मानव–सभ्यताका केही कुरा

sharethis sharing button

काठमाडौं,मंसिर २०, २०७७।

प्रकृतिबाट सृष्ट पशुपंछीहरूध्ये मान्छे पनि एक किसिमको विशिष्ट पशु प्राणी हो । दुई खुट्टाले टेकेर उभिएर दुई हातले जुनसुकै काम गर्न सक्ने किसिमको शारीरिक बनोट र सोच्न, बुझ्न, सिक्न, संझन सक्ने बौद्धिक चेतना भएको कारण मान्छेलाई सर्वोत्कृष्ट प्राणी भन्ने गरिन्छ । अरु प्राणीहरूको हकमा यसै भन्न सकिन्न, तर मानिस चाहिँ सामाजिक प्राणी हो । ऊ समाजमा जन्मन्छ, हुर्कन्छ, बस्छ र समाजमै मर्छ ।

संसारमा मान्छेका हजारौं समुदाय वा समाज छन् – कुनै सभ्य बनिसकेका; कुनै सभ्य बन्दै गरेका, तर पूरै सभ्य बनिनसकेका र कुनै चाहिँ हालसम्म पनि असभ्य, जंगली अवस्थामै रहेका पनि छन् । हाम्रै देशको कुरा गर्ने हो भने पश्चिम नेपालका दाङ–देउखुरी, बर्दिया, जाजरकोट, दैलेख, सुर्खेत, बझाङ आदि ठाउँमा छरिएर रहेका राउटे जातिका मानिसहरू अद्यापि जंगली, घुमन्तु अवस्थामा छन् । अन्यथा नसम्झियोस्, हेटौडाका वनकरिया, लमजुङ, दुराडाँडाका दुरा, पूर्वी नेपालका कुसुन्डा, हायु, चेपाङ आदि जातिहरू पनि सभ्यतोन्मुख छन्, सभ्य बनिसकेका छैनन् ।

संसारका विभिन्न देशमा गरी अधिक आवादी ओगटेका र अत्यधिक जनसंख्यामा भएका, आफूलाई सभ्य भन्ने÷बताउने केही मानव समाज हुन् – इसाई समाज, मुस्लिम समाज, बौद्ध समाज, हिन्दू समाज आदि । इतिहास खोतल्दै, उप्काउँदै जाँदा प्रस्ट रूपमा थाहा हुन्छ – तीमध्येका कुनै पनि समाज सुरु–सुरुमा जंगली अवस्थामै थिए । आज ऊ जुन सभ्य अवस्था वा युगमा आइपुगेको छ, त्यसमा एकैचोटि आइपुगेको होइन ।

समयको लामो अन्तरालमा संसारका विभिन्न मानव समयुदायका सामाजिक जीवनमा भिन्न–भिन्न, लामा–लामा ऐतिहासिक प्रक्रियाहरू संपन्न भए । आफ्नो बौद्धिक चेतना, क्षमता वा शक्तिका बलमा सोच्दै, बुझ्दै, सिक्दै, अनुभव र संझना बटुल्दै, नयाँ–नयाँ कुराहरू पत्ता लगाउँदै, ज्ञात भैसकेका विज्ञान र प्रविधि अँगाली प्रकृतिलाई आफ्नो अनुकूल बनाउँदै, त्यसमाथि नियन्त्रण बढाउँदै, जमाउँदै तथा एक पछि अर्को गरी उन्नति, प्रगति गर्दै तथा आजभन्दा भोलि, भोलिभन्दा पर्सि गर्दै चरणबद्ध रूपमा झन् झन् सभ्य बन्दै मान्छे आजको सभ्य अवस्थामा आइपुगेकोमा शंका छैन ।

समयको यस प्रवाहमा कति–कति मानव समुदायहरू ठाउँ–ठाउँमा बसाइ सर्दै आफू जस्तै ठूला–साना समुदायसित कहिले एक आपसमा मिल्ने, मेलमिलाप गर्ने; कहिले लडाइँ–झगडा गर्ने तथा संस्कृति, सभ्यता, ज्ञान, अनुभव, चेतना र भावना परस्पर साटासाट गर्ने गर्दै अघि–अघि बढ्दै आए । यो प्रक्रिया संसारभर अटुट चल्दै आइरहेको छ । यसरी मान्छे आजको युगमा आइपुग्न संभव भएको हो ।

आफूलाई सभ्य बताउने ऊ आज अणु–परमाणुदेखि लिएर अनन्त अन्तरिक्षसम्मको माइक्रो (सूक्ष्म) र म्याक्रो (बृहद्) दुवै क्षेत्रमा अथाह शक्ति र अपार सुख, सुविधा एवं अवसरहरूको सर्वेसर्वा मालिक छ । जल, स्थल र आकाश सबैमा उसको वर्णनातीत पहुँच छ । ऊ अन्तरिक्ष युग र मोबाइल युगमा सन्नद्ध छ । उसको यो पहुँच भविष्यमा, नमालुम, कहाँसम्म पुग्ने हो ! भनिसाध्य छैन । यो हो मानव सभ्यता ।

सभ्यताको कुरा उठ्दा मलाई ५५ वर्षजति अघि आफूले पढेको सभ्यता सम्बन्धी एउटा अंग्रेजी निबन्धको संझना हुन्छ । मैले २०२३ सालमा प्राइभेट रूपमा पढेर त्रिभुवन विश्व विद्यालयबाट बी.ए. पास गरेको हुँ । त्यतिखेर अनिवार्य अंग्रेजी विषयअन्तर्गत Topics and Opinion नामक पुस्तकका केही निबन्धहरू पढ्नु पथ्र्यो र तिनमध्ये सुरुको एउटा निबन्ध थियो –’What civilisation is not ?’ (सुप्रसिद्ध अंग्रेजी विद्वान क्लाइव बेल (Clive Bell) द्वारा लिखित ‘Civilisation’ नामक पुस्तकबाट उद्धृत) ।

यस निबन्धमा विद्वान् लेखकले प्रश्नोत्तर शैलीमा ‘कुन कुन कुरा सभ्यता होइन ?’ र ‘कुन कुरा सभ्यता हो ?’ भन्ने प्रश्न उठाएको र त्यसको जवाफ दिने प्रयास गरेको पाइन्छ । लेखकको कथन छ – ‘सभ्यता’लाई लिएर भिन्न–भिन्न खालका मानिसहरूका भिन्न–भिन्न खालका सोचाइ–बुझाइ वा धारणा रहेको देखिन्छ यथा – कसैले संपत्ति सम्बन्धी चेतना हुनु अर्थात् धनसंपत्तिको हक–अधिकारप्रति सम्मानको भावना हुनुलाई सभ्यता भनी ठान्ने गरेको देखिन्छ भने कसैले चाहिँ जुन मानिसहरूले ईश्वर, ईश्वरीय न्याय र पुनर्जन्ममाथि विश्वास गर्छन् तिनलाई सभ्य भन्नुपर्छ भन्ने गरेको पाइन्छ । कसैको विचार अनुसार दया–माया, स्नेह, करुणा, उदारता, परिश्रमशीलता, आतिथ्यप्रेम, सत्यवादिता जस्ता गृहस्थधर्मी गुणहरू हुनु सभ्यताको निशानी हो । कसैले यौनका मामिलामा सदाचारी हुनु, रहनुलाई सभ्यता मान्ने गर्छन्, त कसैले चाहिँ देशप्रेमी वा देशभक्त हुनुलाई सभ्यताको खास चिन्ह हो भन्ने गर्दछन् । कुनै जातिमा कुनै कुरा र कुनै जातिमा अर्कै कुनै कुरा गरी संसारका विभिन्न जंगली मानव जातिमा उपरोक्त गुणहरू भएको पाइन्छ ।

उत्तरी अमेरिकाको आदिवासी जंगली जातिका मानिसहरू निकै नैतिकवान हुन्छन् । ‘तेरो’ र ‘मेरो’ भन्ने भावनामा पनि ती निकै चनाखा हुन्छन् । ‘चोरी’ भन्ने कुरा के हो ? तिनीहरूलाई थाहा छैन । सँधै साँचो बोल्ने र सत्यमा अडिग रहने कुराका नमुना जाति हुन्, – श्रीलंकाका वेदा (वैदिक ?) भनिने जंगली जाति तथा अन्डमन र निकोबारका जातिहरू पनि । अस्ट्रेलियाको जंगलमा रहने बुश जातिका जंगलीहरू हुन् त नरमांसभक्षी, तर ‘झूठ बोल्नुलाई’ तिनीहरूले ‘महापाप’ संझन्छन् । ईश्वर र ईश्वरीय न्यायमा तिनीहरूको अटल विश्वास रहेको पाइन्छ । परम सत्तालाई तिनीहरू आफ्नो आदि पुर्खा संझन्छन् र ‘पिता’ भनी पूजा गर्ने गर्छन् । यस्तै गरी प्रायः सबै जंगली जातिहरूको ईश्वर माथि ठूलो विश्वास, श्रद्धा र भक्ति हुन्छ । जंगली मानिसहरू विरलै नास्तिक हुन्छन् । यी गुणहरू छन् भन्दैमा के तिनीहरूलाई सभ्य भन्न सकिन्छ ?

 कुनै पनि मानव समाजमा महिलाहरूको उच्च वा निम्न, जे–जस्तो स्थान हुन्छ, त्यसकै अनुपातमा त्यस समाजलाई बढी वा कम सभ्य भन्नु–मान्नु पर्छ भन्ने केही भद्र महिलाहरूको सोचाइ रहेको देखिन्छ; तर नियालेर हेर्दा के पाइन्छ भने अन्डमन टापूकै आदिवासीहरू, श्रीलंकाका वेदाहरू एवं कतिपय जंगली जातिका नरमांसभक्षी मानिसहरूले पनि आ–आफ्नो समाजका महिलाहरूलाई आफू समान नै मानी उच्च सम्मान दिने र त्यही माफिकको व्यवहार गर्ने गरेको पाइन्छ, जब कि ३ हजार वर्षजति पहिलेका ताङ र सुङ वंशका राजाहरूको पालाको चिनियाँ समाजमा (जुन बेला त्यो समाज भवन निर्माण सहितको साहित्य, संगीत आदि कलामा निकै उच्च र सभ्य अवस्थामा पुगेको थियो) महिलाहरूको स्थिति भने वस्तुभाउ (गाई, भैंसी, भेंडा, बाख्रा, सुँगूर आदि घरपालुवा जनावरहरू)को भन्दा त्यति उच्च थिएन ।

तत्कालीन सभ्यताको उच्च शिखरमा पुगेको भनी कहलाएको ग्रीक देशका एथेन्सवासीहरूका सुप्रसिद्ध महान् दार्शनिक मानिएका प्लेटोले, महिलाहरूलाई आफू समान मान्ने भन्ने कुरा त परै छाडौं, तिनीहरूमाथि साम्यवाद लागू गर्नुपर्ने कुराको वकालत गर्ने गरेका थिए ।

यौनका मामिलामा क्यालिफोर्नियाको कारोक भनिने जाति (जसलाई संसारकै सबभन्दा तल्लो तहको जंगली जाति मानिन्छ)का मानिसहरू र ब्राजिलका विभिन्न जंगलमा रहने–बस्ने मानिसहरू पनि यौनका मामिलामा अति सदाचारी रहेको पाइएको छ । तिनीहरूले आ–आफ्ना सरदार वा टाउकेसम्मलाई पनि बहुविवाह गर्न दिंदैनन् । अन्डमन र कार निकोबारका आदिवासीहरू र श्रीलंकाका वेदाहरूले त व्यभिचारी व्यक्तिलाई घृणित अपराधी ठानेर देश निकाला गर्ने र कसै–कसैलाई मृत्युदण्ड समेत दिने गर्छन् ।

सोलोमन र फिजीका जंगली जाति, पश्चिम अफ्रिकाको योरुबस नामको जंगली जाति र सोलोमन तथा फिजीको जंगली जातिका मानिसहरू एवं उत्तरी अमेरिकाका इंडियनहरू ज्यादै देशप्रेमी र देशभक्त रहेका पाइएका छन् । कुनै काम विशेषले केही समयका लागि बाहिरी देशमा जानु र रहनु–बस्नु पर्‍यो भने तिनीहरू होम सिकनेसले अर्थात् आफ्नो घर–ठाउँ संझेर तुरुन्त बिरामी भइहाल्छन् रे !

यही देशभक्ति वा राष्ट्रवादिताकै कुरालाई लिऊँ । सो सम्बन्धमा पनि पूर्व र पश्चिम दुवै गोलाद्र्धका कहलिएका नामुद–नामुद विद्वान्, दार्शनिक र विचारकहरूले धेरै पुरानो जमानादेखि नै योभन्दा विश्वमानवता–प्रेमलाई धेरै महत्त्व दिने र अत्यधिक श्रेयस्कर बताउने गरेको पाइन्छ ।

कन्फुसियस जस्ता आफ्ना जमानाका श्रद्धेय महान् दार्शनिकहरूका प्रेरणामा त्यस बेलाका चिनियाँहरूले ‘विश्वका सबै मानिसहरू आफू समान नै हुन् । सबै मान्छेले मान्छे मात्रलाई प्रेम गर्नुपर्छ’ भन्ने धारणा राख्ने गर्थे ।

इशापूर्व छैंठौं शताब्दिमै लेखिसकिएको महान् हिन्दू ग्रन्थ ‘पञ्चतन्त्र’मा ‘वसुधैव कुटुम्बकम्’ (वसुधा इव कुटुम्बकम् = यो संपूर्ण धरती नै एउटा परिवार हो ।)को महनीय सिद्धान्तका अनुसरणमा ‘क्षुद्र वा तुच्छ मानसिकता अर्थात् सानो चित्त भएका व्यक्तिहरूले मात्र मान्छे–मान्छेमा स्वदेशी र विदेशी भनी भेदभाव गर्ने गर्छन् ।’ भनेर लेखिएको पाइन्छ ।

‘विश्वलाई अणु–अणुहरूको थुप्रो’ भनी सर्वप्रथम घोषणा गर्ने डेमोक्रिटस (ईसाभन्दा ४६० वर्ष जति पहिलेका पश्चिमा महान् ग्रीक दार्शनिक)ले उहिलै भन्ने गरेका थिए – ‘विद्वान र बुद्धिमान व्यक्तिका लागि पहुँच नहुने वा नपुग्ने कुनै देश हुँदैन । यो पूरै पृथ्वी उसको पितृभूमि हो ।’

ईसा पूर्व चौंथो शताब्दिको ग्रीस देशकै आनन्दवादी, मूल्यवादी, भाग्यवादी आदि विभिन्न पन्थका दार्शनिक र रोमन दार्शनिकहरूले समेत ‘देशभक्ति’ वा ‘राष्ट्रवाद’को भावनलाई ‘हास्यास्पद सिद्धान्त’ भनेर नकार्दै Cosmopolitanism (विश्वमानवतावाद)को विश्वधर्मलाई अँगालेको र पछ्याएको पाइन्छ ।

सँधै सफा–सुग्घर भएर रहने–बस्नेमा गोल्ड कोस्ट, क्वीन्स्ल्याण्डका ‘मेजे’ भनिने जंगली जातिका मानिसहरू (जो त्यहीँको मोनबुटु भनिने जातिद्वारा शासित भएकाले अति दयनीय हालतमा छन्) अति प्रसिद्ध छन् । सरसफाइका दृष्टिले तिनीहरू सँधै दिनमै कम्तीमा दुई–तीन पटक नुहाउने गर्दछन्; जब कि रोमन साम्राज्यको अन्त्य र महारानी भिक्टोरियाको उदय कालका सभ्य कहलाउने यूरोपवासीहरू मुश्किलले वर्षको १ पटक नुहाउने गर्थे ।

उपरोक्त सबै कुराहरूलाई दृष्टिगत गर्दा के स्पष्ट हुन्छ भने जुन गुण वा कुरा सभ्य भन्न नसकिने जंगली जातिका मानिसहरूमा पनि पाइन्छ, त्यसलाई सभ्यता भनेर मान्न मिल्दैन । ती गुणहरू सभ्यताका साधन हुन सक्छन्, तर सभ्यता नै होइनन् । सभ्यताको मुख्य गुदी वा सार वस्तु यस्तो कुरालाई भन्नुपर्ने वा मान्नुपर्ने हुन्छ, जसलाई जंगली जातिले अहिलेसम्म प्राप्त गर्न सकेका छैनन् । त्यो हो – मानव जातिले अहिलेसम्ममा सबभन्दा पछिल्लो प्राप्ति वा उपलब्धिका रूपमा प्राप्त गर्न सकेको वस्तु – (अंग्रेजी शब्दमा) – Self consciousness; critical spirit, critical mind वा mindedness, critical thinking वा Critical approach। यसलाई नेपालीमा हामी भन्न सक्छौं – स्वसचेतता, सचेत बुद्धि वा आलोचनात्मक चेत । अर्थात् कुनै पनि कुरा वा वस्तु सही वा गलत, ठीक वा बेठीक, सक्कली वा नक्कली, साँचो वा झूठो, हितकारी वा हानिकारक, अनुकरणीय वा अननुकरणीय – के हो ? त्यो राम्ररी जाँचेर, बुझेर मात्र सही, ठीक, सत्य–साँचो भनी छुट्ट्याउन, खुट्ट्याउन, पत्ता लगाउन खोज्ने, लागीपर्ने विवेक–बुद्धि वा प्रवृत्ति ।

माथि उल्लेख गरिएको जुन Critical भन्ने अंग्रेजी शब्द छ, अक्सफोर्ड इंग्लिस डिक्सनरी अनुसार त्यसको अर्थ हो –Looking faults, Pointing out faults अर्थात् दोष वा गल्ती खोज्ने, देखाउने, पत्ता लगाउने । अर्को शब्द Consciousness को अर्थ हो ः State of being aware; awareness अर्थात् सचेत हुनुको अवस्था, सचेतता । सारमा के भने – सभ्यता मानवीय गुण हो । यो मानवेतर (मानिसदेखि भिन्न) प्राणीमा पाइने वस्तु होइन । मान्छेमै पनि यो जंगली अवस्थाको मान्छे वा मान्छे जातिमा पाइने कुरा होइन ।

विगत दुईसय वर्षदेखि आजसम्मको इतिहासमा केही भद्र भन्न मिल्ने जंगली जातिका मानिसहरू र आजका सभ्य कहलाउने मानिसहरूका बिचमा पाइने अन्तरलाई केलाएर हेर्दा प्रस्ट थाहा हुन्छ – सभ्यता भन्ने कुरा कृत्रिम हो, नैसर्गिक वा प्राकृतिक होइन अर्थात् प्रकृतिको उपज होइन । यो शिक्षाको उपज हो, परिणाम हो ।

यो सचेत बुद्धि, यो बौद्धिक एवं तार्किक सचेतता; यो आलोचनात्मक प्रवृत्ति अर्थात् Critical Spirit, Critical mind वा mindedness, Critical thinking, Critical approach वैचारिक क्षेत्रमा अझ बढी लागू हुनुपर्ने, गर्नुपर्ने आवश्यकताको बोध तार्किक बुद्धिलाई पछ्याउने, वैज्ञानिक चिन्तन भएका प्रायः सबैखाले, सबैजसो बुद्धिजीवीहरूलाई महसुस भएको हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।

समयको प्रवाहमा मान्छेले जति जति नयाँ, नौला कुरा, अनुभव गर्दै, सिक्दै जान्छ अर्थात् जति जति ऊ शिक्षित बन्दै, हुँदै जान्छ, उति उति ऊ सभ्य बन्दै, हुँदै जान्छ । शायद यही कारणले होला, जंगली अवस्थाबाट केही माथि उठेको मानव जातिको ग्रामीण समाजलाई जंगली जातिभन्दा बढी सभ्य मानिन्छ तथा त्यस्तै गरी शिक्षा र भौतिक साधन, सुविधा एवं अवसरहरूको संपर्कमा बढी आउने र बढी मात्रामा ती उपभोग गर्न पाउने हुँदा सहरिया वा सदरिया मानिसहरू गाउँ–ठाउँ र पाखा–पखेराका गाउँले समाजका मानिसहरूभन्दा बढी सभ्य हुने ठानिन्छ, मानिन्छ; जब कि शहर–बजारमा आई विभिन्न सुविधा र अवसरहरूको संपर्क र उपलब्धताले शिक्षित बनेका तिनै ग्रामीण व्यक्तिहरू पनि चाँडै नै सहरियाभन्दा कहाँ–कहाँ बढी टाँठा–बाठा वा चतुर एवं सभ्य बनेका उदाहरणहरू छ्याप्छ्याप्ती पाइन्छन् ।

सचेत हुने र सचेत भएर कुनै पनि वस्तु वा कुराको गुण–दोष पहिल्याउन जाँचबुझ गर्नतर्फ लाग्ने विवेक, बुद्धि वा प्रवृत्तिलाई अन्यथा भन्न, सम्झन मिल्दैन । यो वैज्ञानिक चिन्तन हो । कसैले ‘कागले कान लग्यो’ भन्दैमा कागको पछि पछि नलागी, नदगुरी ‘हो, होइन’ भनेर सचेत भई आफ्नो कान छाम्नतिर लाग्नु नै बुद्धिमानी हुने कुरामा कसैको विमति हुन सक्त्तैन ।

सुनको जलप लगाई सुन जस्तै टल्कने बनाएर सुन भनी कसैले बेच्न ल्याएको पित्तललाई खासमा त्यो सुन हो, होइन भनेर ‘कसी लगाउने, काट्ने, खार्ने’ आदि जाँचबुझ गरी सही कुरा पत्ता लगाएर, खुट्ट्याएर मात्र किन्नु नै बुद्धिमानी होला, अन्यथा ‘गाँठ गुमाना, बेबकुफ बनना’ भन्ने हिन्दी कहावत चरितार्थ हुनेमा पनि कसैको विमति हुन सत्तैmन ।

यस्तो हुँदा हुँदै पनि संसारभरिका विभिन्न देशका विभिन्न दर्शन, धर्म, क्षेत्र आदिमा हजारौं वर्ष अघिदेखि हालसम्म पनि स्वतः जन्मेका वा प्रायोजित रूपमा जन्माइएका र जरा गाडेर बसेका विभिन्न, असंख्य, असंख्य अन्ध परम्परा, अन्ध संस्कृति, अन्ध संस्कार, अन्ध श्रद्धा, अन्ध भक्ति, अन्धविश्वास, कुरीति, कुथिति एवं कुप्रथा आदिले मानव समाजको अपार ‘क्षति हुँदै आइरहेको तथ्य जगजाहेर छ । संसारभरिका प्रायः मानिसहरूले र तिनमध्येका उच्च शिक्षा प्राप्त गरेका कतिपय व्यक्तिहरूले समेत आफ्नो अगाडि आएको जुनसुकै कुरालाई सचेत बुद्धि लगाएर, खेलाएर जाँच्ने, बुझ्ने र सही कुरा पत्ता लगाएर अँगाल्ने नगरी आँखा चिम्ली विश्वास गरेर चल्नाले नै यो फजिती (अपार क्षति) आएको हो, भएको हो भन्ने मेरो निर्क्यौल छ ।

यस सन्दर्भमा बुद्ध–वचनहरूमध्येको एउटा प्रसंग मलाई अति मननीय र अनुकरणीय लाग्छ । उनले भनेको भनिन्छ – ‘स्वयं म बुद्धले भनेको कुरा पनि आफ्नो बुद्धि–विवेकले जाँचेर हेर्दा ठीक लाग्छ भने मात्र पत्याऊ, त्यस अनुसार आचरण गर, अन्यथा नपत्याऊ, नगर ।’ यस्तो भन्ने साहस हजारौं वर्ष अघिदेखि आजको युगसम्ममा कुन चाहिँ धर्मको कुन चाहिँ धर्माधिकारी (पास्टर, पादरी, पोप, मुल्ला, मौलाना, पण्डा, पंडित, पुरोहित, सन्त, महन्त, शंकाराचार्य, मठाधीश, पीठाधीश, साई, बाबा, स्वामी आदि)ले गर्न सकेको छ । सोको जानकारी हालसम्म मलाई छैन । यस्तै गरी बुद्धको अर्को एउटा मार्मिक उक्ति छ – ‘अप्प दीपो भवः ।’ अर्थात् अरुहरूको बहकाउमा नलागेर आफ्नो प्रकाश आपैm होऊ । यस उक्तिले पनि त्यही बौद्धिक सचेततालाई इंगित गर्नेमा कसैको विमति छैन जस्तो लाग्छ ।

यही सचेत बुद्धि हामी सबैमा आओस्, पलाओस् भन्ने सदाशय राखेर मैले यी हरपहरू प्रस्तुत गरेको हुँ । हामी यही सचेत बुद्धिलाई अँगालेर लागे–पुगेसम्म बढीभन्दा बढी सभ्य बन्दै जाऔं । आफू पनि बाँचौं, अरुलाई पनि बाँच्न दिऊँ । सबैमा छ मेरो यही शुभकामना ! किमाधिकम् ?

बाग्लुङ, हाल – काठमाडौं, अनामनगर

Coppied from ratopati

 

photo

NOC1-250x300