनैपर्छ । र, यसैलाई भनिन्छ-स्याल हुइयाँ ।

खोल्सामा स्याल कराएपछि नीलो स्यालले आफू नक्कली बाघ भएको बिर्सियो र उसले पनि ठूलो स्वर निकालेर हुइयाँ मच्चायो । छेउमा रहेका बाघहरुले बल्ल उसलाई चिने । र, उसलाई तत्कालै कारवाही गरे ।

राउतको गिरफ्तारीपछि नीलो स्याल चिन्न सजिलो

अहिले सिके राउत पक्राउ पर्दा नीलो स्यालको लोककथालाई चरितार्थ बनाउँदै केही मानिस र संस्थाहरु यसरी कराउन थालेका छन् कि यो देशमा विखण्डनलाई क-कसले धूप हाल्दैछन् भनेर पत्ता लगाउन अब सजिलो भइरहेको छ ।

मधेस वा मधेसी मोर्चामा मात्रै होइन, राजधानीमा बसेर पत्रकार, मानवअधिकार एवं अरु विभिन्न कभरमा सिके राउतलाई सहयोग गर्नेहरु कोको रहेछन् भनेर पहिचान गर्न अब सजिलो भएको छ ।

देशलाई धोका दिने यस्ता ‘नीला स्याल’हरु स्वदेशमा मात्रै होइन, विदेशमा पनि छन् । दुई वर्ष पहिले सिके राउतलाई लण्डनबाट एम्नेष्टी इन्टरनेशनलले ‘आस्थाको बन्दी’ बताएको थियो । नेपालबाट कृष्ण पहाडी लगायतले त्यसमा आपत्ति जनाउँदै एम्नेष्टीसँग सम्बन्ध विच्छेदको घोषणा गरिसकेका छन् । पहाडीले भनेका छन्- सिके राउतलाई आस्थाको बन्दी मान्न सकिँदैन ।

एम्नेष्टीले मात्रै होइन, नेपालको अदालतले समेत राउतको घृणात्मक अभिव्यक्तिलाई बैधानिकता प्रदान गरिदिएका कारण उनी जेल जानबाट विगतमा जोगिएका छन् र बिखण्डनकारीहरु खुलेआम अदालतको दुहाइ दिँदै मातृभूमिविरुद्ध विखण्डनको अभियान चलाइरहेका छन् । अब दोस्रोपटक राउतको गिरफ्तारीले फेरि अदालतको पनि परीक्षण हुने मौका मिलेको छ । के अदालतले नै देश टुक्र्याउन पाइने नजिर बनाउला ? यो प्रश्न निकै गम्भीर छ ।

सिके राउतले हतियार नउठाएको र शान्तिपूर्ण रुपमा सभा संगठनमार्फत गतिविधि गरिरहेको तर्क मुसा प्रवृत्तिका मानिसहरुले गरेका छन् । तर, के हतियार नबोक्दैमा जे पनि बोल्न र गर्न पाइन्छ त ?

नेपालमा रहेका युरोपेली संघका राजदूतहरुले बस नै रिजर्ब गरेर सिके राउतको दर्शनभेट गरेको समाचार विगतमा बाहिर आएकै थियो । अब राउतको गिरफ्तारीपछि पश्चिमाहरुको स्याल हुइयाँ सुनिन्छ कि सुनिँदैन, त्यो पनि चासोको विषय बनेको छ ।

उता भारतले ज्वाला सिंह र गोइतलाई भारतमा आश्रय दिँदै आइरहेको छ । त्यही सशस्त्र समुहकै नारालाई मधेसमा गान्धीका नाममा प्रचार गरिरहेको सिके राउतको गिरफ्तारीपछि पनि अब भारतीय राजदूत रणजीत रायले ज्वाला सिंहहरुलाई भारतमा आश्रय दिइराख्छन् वा नेपाललाई सहयोग गर्छन् ? यो पनि सम्भवतः अब हेर्न पाइनेछ । सारांशमा भन्दा अब नीलो स्यालको स्वर छुट्याउन मज्जाले पाइनेछ ।

अब चर्चा गरौं, सिके राउतका खोटा विचारहरुको ।

राउतको ‘शान्तिपूर्ण’ पसल

सिके राउतले हतियार नउठाएको र शान्तिपूर्ण रुपमा सभा संगठनमार्फत गतिविधि गरिरहेको तर्क मुसा प्रवृत्तिका मानिसहरुले गरेका छन् । तर, के हतियार नबोक्दैमा जे पनि बोल्न र गर्न पाइन्छ त ? बोल्ने कुरामा देशभित्रको कुनै कानून र मर्यादा हुँदैन ? अवश्यै हुन्छ ।

जस्तो कि- तपाईले हतियार बोक्नुभएको छैन भन्दैमा बानेश्वर चोकमा नाङ्गै हिँड्न मिल्दैन । संविधानले स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकार मज्जाले दिएको छ । तर, संविधानप्रदत्त अधिकार छ भन्दैमा तपाई गुप्ताङ्ग देखाएर हिँड्न थाल्नुभयो भने तपाईलाई प्रहरीले पक्रन्छ र सामाजिक मर्यादा खलल गरेको आरोपमा सार्वजनिक अपराधमा मुद्दा चलाउँछ, थुन्छ । यहाँ संविधानले दिएको मौलिक अधिकार वा मानव अधिकारको तर्कले काम गर्दैन । ‘अभिव्यक्तिको स्वतन्त्रता’ वा ‘शान्तिपूर्णरुपमा निर्वाध हिँडडुल गर्न पाउने स्वतन्त्रता’ यसमा लागू हुँदैन ।

हिँड्ने विषयमा जस्तै बोल्ने विषयमा पनि यही नियम लागु हुन्छ । तपाईले ‘शान्तिपूर्ण ढंगले’ कुनै महिलालाई ‘वेश्या’ भन्नुभयो भने तपाईमाथि कारवाही हुन्छ । मैले ‘शान्तिपूर्ण रुपमा’ वेश्या भन्ने अभियान चलाएको हुँ भनेर तपाईले छुट पाउनुहुन्न ।

लोकतान्त्रिक देशको संविधानले अभिव्यक्तिको स्वतन्त्रता त दिएको हुन्छ, तर अरुलाई फिरिङ्गी भन्न पाइने, बेश्या भन्न पाइने, र…. इत्यादि भन्न पाइने अधिकार संसारमा कुनै संविधान वा कानूनले दिएको छैन, मंगल ग्रहको कानूनले त्यस्तो अधिकार दिएको छ भने उनै ‘नासामा काम गरेका वैज्ञानिक’ दाबी गर्ने डा. सिके राउतले जानून् ।

बहुजातीय बहुसांस्कृतिक देशमा एउटा समुदाय विशेषलाई फिरिङ्गी, बाहिरिया, इत्यादि भन्ने अधिकार कुनै पनि सभ्य समाजमा हुँदैन । देशमा अभिव्यक्तिको स्वतन्त्रता छ भन्दैमा सामाजिक सदभाव बिथोल्ने वा छाडा एवं अपमानित कुरा बोल्ने छुट सिके राउत त के, सिके राउतका हजुरबालाई पनि छैन । केपी ओली वा अरु कसैलाई पनि यस्तो छुट दिइनु हुँदैन ।

माहात्मा गान्धी र ‘शान्ति’ को नाम लिएपछि जसका विरुद्ध जे पनि बोल्न र गर्न पाइन्छ भन्ने हो भने यस्तो विधिशास्त्रका आविश्कारक वैज्ञानिक सिके राउतलाई अन्तरराष्ट्रिय अदालतको प्रधानन्यायाधीश बनाइदिए हुन्छ । यस्तो विद्वानलाई अमेरिका र बेलायतले आफैंसँग नराखेर किन नेपालमा पठायो होला ? उनलाई ‘आस्थाको बन्दी’ भन्ने युरोपेली संघका राजदूतहरुले उनलाई किन युरोपका युनिभर्सिटीमा गेष्ट प्रोफेसर बनाउन नलगेका होलान् ?

यसको कारण यो हुनुपर्छ कि जातीय, साम्प्रदायिक एवं कुनै समुदायको विरुद्धमा घृणात्मक अभिव्यक्ति दिँदै हिँड्ने राउतको वौद्धिक स्तर सभ्य देशहरुले जाँचिसकेको हुनुपर्छ । अंग्रेजहरुलाई थाहा छ कि अंग्रेजी जान्दैमा विद्वान भइन्न । किनभने उनीहरुको देशमा अंग्रेजी जानेकाहरुले नै अपराध गर्छन् ।

मूर्खतामा डाक्टरी

हो, डा. सिके राउतले केही कितावहरु लेखेका छन् । मधेसको इतिहास लेखेका छन् मधेसमा भएको थिचोमिचोका बारेमा पनि लेखेका छन् । तर, उनले व्यक्त गरिरहेका विचार र उनको लाइन हेर्दाखेरि उनको डाक्टरीको विधा ‘मूर्खता’मा हो भन्ने निश्कर्ष निकाल्न सकिन्छ ।

मधेसलाई खस समुदायले उपनिवेश बनायो भन्ने राउतको निश्कर्ष सही छैन । विगतमा गोपाल बंश, लिच्छवि लगायत शासनकालमा मधेसले सिंगै नेपाललाई नेतृत्व गरेको हो ।

नेपालका पहाडेहरुका देवतासमेत मधेसी समुदायकै छन् । कृष्ण भगवानको तस्वीर पहाडेको घरघरमा छ । कृष्णजी यादव समुदायका हुन्, जो पहाडे समुदायमा पनि पूज्य छन् । सीता, रामचन्द्र, गौतम वुद्ध जस्ता पूजनीय व्यक्तित्वहरु पहाड-मधेस सबैका साझा हुन् । त्यसैले नेपालमा जनतामात्रै होइन, भगवान समेत पहाड र मधेसका साझा छन् ।

यो अवस्थामा राउतले जसरी मधेसलाई अलग्गै देश बनाउने भनेर अभियान चलाएका छन्, यो नेपाल र नेपालको हितमा छैन । मधेसी जनताको पनि हितमा छैन । यो उनको मूखर्तापूर्ण र अवैज्ञानिक अभियान हो । सिके राउत साच्चै वैज्ञानिक र विद्वान हुन्थे भने यो असम्भव मागका पछाडि युवाहरुलाई भड्काउनुको साटो वैज्ञानिक नीति अवलम्बन गर्न सक्थे । तर, उनी ‘मूर्खताको डाक्टर’ का रुपमा देखा परेका छन् ।

एकछिनलाई मानौं कि मधेस पहिले स्वतन्त्र थियो रे । समाजशास्त्र र राजनीतिशास्त्रमा पहिले के थियो भनेरमात्रै हेर्नु मूर्खता हो । पहिले वाल्यकालमा हामी नाङ्गै थियौं, अब नाङ्गै हिँड्न पाउनुपर्छ भन्ने ? यो मिल्दैन ।

पहिले नेपालमा बाइसे चौबीसे राज्य थिए । पहिले सिक्किम बेग्लै देश थियो । पहिले भारतको भूमि अफगानिस्तानको सीमासम्म फैलिएको थियो । तिब्बत पहिले स्वतन्त्र थियो । बंगलादेश पाकिस्तानको भूमि थियो । भारत पहिले बेलायतको नियन्त्रणमा थियो । बेलायतले नियन्त्रण गर्नुपूर्व भारतमा करिब ५ सय वटा स्वतन्त्र राज्यहरु थिए । पहिले त के-के थियो, के-के थियो ।

तर, पहिले मधेसमा बेग्लै शासन थियो नै भने पनि अब हामीले नयाँ नेपाल, साझा नेपाल बनाउने कि विगतको मुरली बजाएर ‘सपेरा डान्स’ देखाउने ? अनि यस्तो पुारतन एवं अवैज्ञानिक सोचाइ बोक्ने मूर्खताका डाक्टरका पछि लागेर हामी कहाँ पुगौंला ? यो प्रश्नमा अब मधेसभित्र गम्भीर बहसको खाँचो छ ।

मधेसी मोर्चाका केही नेता कार्यकर्ताहरु र आफूलाई मधेसविद भन्ने केही मुसा प्रवृत्तिका विद्वानहरु समेत राजनीतिशास्त्र नै नबुझेका सिके राउतका पछाडि स्याल हुइयाँ मच्चाउँदै हिँडेका छन्, यो मधेसको हितमा छैन ।

डाक्टरले चिर्नमात्रै होइन, सिउन पनि जान्नुपर्छ

मधेसमा भइरहेको सामन्ती विभेद एवं असमानताको विरोधमा सिके राउतले जे जति चिरफार गरेका छन्, त्यसमा अलिकति पनि सत्यता छैन भन्ने होइन । मधेसमा विभेद छ । गरिवी, अशिक्षा र पछौटेपन छ । मधेसमा मात्रै होइन, देशैभरि यस्तै छ । हिजोको सामन्ती व्यवस्था र ०४६ साल यताका शासकहरुको गैरजिम्मेवार नीतिका कारणले यी समस्याहरु देखा परेका हुन् ।

तर, यी समस्याको समाधान सिके राउतले भने जसरी देश नै टुक्र्याएर सम्भव हुँदैन । आमाको औंलामा चोट लाग्यो भने उपचार गर्ने कि तिघ्रामै काटेर फालिदिने ?

त्यसैले सिके राउतले मधेसी समाजको चिरफारमा केही वस्तुगत आधार देखिए पनि त्यसको रिमेडी उनले नश्लवादी तरिकाले गर्न खोजेका छनु । राउत मध्ययुगीन समयका जातिवादी बनेर आएका छन् । यदि उनी समाजशास्त्र र राजनीतिमा सामान्य समझ भएका डाक्टर हुन्थे भने उनले चिर्न मात्रै होइन, अप्रेसनपछि सिउन पनि सिक्नुपर्दथ्यो । उनी काट्न जान्ने, सिन नजान्ने डाक्टर हुन् । दक्षिण एशियाको जियो पोलिटिक्समा मधेसमा बेग्लै देश बनाउँछु भन्नु भनेको फणीन्द्र नेपालले ‘ग्रेटर नेपाल बनाइन्छ’ भनेजस्तै श्वैर कल्पना हो । मधेसका जनतालाई दुई पुस्तासम्म सुख नदिने बाटो हो । यो कालीदासपथ हो । कालीदास पनि सिके राउतभन्दा कम विद्वान थिएनन् ।

‘पहाडिया नश्लवाद’ झनै खतरनाक

०५७ सालतिर यो पंक्तिकार नवदुलही श्रीमतीजीको नागरिकता बनाउन जिल्ला सदरमुकाम बिराटनगर पुगेको थियो । कार्यालयको झ्यालमा भीडामभीड थियो । एकजना मधेसी मूलका युवाले झ्यालको डण्डीबाट भित्र हात छिराएर नागरिकताको आवेदनमा औंठाछाप लगाए । भित्र बसेका कर्मचारीले हप्काउँदै भने- ‘ओई गधा, यहाँ हात छिराउने हो ? बाहिर गएर छाप लगाउन सक्दैनथिइस् ?’

कर्मचारीले सेवाग्राहीमाथि यस्तो अपशब्द प्रयोग गरेकोमा यो पंक्तिकारलाई असैह्य भयो । ‘सरकारी कार्यालयमा आएको वयस्क नागरिकलाई गधा भनेर हप्काउने ? तपाईहरुलाई यसो भनिएको भए तत्कालै गाली बेइज्यती मुद्दामा पक्रनुहुन्थ्यो’ यसो भनेर सार्वजनिकरुपमा प्रतिकार गरेपछि त्यहाँ होहल्ला मच्चियो । ती कर्मचारी भित्र छिरे । उनको नाम अहिले याद छैन, र उनी त्यसबेला खरदार तहका कर्मचारी हुनुपर्छ । प्रशासकीय अधिकृतले अगाडि आएर सरी भनेपछि समस्या समाधान भयो ।

एकपटक हामीले छातीमा हात राखेर सोचौं- के हामीले हृदयदेखि नै मधेसी समुदायलाई आफन्त ठान्न सक्छौं ? सक्दैनौं र  अझै पनि बिराटनगरको खरदारले जसरी जातीय विभेदपूर्ण दृष्टिले नै हेर्छौं भने यो ‘पहाडे नश्लवाद’ सिके राउतको मधेसी नश्लवाद भन्दा बढ्ता खतरनाक छ

एकाध घण्टापछि नागरिकता बनाइसकेर बिराटनगरको महेन्द्र चोकमा एकजना एमालेनिकट व्यक्तिको भेटघाटका लागि हामी आयौं ।

अघि सेवाग्राहीलाई ‘गधा’ भन्ने कर्मचारी त्यहीँ आइसकेका रहेछन् । दोस्रो भेटमा उनले आफैं कुरा कोट्याए र भने- ए, भाइसँग फेरि भेट भयो, अघि तपाईले भनेको पनि ठीकै हो कि भाइ, तर मलाई मधिसे देखेपछि पारो तातिहाल्छ ।’
उनले यसो भनिसकेपछि फेरि त्यहीँ झगडा पर्‍यो । ‘तपाई सरकारी कर्मचारी भएर, सरकारको सिन्दुर लगाएर बसिसकेपछि यस्तो रंगभेद, जातीय विभेद गर्ने ?’

उनी त्यसबेला मौन त भए, तर आफ्नो कार्यकालमा कति मधेसी दाजुभाइमाथि यस्तै रंगभेदी व्यवहार गरे, यो पंक्तिकारलाई थाहा छैन । तर, अनुमानचाहिँ के लगाउन सकिन्छ भने उनी अहिलेसम्म पदमै छन् भने माथिल्लो तहमै पुगेका होलान् र त्यसबेला एमालेसँगैको संगत देखिएकाले उनी एमालेको निजामति कर्मचारी संगठनमा समेत होलान् । पदमा छैनन् भने उनी समाजमा मधेसी दाजुभाइमाथि घृणात्मक अभिव्यक्ति दिँदै चोकमा बसेर चिया पिउँदै होलान् ।

यो प्रशंग किन कोट्याइएको हो भने हिजो मधेसी समुदायमाथि वर्गीयमात्रै होइन, जातीय विभेद पनि भएकै हो । सरकारी निकायमा बसेका पहाडे मानसिकताबाट ग्रसित अधिकांश जातिवादी कर्मचारीहरुमा अहिले पनि यस्तो सामन्ती संस्कार हटेको छैन । अझ अहिले त त्यो हेजिमोनीलाई राजनीतिकरण गरिएको छ । कतिपय नेताहरु समेत बिराटनगरका तिनै खरदारजस्ता देखिन थालेका छन् ।

धरान-बिराटनगरबाट ०५० सालतिर काठमाडौं आवत-जावत गर्दा रात्रीबस सप्तरी-सिरहा हुँदै आउँथ्यो । त्यहाँ गाडीभित्र सीटमा बसेको मधेसी समुदायको यात्रुलाई कन्डक्टरले हप्काउँदै मुडामा बसालेर पहाडेलाई सीटमा राखेको प्रशस्तै देखियो ।

यी सबै दृश्यहरु देख्दा यस्तो लाग्थ्यो, मधेसी जनता दुईवटा जाँतोमुनि थिचिएका छन्- एउटा सामन्ती व्यवस्थाको वर्गीय जाँतो र अर्को जातीय विभेदको जाँतो । मधेसी भएर जन्मिनु दुर्भाग्यजस्तै थियो उनीहरुका लागि ।

मधेसमा विभेद छ । तर, यो विभेदको समाधान सिके राउतले भनेजसरी देश टुक्राएर कदापि सम्भव छैन । हिजोको सामन्ती व्यवस्थाले गरेको भेदभाव र अपराधलाई अब लोकतन्त्र आएपछि समाधान गर्नुपर्छ । र, पहाडे-मधेसीवीच एकताभाव एवं आपसी विश्वास स्थापित गर्नुपर्छ, घृणाभाव होइन । सिके राउतले अहिले जे गरिरहेका छन्, त्यो आवेग केन्द्रित छ । शान्तिको कोरस गाउँदै मधेसलाई काश्मिरजस्तो बनाउने बाटोमा गएर समस्या समाधान सम्भव छैन ।

तर, यसका लागि हामी पहाडे समुदायका हौं भन्नेहरु नै बढी दोषी छौं । एकपटक हामीले छातीमा हात राखेर सोचौं- के हामीले हृदयदेखि नै मधेसी समुदायलाई आफन्त ठान्न सक्छौं ? सक्दैनौं र अझै पनि बिराटनगरको खरदारले जसरी जातीय विभेदपूर्ण दृष्टिले नै हेर्छौं भने यो ‘पहाडे नश्लवाद’ सिके राउतको मधेसी नश्लवाद भन्दा बढ्ता खतरनाक छ । राष्ट्रवादका नाममा मधेसी समुदायलाई भारतीय देख्ने सोचाइ सिके राउतहरु उत्पादन गर्ने कारखाना हुन् ।

अहिले विशेष गरी ‘एमाले स्कुल’बाट मधेसमा वर्गीय बाहेक अर्को कुनै समस्या नै नभएजसरी व्याख्या गर्ने काम भइरहेको छ, जसले मधेसको समस्यालाई नजरअञ्दाज गरेको छ । मधेसमा यस्तो दोहोरो विभेद नभएको भए मधेसी मोर्चा जन्मने नै थिएन । र, सिके राउतको व्यवसाय पनि फस्टाउने थिएन । विगतमा यही सम्भावनालाई बुझेर मदन भण्डारीले सीतानन्दन रायको नेतृत्वमा मधेसको समस्याबारे अध्ययन थालेका थिए, तर निश्कर्ष निकाल्नै नपाई दासढुंगा काण्ड भयो ।

एमाले अध्यक्ष केपी ओली लगायतका एमालेका नेताहरुले राजेन्द्र महतो र उपेन्द्र यादवहरुलाई गाली गर्ने तर, सिके राउतको विपक्षमा एक शब्द पनि नबोल्ने नीति लिँदै आइरहेका छन् ।

ओली सरकारका पालामा मोर्चाका नेतालाई खुइल्याउने र सिके राउतलाई स्वतन्त्रतापूर्वक मधेसमा विखण्डनवादी अभियान चलाउन दिने नीति एमाले सरकारले लिएकै हो । एमालेको यस्तो नीतिले पनि मधेसमा विखण्डनवादलाई प्रश्रय दिएको छ । अब हुने एमालेको मधेस अभियानमा उसले सिके राउतका खोटा विचारहरुको कति खण्डन गर्छ, त्यो चाँहि हेर्न बाँकी छ ।

अन्त्यमा, मानवअधिकारको प्रश्न

जहाँसम्म सिके राउतसँग जोडेर मानवअधिकारको कुरो गरिँदैछ, उनले चलाएको अभियान र उनले व्यक्त गरिरहेको साम्प्रदायिक अभिव्यक्ति मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको ‘जुरिस्डिक्सन’ भित्र पर्दैन । यसबारे माथि नै सप्रशंग व्याख्या गरिसकिएको छ ।

तर, कोही अपराधी नै किन नहोस्, उसलाई यातना नदिने, थुनामा परिवारजनलाई भेट्न दिने, प्रतिवादमा वकिल राख्न पाउने जस्ता कुराहरु मानवअधिकारभित्र पर्छन् । तर, राउत महान विचारक हुन् र उनलाई जे पनि बोल्दै नांगै हिँड्न कानूनले पूर्णतः छुट दिनुपर्छ भन्नुचाँहि मानव अधिकार र अभिव्यक्तिको स्वतन्त्रतामाथि नै हँसीमजाक उडाउनु हो । स्वतन्त्रताका नाममा नेपाल आमामाथि बलात्कार गर्ने छुट कसैलाई छैन ।

हो, सिके राउतले मधेसको समस्याबारे बोल्न पाउँछन् । विभेदको विरोधमा अभियान पनि चलाउन पाउँछन् । तर, उनको मूर्खता नै कहाँनेर हो भने मधेसमा विभेद छ भन्दैमा देश विखण्डनको ‘शान्तिपूर्ण तयारी’ गर्ने अधिकार संविधान प्रदत्त हुन सक्दैन । यति कुरा राजनीतिशास्त्रको कखरा नबुझेका बरा डाक्टर सिके राउतको ‘वैज्ञानिक’ दिमागले किन सोच्न नसकेको होला ?  10982365_10206033934704213_883502389776230663_n-150x150

अरुण बरालको लेखवाट साभार गरिएको

 

photo

NOC1-250x300