बच्चाहरुले किन ओछ्यानमै पिसाब फेर्छन् ?

1302472437172136181unnamed डा. बिनोद कुमार साह, बालराेग विशेषज्ञ

बच्चाहरुले राति ओछ्यानमै पिसाब फेर्ने समस्या (नक्चुरनल एन्युरेसिस) प्रमुख समस्याहरु मध्ये एक हो । पाँच बर्ष माथिका बच्चाहरुले राती ओछ्यानमा र दिउँसो लुगा भिजाउने गरी हप्तामा कमसेकम दुई पटक पिसाब गर्ने गरेका छन् भने यसलाई नचाहेर पिसाब हुने समस्या (नक्चुरनल एन्युरेसिस) मानिन्छ ।

बच्चाहरुमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको आत्म बिश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोबैज्ञानिक असरहरु पनि पर्न सक्छन् । अर्कोतर्फ समाजमा यसका बारेमा ज्ञान नभएर बालबालिकाहरुको मनोबिज्ञानसँग समबन्धित बिभिन्न समस्याहरु उत्पन्न हुन सक्छन् । ओछ्यानमै पिसाब गर्याे‌ भनेर बच्चाहरुलाई तर्साउने, धम्क्याउने तथा दण्डदिने जस्ता कृयाकलापहरुले आजिवन नबिर्सने किसिमको असर पर्नसक्छ ।

पाँचबर्ष माथिका बच्चाहरुमा १५ देखी २५ प्रतिशतमा यो समस्या देखिएको छ । बालिकाहरुको तुलनामा बालकहरुमा यो समस्या दुईगुणा बढी छ ।

यसका कारणहरुः

  • बंशाणुगत: नचाहेर ओछ्यानमा पिसाब फेर्नुको कारण मध्ये बंशाणुगत कारण प्रथम स्थानमा आँउदछ । आमाबाबु मध्ये कसैमा बाल्यअवस्थामा यो समस्या थियो भने बच्चाहरुमा हुने संभावना ५० देखी ७७ प्रतिशत हुन्छ ।
  • मनोबैज्ञानिक: शौचालय शिक्षा (दिसा पिसाब गर्ने आदत बारे बालबालिकालाई शिक्षित गर्ने ) समयभन्दा पहिले शुरु गर्नु , यसबारे कडा नियमहरु लगाउनु , घरमा नयाँ बच्चाको जन्म तथा आगमन हुनु , नयाँ घर सर्नु , धेरै माया गर्नु , धेरै हेला र घृणा गर्नु लगायतका कारणहरुले यो समस्या उत्पन्न गर्न सक्छ ।
  • सुत्ने समस्याहरु : मानसिक  विकास उचित रुपमा नभएको कारणले बच्चाहरु गहिरो निन्द्रामा सुत्ने भएकाले पनि यो समस्या देखा पर्दछ ।
  • पिसाबको थैलीको समस्या : पिसाब जम्मा हुने थैलीको क्षमता कम भएको खण्डमा पनि यो समस्या देखा पर्दछ ।
  • पिसाबको संक्रमण, परजिबीहरुको संक्रमण, स्नायु समबन्धि (न्युरोलोजिकल) समस्याहरु, स्वास प्रश्वासमा अवरोध लगायतका बिभिन्न कारणले गर्दापनि यो समस्या देखा पर्दछ ।
  • खानपिनको कारण : राती धेरै खाना खाने तथा पानी पिउने बच्चाहरुमा पनि यव समस्या देखिन्छ ।

उपचार :

यसको उपचारमा सबैभन्दा महत्वपूर्ण कुरो लाज र डरको अनुभूतिलाई कम गराउने, परिवार तथा नजिकका आफन्तहरुले बच्चाहरुसँग आफ्ना अनुभवहरु सुनाउने, बच्चालाई ढाडस दिने र उनीहरुको आत्मबल बढाइदिने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ।

  • बानीजन्य उत्प्रेरणा (बिहेभियरल मोटिभेसन) : बच्चालाई जहिलेपनि सकारात्मक प्रतिकृया दिनुपर्छ । बच्चा राती सुत्नुअघि र सुतिसकेको दुर्इघण्टापछि पिसाब फेराउने । बिहान स्कुल जानुअघि, स्कुलमा र स्कुलबाट फर्केपछि फेर्न लगाउनुपर्छ । बच्चाको साँझको खाना र खानापछि पानी कम पिउन दिनुपर्छ । चिया कफी र क्याफिनयुक्त खानेकुराहरु बढी नुन बढी चिनी भएका खानेकुराहरु खान दिनु हुँदैन । कब्जियतको समस्या छ भने त्यसको निदान तथा उपचार गर्नुपर्छ । धेरै समय टिभि तथा कम्प्युटरमा बसेर खेल्न दिनु हुँदैन । पिसाब गर्दा बच्चाहरुको गोडाले भुँइमा छोएको हुनुपर्छ । राति पिसाब फेर्न जाँदा सजिलो बनाइदिनका लागि बत्ति चप्पल लगायतका ब्यवस्था गरिदिनुपर्छ । घरमा पारिवारिक कलह बच्चाको अगाडी नगर्ने ठूलो स्वरमा बोल्नु हुँदैन । पिसाब फेरेकै कारण बच्चालाई दोष लगाउनु हुँदैन । बच्चालाई सजाय दिनु हुँदैन । यसो गर्दा उसको समस्या थप बिग्रेर जान सक्दछ । टिभिको भोल्युम कम गर्नु पर्दछ । बच्चालाई उमेर। अनुसारको फिल्म हेर्न दिनु पर्दछ । बच्चा घरमा हुँदा हरर मुभि तथा बार मुभि हेर्नु हुँदैन । राति पिसाब गरेमा पानी परेको फोटो वा स्टिकर भित्ताम टाँसिदिने र पिसाब नफेरेमा घमाइलो दिन वा स्माइलिङ फेसको स्टिकर हरेकदिन टाँसिदिनुपर्छ । पिसाब फेरेको ओछ्यानलाई सर सफाइ गर्न बच्चालाई पनि सहभागि गराउदा उसलाई राम्रो अनुभुति हुन्छ ।
  • अलार्म उपचार:  पिसाब फेर्नु भन्दा पहिले अलार्म बजाउने बिधिबाट पनि उपचार गर्न सकिन्छ ।
  • पिसाबलाई नियन्त्रण गर्ने बिभिन्न अभ्यासहरुबाट पनि उपचार गराउन सकिन्छ ।

यि बिधिहरु अपनाएमा यस रोगको निदान हुने संभावना ७० प्रतिशत भन्दा बढी रहेको छ । यदि यि बिधिहरु अपनाउँदा पनि समाधान भएन भने उपचारका लागि बालरोग बिशेषज्ञसँग सल्लाह लिनुपर्ने हुन्छ ।

बच्चाले नचाहेर पनि राति पिसाब फेर्नु कुनै दोष हैन । यो साधारण समस्या हो । जसलाई बच्चा परिवार समाज र परेमा डाक्टर समेत मिलेर समाधान गर्न सकिन्छ ।

डा साह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।

 

 

photo

NOC1-250x300