राजनीतिज्ञहरूबाट शब्दको धज्जी

अरू केही गर्न नसके पनि हाम्रो राष्ट्रियताले हामीलाई अरूभन्दा पृथक बनाएको छ ।

प्रदीप नेपाल

नेपाली राजनीतिज्ञहरू अर्थहीन शब्दहरूको प्रयोग गरेर जनतालाई अन्योलमा राखिरहेका छन् । केही शब्दको परिभाषा दिन पाए नेपाली जनता आफैँले केही जान्ने थिए कि भनेर मैले यो टिप्पणी सुरु गरेको हुँ ।

माक्र्सवाद
हाम्रो देशमा माक्र्सवादको सही पहिचान गर्ने आधा दर्जन मानिस पनि छैनन् होला । नत्र यतिका वर्षसम्म माक्र्सवादी भन्नेहरूले ‘बन्दुक नै सत्ताको जननी हो’ किन भन्थे होलान् । यथार्थमा माक्र्सवाद बन्दुक बोकेर आउँदैन । त्यो त जनताको उच्च चेतना, शिक्षा र सभ्यताको यात्रा हो । नेपालका माक्र्सवादीहरू, स्टालिनको सर्वहारावर्गको अधिनायकत्वभन्दा अगाडि जानै सकेका छैनन् । कार्लमाक्र्स कहिल्यै अधिनायकवादी थिएनन् । स्वतन्त्र नागरिकले मात्रै समानताको सुनिश्चित गर्न सक्छ भन्ने उनको मान्यता थियो । त्यसले उनको लडाइँ बुर्जुवा अधिनायकत्वको विरुद्ध र जनताको पक्षमा चलिरह्यो । स्वतन्त्रता र समानताका बारेमा कार्लमाक्र्सको भनाइ मैले कम्तीमा पनि दश ठाउँमा उद्धृत गरिसकेको छु । यहाँ पनि उद्धृत गर्न चाहन्छु, ‘‘हामी त्यस्ता कम्युनिस्टभन्दा भिन्न छौँ, जो वैयक्तिक स्वतन्त्रता हरण गर्न चाहन्छन्, जो विश्वलाई एउटा विशाल गोदाम या अनुशासनको ब्यारेकमा परिणत गर्न चाहन्छन् । यहाँ त्यस्ता पनि कम्युनिस्टहरू छन्, जो वैयक्तिक स्वतन्त्रतामाथि बन्देज लगाउन चाहन्छन् । उनीहरूको विचारमा वैयक्तिक स्वतन्त्रता सामाजिक समानताको विरोधी हुन्छ । तर हामी कुन कुरामा प्रष्ट छौँ भने वैयक्तिक स्वतन्त्रताको अभावमा सामुदायिक सदभाव बढाउन सकिँदैन । एउटा यस्तो प्रजातान्त्रिक राज्य स्थापना हुनुपर्छ, जहाँ सबै राजनीतिक दलहरू नीति र विचारका आधारमा आपूmलाई श्रेष्ठ साबित गर्न सकुन् र आफ्नो पक्षमा बहुमत पु¥याउन सकुन् ।’

समाजवाद
समाजवाद अर्को सस्तो शब्द भएको छ नेपालमा । प्रेमबहादुर सिंहको समाजवादी पार्टी अहिले अस्तित्वहीन भइसकेको छ । अहिले उपेन्द्र यादवको सङ्घीय समाजवादी पार्टीको धेरै चर्चा छ नेपालमा । बाबुराम भट्टराई त्यसको वैचारिक नेता हुनुभएको छ क्या र ! पुष्पकमल दाहाल पनि समाजवादकै पक्षमा हुनुहुन्छ । ‘एक्कासौँ शताब्दीको समाजवाद’ यही होला उहाँको सिद्धान्त । तर के नेपालमा अहिल्यै समाजवाद सम्भव छ ? छैन । मित्रराष्ट्रहरूले ५० प्रतिशत बजेट धानिदिएको (ऋण वा सहयोगको नाउँमा) मुलुकमा समाजवाद आउँदैन । नेताहरूको सामन्ती चिन्तन भएको मुलुकमा समाजवाद आउँदै आउँदैन । जनताको उच्च चेतना र सम्पन्नता, सुखी नेपाली समृद्ध नेपालजस्ता वाक्यहरू समेत नभएको मुलुकमा बलियो पुँजीवाद त आउँदैन भने कहाँबाट आउँछ समाजवाद ! समृद्ध नेता र गरिब नेपाली रहेसम्म नेपालमा कहिल्यै समाजवाद आउँदैन । यतिबेला समाजवाद हाम्रो सपना मात्र हो ।

सङ्घीयता
सङ्घीयता भन्नु पनि यतिबेला ठट्टाको शब्द भएको छ । अहिलेसम्म शब्द हामीसँगै छ तर आफ्ना मन्त्रीहरूमाथि विश्वास नगरेर विभिन्न मन्त्राललयका अधिकार समेत आपूmसँग राख्ने प्रधानमन्त्रीले कसरी पालिका सरकारहरूलाई विश्वास गर्न सक्नु होला ? यो सामान्य ज्ञानकै प्रश्न हो । सङ्घीयता भनेको तलबबाट माथि हो । शान्तिसुरक्षा र विदेश सम्बन्धबाहेकका मन्त्रालयहरू काठमाडौँमा किन राख्नु ? सातै प्रदेशका राजधानीमा वा त्यस्तै सहुलियत भएका सहरमा वा नयाँ सहर बनाएर ती ठाउँमा नयाँ व्यवस्थित राजधानी बनाउनु राम्रो होइन र ! पालिका सरकारलाई अधिकतम बोझ बोकाएर एकचोटि काम हेर्नुुस् त ! मन्त्रालयको पनि विनियोजन, कामको बल पनि तल– कति राम्रो भयो होइन ? सङ्घीय सांसदहरू कानुन बनाउने, पालिकाहरू त्यसको कार्यान्वयन गर्ने । अहिलेको जस्तो ‘महेन्द्रपथीय’ सङ्घीयताले त समस्याको रौँ पनि झार्न सक्दैन । जब हामी जनतालाई सङ्घीयताको स्वाद दिन सक्दैनौँ भने सङ्घीयता सङ्घीयता भनेर किन बाजा बजाइरहनु ।
समस्या नेतामा मात्र होइन, जनतामा पनि छ, कर्मचारीतन्त्रमा पनि छ । सङ्घीयता भनेको सिंहदरबारको शासन होइन भन्दा भन्दै पनि नागरिकहरू सिंहदरबार नै धाइरहेका छन् । कुरो नबुझ्नाले सबैतिर समस्या थुप्रिएको हो । सबैलाई सम्झाउने भनेको अहिले सङ्घीय सरकारकै हो । किनभने, ज्ञानको स्रोत अहिले त्यही भएको छ । सङ्घीयता सुरु भएको अहिले चार वर्ष भयो होला । यतिका समय त्यत्तिकै बित्यो । सबै कार्यपालिका कम्तीमा पनि आफ्नो अधिकारप्रति सचेत त हुनुपर्ने हो । पालिका कार्यालयमा गएर बुझ्नुप¥यो भने कर कसले भन्नेबाहेक अरू केही थाहा पाइँदैन । हामी कतै जनताको चेतनाभन्दा धेरै अगाडि कुदिरहेका त छैनौँ । सङ्घीयतामा नेता हिँड्ने भनेको पनि जनतासँगै हो ।
हामीभित्रको सामन्तवादले हामीलार्ई जनतासँग हिँड्न दिँदैन । जनता पनि नेताको काँधमा काँध मिलाएर हिँड्ने आँट गर्न सक्दैनन् । किनभने उनीहरू पनि त्यही सामन्तवादी चिन्तनले थिचिएका छन् । जबसम्म हामी उनीहरूलाई तपाईं र हामी एउटै हौँ भनेर सिकाउन सक्दैनौँ त्यतिबेलासम्म उनीहरूको दिमागलाई पनि माकुराको जालोले बेरिरहेको हुन्छ ।
समाजवाद साह्रै सस्तो शब्द भएको छ यतिबेला । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सबैभन्दा बढी समाजवाद शब्दको प्रयोग गरिरहनु भएको छ । पहिले ‘घर घरमा सिंहदरबार’ भन्ने पनि उहाँ नै हो । साढे तीन वर्ष भइसक्यो, सिँहदरबार आफ्नो पुरानो, थोत्रो, सामन्ती अधिकारसहित जहाँको तहीँ उभिएको छ भने जनताहरू ससानो कुरामा पनि सिँहदरबार धाउन बाध्य भएका छन् ।
केही समयअघिको कुरा हो, एउटा सानो भेटघाटमा साथीहरूले सोध्नु भयो, यथार्थमा ठूला नेताहरू के गरेर दिन बिताउनु हुन्छ ? त्यतिबेला नेपाल कम्युनिस्ट कचहरी सडकको एजेण्डा भएको थियो । एक जना साथीले पुलुक्क मतिर हेरेर भन्नु भयो, ‘‘अदालतमा छोडपत्रको निवेदन लेख्तै हुनुहुन्छ ।” अदालतले छोडपत्रको निवेदनमाथि स्वीकृतिको ठप्पा लगाइदियो । अरूलाई कस्तो लाग्यो कुन्नि, मलाई चाहिँ मज्जा लाग्यो । सिद्धान्तहीन मिलनको छोडपत्र हुनु नै पथ्र्यो । दुई वर्ष हामीले यही सिद्धान्तहीनताको जीवन बितायौँ । अहिले त्यो सिद्धान्तहीनताबाट हामी मुक्त भएका छौँ र जनताको बहुदलीय जनवाद नै हाम्रो पार्टीको सिद्धान्त हो भन्ने अवसर पाएका छौँ ।
यो अदालतले कम्युनिस्ट आन्दोलनप्रति देखाएको सदासयता हो । पहिलेको एकताबद्ध नेकपा बेमेलको चिनारी थियो । त्यसैले यो छुट्याइ प्राकृतिक भइदिएको छ । भेडाभेडासँग, बाख्राबाख्रासँग । माओवादी केन्द्रले के भन्छ को नि ! अथवा के गर्छ त्यो उनीहरूको आफ्नो काम हो । तर हामी चाहिँ मिलौँ ।
‘इगो’ त जोसँग पनि हुन्छ । त्यो मसँग पनि छ । तर देश, मेरो इगोभन्दा धेरै माथि छ, धेरै महान् छ । म एउटा हुँ, देश सबैको हो । म अहिले किन पनि यसो भनिरहेको छु भने, देशले हामीमाथि सबैभन्दा बढी विश्वास गरेको छ । अरू केही गर्न नसके पनि हाम्रो राष्ट्रियताले हामीलाई अरूभन्दा पृथक बनाएको छ । हामीप्रति विश्वास बढाएको छ । यतिबेलै हामीले चुच्चे नक्सा निकालेका छौँ । त्यो नक्सा निकालियो तर हराइयो पनि । तर सत्य के हो नक्सा पाँच दिनकै लागि भए पनि निस्किएकै हो । अहिले लिम्पियाधुराको बारेमा पाएको सफलताले नेपालीहरूलाई, ‘पूर्वमा टिस्टा पुगेथ्यौ, पश्चिम किल्ला काँगडा’ भन्ने गीत गाउने मौका दिएको छ ।
एक भयौँ हामी आफ्नो सबै फिर्ता पाउँछौँ, होइन कुनै दूतावासले जित्ने मौका पायो भने हामी भएको पनि गुमाउँछौँ । एकपल्ट सोच्नुस् केपी ओलीले, एकपल्ट सोच्नु माधव नेपालले पनि । यो विभाजनबाट सबैभन्दा बढी घाटा तपाईंहरूले नै पाउनु हुन्छ । साराले तपाईं दुईलाई नै सराप्नेछन् । अहिले तपाईंहरूका गोठालाले पनि तपाईंहरूलाई त्यसरी नै छाड्ने छन्, जसरी मानिस मरेपछि जुम्राले पनि छोड्छ । जो जित्नु हुन्छ उहाँले पनि पछिल्ला दिनमा आफूलाई सराप्नु नै हुनेछ । जो हार्नु हुन्छ, उहाँको सर्वस्व नै स्वाहा हुन्छ । पदको लडाइँ होइन यो चाहिँ नभन्नु होला । हामीले भन्दा हाम्रा बैरीले धेरै थाहा पाइसकेका छन् । सिद्धान्त नभएपछि झगडा त पद र प्रतिष्ठाको मात्र हुन्छ ।
मेरो यो रोदन लाखौँ जनताको रोदन हो । सक्नुहुन्छ मिल्नुस सक्नु हुन्न आन्दोलन समाप्तीको पगरी गुथेर बस्नुस् । मैले यो मेरो अन्तिम सलाम भन्नु नपरोस् ।
(लेखक नेकपा एमालेका नेता हुनुहुन्छ ।)

 

photo

NOC1-250x300