रञ्जुको उम्मदेवारी लहड थिएन, महानगरको आवश्यकता थियो

ranju-darshana-e1495846141649

जेठ १३, काठमाडौं – काठमाडौं सहर र नेपाली राजनीति दुवै उस्तै छन्- प्रदूषित, दुर्गन्धित र फोहोर । काठमाडौंका बासिन्दा सहरको धुलोमैलोबाट त्राण पाउन ताजा हावाको खोजीमा भड्किरहेका देखिन्छन् । राजनीतिको दुर्गन्धबाट मुक्ति पाउन नेपाली नागरिक पनि ताजा प्रतिबद्धतासहितको ताजा अनुहार खोजिरहेका छन् । रञ्जु दर्शनाजस्तै । आजको अन्नपूर्ण पोस्टको साप्ताहिक परिशिष्टांक फुर्सदमा प्रकाशित मनोज दाहालको लेखको केही अंश ।

एक महिनाअघि जब रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दर्ता गरिन्- धेरै ट्विटर र अनलाइन ‘क्रिटिक’हरूले यसलाई ‘मजाक’ सम्झिए । कतिपयले यसलाई काम गर्न नसकिरहेका वा नचाहिरहेका पुराना अनुहारहरूप्रति वितृष्णा वा व्यंग्यका रूपमा चित्रण गरे । धेरैले भने हलुकासँग लिए उनको उम्मेदवारीलाई ।

निर्वाचन कानुनअनुसार २१ वर्ष पुगेको नेपाली नागरिक स्थानीय तहको उम्मेदवार बन्न पाउने प्रावधान भए पनि सामाजिक सञ्जालका प्रयोगकर्ताले २२ वर्षीया रञ्जु दर्शनालाई ‘अन्डरएज उम्मेदवार’कै रूपमा चित्रण गरिरहे । रञ्जु भने आफ्ना ‘क्रिटिक’हरूबाट बेपरबाह रही काठमाडौंवासीलाई ताजा हावा नभए पनि ‘ताजा फिलिङ्स्’ बाँड्न व्यस्त भइन् । मेयर बनेँ ताजा हावा पनि बाँड्छु भन्दै ।

पहिलो चरण स्थानीय निर्वाचनको दुई सातामा रञ्जुले आफूलाई जबर्जस्त राजनीतिक सेलिब्रेटीको दर्जामा उभ्याइसकेकी छन् । यतिखेर ‘दिग्गज’हरू पनि उनलाई ध्यान दिन बाध्य भएका छन् । काठमाडौं महानगरमा यी २२ वर्षीया युवतीले एमाले र कांग्रेसपछिको तेस्रो मत ल्याएपछि नागरिकहरू भरपर्दो विकल्प राम्रैसँग खोजी गरिरहेका रहेछन् भन्ने खुलस्तै भएको छ । रञ्जुलाई मानिसहरूले यति धेरै ध्यान दिन थालेका छन्- मानौं उनी काठमाडौंकी मेयर नै भइसकिन् ।
रञ्जुले पुष्टि गरिदिएकी छन्- उनको उम्मदेवारी लहड थिएन, महानगरको आवश्यकता थियो । काठमाडौंवासीको घरदैलोमा पुग्न उनीसँग चिह्न पाएपछिको छ दिनको सट्टा दोब्बर दिनमात्रै हुन्थ्यो भने उनले एमालेका विद्यासुन्दर शाक्यलाई आच्छुआच्छु नै पारिदिने रहिछन् ।

वैशाख ३१ को स्थानीय निर्वाचनको डेढ सातापछि हामीले ‘विवेकशील नेपाली दल’को महाराजगन्जस्थित कार्यालयमा भेट्दा रञ्जु प्रफुल्ल थिइन्, काठमाडौंवासीको मायाका कारण । हामीले उनलाई हारको दुःखमा होइन, काठमाडौंवासीलाई आफ्नो उम्मेदवारीको गम्भीरता पुष्टि गर्न पाएको सन्तुष्टिमा देख्यौं ।
रञ्जुमा मैले पहिल्यैदेखि देखेको सबैभन्दा आकर्षक पक्ष के हो भने उनलाई भित्रैदेखि लाग्छ- काठमाडौंलाई संसारकै राम्रो सांस्कृतिक सहर बनाउन सकिन्छ र उनले आफ्नो टिमको सहयोगमा यो लक्ष्य हासिल गर्न सक्छिन् ।

उनको अठोट प्रशंसायोग्य छ । उनमा राजनीतिक चेतना बिस्तारै बढ्दै गइरहेको छ । रञ्जु अपरिपक्व छिन् भन्नेहरू उनको तारिफ गर्न थालेका छन् । टिम ह्यान्डल गर्ने गुण बिस्तारै विकास गरिरहेकी छन् । मैले उनमा देखेको अर्को सकारात्मक गुण हो, उनले राजनीतिलाई ‘इन्जोय’ गरिरहेकी छन् । उनमा राजनीतिको स्टे«स देखिँदैन । हो, उनले सिक्न धेरै बाँकी छ, उनकै उमेरका सबै युवाहरू जसरी नै तर मलिलो र ग्रहणशील मस्तिष्कले चाहिएजति सिक्न सक्छ । उनी नयाँ पुस्ताका लागि राजनीतिमा आकर्षण बढाउन एउटा मोडल बन्न सक्छिन् ।

‘अब टायर बाल्ने राजनीति होइन, फूल रोप्ने राजनीति गरौं ।’ रञ्जुको यो भनाइ फेसबुकमा देख्दा मेरो अनुहारमा मुस्कान भरिएको थियो । फरक खालको र विशाल हृदय भएको राजनीतिले मात्र समाजलाई उन्नत बनाउनसक्छ भन्नेमा विश्वस्त मलाई लाग्छ- प्रेमबाहेक अरू केहीले परिवर्तन ल्याउन सक्दैन । राजनीतिमा जाँदा त्यही प्रेम निःस्वार्थ कर्ममा परिणत हुन्छ ।

 

photo

NOC1-250x300