महेन्द्रदेखि प्रचण्डसम्मका शक्तिशालीसँग संगत गरेका सरदार प्रितम सिंह

नारायण पौडेल

उनी पुगनपुग २० बर्षका मात्र थिए । साथीको विवाहको शिलशिलामा उनी तुल्सीपुर आएका थिए । लहैलहैमा उनी काठमाडौं हानिए । अत्यासलाग्दो काठमाडौंमा एक दिन बिताउँनै उनलाई हम्मेहम्मे भयो । सिधैं पटनाको टिकट काटेर उनले नेपाल छाडे । पहिलो पटक नेपाल छाड्दा उनलाई सायदै लागेको थियो, बाँकी जीबन र पुस्ता नेपालमै हुंनेछ । सन्दर्भ हो आजभन्दा ६० बर्षको ।

सरदार प्रितम सिंह उमेरले ८० भए । तर, जोश उस्तै देखिन्छ । राजा महेन्द्रदेखि प्रधानमन्त्री प्रचण्डसम्मको संगत गरेका उनले नेपालको राजनीतिक उतारचढावमात्र नजिकबाट देखेनन्, यो देशको विकासमा महत्वपूर्ण हिस्सा बन्न सफल भए । उनको जीबनयात्रासँग नेपालको विकास यात्रा जोडिएको भन्दा अतिसयोक्ति हुँदैन । जीबनको उतारचढाव भन्दै गर्दा उनका आँखा रसाए । तपाई नेपालको लागि त जिउँदो इतिहास हुनुहुँदोरहेछ के भनिएको थियो, उनी टक्क रोकिए । लामो स्वास तान्दै भक्कानिएको स्वरमा भने,‘यही मायाले नेपाल मेरो घर भयो । नेपाली मेरा साथी भए । छोड्नै सकिन । अहिले सबै घरजम यतै भइसक्यो ।’

उनी नेपाली बुझ्छन् तर प्रष्ट बोल्न सक्दैनन् । जसोतसो बोल्दै जाँदा बीचबीचमा अंग्रेजी र हिन्दी मिसिन्छ । मिसावटमा पनि गजबको मिठास भेटिन्छ । नेपालका सबैजसो भुभाग उनलाई कन्ठस्थै छ । जहाँ जान्छन् कोही न कोही उनलाई ‘तपाईका कारण मेरो जीबन बन्यो’ भन्दै ढोगभेट गर्न आइहाल्छन् ।

यसरी शुरु भयो नेपाल यात्रा

प्रितमको परिवार जम्बुमा नामी र दामी थियो । बुबा सरदार कहन सिंह जम्बुको पहिलो यातायात व्यवसायी हुनुहुन्थ्यो । त्यतिबेलासम्म जम्बुको आफ्नै स्वतन्त्र अस्तित्व थियो । वक्सी गुलाम मोहम्मत जम्बुका प्रधानमन्त्री थिए । उनीसँग सिंह परिवारको राम्रो सम्बन्ध थियो । प्रितमको परिवारपनि आफैंमा राजनीतिसँग जोडिएको थियो । जेठो दाजु रंगिल सिंह जम्बुको तीन पटकसम्म मन्त्री भएको इतिहास छ ।

पहिलो पटक काठमाडौंबाट फर्केपछि प्रितमले आफ्ना बुबालाई नेपाल यात्राका बारेमा बताए । नेपालमा चौडा सडक बन्दै गरेको सुनाए । एकै दिनमा फर्केको कुरा बुबालाई चित्त बुझेन । बुबाले नेपालमा नयाँ सम्भावना रहेको बुझिसकेका थिए । उनले नेपाल जानुपर्ने सुझाए ।

दोस्रो पटक एक बर्ष नबित्दै नेपाल आएका प्रितम बुबासँगै न्यूरोडमा टहलिरहेका थिए । बजार भन्नु नै न्यूरोड वरिपरिको क्षेत्रमात्र थियो । त्यहाँ उनले आफैसँग पाइलट ट्रेनिंग गरेका त्रिलोचन सिंह दुलटलाई भेटे । उनीसँगै अर्का एक पाइलटपनि थिए । पञ्जाबका यि दुई पाइलटले राजा महेन्द्रको डाकोटा बिमान उढाउँने गर्दथे । दरबारसँग जोडिएका सहपाठीलाई भेटेपछि ढुंगा खोज्दा देउता मिलेजस्तो हुंने भइहाल्यो ।

पाइलटले धेरैलाई चिनजान गराए । राजा महेन्द्रसँगपनि भेटघाटको मेसो मिलाए । मान्छे चिन्ह माहिर थिए महेन्द्र । संयोगपनि कस्तो भने त्यही बेला महेन्द्र जम्बुको अमरनाथ जात्रामा सहभागी हुन जाँदै थिए । राजा भएको धेरै भएको थिएन, महेन्द्रमा केही न केही नयाँ गर्ने जोश देखिन्थ्यो । दोस्रो भेटमै राजा महेन्द्रले सिंह परिवारसँग प्रस्ताव गरे, ‘नेपालमा पनि यातायात सेवा शुरु गर्नुहोस् ।’

अमरनाथको यात्रापछि राजा महेन्द्रले सिंह परिवारका बारेमा राम्रै जानकारी पाए । जम्बु काश्मिरका मानिस वफादार हुन्छन् भन्ने बुझाइ उनलाई जीबनको अन्त्यसम्मै रहेको प्रितमको भनाइ छ । राजा महेन्द्रले सिंह परिवारलाई गाडीको लाइसेन्स उपलब्ध गराउन निर्देशन दिए । गाडी हाक्न दिइएको २०० नम्बरको प्रमाणपत्रमा लेखिएको थियो, ‘टाँगा र बग्गीलाई साइड दिनु ।’

पहिलो पटक ट्रक ल्याउँदा

पेशाले प्रितम पाइलट थिए । तर, पारिवारिक पृष्ठभूमीका कारण उनी उढ्ने साधन होइन, गुड्नेमा बढी लिप्त भए । तीनवटा ६ चक्के ट्रक लिएर उनी नेपाल हानिए । साथी र कर्मचारी गरी १० जनाको समुहको नेतृत्व गर्दै भर्खरै जुँगाको रेखी बस्दै गरेका प्रितमले जीबनको नयाँ अध्याय आरम्भ गरे ।

भुगोलका बारेमा जानकारी थिएन । सोध्दै खोज्दै बाटो पहिल्याउँदै उनीहरु आइरहेका थिए । अहिलेजस्तो फोन र इन्टरनेट त्यतिबेला कहाँ पाउँनु ? बिहारको पटना आइपुगेपछि उनीहरुलाई थाहा भयो गंगा नदीमा पूल रहेनछ । विशाल नदीमा ६ पांग्रे ट्रक कसरी तार्नु ? इन्तु न चिन्तु भए प्रितम ।

सरदार खलकका उनले हार मानेनन् । कुराकानी अगाडि बढाउँदै लगे । स्टिमरबाट ट्रक तार्न सकिने कुरा आयो । तर, पालो तीन महिनापछि मात्रै आउने भनियो । तीन महिना पर्खने कुरा भएन । उनले स्थानीय माझीसँग सल्लाह गरे । उनीहरुले तीनवटा ढुंगा जोडेर एउटा ट्रक तार्न सकिने जुक्ति निकाले ।

ट्रक त तारियो २ दिन लगाएर । तर, अघि बढ्ने बाटो थिएन । नदी कट्दा बित्तिकै खेत थियो । खेतधनीसँग बाली नष्ट गरेवापत क्षतिपूर्ति दिने सहमति गरे । त्यसपछि खेतै खेत ट्रक बाटो भएसम्म निस्कियो । कच्ची बाटो खाल्डाखुल्डी छिचोल्दै ३ दिनका दिन उनी मुजफ्फरपुर  आइपुगे । मुजफ्फरपुर र रक्सौलका बीचमा खोला थियो तर पूल दिएन । नत त्यहाँ ढुंगा थियो ।

जीबन कथा बताउँदै गर्दा प्रितमले लामो सास ताने । एक छिन थामिए । अनि, फरि अगाडी बढे, ‘मैले कैयौं कुरा छुटाएको छु । धेरै लामो हुन्छ सबै भन्यो भने ।’ तेज गतिमा उनले यात्रा विवरण सुनाउँन थाले । ‘जहाँ उपाय हुन्न त्यहाँ नियम नतोडी हुन्न ।’ जोशिलो स्वरमा उनले भने, ‘ रेलको लिकलाई बीचमा पारेर पट्रीमा हामीले ट्रक गुडाउने निधो गर्यौ ।’

सुन्दै आङ जिरिङ्ग हुंने निर्णय थियो । ट्रक पट्रीमा गुडिरहेको बेला रेल आइपुगे सयौंको एकै चिहान हुंने निश्चित थियो । अर्कोतर्फ ट्रकका कारण पट्री बिग्रेर लिकले ठाऊँ छाड्ने र रेल दुर्घटना हुंने सम्भावना उस्तै थियो । हैट † युवावयका प्रितमको दुस्साहस अहिलेको शालिनतासँग पटक्कै मेल नखाने खालको सुनियो । ‘हामीले गाऊँलेसँग रेल आउंने जाने समय तालिका लियौं । उनीहरुकै सहयोग लिएर हामीले ट्रकलाई बिस्तारै पट्रीमा चढायौं । त्यसरी नै रक्सौल भन्सार आइपुग्यौं ।’ प्रितमले भारततर्फको यात्रा सक्दै भने ।

रक्सौलदेखि अमलेखगंजमा बाटो थिएन । गाडा जोडेर गाडामाथि ट्रक राखेर ल्याइयो । त्यसरी शुरु भयो नेपालपट्टीको यात्रा । कही गुडाउंदै त कही बेहुलीजस्तो गाडामा हाल्दै ट्रक मकवानपुरको जीतपुर फदीसम्म आइपुग्यो । त्यहाँ सुरुङ्ग थियो । साना गाडी छिर्न सक्थ्यो । ठूलो गाडी छिर्न सम्भव थिएन । अर्को महासंकट आइलाग्यो । उनले आफ्ना साथमा मिस्त्रीपनि ल्याएका थिए । पांग्राको लम्बाइ कम गर्न उनले डण्डी काटिदिए । चक्काले लिएको ठाऊँ छोटियो । सुरुङ्गमा अटसमटस हुंदै ट्रक छि¥यो । सुरुङ्गबाट ट्रक बाहिर निस्कदा उनलाई महाभारत जितेजस्तो भयो ।

‘त्यहाँ सुरुङ्ग छ ?’ पछिल्लो पुस्तालाई प्रतिनिधित्व गर्ने यो प्रश्न उनका लागि अस्वभाविक थिएन । उनले प्रश्न चुहिन नपाउंदै जवाफ फर्काए, ‘ छ नि, सायद तपाई जन्मिनुभन्दा पहिले नै त्यो बन्द गरियो । अहिलेपनि ढक्कन खोलिए, त्यहाँ सुरुङ्ग देखिन्छ ।’

भीमफेदीदेखि काठमाडौंसम्म भर्खर बाटो बनेको थियो । कच्ची बाटो जोखिमपूर्ण त थियो नै साँघुरोपनि उत्तिकै । ‘कस्ता कस्ता जंघार तरियो, जाबो बाटो !’ जम्बुदेखि भीमफेदीसम्मको लम्बेदान संर्घषपूर्ण यात्राले उनको मनमा भिन्दै उर्जा र आत्मविश्वास पैदा गरिसकेको थियो ।

जसो तसो ट्रक काठमाडौं आइपुग्यो । उनी गाडी ल्याएको जानकारी दिन तत्कालिन यातायात मन्त्रीसमक्ष गए । आफ्नै कार्यकक्षमा घोत्लिरहेका ति मन्त्री गाडी ल्याइएको सूचना पाएपछि खुब उत्साहित भए । राजाले अह्र्याएको काम फत्ते भएकोमा उनी धन्य थिए । कार्यालय बाहिर फटाफट निस्किए । बडो जोशका साथ अघिल्लो सिटमा बसे । पाटपूर्जा नियाले । र, निष्कर्ष सुनाए, ‘तपाईले गज्जब गर्नुभयो । अग्लो र ठूलो बस ल्याउनुभयो ।’

प्रितमलाई हाँसो रोक्नै गाह्रो भइरहेको थियो । यातायात मन्त्री नै ट्रक र बसको भिन्नता थाहा पाइरहेका थिएनन् । थाहा पाउंन् पनि कसरी ? पहिलो पटक काठमाडौंमा ट्रक देखिएको थियो ।

त्यतिबेला नेपालमा गाडीको पार्टपूर्जा पाइदैनथ्यो । छिस्स केही बिग्रिहाले पटना कुद्नपर्थ्यो। छिटोमा दुई महिनामा गाडी बन्थ्यो । अन्यथा गाडी ठाऊंको ठाऊं नै रहन्थ्यो । उनले नेपालमै पाटपूर्जा पसल खोले । नेपाल पब्लिक मोर्टस सर्भिस नामक कम्पनी स्थापना गरी यातायात सेवा शुरु गरे ।

राजा महाराजाहरु शिकार गर्न गइरहन्थे । उनीहरुलाई गाडी चाहिन्थ्यो । दरबारबाट खबर आउँथ्यो । प्रितमले सहजरुपमा गाडी उपलब्ध गराउंथे । यसरी दरबारसँगको सम्बन्ध झन्झन् झ्याँङ्गिदै गयो ।

नेपालमा खाद्य संकट

नेपालको पहाडी जिल्लामा खाद्य संकट चरम भयो । भारतले नेपाललाई १० हजार टन खाद्य सामाग्री उपलब्ध गराउने सहमति भयो । खाद्य सामाग्री भारतले सित्तैमा दिने, नेपालले ढुवानी खर्च उपलब्ध गराउने सहमति भएको थियो । भारतीय सेनाले सामान ल्याउंने जिम्मा पाएको थियो । सामान ल्याँदाको खर्च सामानको भन्दा बढी भइरहेको थियो । समयमा पनि आयात आइरहेको थिएन ।

काले बाजे भनेर चिनिने बिष्णुमणि नामका अंचलाधीश थिए । उनले प्रितमसिंहलाई जहाँ हो त्यहींबाट दरबारतर्फ लाग्न खबर पठाए । गाडीमा राखेर उनलाई दरबारतर्फ लगियो । प्रत्येक चेकिङ प्वाइन्टमा एकजना प्रहरी उनको गाडीमा थपिन्थे । उनी केही सोच्नै सकिरहेका थिएनन् । ‘म गइहाल्छु नि । किन तपाईहरु चाहियो ?’ उनले मनको अफ्ठयारो बिसाए । ‘हामीलाई सँगै आउनु भन्ने आदेश छ ।’ प्रतिउत्तर प्राप्त गरे ।

दरबार पुगेपछि राजा महेन्द्रले स्पष्टसँग प्रस्ताव राखे । नेपालमा यातायात संजाल विस्तार गर्न राजाले आग्रह गरेका थिए । व्यवसायीलाई यो भन्दा ठूलो अफर के हुन्छ ? त्योपनि शक्तिशाली राजाबाट । राजा भारतीय सेनाको ढुवानी खर्च र ढिलासुस्तीबाट आजित भएका थिए । प्रितमले सोझै प्रस्ताव गरे, ‘मलाई यातायात सेवा विस्तार गर्न केही कठीनाइ छ । तपाईले मलाई कम्तिमा दुई सय ट्रक ल्याउन अनुमति दिनुपर्छ र त्यसको भन्सार शुल्क मिनाहा हुनुपर्छ ।’

राजाले सहमति जनाइहाले । तोक आदेश लाग्यो । दरबारको तोक आदेशपछि कर्मचारीतन्त्रले प्रितम सिंहलाई पूरै सहयोग ग-यो । १५ दिनमै नेपालमा दुई सय ट्रकको लस्कर छिर्यो । भनेको समयमा सोचेभन्दा सस्तो मूल्यमा भारतको अनुदान नेपाल भित्रियो । नुन, तेल, चामल, चिनी आदिइत्यादि पहाड पुग्यो । फर्केर हेर्दा प्रितम सिंहलाई ठूलै धर्म कमाएजस्तो लाग्छ ।

नेपालको विकास र प्रितम सिंहको योगदान

‘नेपालको विकासमा हिसावै गर्ने हो भने २५ प्रतिशत योगदान मेरो छ ।’ एउटा व्यक्तिको यस्तो दाबी, कसरी पत्याउनु ? प्रितमले योगदानको बहिखाता पल्टाउन थाले । ‘पूर्वपश्चिम महेन्द्र राजमार्गलाई चाहिने सामाग्री मैले ढुवानी गरेको हुँ । साल्ट टेड्रिङ र नेपाल आयल निगम मेरै बलमा खुलेको हो ।’ उनी थामिनेवाला थिएनन्, ‘त्रिशुली हाइड्रोका लागि सामान मैले नै पु¥याएको हुँ, बीरगंज–नारायणगढ–काठमाडौं सडकका लागि सामान मैले नै बोकेको हुँ । पश्चिम धनगडीदेखि डडेल्धुरासम्मको बाटो…..।’

देशसँग अर्को विकल्प थिएन । उनले नेपाल आयल निगमको प्रयोजनका लागि १०० वटा टयाङ्कलरी ल्याएका रहेछन् । त्यसैको जगमा निगमको स्थापना भएको रहेछ । बाटो बनाउनका लागि बाटो नबनेका ठाऊँमा उनका ट्रक गुड्थे । कैयौं ट्रक खोलामा खस्थे । ‘दिनउमेरका कति चालक त्रिशुलीमा खसे’ स्मृतिमा रहेका ति दुखःद प्रसंग व्यक्त गर्दैगर्दा उनका आँखा पुनः रसाए ।

बिषयान्तर गर्दै प्रितमले भने, ‘यातायात क्षेत्रमा मैले कम्तिमा पनि १० हजार जनशक्ति उत्पादन गरेँ । शुरुमा जम्बुकाश्मिरकै चालक थिए । सहयोगी नेपालीले ट्रक चलाउन सिके । अहिले उनीहरु करोडपति अरब पति भएका छन् ।’
केही महिना पहिले उनको गाडी भीर मुन्तिर खस्यो । उनको पालामा मान्छेले नै तान्नुपथ्र्यो । अहिले त पुलर छ, तुरुन्तै तान्न सकिन्छ । पुलरवालाले गाडी तानिदिए । उनले भाडा सोधे । पुलरधनीले उनको पाऊ छुन खोज्दै जवाफ फर्काए, ‘मैले गूरु दक्षिणा फर्काउन पाएँ । तपाईको ट्रक सिकेर म यो ठाऊँमा आइपुगेको हुँ ।’ प्रितमले नचिनेपनि प्रितमलाई चिन्ने धेरै छन् । उनी ति व्यक्तिको अनुग्रहले भावविभोर भए । ‘यही माया हो, मैले नेपाल छाड्न नसक्नुको कारण । जम्बुको त्यो साम्रज्य किन छाडिस् भनेर प्रश्न गर्ने त्यहाँका बासिन्दालाई यस्तै जवाफ दिने गरेको छु ।’

अनौठा अनुभव

ट्रकबाट सुरु भएको उनको यातायात यात्रा बसमा पनि फैलियो । उनी पश्चिम नेपालको नेपालगंज धनगडीमा बस संचालन गर्दाको अनुभव कहिल्यै भुल्न सक्दैनन् । बस देख्दा मान्छेहरु भाग्थे । कोही छुन आउंथे । बस थरथराउँदा उनीहरु तर्सन्थे । भाडा पर्दैन चढ भन्दापनि मान्छेहरु चढ्दैनथे । पाप लाग्ने भन्दै उनीहरुले बसलाई ढोग्दथे । कुनैबेला अजिब रहेको बस सेवा अहिले जीबनशैली बनेको छ । यसको जग खन्न पाएकोमा उनलाई गर्व लाग्छ ।

प्रितम कुपोण्डोलस्थित गुरुद्धारको संस्थापक हुन् । कुनैपनि गुरुद्धारको सबैभन्दा सानो उमेरमा अध्यक्ष भएको र सबैभन्दा लामो समय अध्यक्ष हुने रेकर्ड उनकै नाममा रहेको छ । विश्वभरका शीख समुदायका लागि उनी आर्दश मानिन्छन् । उनलाई विश्वभर फैलिएका शीखहरुको साझा संस्थाले आर्दश पुरुषका रुपमा सम्मानपनि गरेको छ ।

शिक्षा क्षेत्रमा योगदान

प्रितम नेपाल आउँदा हुलाक कार्यालय भनेको एउटामात्रै थियो, त्योपनि लैनचौरस्थित भारतीय दुतावासमा । दुतावासभित्र रहेको त्यही हुलाकमार्फत नेपालका सरकारी गैरसरकारी चिठीपत्र बाहिरफेर आदनप्रदान हुन्थे । अहिले हातहातमा मोबाइल इन्टरनेट देख्दा उनलाई अचम्म लाग्छ ।

सूचना र प्रविधि तथा विकासको पहुंचसँगै मान्छे जटिल बन्दै गएको उनले अनुभुति गरेका छन् । पहिले निरक्षर हुँदा मान्छे सोझा रहेको तर साक्षर भएपछि जटिल बन्न थालेको उनको अनुभव छ ।

प्रितमको विचारमा मान्छे शिक्षित भएर पुग्दैन, ज्ञानी बन्न सक्नुपर्छ । यसैलाई दृष्टिगत गरी शिक्षा क्षेत्रमा हात हालेको उनको भनाइ छ । कुरैकुरामा चोभारस्थित मोर्डन इन्डियन स्कुल उनैले स्थापना गरेको थाहा भयो । अहिले उनको परिवारले शिक्षा क्षेत्रमा लगानी गरिरहेको छ ।

छोरा गुमाएपछि मोडिएको यात्रा

प्रितमले एकमात्र छोरालाई युवावयमै गुमाए । त्यसपछि उनमा सेवाभाव झनै प्रगाढ बनेर आयो । ‘भएको एउटा छोरा त गयो, मरिलानु के नै छ र् ?’ यो अनुभव उनले आफ्ना नातिनातिनालाई सुनाउने गरेका छन् । उनका छोराले कपडा आयात निर्यातमा हात हालेका थिए । छोटो अवधिमै राम्रो उपलब्धी हाशिल गरेका थिए । तर, नियतीले उनलाई टपक्कै चुंडेर लग्यो । उनले नेपालको नागरिकता लिएका छैनन् । तर, उनको नातिनातिनाले नेपालको जन्मसिद्ध नागरिकता लिएका छन् । एउटा नाति अमेरिकामा छन् । अर्का नाति अंगद सिंहले नेपालमै विद्यालय संचालन गरिरहेका छन् । अंगदको विद्यालय भुकम्पका बेला सबैभन्दा बढी सहयोग गर्ने विद्यालयका रुपमा पुरस्कृत भयो । अंगद भन्छन्, ‘हजुरबुबाको योगदानलाई हामी नयाँ ढंगले विस्तार गर्न चाहन्छौं । हिजोको दिनमा यातायात आवश्यक थियो । आजको दिनमा शिक्षा । हामी गुणस्तरीय शिक्षामा जोड दिइरहेका छौं ।’

महेन्द्रदेखि प्रचण्डसम्म

प्रितम नेपाल आउँदा महेन्द्रको युग प्रारम्भ भएको थियो । एक प्रतिष्ठित भारतीयको नजरमा महेन्द्र कस्ता थिए ? यो कतुहलता उनले सहजै मेटाइदिए । महेन्द्रजस्तो चतुर र राष्ट्रवादी नेता अर्को नदेखेको उनले प्रष्ट गरे । ‘महेन्द्रको दूरदर्शीता अभुतपूर्व थियो । न उनी भारतबिरोधी थिए नत चीनमुखी । उनी मात्र नेपालमुखी थिए ।’ महेन्द्रका बारेमा बर्णन गर्दै गर्दा उनी झन् उत्साहित सुनिए, ‘महेन्द्रले नेपालको पक्षमा भारत र चीन दुबैसँग काम लिन सक्थे । नेपालमा रहेको भारतीय सेनाको टुकडी भारतलाई मनाएर फर्काउन सक्ने उनको क्षमता कस्तो होला ?’

भारतले महेन्द्रमाथि ठूलै दबाब हालेको उनले भुलेका छैनन् । कोदारी राजमार्ग नबनाउनका लागि भारतले पूरै बल लगाएको भएपनि महेन्द्रकै बुद्धिमत्तापूर्ण शैली राजमार्ग बनेको उनले खुलाए । नेपाल र महेन्द्रको पक्षमा धारणा राख्दै गर्दा उनलाई सोधियो, ‘तपाईलाई नेपाल प्यारो कि भारत ?’

प्रितमका लागि यो प्रश्न कडा होला भन्ठानेको होइन रहेछ । उनले सरल शैलीमा जवाफ दिए, ‘जहाँ जीबनका ६० बर्ष बिताइयो, जहाँ जीबनको उर्जा सकियो, त्यो ठाऊँको माया अरु कुनै ठाऊँसँग तुलना नगरेकै बेश ।’ नागरिकताले भारतीय प्रितमको नेपाल प्रेम प्रष्ट भयो ।

युवावयको प्रारम्भमा उनले कहिल्यै नअस्ताउने ठानिएको राजतन्त्रका शक्तिशाली राजा महेन्द्रसँग उठबस गरे । जीबनको उत्तरार्धसम्म आइपुग्दा उनले राजतन्त्र गल्र्यामगुर्लुम ढलेकोपनि देखे । गणतन्त्रका लागि सशस्त्र युद्ध गरेका प्रचण्डसँग पछिल्लो समय उनको भेटघाट भइ रहन्छ । ‘तपाईलाई प्रचण्डसँग असहज लाग्दैन ?’ प्रितमले अनुभव सुनाए, ‘युद्धकालमा प्रचण्डजीहरुले धेरै ठाऊँमा तोडफोड गर्नुभयो । तर, शीखहरुलाई कहिल्यै केही गर्नुृभएन । उहाँहरुका साथीहरुले संवेदनशील ठाऊँमा जाँदा शीख ड्राइभर खोज्नुहुन्थ्यो । हामी इमान जमानमा चल्छौं । हामी न कसैसँग झुक्छौं । न कसैको बिगार गर्छौं ।’

प्रचण्डलाई उनले शान्ति प्रक्रियामा आएसँगै भेटेका हुन् । पहिलो भेटमै उनले प्रचण्डसँग इतिहासका धेरै पाटा खोलेका थिए । दंग परेका थिए प्रचण्ड । आंतकको नाम बनेका प्रचण्ड त्यसरी सहजै प्रस्तुत होलान् भन्ने उनलाई विश्वासै थिएन । सुरैसुरमा प्रचण्डलाई अनेक सल्लाह थिए, जुन कुरा तात्कालिक सन्दर्भमा प्रचण्डलाई अप्रिय लाग्नपनि सक्थे । घर आएर उनले नाती अंगदलाई प्रचण्डसँगको छलफल सुनाए । त्यतिबेला झस्किएका अंगदले अनुभव साट्दै भने, ‘सुन्न त सुनाए बुढाले, प्रचण्डले के गर्ने हुन् भन्ने लाइरह्यो ।’

अहिले प्रचण्डको परिवारसँग उनीहरुको भावनात्मक सम्बन्ध जोडिएको छ । उनीहरुकै एक किन्नर गार्डेनमा प्रचण्डका १३ महिने नवनाति भर्ना गरिएका छन् । परिवारसँग नियमितजसो संवाद भइरहन्छ ।

नेपाल अावाजबाट लिएकाे

 

photo

NOC1-250x300