‘मर्न तयार भएपछि अरु कुरा त मामुली ! ’

Bhairav-Risal-New_810-768x460सडकतिर सानो काँठीको पाको मानिस हातमा केही च्यापेर फूर्तिलो चालमा हिँड्छ । कहिले कार्यक्रमतिर अतिथि र वक्ता बन्न पुग्छ, कहिले रेडियो कार्यक्रममा आफू समान र आफूभन्दा वृद्धहरुसँग ‘उहिले बाजेको पालामा’ उल्कै गरियो है भनेर खितखिताउँदै बात मार्छ ।

कपालमा हिउँको थुप्रो थपक्क बसे पनि सबैले उसलाई दाइ भनेर सम्बोधन गर्छन् । ऊ झन् जवान मनोभावमा सक्रिय भइरहन्छ ।
अब त्यो फूर्तिलोपन र सक्रियता सम्झनाको ऐनामा सीमित भएको छ । भैरव रिसाल अचेल सडकमा हिँडिरहेका भेटिँदैनन् । कार्यक्रमतिर पनि कम जान्छन् । रेडियोको नियमित कार्यक्रम र लेखन कर्म छाडिसके । त्यो विगतको चल्तापुर्जा भैरव रिसाल आफ्नै त पूर्वरुप हो नि भन्दै चित्त बुझाउँछन् ।

अनामनगरको निवासमा पत्नी सुशीला, छोरा-बुहारीहरु र नातिनीको साथ उनको सिंगो दुनियाँ बनेको छ । ‘रिटायर्ड नर्स’ पत्नी आफैं रोगले झिरिप्प गलेकी छिन्, तर हरदम पतिको स्याहारमा लागिरहेकी हुन्छिन् ।

पहिलो संसदीय पत्रकारको दिनचर्या

उमेरको घुम्तीमा अहिले ज्यान सुस्ताए पनि रिसालले आफ्नो समयमा खूबै लागिमेली गरे । त्यो पत्रकारिता पेशामा होस् वा सामाजिक कार्यमा । उनको नामसँगै वातावरण पत्रकार, सामाजिक अभियन्ता, राजनीतिक र शैक्षिक जागरणका सेतु लगायत अनेक परिचयको फुर्को जोड्न सकिन्छ ।

पहिलो संसदीय पत्रकारको चिनारी बनाएका उनले त्यसभन्दा अगाडि संसद्को पूर्वरुप सल्लाहकार सभाको पनि रिपोर्टिङ गरेका थिए । सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति ९रासस० मा काम गर्दा देश-विदेशका कुरा खोतले ।

जीवनमा अब यस्तो गर्न पाए हुन्थ्यो भन्ने उनको मनमा केही छैन । आफ्नो यात्राप्रति सन्तोक छ, ‘सक्ने बेलामा मैले गर्ने योगदान गरेँ । आफ्नो समयमा म्याक्सिमम गरेको हुँ ।’

एक समय त्यसरी देश-दुनियाँ चहार्ने रिसाल अहिले ‘कोठे पाठक’ भएका छन् । उनको बसिबियाँलो भन्नु नै पढ्नु हो । कोठामा पढेर बस्छन् । घरमा आएजति तीन-चारथरी पत्रिका शिरदेखि पुछारसम्म एक अंश नछाडी पढिसक्छन् । तर, समस्या छ, पढेको कुरा बिर्सिहाल्छन् ।

उनले दिनचर्याको महत्वपूर्ण खण्ड सुनाए, ‘पत्रिका पढ्न बस्दा मलाई कुन मन पर्ने र कुन नपर्ने भन्ने हुँदैन । सुरुदेखि पछिसम्मका सबै समाचार र लेखहरु पढ्छु । तर, पढ्ने बिर्सने, पढ्ने बिर्सने हुन्छ । हिजो पढेको कुरा आज आइपुग्दा पढेको हो कि हैन भन्ने लाग्छ ।’

पढेका कुरा बिर्सिए पनि उनी एकचोटि भेटेका मान्छे भने बिर्सिँदैनन् ।

रिसालले आफ्नो उमेरका मानिस अपवादमा मात्रै सक्रिय देखेका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष छुने दिशामा छन् । उनी भने ८९ मा हिँडिरहेका छन् ।

८० नाघेको उमेरलाई उनी कठिन मान्छन् । झन् ९८ वर्षीय राष्ट्रकविले वर्षौंअघि ‘ऋतम्भरा’ महाकाव्य लेख्न थाले पनि अहिलेसम्म पूरा नगरेको देख्दा उनी आत्तिन्छन् । ‘यो उमेर भइसक्यो, त्यो सिध्याए हुन्थ्यो’, उनी समभाव राख्छन् ।

यो उमेरका मानिसमा सामान्यतया नाक रसाउने, आँसु आइराख्ने जस्ता समस्या हुन्छन् । रिसाललाई भने यस्तो केही समस्या छैन । तर, डेढ वर्षयता हात काम्न थालेको छ । लेख्नु त परको कुरा, आफ्नो हस्ताक्षर गर्न पनि गाह्रो हुन्छ । पढेको कुरा बिर्सने भए पनि दिमागले अलिअलि काम गरिरहेकै उनी बताउँछन् ।

हात काम्ने समस्याकै कारण उनले श्रमिक साप्ताहिकमा लेख्दै आएको स्तम्भ डेढ वर्षयता बन्द गरेका छन् । त्यस्तै, ०५५ सालदेखि सक्रिय रहँदै आएको रेडियो सगरमाथामा ‘उहिले बाजेको पालामा’ कार्यक्रमलाई पनि त्यही बेला विश्राम दिए । अहिले हरेक मङ्गलबार बिहान रेडियोमा १० मिनेट जति बोलेर आफ्नो तलतल मेटाउने गर्छन् । त्यस क्रममा समसामयिक विषयमा घरबाटै फोनमार्फत एकोहोरो कुराकन्था सुनाउँछन् ।

उनी हातको उपचार गर्न चिकित्सककहाँ पुगेका थिए । तर, कुनै रोगले भन्दा उमेरकै कारण यो समस्या आएको थाहा पाए ।

नभएको कुरामा भन्दा भएको कुरालाई उनी आफ्नो सम्पत्ति मान्छन्, ‘अहिलेसम्म दाँत आफ्नै छ, किनेको छैन । कान अलिकति मधुरो भएको छ । सबभन्दा सकारात्मक चाहिँ बोलीमा टाठोपन अझै कायमै छ ।’

खाता बिनाको जीवन

निकै वर्ष अगाडिको कुरा हो, रिसालले एक जना साथीसँग बात मार्ने क्रममा कुरैकुरामा आफ्नो दुःख बिसाएका थिए, ‘जिन्दगीमा दुःख पाइन्छ कि १ पैसा नै छैन ।’

ती साथीले उनलाई ढाडस दिएका थिए ‘तिमीले दुःख पाउँदैनौ । त्यसैले तिमीलाई पैसा नै चाहिँदैन ।’

नभन्दै त्यस्तै भएको छ जीवन । उनले कतै पैसा जोहो गर्नुपरेको छैन । घरमा परिवारबाट पाउने माया र शुभेच्छुकहरुको सद्भावलाई नै सम्पत्ति मान्छन् । उनले अहिलेसम्म बैंक खाता खोलेकै छैनन् ।

दुई वर्षअघि सरकारले उनलाई दुई लाख रुपैयाँको राष्ट्रिय पत्रकारिता पुरस्कार दियो । उनको हातमा ‘एकाउन्ट पेयी चेक’ आइपुग्यो ।

उनले आग्रह गरे, ‘मेरो त बैंक खाता छैन । मलाई क्यास नै उपलब्ध गराइदिनुस् ।’ पछि उनले रकम नै पाए ।

खाता नभएको जीवनमा उनलाई अहिलेसम्म ठूलो रकमको खाँचो परेकै छैन ।

बैंकमा एक पैसा नभएका उनको आफ्नै खाले हिसाब छ, ‘मलाई ठूलो रोग लाग्दैन भन्ने छ, ठूलो रोग लाग्नलाई धेरै पैसा चाहिन्छ । ठूलो रोग नै लाग्दैन, किनभने पैसा नै छैन ।’

यति भनेर उनी धित खोलेर हाँसे ।

साढे दुई तले घरको कौशीमा गफिइरहँदा उनी निर्धक्क देखिन्छन् । भक्तपुरको गुण्डुमा जन्मिएका उनी दधिकोट हुँदै यहाँ सरेका हुन् ।

अनामनगरको यो घर उनले बडो दुःखले आर्जेका हुन् । राससको जागिर छाड्दा ०४२ सालमा उनले उपदान वापत एक लाख ७९ हजार रुपैयाँ पाएका थिए । त्यसमध्ये ९८ हजार रुपैयाँमा ६ आना २ पैसा जग्गा किनेका थिए । ०४३ सालमा बनाउन सुरु गरेको घर पूरा गर्न १४ वर्ष लाग्यो ।

अहिलेको जीवनलाई उनी स्वर्गसँग तुलना गर्छन् ।

‘योभन्दा राम्रो के हुनु रु तीन कक्षामा पढ्दा खुट्टामा चप्पल परेको मान्छे म । अहिले त कथाको स्वर्गै छ नि १’, उनी मुस्कुराए ।

स्वास्थ्य र आहार-विहार

पहिलेको तुलनामा रिसालको स्वास्थ्य खस्किँदै गएको छ । तर, उनकै उमेरका आम मान्छेभन्दा उनले शरीर चुस्त राखेका छन् । यस्तो हुनुमा उनको आफ्नै खाले आरोग्य-रहस्य छ ।

स्वस्थ रहने काइदा उनी सुत्ने र उठ्ने नियमित समयलाई मान्छन् । अपवादमा बाहेक उनी दश बज्दा सुतिसक्छन्, बिहान पाँच बजे उठ्छन् । मोबाइलमा अलार्म सेट गरेका हुन्छन् । उठेर नुहाउँछन् । नुहाउन पहिले सजिलो थियो, अहिले घुँडा दुःखाइले समस्या भएपछि बाथरुममा गोडा चाल्दा बडो सजग हुन्छन् । सन्तुलन नमिलेर लडियो भने उठ्नै नसकिएला कि भनेर होश गर्छन् ।

उनी पहिले शीर्षासनसहित अलि कडै खालका व्यायामहरु गर्थे । बुढ्यौलीसँगै अहिले हाड खिइनुका साथै कमजोर भएपछि तीन-चार किसिमका थेरापी गर्छन् ।

केही समय अगाडि नजिकै हिँडडुल गर्न समेत नसक्ने गरी उनको गोडा दुख्यो । डा। प्रकाश विष्टको सल्लाह लिँदा तीन वटा थेरापी सिकाइदिए ।

‘एक महिनामा काँडा झिके जस्तो भयो । नत्र त उभिन समेत नमिल्ने अवस्था थियो । ती थेरापी गर्न अहिलेसम्म मेरो जिउले धानेको छ’, उनले भने ।

उनलाई रुघाले हत्तपत्त छुँदैन । बिहान चिया ल्याउँदा तुलसीको पत्ता ५र७ वटा चियामै हालेर खाने गर्छन्, यो वर्षौंदेखिको रीत हो । तुलसीको पत्ताकै कारण रुघा नलागेको उनले निष्कर्ष निकालेका छन् ।

अहिलेसम्म कुनै जटिल रोगले उनलाई छोएको छैन । तैपनि ६ थरी औषधि खानैपर्ने अवस्था छ । प्रोस्टेट, रगत पातलो पार्ने, घुँडा दुखेको, ग्यास्ट्रिक लगायतको औषधि खाने गर्छन् । उमेरको असरले रगत बाक्लो हुने र घुँडाको औषधिले ग्यास्ट्रिक बढाउने भएकोले औषधिको मात्रा बढेको हो ।

रिसाल पिरो खान भनेपछि हुरुक्कै हुन्छन् । खाना खाँदा रातो पाकेको खुर्सानी कर्‍याप्प टोक्दा निकै स्वाद आउँछ । खानपानमा आशंका भएपछि उनले डा। दिवाकर शर्मालाई सोधे । चिल्लो र नुनिलो सकेसम्म कम खाने अनि पिरो र अमिलो पचाएसम्म खाए हुन्छ भन्ने सुझाव पाएपछि उनी र खुर्सानीसँग दिल खोलेरै नजिकिएका हुन् ।

‘डाक्टरले नै खान हुन्छ भनेपछि श्रीमतीबाट पनि कुनै रोकटोक छैन’, उनले हाँस्दै सुनाए ।

पहिलो गुलियो मन पर्थ्यो, अहिले मासुमा तृष्णा छ । खसीभन्दा पनि कुखुराको मासु तीन-चार टुक्रा भयो भने मन रमाइहाल्छ ।

एउटै चाहना-खुसुक्क मरियोस्

उमेरले हजुरबा भइसके पनि रिसाललाई धेरैले दाइ भनेर सम्बोधन गर्छन् । उनलाई पनि दाइ भनेकै मन पर्छ । जवान भइराख्ने मनोविज्ञानले यस्तो लागेको होला भन्ने उनलाई लाग्छ ।

चिनजानका बाहिरी मान्छे र पत्रकार भाइबहिनीहरुले त उनलाई दाइ भन्छन् नै, छोराछोरी र ज्वाइँहरुले समेत दाइ नै सम्बोधन गर्छन् ।

‘मलाई फकाउन दाइ भन्नेहरु कम छन् । मनबाटै भन्नेहरु मात्र भन्छन्’, उनी यसलाई पनि सम्पत्तिको रुपमा अर्थ्याउँछन् ।

उनका लागि चिन्ता भनेको मान्छे बिगार्ने मेलो हो । चिन्तारहित दिनचर्याले पनि उनको स्वास्थ्यमा ताजगी भरेको हो ।

उनले आफ्नो जीवनशैलीबारे खुलाए ‘मेरो अब चिन्ता लिने बेला होइन । चिन्ता गरेर त मान्छे बिग्रिगो नि १ बरु यस्तो भयो, अब के गर्ने भनेर उपायहरु सोच्ने हो ।’

कुनै घटना भयो भने अन्तिम परिणाम मृत्यु हुने बुझेपछि उनलाई चिन्ता भन्ने कुरा व्यर्थ रै’छ भन्ने तत्वबोध भएको हो ।

उनलाई ०२१ सालमा क्षयरोग भयो । त्यो बेला यसलाई प्राणघातक रोग नै मानिन्थ्यो । उनलाई अब मरिने भइयो भन्ने लाग्यो । आँखाभरि अँध्यारोको जालो लाग्यो ।

उनको भोगाइले दिएको दर्शन हो, ‘मर्नलाई तयार भयो भने अरु कुरा त मामुली हुँदो रै’छ । सबैभन्दा गाह्रो र पछिल्लो स्थिति कबुल गर्ने हो भने बीचका कुरा सामान्य हुँदा रै’छन् ।’

आफ्नो जस्तो मध्यम कोटिको आर्थिक हैसियत भएका मान्छे ७०र७५ वर्षसम्म बाँच्नुलाई उनी पूर्ण र गुनासोरहित हुने ठान्छन् । उनी आफूलाई त्यही खुड्किलोमा पाउँछन् ।

फलानो मर्‍यो भनेर खबर आउँदा उनी सोध्ने गर्छन्, ‘कति वर्षको ?’

७० भन्दा माथि भन्ने जवाफ आयो भने उनलाई त्यति पीर लाग्दैन । त्यसभन्दा मुनिको भयो भने चाहिँ मर्नु नपर्ने मान्छे मरेछ भनेर चुकचुकाउँछन् ।

अक्सर मानिसहरुले आफ्नो उमेर स्विकार्छन्, तर मृत्यु स्वीकार गर्दैनन् । यो प्रवृत्तिले प्रकृतिको रीतलाई अन्याय गरेको उनको बुझाइ छ ।

‘यथार्थलाई बुझेन र मृत्युसँग डरायो भने मान्छे निराश हुन्छ । मैले मृत्यु स्वाभाविक मानेर स्विकारिसकेकाले निर्धक्क बाँचिरहेको छु’, उनको आफ्नै दर्शन छ ।

रिसालको अहिलेको पीर होे, कसरी परिवारलाई भार नहुने गरी बाँच्ने रु लडेर घाइते हुने वा पक्षघात भएर ढल्ने त्यस्तो दयनीय अवस्था नआओस् ।

उनले आफ्नो इच्छा सुनाए, ‘मर्ने कुरा गर्दा मान्छेहरु मन पराउँदैनन् । तर, मलाई खुसुक्क मरुँ भन्ने इच्छा छ, जसरी अस्ति नाटकमा खेल्दाखेल्दै विष्णुभक्त फुयाँलको कति राम्रो मरण भयो ।’

ठूलो बिरामी भए पनि उनको चाहना छ, आफूलाई हेर्न आउने मान्छेलाई मुसुक्क हाँसेर स्वागत गर्न पाइयोस् ।

 

photo

NOC1-250x300