वैदेशिक रोजगारीको कथा : दर्दनाक ब्यथा – अमृता लम्साल

पहिलो घटना: २०७३ पुस २९ गते, सुकेधारास्थित म्यानपावर एजेन्सीमार्फत टर्की पुगेका १९ जना नेपालीलाई काठमाडौंको एयरपोर्टमा ओरालियो । उनीहरूमध्ये केहीले, साँढे चार लाख प्रति व्यक्ति उक्त कम्पनीलाई बुझाएका थिए । उनीहरूलाई पुसको १५ गते त्यसतर्फ उडाइएको थियो, ती सबैलाई टर्कीमा ड्राइभरको काम दिने प्रलोभनमा पठाइएको थियो । ती मध्ये, एकजनाको श्रीमतीलाई म राम्रैसंग चिन्दछु, उनीसंग हरेक हप्ता जसो एक/डेढ घन्टा भेट हुन्छ ।Amrita-Lamsal1-352x250

त्यो शनिबार, उनीसंग भेट हुने बित्तिकै सोधें, ‘तिम्रो श्रीमानको केही खबर आयो ?’ उनको जवाफ थियो, ‘काँनि, हिजै आइसक्नु भयो ।’उनको जवाफले मलाई दिक्क बनायो । उनको श्रीमान ट्याक्सी चलाउँथे । उनले भने अनुसार, दिनको हजार बाह्र सय साहुलाई बुझाएर पनि महिनाको झन्डै ४५ हजार आम्दानी हुन्थ्यो । श्रीमती अन्य घरमा गएर घरधन्दाको काम गर्थिन् । दुईवटा स–साना छोराहरूसहित चारजनाको परिवार, अरुको घरमा बसेर पनि राम्रैसंग चलेकै थियो । बसेको ठाउँको भाडा तिर्नु पर्दैनथ्यो । बरु त्यसको साटो श्रीमतीले त्यस घरका दुईजना परिवारको घरधन्दा गरिदिन्थिन् । तर, त्यतिले पुगेन, उनको श्रीमानलाई बिदेश गएर धेरै कमाउने धुन चल्यो । तिहारको लगत्तै, ऋण खोजे, दलाललाई बुझाउने पैसा बाहेक, मेडिकल गर्न, लुगाफाटो किन्न र अरु भैपरी आउने खर्च गर्दा अरु डेढ लाख जति   सकियो । झन्डै ६ लाखको ऋण तिर्न, महिनाको लाखको पच्चीस सयको हिसाबले व्याज बुझाउनु पर्ने गरी पैसा लिएका थिए ।

अब फर्किए, म्यान पावरले पैसा फिर्ता गरेको छैन, साँढे चार लाखमा डेढ लाख कटाएर बाँकी रकम दुई किस्ता गरेर दिने भन्ने आश्वासन दिएको छ । यो क्रममा तीन महिनाभन्दा बढीको समयमा त्यो परिवारको ठूलो आर्थिक स्रोत, श्रीमानको कमाई छुट्यो र परिवार अझै बढी आर्थिक अभाव र गरिबीको दलदलमा फस्यो । यहाँ त्यो म्यान पावर र व्यक्तिको नाम नलेख्नुको कारण, ती परिवारलाई यही कारणले रकम फिर्ता लिन कठिनाई नहोस् भन्ने हो ।

दोस्रो घटना:
यो चाहिं चिनेको व्यक्तिको होइन, कसैले सुनाएको सत्य घटना । एउटी महिला, दलाललाई पैसा खुवाएर बल्लतल्ल अमेरिका पुगिन् । सबैलाई थाहै छ, दलालमार्फत अमेरिका लग्ने वा जान चाहनेहरूले थोरैतिनो रकम तिरेर जान सक्दैनन् । अमेरिका पुग्दा उनी बाटोमा बलात्कृत भएको २० हप्ताको गर्भ लिएर पुगिछन् । यहाँबाट सोचेजस्तो, अमेरिकामा सजिलै गर्भ तुहाउने वा औषधि खर्च प्राप्त हुने होइन । यता परिवार भएकी उनलाई आफूमाथि भएको यातनाले पाएको दु:खसमेत भन्न गाह्रो भयो । मानसिक तनाव, शारीरिक यातना र आर्थिक अभावको भूमरीमा हतास भइसकेकी उनलाई बल्लतल्ल कुनै संस्थाले त्यो बलात्कृत गर्भ तुहाउन सहयोग गरेछ । तर त्यो पहाड जस्तो जिन्दगीको पीडा उनी अहिले पनि भोगिरहेकी छिन् । उनले यहाँबाट सोचेजस्तो अमेरिका पुग्ने बित्तिकै ‘डलर टिप्ने बोट’ हुँदैन भन्ने तथ्य त्यहीँ नपुगी थाहा हुँदैन । उनको जीवन कसरी सुचारु रुपले चल्ला, कसरी पारिवारिक मिलन होला, त्यो कुरा हालसम्म भविष्यकै गर्भमा छ ।

यहाँनिर यो पनि स्पष्ट पारौं, यहाँ बसेर अमेरिकामा ‘घन्टाको यति डलर कमाइन्छ र त्यसको यति नेपाली रुपियाँ हुन्छ’ भनेर सपना देख्नु भनेको सोम शर्माले ‘सातुको घंैटो भरेर, सातु बेचेर धनी हुने’ सपना जस्तै हो । ती कुराहरू त्यहीँ नगइ बुझिदैन, यसलाई बुझाउन अति नै जरुरी भइसकेको छ ।

तेस्रो घटना:
२०७३ माघ १४ गते, अमेरिकाको न्युयोर्कबाट अपडेट हुने ‘खसोखास डट कम’ले “अमेरिकी खुल्ला जेलमा नेपाली, खुट्टामा जीपीएस लगाएका नेपालीको संख्या बढ्दो’’ शिर्षकमा मार्मिक समाचार छापेको छ । जसमा भनिएको छ, “बुटवलका विनोद मल्ल (नाम परिवर्तन) केही महिना अगाडि अमेरिका छिरे, गैरकानूनी रुपमा मेक्सिकोको सीमा पार गरेर । उनी अमेरिका आइपुग्दासम्म झन्डै एक करोड रुपैयाँ खर्च भइसकेको छ । उनले नेपालमा दलाललाई ३४ लाख नेपाली रुपैयाँ बुझाए । हिंडेर अमेरिका आउने क्रममा बाटोमा पकेट खर्च ३ लाख भयो भने अमेरिका आइसकेपछि उनी अमेरिकी सुरक्षा अधिकारीहरूबाट सीमाक्षेत्रमा समातिए । त्यसपछि अमेरिकी सरकारले धरौटी वापत ४३ हजार अमेरिकी डलर लियो । त्यसपछि उनी रिहा भए त्यो पनि खुट्टामा जीपीएस सहित ।’’

स्पष्टीकरण: जीपीएस आफैंमा उपकरण होइन, जीपीएस न्याभिगेसन सिस्टम हो । जहाँ जीपीएस सिस्टम जडान गरिएको हुन्छ, त्यो स्थानको गतिबिधिलाई जीपीएस कन्ट्रोल गरिने स्थानबाट ट्रयाक गर्न सकिन्छ । अमेरिकी सरकारले सन् २००४ देखि खुल्ला जेलको अवधारणा अन्तरगत प्यारोलमा छुट्ने व्यक्तिहरूको निगरानीको निमित्त खुट्टामा जीपीएस एन्कल (ब्रेसलेट मनिटर) लगाउने नियम ल्याएको हो । यो एन्कल ब्रेसलेट, खुट्टामा लगाएर छाडिएको हुन्छ । त्यसको निगरानी प्यारोल अफिसरहरूले गरिरहेका हुन्छन् । कम खतरा भएका अपराधका आरोपित व्यक्तिहरूलाई यो लगाएर छाडिन्छ । यसको लागि ती व्यक्तिहरूलाई निश्चित घेरा बाहिर नजाने निर्देशन   हुन्छ । यस्तो एन्कल ब्रेसलेट स–साना लागू औषधको व्यसनीहरूले पनि लगाएका भेटिन्छन् । कतिपय केसमा, जीपीएस एन्कल ब्रेसलेट लगाउनेहरूले दिनको निश्चित रकम सम्बन्धित काउन्टीलाई तिर्नुपर्ने हुन्छ, होइन भने, त्यो आरोपित व्यक्ति जेल नै फिर्ता पुर्‍याइन्छ । फेरि वैदेशिक रोजगारी वा विदेश मोहकै कुरो, यसमा सरकारले पनि युवाहरूलाई विदेश घचेट्ने बाहेक उनीहरूलाई यहीँ स्थापित गराउने काम गर्न सकेको छैन ।

मुलुकको अर्थतन्त्रको झन्डै ३० प्रतिशत जीडीपी रेमिट्यान्समा निर्भर रहेको देशबाट दिनको सरदर १६ सय युवा विदेश जाने अनुमान   गरिन्छ । देशमा रोजगारको स्थिति बारेमा गएको मंसिर महिनामा वैदेशिक रोजगार विज्ञ, डा. गणेश गुरुङको कान्तिपुरको साप्ताहिकमा आएको अन्तर्वार्ता अनुसार, ‘सरकारले देशमा ५० हजारभन्दा बढीलाई तत्काल रोजगारी दिन सक्ने अवस्था छैन । त्यसैले, नेपालीहरू जीविकोपार्जनको अवसर खोज्दै बिदेसिन्छन् । तिनीहरू विदेश गएको कारण, एकदिनमा १ अर्ब ८२ करोड रुपैयाँ मुलुक भित्रिने गरेको छ ।’

सायद त्यसैले होला,जुन सरकार आएपनि, ‘फलानो देशमा कामदार पठाउने सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर’, ‘वीमा सुरक्षा’ जस्ता आकर्षक नारा दिएर समय कटाइ रहेको छ । यसबाट समाजमा पर्ने अरु किसिमका नकारात्मक असरहरू अर्थात, सामाजिक र मानसिक असरबारे त अझ सोचिएकै छैन । युवा मृत्यु दर त्यत्तिकै छ । छोराछोरीले बाबु र आमा दुबैको मायाँ पाएर हुर्कने वातावरणमा ह्रास हुँदै गएको छ । अब पनि यस बारेमा सचेत नभए वा यो प्रक्रिया रोक्न उचित कदम नचाले, भोलिको दिनमा यो देशको भविष्य के होला, भनेर सोच्ने बेला अब पनि भएन र ?

 

photo

NOC1-250x300