यस्तो छ दशैंको टिका लगाउँदा दिइने आशिषको अर्थ

पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक छन् । धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठाग्र भए पनि यसको अर्थ भने कमैलाई थाहा छ । यहाँ हाी यी दुवै श्लोकका अर्थ बुझाउन गइरहेका छौं ।

पुरुषलाई आशीष दिँदा भनिने श्लोक –

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।

द्रोण

अर्थ: महाभारतका एक चर्चित पात्र हुन् अश्वत्थामा । गुरु द्रोणाचार्यका पुत्र अश्वत्थामालाई अमरत्व प्राप्त छ । महाभारतमा अश्वत्थामाको पात्र चित्रण जुनसुकै रुपमा भएपनि अष्ट चिरञ्जीवीमध्ये एक मानिने उनकै जस्तो दीघ आयु होस् भन्ने हेतुले आशीष दिदाँ ‘आयु द्रोणसुते’ भन्ने गरिन्छ ।

राजा दशरथको कीर्ति विश्वभर फैलिएको मानिन्छ । उनी भगवान रामका पिता थिए । एक आदर्श राजाका रुपमा उनले प्राप्त गरेको सम्मानजस्तै सम्मानित बन्नु भन्ने आशीष दिनका लागि ‘श्रेयं दशरथे’ भनिन्छ ।

राघव अर्थात् भगवान श्रीकृष्ण अधर्ममाथिको लडाईका विजेता हुन् । शत्रु परास्त गर्नका लागि कृष्णको जस्तो क्षमता होस् भन्ने आशीष दिनका लागि ‘शत्रु क्षेयं राघवे’ भन्ने गरिन्छ ।

कुनै बेला पृथ्वीलोकमा शासन गरेका राजा नहुषले स्वर्गमा पनि शासन गर्ने अवसर पाए । स्वर्गका राजा ईन्द्र ब्रह्महत्याको दोषका कारण मानसरोवरमा रहेका बेला राजा नहुषले स्वर्गमा शासन गर्ने अवसर पाएका थिए । पृथ्वी र स्वर्ग दुवै लोकमा शासन गर्नसक्ने राजा नहुषको जस्तै ऐश्वर्य होस् भन्ने आशीष दिनका लागि ‘ऐश्वर्यं नहुषे’ भन्ने गरिन्छ ।

पवन अर्थात हावा । हावाको गति सबैभन्दा तेज छ । हावामा जस्तै तेज गति प्राप्त होस् भन्ने आशीष दिनका लागि ‘गतिश्च पवने’ भन्ने गरिन्छ ।

महाभारतकथामा जुनरुपमा चित्रण गरिएपनि दूर्योधनको अभिमान सर्वत्र चर्चाको विषय हो । महाभारत युद्धमा सबैथोक गुमाएर हारको सनिक्कट हुँदा दूर्योधनलाई पाँच पाण्डवमध्ये जोकोहीलाई हराएर युद्ध जित्ने अवसर थियो । आफूभन्दा निर्बल पाण्डवसंग लडेर युद्ध जित्ने छुट हुँदाहुँदै दूर्योधनले आफ्ना चिर प्रतिद्वन्द्वी भीमसंगै प्रतिस्पर्धा गर्न चाहे । त्यसमा पनि भीमको बलियो पक्ष मानिएको गदायुद्ध गर्न नै दूर्योधन तयार भए । आफूभन्दा कमजोरसँग नभएर समानसँग प्रतिस्पर्धा गर्छु भन्ने अभिमानले सयौं अवगुणका बीच दूर्योधनको सकरात्मक पक्षलाई उजागर गरेको छ । यसर्थ मान दूर्योधनको जूस्तो होस् भन्ने आशीष दिनका लागि ‘मानं च दूर्योधने’ भन्ने गरिन्छ ।

महाभारतका प्रमुख पात्र मध्येका एक हुन् भीष्म । जो राजा शन्तनुका छोरा थिए । शन्तनुका छोरा भीष्मको जस्तै सौर्य र पराक्रम रहोस् भन्नका लागि ‘शौर्यं शान्त नभे’ भन्ने गरिन्छ ।

भगवान् कृष्णका दाजु बलराम गोकुलका राजा नन्दन र यशोदा पुत्र हुन् । उनी भगवान विष्णुका २४ अवतारमध्येका एक मानिन्छन् । उनलाई ‘हलधर’ उपनामले पनि चिनिन्छ । उनै बलरामको जस्तो बल होस् भन्ने आशीष दिनका लागि ‘बलं हलधरे’ भन्ने गरिन्छ ।

धर्मराज युधिष्ठिर कुन्तीपुत्र हुन् । सत्यप्रति सदा प्रतिवद्ध व्यक्तिका रुपमा रहेका उनै कुन्तीपुत्र युधिष्ठिरजस्तै सत्यवादी हुनु भन्ने आशीष दिनका लागि ‘सत्यं च कुन्तीसुते’ भन्ने गरिन्छ ।

विदुर हस्तीनापुरका प्रधामन्त्री थिए । आफ्नो ज्ञान, विवेक र नैतिक मूल्यका लागि विदूर परिचित छन् । त्यसैले विदूमा जस्तो विवेक र ज्ञान होस् भन्ने आशीष दिनका लागि ‘विज्ञानं विदूरे’ भन्ने गरिन्छ ।

भगवान नारायणलाई भगवानहरुको पनि भगवान मानिन्छ । उनका विभिन्न अवतारले विभिन्न लोकमा कीर्ति छोडेका छन् । त्यसैले भगवान नारायणको जस्तो कीर्ति रहोस् भन्नका लागि ‘कीर्तिश्च नारायणे’ भन्ने गरिन्छ ।

महिलालाई आशीष दिँदा भनिने श्लोक –

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते

अर्थ: दसैं मूलतः असत्यमाथि सत्यको जितको उत्सवका रुपमा मनाइने पर्व हो ।

राक्षस महिषासुरलाई देवी दुर्गा भवानीले परास्त गरेको कथा दसैंसंगै जोडिएर आउँछ । यसर्थ दसैं मूलतः देवी पूजन पनि हो । यहीकारण आशीष दिदाँ महिलाहरुलाई दुर्गा भवानीका विभिन्न नामहरुजस्तै प्रसिद्धी मिलोस् भनेर कामना गर्ने चलन छन् । ‘जयन्ती, मंगलाकाली, भ्रदकाली, कपालीनी, दुर्गा, क्षमा, शिवा, धात्री,स्वाहा र स्वधा नामले प्रसिद्ध देवी तिमीलाई नमस्कार छ’ भन्ने आशयले यो श्लोक वाचन गरेर आशीर्वाद दिने गरिन्छ ।

 

photo

NOC1-250x300