वैद्य माओवादी भन्छ– चुनाव बहिष्कार भन्दा उपयोग कठिन

baidya-maoist-meeting_NyorILdM9Sअसार २७, काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यको नयाँ दस्तावेजमा पार्टीभित्र बहस शुरु भएको छ । 

पार्टीलाई नयाँ ढंगले अघि बढाउने भन्दै वैद्यले तयार पारेको नयाँ दस्तावेजबारे क्रान्तिकारी माओवादी केन्द्रीय समिति बैठकमा बहस शुरु भएको छ । आगामी महाधिवेशनमा पेश गर्न तयार परेको वैद्यको दस्तावेजमा आइतबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा छलफल भइरहेको पार्टी केन्द्रीय सदस्य इन्द्र राउतले बताए ।  

‘नेपाली समाजको स्वरुप र पार्टीको आम कार्यदिशा’ विषयमा १४ पृष्ठ लामो दस्तावेजमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । 

आगामी राष्ट्रिय महाधिवेशन तय गर्न भन्दै बसेको केन्द्रीय समिति बैठकमा ९२ जना केन्द्रीय सदस्य सबैले धारणा राख्ने भएकाले बैठक झण्डै एक सातासम्म चल्ने क्रान्तिकारी माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । 

निर्वाचन बहिष्कार भन्दा उपयोग कठिन

क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै निर्वाचन बहिष्कार कठिन भएको बताएका छन् । ‘स्थानीय निर्वाचन उपयोग मात्र गरिएको हो, परिणाम यस्तै आउँछ भन्ने थाहा थियो,’ वैद्यलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘निर्वाचन बहिष्कार गर्नुभन्दा उपयोग गर्न अझ कठिन हुँदो रहेछ ।’

चुनावको नतिजा आफ्नो पक्षमा नआउने स्पष्ट हुँदाहुँदै पनि संगठनको आधार तयार गर्न निर्वाचनको उपयोग गरिएको वैद्यले स्पष्ट गरे । आफ्नो पार्टीलाई निर्वाचन चिन्हसमेत नदिने तीन दलीय अधिनायकवादी शैली भन्दै वैद्यले प्रमुख दलहरुको आलोचनासमेत गरेका थिए । 

मुलुक अर्धसामन्ती, अर्धऔपनिवेशिक र नवऔपनिवेशिक अवस्थामै रहेको उल्लेख गर्दै वैद्यले आफ्नो दस्तावेजनमा नयाँ जनवादी क्रान्ति नै पार्टीको आम कार्यदिशा रहेको उल्लेख गरेका छन् । माओवादी केन्द्र र एमालेले भनेजस्तो नेपाली समाज पूँजीवादी भइनसकेको वैद्यको संश्लेषण छ ।

 

photo

NOC1-250x300