चैत १० – विश्व विजेता जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डलाई हराएको छ । विश्वकप २०१८ को छनौटको तयारीमा रहेका बेला बुधबार राति भएको खेलमा जर्मनीले इंग्ल्याण्डलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनी पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर ६९ औं मिनेटमा लुकास पोडोस्कीले जर्मनीका लागि विजयी गोल गरे ।
ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्याण्डका जेमी भर्डीले पहिलो हाफमा पेनाल्टीको अपिल गरेका थिए तर पाएनन् । साम एलार्डाइस बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रुपमा भएका चार खेलमा अपराजित रहेका साउथगेटले प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो खेलमा भने इंग्ल्याण्डलाई हारबाट जोगाउन सकेनन् । एडम लल्लाना र डेल अलीले पोस्ट प्रहार गरेका थिए तर गोल हुन सकेन ।