यी तीन कारण जसले बनायो महरालाई उपप्रधानसहित परराष्ट्रमन्त्री

जेठ २६, काठमाडौँ– बुधबार शेरबहादुर देउवा नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रीमण्डल बन्यो । माओवादीभित्रबाट जसलाई सरकारको नेतृत्व गर्ने जिम्मा दिइयो, आफैमा अनौठो, रहस्यमय र विवादास्पद थियो ।
माओवादी आन्दोलनमाथि १० वर्षभन्दा बढी समयदेखि कलम चलाइरहेको नाताले मलाई पनि माओवादी हेडक्वाटर निर्णय आश्चर्यलाग्दो लाग्यो । माओवादीबाट मन्त्री भएको एक घण्टा नबित्दै मैले ‘यी हुन् माओवादीभित्रका ‘विजय गच्छदार’ शीर्षककमा सानो टिप्पणी लेखेँ ।
टिप्पणीलाई लिएर माओदीभित्रबाट मूलत दुई थरी प्रतिक्रिया आए । पहिलो थियो– ‘आन्दोलनभित्रको विषाक्त प्रविृत्ति उठाउनु भयो ।’ र, दोस्रो थियो, ‘यति धेरै हमला किन गरेको ?’ यस्ता टिप्पणी गर्नेहरुले आआफ्नो सुविधामा मेरो लेखको आशयलाई बुभेका हुनसक्छन्, त्यो उनीहरुको कुरा हो । केही व्यक्तिले चाहिँ फोनमा माओवादीभित्रका गच्छदारको बचाउ गर्दै मलाई पत्रकारिताको पाठ सिकाउन पनि खोजे ।

यी हुन् माओवादीभित्रका ‘विजय गच्छदार’

‘यी हुन् माओवादीभित्रका ‘विजय गच्छदार’ शीर्षका जे–जति टिप्पणी आए, ती विषयमा थप प्रष्ट पार्नुपर्ने महसुस भयो । रातोपाटी अनलाइनका पाठक र ती टिप्पणीकर्ताको सजिलोका लागि थप केही विषय यो टिप्पणीमा राख्न खोजेको हुँ ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवा माओवादी केन्द्रको समर्थनमा जेठ २३ मा प्रधानमन्त्री चयन भए । त्यसको अर्को दिन शपथ थियो, प्रधानमन्त्री र केही मन्त्रीहरुको । तर मन्त्रीको नाम टुङ्गोमा पुगेको थिएन ।
चुनाव अगाडि अन्तरविरोध र असन्तुष्टि बढ्न सक्ने भन्दै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सानो आकारको मन्त्रीमण्डल बनाउने योजनामा थिए । त्यही योजना अनुसार पार्टीभित्रबाट दुई–तीन जना जति हुन्छ मन्त्री चयनका लागि भन्दै प्रचण्डले जेठ २४ गते बिहान आठ बजे बालुवाटारमा (त्यतिन्जेल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवासमै थिए, लाजिम्पाट सरेका थिएनन् ।) पार्टी हेडक्वाटर वैठक डाकेका थिए ।
पार्टी हेडक्वाटर वैठकमा प्रचण्डसहित सबैजसो नेताले आफ्नो धारणा राखेका थिए ।
अनौठो के भयो भने जसले मन्त्री हुन्छु भनेर दाबी र माग दुवै गरेका थिए, उनीहरु मन्त्री हुन पाएनन् । तर जसले आफू मन्त्री हुन इच्छुक नरहेको बताएका थिए, उनैका नाममा वैठकमा निर्णय भयो । अर्थात् महराको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने माओवादी हेडक्वाटरको निर्णय आयो ।

कृष्णबहादुर महरा आफनो पदभार ग्रहण गर्दै

महरा कसरी उपप्रधानसहित परराष्ट्र मन्त्री पाउन सफल भए । यसको ‘इन्साइट स्टोरी’ बुझ्नुपूर्व मन्त्री छान्ने माओवादी हेडक्वाटर वैठकको शब्द तस्बिर बुझ्नुपर्ने हुन्छ ।
झन्डै चार घण्टा लामो हेडक्वाटर वैठकमा सदस्यहरुले आफ्ना तीता–मीठा कुरा राखेका थिए । मन्त्री हुनेहरुले दाबी राखेका थिए र केही नेताले चाहिँ आफू अनिच्छुक रहेको पनि बताएका थिए ।

सुरुमा प्रचण्डले भनेका थिए, ‘देउवाजी नेतृत्वको सरकारमा पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने र कसले नेतृत्व गरेर जाने भन्ने विषयमा मैले केही सोचेको छैन । काङ्ग्रेससँग कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा महराजी र अनन्तजीले कुरा गरिरहनुभएको छ । उहाँहरुले डिल गर्नुभएको छ । संसदीय दलको उपनेता हुनुहुन्छ, टोपबहादुरजी यसको दाबेदार भइहाल्नु भयो । शीतलकुमारजी (हरिबोल गजुरेल) पनि हुनुहुन्छ, उहाँको नेतृत्वमा जाँदा पनि हुन्छ । अग्निजी (अग्नि सापकोट) पनि हुनुहुन्छ, उहाँलाई नेतृत्व दिएर पठाए पनि हुन्छ । गिरिराजमणि पोखरेल पनि हुनुहुन्छ, उहाँलाई नेतृत्व दिएर जाँदा पनि हुन्छ । महराजी त भइहाल्नुभयो, उहाँ जाँदा पनि हुन्छ ।’

सबैलाई एकै पटक ‘घाँस’ हालेर प्रचण्डले फायर खोलेपछि हेडक्वाटरका अन्य सदस्यहरुले आफ्नो मत राख्न सुरु गरेका थिए । यहाँ हेडक्वाटरका सबै सदस्यको मत राखिरहनु परेन, किनभने सबै त्यतिकै महत्वका छैनन् । तर, केही नेताहरुका भनाइले माओवादीभित्र मन्त्री छान्न भएका अन्तरविरोधहरु चाहिँ सतहमा ल्याउँछन् ।


टोपबहादुर रायमाझीले वैठकमा आफ्नो दाबी पेश गर्दै भनेका थिए, ‘म पार्टीको संसदीय दलको उपनेता हुँ । विधि र प्रक्रियाका कुरा गर्ने हो भने संसदीय दलको उपनेता उपप्रधानमन्त्रीसहित देउवा सरकारमा जाँदा हुन्छ । तर, मलाई चाहियो भनेर म लड्ने र विवाद गर्ने पक्षमा छैन । पार्टीले पठाए जान्छु । नत्र पार्टीको निर्णय मान्छु ।’ यति बालेर रायमाझीले प्रचण्डलाई जुनसुकै पात्र अगाडि सार्नका लागि बाटो खुला गरिदिएका थिए ।
वैठकमा हरिबोल गजुरेलको आक्रमक प्रस्तुति थियो । उनले पार्टीभित्र दुई चार जनाको हालीमुहाली चलेको भनेर केही नेतामाथि हमला गरेका थिए । ‘पार्टी कसरी चलेको छ, मैले थाहा पाउन सकिनँ । जनवादी केन्द्रीयता भन्ने कहाँ छ ? विधि र प्रक्रिया कहाँ गयो ? विधि र प्रक्रियामा पार्टी चल्नुपर्छ भनेर बारम्बार भनेको हुँ । यसरी पार्टी बन्दैन । टीको लाएर मन्त्री बनाउने विधिले हामीलाई कहाँ पुर्याउँछ ?’

मणि थापाले पनि प्रचण्ड सरकारमा रहेका माओवादी मन्त्रीहरुको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए । यस्तो प्रश्न मूलतः कृष्णबहादुर महराप्रति थियो । वैठकमा थापा अरु नेता भन्दा लामो बोलेका थिए । उनले भनेका थिए, अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारमा गएका हाम्रा धेरै मन्त्रीले सिन्को भाँचेनन् । न जनताको काम गरे, न पार्टीका कार्यकर्ताको । घर परिवार र आफन्तको मात्र काम गरे । उहाँहरुले काम त टाढाको कुरा कहिल्यै फोन पनि उठाउनु भएन । हामी एकता प्रक्रियाबाट आएकाहरुलाई त उहाँहरुले पार्टीको मान्छे ठान्नुहुन्न । हामी पार्टी सुध्रिन्छ भनेर आएका हौँ । यो तरिकाले कसरी होला ? हामीले गरेर केही हुँदैन । जनताले मन्त्रीलाई हेरेका हुन्छन् । यसपालि पनि मन्त्रीहरुले पुरानै ताल देखाउनुभयो भने म सार्वजनिक रुपमै आलोचना गर्छु । तपाईंहरुले आलोचना गरेबापत के कारवाही गर्ने हो गर्नुहोला । मन्त्रीका लागि मरिहत्ते मात्र नगर्नुस् । पार्टी र सङ्गठन बनाउन पनि अलिअलि समय दिनुस् । अर्को चुनाव पनि आउँछ भन्ने कुरा नभुलौँ ।’

अग्नि सापकोटाले पनि आफ्नो मत बलियोसँगै राखे । खुलेरै उपप्रधानमन्त्रीसहित सरकारमा जानुपर्ने दाबी पेश गरे । सापकोटाको भनाइ थियो, ‘पहिलो वार्ताकालमा महराजी, टोपबहादुरजी र म वार्ता सदस्य भएर आएका थियौँ । त्यतिबेला पार्टीले विश्वास नै गरेर पठाएको होला । महराजी र टोपबहादुरजी उपप्रधानमन्त्री बनिसक्नुभयो । अब म मात्र बाँकी छु । त्यसकारण यसपालि मेरो नेतृत्वमा सरकारमा पठाउनु राम्रो हुन्छ भन्ने मेरो दाबी छ, माग छ । मेरा समकक्षी सबै उपप्रधानमन्त्री भए । मलाई बाहिर हिँड्न पनि लाज भयो ।

नारायणकाजी श्रेष्ठले पनि वैठकमा मनको तीतो पोखे । श्रेष्ठको भनाइ थियो, ‘अध्यक्षज्यूले मैले केही सोचेको छैन भन्नुभयो । माओवादीमा को–को मन्त्री हुँदैछन् भनेर हिजै अनलाइनहरुमा समाचार आइसक्यो । यो दोहोरो मापदण्ड देखाउनुभएन । निर्णय पहिला गर्ने अनि अनुमोदनका लागि वैठक बसाल्ने ?’

श्रेष्ठको यति बोल्दा बौल्दै प्रचण्ड अलिअलि इरिटेड जस्तो देखिए र बोले । ‘होइन, त्यस्तो केही भएको छैन । विश्वास गर्नुस् । जे हुन्छ यही वैठकबाट निर्णय हुन्छ ।’
फेरि नारायणकाजी बोले, ‘पार्टीभित्र केही विधि छैन । पद्धति छैन । यसरी कसरी राम्रो पार्टी बन्छ ।’
वैठकमा महराले पनि आफ्नो कुरा राखे, तर दोहोरो अर्थ लाग्ने । उनको भनाइ थियो, ‘म बारम्बर मन्त्री भएको छु । उपप्रधानमन्त्री पनि भएँ । मलाई यसपालि जानै पर्छ भन्ने छैन । गृहमा त मेरो रुचि छैन । बरु काम गर्ने रुचि परराष्ट्रमा छ । पार्टीले जिम्मा दिए, म यसका लागि चाहिँ तयार छु ।’

अन्तिममा प्रचण्डले आफ्नो कुरा र निर्णय सुनाए, जहाँ अल्पमत–बहुमत वा सहमतिको केही विधि चाहिँ थिएन । प्रचण्डले अन्तिममा निर्णय सुनाउँदै भने– देउवाले चुनाव र यो परिवर्तनको प्रक्रियालाई कसरी बुझ्नुहुन्छ । यकिन गर्न सकिन्न । उहाँसँग डिल गर्न सक्ने व्यक्ति हामीले सरकारमा पठाउँदा राम्रो हुन्छ । महराजी यसका लागि उपयुक्त पात्र हो जस्तो लाग्छ । उहाँको व्यक्तित्व पनि छ । देउवासँग डिल गर्न सक्नुहुन्छ । शिष्टाचारको कुरा पनि उहाँले म्यानेज गर्नुहुन्छ । अब उपप्रधानमन्त्रीसहित परराष्ट्रमा महराजीलाई पठाऊँ । गृहमा जनार्दनजी जानुहुन्छ । प्रभुजीको काङ्ग्रेससँगको मन्त्रालयको कुरा टुङ्गिएपछि मन्त्रालय टुङ्ग्याउने गरी विनाविभागीय बनाएर पठाऊँ ।’

प्रचण्डले अन्तिम निर्णय सुनाएपछि सबै नेता चुप भए । बाहिर निस्केर हिँडे र मन्त्री भएकाहरू शपथको तयारीमा जुटे ।
यहीँनेर हो सबैभन्दा ठूलो प्रश्न । जसले मन्त्री हुन रुचि गरे, ती मन्त्री भएनन्, महरा जसले मन्त्री हुन रुचि छैन भनेर पार्टी बैठकमा बोले ती चाहिँ मन्त्री भए ।

खासमा महरा कसरी भए उपप्रधानसहित परराष्ट्रमन्त्री ?
यो विषय जान्न मैले माओवादी हेडक्वाटरमा रहेका ६ जना नेतासँग लामै कुराकानी गरेँ । ती नेताहरुको भनाइलाई आधार मान्ने हो भने महरा उपप्रधानसहित परराष्ट्र मन्त्री बन्नुको पछाडि तीन ठूला कारण छन् ।

कारण १ : दिल्ली र बेइजिङको सद्भाव
सुरुमा काङ्गे्रस परराष्ट्र मन्त्रालय माओवादीलाई दिने तयारीमा थिएन । अन्तिम समयमा महरा आफै अगाडि बढे, काङ्ग्रेस पछाडि हट्यो । त्यतिन्जेल महराले दिल्ली र बेइजिङलाई विश्वास दिलाएका थिए कि, उनीहरुको अनुकलतामा काम हुन्छ । त्यसपछि शक्तिकेन्द्रले महराका लागि परराष्ट्र छाड्न प्रधानमन्त्रीलाई आग्रह गरे । प्रचण्डलाई पनि त्यही खालको सुझाव आयो । यहीँबाट महरा उपप्रधानसहित परराष्ट्र मन्त्री बन्ने बाटो खुल्यो । यद्यपि सूत्रहरुलाई मान्ने हो भने दिल्ली र बेइजिङ ‘महरा’प्रति विश्वस्त होइनन्, ‘उपयोग’ गर्न सकिन्छ भन्नेमा विश्वास राख्छन् ।

कारण २ :आर्थिक कारोवार
यो माओवादीभित्र ओपन सेक्रेट छ कि महरा अर्थ मन्त्री हुँदा पार्टी नेतृत्वका लागि आवश्यक रकम सङ्कलन गरेर प्रचण्डलाई प्रभावित बनाएका थिए । माओवादी हेडक्वाटर सदस्यका अनुसार यो खालको सहयोगबाट प्रचण्ड महराप्रति उदार भए । त्यसबाहेक विश्वासिलो पात्र अगाडि राखेर कूटनीतिक सम्बन्ध आफू अनुकूल बनाउन सकिन्छ भन्ने प्रचण्डलाई विश्वास लाग्यो र परराष्ट्र मन्त्री बनाएर महरालाई अगाडि बढाए । सुनकाण्डमा महराले उठाएको भुरा प्रसंग पनि चर्चामा आएको थियो ।

कारण ३ : महरा–वर्षमान सहमति
माओवादी र काङ्ग्रेसबीचको गठबन्धन निर्माणमा सुरुदेखि नै लागेका कृष्णबहादुर महरा र वर्षमान पुन देउवा नेतृत्वको सरकारमा मन्त्रालय भागबन्डा गर्ने कार्यदलमा माओवादीका तर्फबाट सदस्य थिए । काङ्ग्रेसका तर्फबाट चाहिँ विमलेन्द्र निधि र रमेश लेखक थिए । यो कार्यदलमा वार्ता गर्दागर्दै महरा र पुनबीच यस्तो सहमति बन्यो, जसले महराका लागि उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने बाटो सहज बनाइदियो ।
माओवादीभित्रका सूत्रहरुलाई मान्ने हो भने महरा र पुनबीच सत्ता र टिकट बाँडफाँडमा सहमति बनेको छ । दोस्रो संविधानसभामा मोरङमा गएर चुनाव लडेका पुनका लागि अवको चुनाव कहाँबाट लड्ने भन्ने ठूलो चिन्ता थियो । निर्वाचनमा हारेपछि तनावमा रहेका पुनले आगामी प्रतिनिधिसभा निर्वाचनमा जसरी पनि चुनाव जित निकाल्न चाहन्छन् । त्यसका लागि उनले सुरक्षित र सहज रुपमा चुनाव जित्ने स्थान खोजेका थिए ।

रोल्पावादले खायो माओवादीलाई : गोपाल किराती


यसका लागि उनलाई रोल्पाभन्दा राम्रो ठाउँ थिएन । यसका लागि पुनलाई रोल्पाबाट निर्वाचित महरालाई आफ्नो हातमा लिनुपर्ने बाध्यता थियो । महरा पुनलाई रोल्पा छाड्ने र आफू दाङबाट चुनाव लड्ने वा समानुपातिकमा बस्ने दुई विकल्पमा जान तयार भए । पुनलाई रोल्पा छोड्न तयार भएबापत पुनले महरालाई उपप्रधान तथा परराष्ट्रमन्त्री मनाउने गृहकार्यमा जुटे । पछिल्लो पटक पुन प्रचण्ड नजिक भएर काम गरेका छन् । महरा र पुनबीच आर्थिक सहकार्य पनि हुने गरेको माओवादीभित्र चर्चा हुने गरेको छ ।

यहीँबाट दिक्क भएर नारायणकाजी श्रेष्ठले मन्त्री भएको राति सामाजिक सञ्जालमा लेखेका थिए, ‘‘राजनीतिलाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिवर्तनको के अर्थ ? अनि हामी राजनीतिमा रहिरहनुको पनि के अर्थ रहन्छ र ? बदलौँ ।’

महराले उपप्रधान तथा परराष्ट्रमन्त्रीको शपथ लिएलगत्तै श्रेष्ठले सामाजिक सञ्जालमा लेखेर आफ्नो असन्तुष्टि राखेका थिए । श्रेष्ठको चाहना आफू निकट गिरिराजमणि पोखरेल नेतृत्वमा देउवा सरकारमा पार्टीका नेताहरु पठाउनुपर्ने थियो ।

अर्थमन्त्री रहेका वेला पार्टीका नेता तथा कार्यकर्ताका प्रस्तावलाई पन्छाएको, व्यक्तिगत लाभ प्राप्त हुने राजनीतिक नियुक्तिमा पार्टीको सिफारिसलाई बेवास्ता गरेको जस्ता गम्भीर आरोप महरामाथि लाग्दै आएको छ । राष्ट्रिय बिमा संस्थानको नियुक्ति प्रकरण पार्टीभित्र बहसको विषय बनेको थियो । राजनीतिमा लोकसेवा पास गर्नुपर्दैन तर नेकपा माओवादी केन्द्रभित्र कृष्णबहादुर महरालाई सरकारमा सहभागी हुन लोकसेवा पास गरेका नेताको रुपमा व्यङ्ग्य हुन थालेको छ ।

माओवादीमा ‘लालु–रावडी’ चरित्र

र, अन्तितमा जान्न चाहेको, लोकेन्द्र विष्टका फेसबुकका यी स्टाटसले गर्ने सङ्केत के होला ?

१– राजतन्त्रका बहुरुपहरु
२– अह्रौटेको अर्ती, भरौटेको भरोसा र आसेपासेको आस गर्दा जिउँदै लास भइन्छ साइँला !
३– प्रचण्ड ः दानी, ज्ञानी र बैगुणी, तर नभई नहुने
४– ए हन्तकाली डाम्ना हो, जग नहँसाओ त ।
५– चौंठे, धेर फुर्ती नलगा ! तेरो फुर्तीले सुर्ती सप्रन्न !
६– छोरा मैले घिउ खाएर तेरा जुँगा सप्रन्न ।
७– मुक्तिको जुक्तिलाई शक्तिको भक्तिले डसेको अवस्था !

 

photo

NOC1-250x300