२६ बैशाख, काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म नगरेको काम गर्दैछन् ।
जसले उनको समग्र राजनीतिक जीवनमा निकै महत्वपूर्ण अर्थ राख्नेछ । सामान्य तालमेल, सहमतिपत्रमा हस्ताक्षर, सरकारमा सहकार्य त भइरहेकै हुन् । तर अहिलेको स्थानीय तहको निर्वाचनमा उनले निकै अर्थ राख्ने काम गर्दैछन् । त्यो हो पहिलोपटक रुख चिन्हमा मतदान ।
उनको पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह त गोलाकार भित्र हँसिया हथौडा हो । तर उनले यस्तो तालमेल गरेका छन् कि उनी आफैंले अब रुखमा मतदान नगरी सुख छैन ।
चितवनको भरतपुर महानगरपालिका ६ का मतदाता रहेका प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको तालमेलका आधारमा रुखमा भोट हाल्नेछन् । काँग्रेससँगको तालमेलका आधारमा भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसका उमेद्बार मिलेर प्रतिष्पर्धामा छन् ।
महानगरको प्रमुख पदमा माओवादीका तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल उमेद्बार छिन् । भरतपुर महानगरकै मतदाता भएको र आफ्नै छोरी प्रमुख पदमा उठेकाले प्रचण्ड भोट हाल्नका लागि अवश्य पुग्नेछन् ।
जहाँ उनले अहिलेसम्म नगरेको अर्थात हसिया हथौडा बाहेक रुख चिन्हमा पनि मतदान गर्नेछन् ।