शैक्षिक मूल्यांकन पद्दतिः नेपाल र अमेरिकाको तुलना

 जीवनको चार दशकको दौरानमा मैले संसारका प्रायः सबैखाले शैक्षिक मूल्यांकन पद्दतिहरु बारे (सुनेर, देखेर वा आफैले भोगेर) धेर-थोर साक्षात्कार हुने मौका पाएको छु । प्रारम्भमा म मेरो वाल्यकालको स्कुले जीवनको केही अनुभव शेयर गर्न चाहन्छु ।

सँगैका दौंतरीहरु गोठालो बनेर बनपाखा चाहार्दै गर्दा आफु चाहिँ किताबकापी च्यापेर स्कुल जान पाउने थोरै भाग्यमानीमध्ये पर्दथें म ।Dr.-Naryan-adhikari
समय क्रममा परिवारको चाहनालाई मैले आफ्नै चाहाना बनाउँदै जान थालेछु । विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरुको नतिजा प्रकाशित गर्ने कार्यक्रम हुने गर्थ्यो  । भव्य समारोहवीच स्कुलभरिको सर्वप्रथम, अनि कक्षागत प्रथम, द्वीतीय र तृतीय हुनेहरुलाई पालै पालो फूलमाला, अवीर र पुरस्कारद्वारा विशेष सम्मान गरिन्थ्यो ।हुन त सानैदेखि भलिबलमा अत्यन्तै रुचि भएकाले ठूलो भएपछि राम्रो खेलाडी बन्ने मेरा रहर थियो । सधैं पढ्नमै मात्र प्रेरित गरिरहने मेरो परिवारलाई मैले मेरो मनको चाहना व्यक्त गर्न सक्ने कुरै भएन । उनीहरुको चाहना मलाई डाक्टर वा इञ्जिनियर बनाउनु थियो भन्ने मैले सानै उमेरदेखि बुझिसकेको थिएँ । त्यसैले त उनीहरुले मलाई कक्षामा सधैं प्रथम हुन र विज्ञान तथा गणित विषयहरुमा राम्रो अंक ल्याउन उत्प्रेरित गर्दथे ।

हरेक वर्ष सम्मान पाउने थोरै भाग्यमानीहरु मध्ये म पनि पर्थें । त्यो दिन मेरा लागि विशेष खुशीको दिन हुन्थ्यो । तर, विद्यार्थीको मूल्याङ्कनको आधार भने मात्रै यौटा हुने गर्थ्यो- त्यो हो त्रैमासिक र अन्तिम परीक्षाहरुमा उनीहरुले पाएको कुल प्राप्ताङ्क ।

प्राप्ताङ्कका आधारमा सम्मान गरिनुको उद्देश्य समग्रमा सकारात्मक नै थियो, जस्तो कि विद्यार्थीहरुले राम्ररी पढुन्, सिकुन् र विषय बस्तुमा राम्रो दक्षता हासिल गरुन् । अनि राम्रो गर्नेहरुलाई सधैं राम्रो गरिरहन र कमजोरहरुलाई पनि राम्रो गर्न प्रेरित गरोस् भन्ने नै थियो ।

अफसोच, प्रत्येक वर्ष समारोह सकेपछि थोरै विद्यार्थीहरु मात्र खुशी हुँदै घर फर्कन्थे भने धेरैजसो दुखित र खिन्न हुँदै । सफल हुनेहरुले त गुरु, घरपरिवार र साथीभाइ सबैबाट प्रशंसै प्रशंसा पाउँथे, तर असफल हुनेहरुले चाहीँ सबैबाट तिरस्कार पाउँथे । यतिसम्म कि फेल भएकै कारण कतिपयले त परिवारबाट भौतिक तथा मानसिक सजायँसमेत भोग्नुपर्थ्यो  भने कतिपयलाई स्कुलबाट छुटाइन्थ्यो र पढ्नबाटै वञ्चित गराइन्थ्यो । त्यसैले कमजोर विद्यार्थीहरुमा पढाइप्रति सदैव वितृष्णा हुने गर्थ्यो । उनीहरुलाई जीवनमा कहिल्यै सफल हुन सकिन्न कि भन्ने त्रासले सताउँंथ्यो । कतिपयले त जीवनप्रति नै निराश बन्दै आत्महत्या समेत गर्दथे ।

यी तथ्यहरुले हाम्रो परम्परागत वा विद्यमान मूल्याङ्कन पद्दति थोरैलाई मात्रै उपयोगी हुने तर औसतलाई खासै प्रभावकारी नहुनेखालको पो हो कि भन्ने पुष्टि गर्छ ।

अमेरिकाको अनुभव

यता, अमेरिकामा मैले देखेको र अवलम्वन गरेको मूल्याङन पद्दतिबारे केही कुराहरु उल्लेख गर्न चाहन्छु ।

हुन त विद्यालय पिच्छे यहाँ पनि मूल्याङ्कन तरिकाहरु केही फरक त पर्लान् नै तथापि सबैमा आधारभूत प्रकृयाहरु उस्तै नै हुन्छन् । यहाँ स्कुलहरुमा हरेक शैक्षिक वर्षको अन्त्यमा दिक्षान्त समारोह हुने गर्दछ । त्यतिबेला कक्षा शिक्षकले आफ्नो कक्षाका विध्यार्थीहरुको अभिभावकहरुलाई विद्यालयमा आमन्त्रण गर्दछन् ।

अभिभावकहरुको उपस्थितिमा बालबालिकाहरुले बिभिन्न कलाहरु प्रस्तुत गर्दछन् । त्यसपछि कक्षा शिक्षकले विद्यार्थीहरुको प्रगति विवरण प्रस्तुत गर्दछन् । विद्यार्थीहरुलाई प्राप्तांकका आधारमा मात्र नभई विभिन्न विधामा मूल्यांकन र पुरस्कृत गरिन्छ ।

कक्षामा सबैभन्दा बढी अंक ल्याउने, सबैभन्दा बढी उपस्थित हुने, सबैभन्दा छिटो र राम्रो लेख्न र पढ्न सक्ने, सबैभन्दा राम्रो गाउने, बजाउने र नाच्ने, खेलकुदमा उत्कृष्ट हुने, कक्षा कोठा र शौचालय सफा राख्न सबैभन्दा बढी तत्परता देखाउने, सबैभन्दा बढी मिलनसार र सहयोगी, सदैव सफासुग्घर रहने आदि आदि विधाहरुमा हरेकलाई पालैपालो सम्मान गरिन्छ । यसरी फरक-फरक विधामा मूल्यांकन गरिँदा कक्षाका प्राय सबै बालबालिकहरु कुनै न कुनै विधामा पुरस्कृत र सम्मानित हुने अवस्था हुनेरहेछ ।

जुन शिक्षकलाई जुन विद्यालय र कलेजमा जुन बिषय पढाउने जिम्मा दिइएको हुन्छ, त्यही शिक्षकलाई प्रश्नपत्र बनाउने, परीक्षा लिने र उत्तर पुस्तिकाहरु परीक्षण गर्ने सबै अधिकारहरु दिए बेकारका झन्झट र खर्च व्यहोर्नुपर्ने पर्दैनथ्यो

त्यसैले होला, समारोहपछि घर फर्किंदा सबै केटाकेटी र तिनका अभिभावकहरु खुशी र उमंग देखिन्छन् । यस प्रकारको मूल्यांकन पद्दतिले हरेक व्यक्तिमा फरक-फरक प्रतिभा हुन्छ भन्ने कुरा प्रष्ट देखिन्छ । एउटाको क्षमता अर्कोसँग तुलना हुँदै हुँदैन । अनि यस्तो सम्मानले हरेकलाई रुची अनुसारको काममा हौसला दिनुको साथै पढाइप्रति उनीहरुको चाखलाई पनि बढाउँदोरहेछ । यसर्थ यहाँको विद्यालयको मूल्यांकन पद्दति अलि बढी व्यवहारिक हो कि भन्ने लागेको छ मलाई ।

मानिसको रुची र मूल्यांकनको आधार

मेरो विचारमा मानिसहरु यस धर्तिमा फरक रुची र क्षमतासहित, फरक-फरक उद्देश्यका लागि जन्मिएका हुन्छन् । हरेक व्यक्ति यस श्रृष्टिरुपी बगैंचाका पृथक-पृथक फूलहरु हुन् । हरेकको उद्देश्य फूलबारीलाई सजाउनु र सुभास दिनु हो ।

सबै फूलहरु एउटै रंगका हुने र सबैले एउटै सुभाष दिने भए त फूलबारीको महत्व पनि त पक्कै घट्ने थियो होला । हामीहरु सबै फरक-फरक कामहरु गर्न जन्मिएका हौं, न कि प्रतिस्पर्धा गर्न ।

तर, हाम्रो समाजले हामीलाई बाल्यकालदेखि नै आफ्नो रुची अनुसारका सिर्जनाहरुमा तल्लीन हुन र जीवनभर समर्पित हुन भन्दा अरुसँग प्रतिस्पर्धी हुन बढी प्रेरित गरिराखेको हुन्छ । ‘आफुजस्तो हुन होइन ‘अरु’ जस्तो हुन जबरजस्त दबाब दिइराखेको हुन्छ । हरेक सीप, कला र सिर्जनालाई सिधै पैसासँग दांजिन्छ र भनिन्छ यी-यी पेशा र कामहरु ठूला र राम्रा हुन्, अनि तीती चाँहि निकृष्ठ र तुच्छ । यस्तो संस्कारले व्यक्तिमा अन्तरनिहित प्रतिभाहरुलाई फूल्न र फल्न नदिई कोपिलामै निस्कृय र हत्या-प्रायः गरिदिएको हुन्छ ।

मेरो बुझाइमा विद्यालयको औपचारिक शिक्षा हरेकका लागि आधारभूत कुरा हो, न कि विशिष्ट कुरा । व्यक्तिको जीवन सफल र सम्पन्न बन्न विद्यालयको पढाइ उत्कृष्ट हुनैपर्छ भन्ने छैन । यो त केवल व्यक्तिको ज्ञान, शिप, प्रतिभा र क्षमतालाई सुदृढ र परिष्कृत बनाउन उपयोग हुने साधन मात्रै हो र हुनुपर्छ ।

कलेज वा विश्व-विद्यालयको कुरा गर्नुपर्दा यहाँ शिक्षकले आफूले सेमेष्टरभरि पढाउनुपर्ने कोर्षको योजना तालिका पाठ्यक्रम शुरुमै विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसमा सेमेष्टरभरि पढाइने विषय वस्तुहरु, मूल्यांकन प्रकृया, परीक्षण पद्दति, परीक्षाका मितिहरु, सार्वजनिक विदाका दिनहरु र विद्यार्थीहरुले कक्षा कोठा र परीक्षाहरुमा पालना गर्नुपर्ने नियम र अनुशासनका कुराहरु सबै स्पष्ट उल्लेख गरिएको हुन्छ ।

विद्यार्थीहरुले सामान्यतया प्रतेक हप्ताजसो गृहकार्य गर्ने र कक्षामा दिइने लघु परीक्षाहरु दिनुपर्ने हुन्छ । विद्यार्थीको अन्तिम नतिजा उसले सेमेष्टरभरि विभिन्न विधाहरुमा प्राप्त गरेको कुल अंकहरुको आधारमा तयार गरिन्छ र अन्तिम ग्रेड दिइन्छ । यहाँ परीक्षालाई कहिल्यै हाउगुजी बनाइन्न, यसलाई मात्र शिक्षण र सिकाइको यौटा सामान्य र नियमित प्रकृयाका रुपमा लिइन्छ ।

फेरि परीक्षाका लागि भनेर यहाँ विद्यार्थीहरुले कहिल्यै बेग्लै फारम भर्ने र शुल्क तिर्ने पनि गर्नुपर्दैन । विद्यार्थीको कार्य सम्पादनका आधारमा उसलाई पास वा फेल गराउने सम्पूर्ण अधिकार सम्बन्धित विषय शिक्षकलाई नै दिइएको हुन्छ, यद्यपि विद्यार्थीले शिक्षकको निर्णयप्रति चित्त नबुझेमा पुनरावेदन गर्न भने सक्छ ।

अन्तिम परीक्षा सकिएको हप्ता दिनभित्रै नतिजा प्रकाशन गरिन्छ र गर्नैपर्ने हुन्छ । विद्यार्थीको नतिजा सम्बन्धित विद्यार्थी बाहेक अरु कसैलाई जानकारी दिइँदैन अर्थात प्रचार गरिँदैन र गर्न पाइन्न पनि ।

नेपालका कलेज वा विश्वविद्यालयहरुले अपनाएका प्रकृयालाई सूक्ष्म रुपमा नियाल्दा के देखिन्छ भने एउटा विषय शिक्षकलाई कक्षा(हरु)मा पढाउने अधिकार दिइन्छ, वा ऊप्रति अध्यापनमा विश्वास गरिन्छ । तर, उसलाई उसले पढाएको विद्यार्थी पास वा फेल गराउने अन्तिम अधिकार दिइन्न अर्थात् उसको मूल्यांकन क्षमताप्रति विश्वास गरिन्न ।

त्यसैले त परीक्षालाई ‘नियन्त्रण’ गर्नका लागि भनेर परीक्षा सञ्चालन र नियन्त्रण गर्ने, (त्यो पनि देशैभरिको ठेक्का लिने गरी) छुट्टै परीक्षा अड्डाको स्थापना गरिन्छ । अनि त्यो अड्डामा परीक्षा नियन्त्रक, उपनियन्त्रक लगायतका विभिन्न तहका हाकिम र कर्मचारीहरु नियुक्ति गरिन्छ ।

परीक्षाका तालिकाहरु प्रकाशित गर्ने, प्रश्नपत्र निर्माण गर्ने, देशैभरि परीक्षा केन्द्रहरु निर्धारण गर्ने, हरेक केन्द्रहरुमा केन्द्राध्यक्ष, सह-केन्द्राध्यक्ष र निरीक्षकहरुको बन्दोबस्त गर्ने अनि वरपरका विद्यालय वा कलेजका विद्यार्थीहरुलाई केन्द्रमा भेला गरी प्रहरी प्रशासनको कडा सुरक्षा घेराभित्र परीक्षा लिने, परीक्षकहरु नियुक्त गरी उत्तर-पुस्तिकाहरु परीक्षण गराउने अनि महिनौं लगाएर नतिजा प्रकाशन गर्ने सम्पूर्ण अख्तियारी त्यै अड्डालाई दिइन्छ ।

परीक्षा अड्डालाई वर्षैभरि भ्याई नभ्याई हुन्छ । प्रश्नपत्रहरु छपाउने, तिनलाई देशका कुना-कुनासम्म पुर्‍याउने अनि उत्तरपुस्तिकाहरु बटुल्दै पुनः केन्द्रमै ल्याउनुपर्ने र तिनको परीक्षण गराउनुपर्ने । उफ, कस्तो जटिल, झन्झटिलो, खर्चिलो र अव्यवहारिक मूल्याङन प्रकृया !

पढाउने एउटा, प्रश्न पत्र बनाउने अर्को, परीक्षा लिने निकाय अर्कै अनि मूल्याङ्कन गर्ने फेरि अर्कै । साँच्चै विचित्रकै परिपाटी अँगाल्दै आएका रहेछौं हामीले ।

जुन शिक्षकलाई जुन विद्यालय र कलेजमा जुन बिषय पढाउने जिम्मा दिइएको हुन्छ, त्यही शिक्षकलाई प्रश्नपत्र बनाउने, परीक्षा लिने र उत्तर पुस्तिकाहरु परीक्षण गर्ने सबै अधिकारहरु दिए त माथि उल्लेखित बेकारका झन्झटहरु र खर्च व्यहोर्नु पर्ने हुन्थेन होला नि !

कुन विद्यार्थीको क्षमता कति छ र पास हुन योग्य छ छैन भन्ने कुरा सम्बन्धित शिक्षक भन्दा बढी अरु कसलाई पो थाहा हुन सक्छ र ? अनि विद्यार्थीहरुको सही मूल्यांकन हुन सक्ला र !
अन्त्यमा,

यी तर्कहरु गरिरहँदा एउटा स्वाभाविक प्रश्न भने उठ्न सक्छ के शिक्षकहरुले निश्पक्ष रुपमा मूल्याङ्कनको भूमिका निर्वाह गर्न सक्लान र ? सबै शिक्षकहरु निष्पक्ष नै होलान् भन्ने मेरो पनि बुझाइ होइन, तर अधिकांश शिक्षकहरु इमान्दार र निश्पक्ष नै हुन्छन् र हुनुपर्छ भन्ने चाँहि मेरो ठोकुवा हो ।

थोरै सम्भावित कमी-कमजोरीहरुलाई औँल्याउँदै धेरै राम्रा पक्षहरुलाई ओझेलमा पारिनुहुँदैन भन्ने मात्रै मेरो मान्यता हो । सम्भावित भनिएका र ठानिएका त्रुटी वा कैफियतहरुलाई सामान्य किसिमले विनाखर्च मै नियन्त्रण गर्न अवश्य सकिन्छ । त्यसको लागि परीक्षालाई ‘नियन्त्रण’ गर्ने छुट्टै अड्डा नै खडा गर्नुपर्ने जरुरत चाँहि नपर्ला !

(हाल युनिभर्सिटी अफ नेभाडा रिनो, अमेरिका)

 

photo

NOC1-250x300