पाँच नम्बर प्रदेश नटुक्रिँदाका आर्थिक लाभ

डा. शिवराज अधिकारी1412509887shiva-raj-adhikari

नेपालको संविधान, २०७२ पूर्ण कार्यान्वयनका लागि अहिले सबैभन्दा ठूलो तगारो प्रदेशको सीमांकन देखिएको छ । यसमा पनि पाँच नंबर प्रदेशको सीमा कुन हुने, तराई र पहाडको भूभाग एउटै प्रदेशमा राख्ने वा नराख्ने भन्ने विषयमा विभिन्न दलका आआफ्नै अडान देखिएको छ । दलभित्रै पनि चर्कै मतभेद देखिएको छ ।

सत्तासीन दलले संविधान संशोधनका लागि ल्याएको विधेयकमा तिनकै दलका सांसदको समेत कडा विरोध रहेको सुनिंदैआएको छ । धेरै विवाद आर्थिक वा सामाजिकरूपमा भन्दा पनि राजनीतिक र भावनात्मक कारणले बढी चुलिएको देखिएको छ ।

कुनैपनि समाजको मुख्य उद्देश्य त्यस भूभागमा बसोबास गर्ने सर्वसाधारणको हित गर्नु हो । राजनीतिक, सामाजिक र आर्थिक नीतिनियम कुन क्षेत्रमा कुन व्यक्ति वा कुन राजनीतिक दलको बर्चस्व रहन्छ भन्ने दृष्टिबाट नभई सम्पूर्णरूपमा जनताको जीविकोपार्जन सहज पार्ने ढंगले बनाइनुपर्छ । प्रदेश निर्माण आर्थिक सामाजिक रूपान्तरणको लागि आवश्यक मानिएको छ ।

र, प्रदेश आफैँमा साध्य होइन साधनमात्र हो भन्ने बुझाइको पनि कमी देखिएको छ । आर्थिक भाषामा कुरा गर्ने हो भने कुन प्रदेश आर्थिकरूपमा सबैभन्दा सशक्त हुनसक्छ ? कुन प्रदेशले नेपालको विकासमा अरूलाई पनि सहयोग गर्न सक्छ ? कहाँ बढी रोजगारी सिर्जना र बढी उत्पादन प्राप्त गर्न सकिन्छ ? भन्ने अध्ययनै नगरी कुन प्रदेशको सिमाना कसरी निर्धारण गर्नुपर्छ भनेर दाबी गर्नु वा माग गर्नु भविष्यका सन्ततिविरुद्धको षड्यन्त्रमा सहभागी हुनुसरह हो ।

तसर्थ, आर्थिक दृष्किोणले हेर्दा प्रदेशको स्वरूप जनसंख्याको वितरण वा भौगोलिक विभाजनमात्र होइन, वस्तु वा सेवाको पहुँच हो । आर्थिक संकुचन होइन उत्पादन एकाइहरूको विस्तार हो ।

स्थिरता होइन  गतिशीलता हो । समाज समाजबीचको समरूपी समाजको गठन होइन ऐक्यबद्धता हो । विभाजन होइन सम्पूर्ण सहभागिता हो । अविभाज्यताको पुनव्र्याख्या हो । प्रादेशिक संरचना राजनीतिकरूपले विकेन्द्रीकरणको अबधारणा भए पनि प्रादेशिक अर्थतन्त्रले आर्थिक एकीकरणलाई प्राथमिकता दिन्छ ।

आर्थिक एकीकरणको अवधारणाले प्रदेशभित्रको आर्थिक एकीकरणमात्र होइन प्रदेश–प्रदेशबीचको आर्थिक सम्बन्धलाई विशेष प्राथमिकता दिन्छ । आर्थिक एकीकरणबाट आर्थिकरूपमा पछाडि परेका समुदाय वा क्षेत्रलाई समावेश गरिन्छ अनि समावेशी एवं दिगो विकासको अवधारणालाई अगाडि बढाइन्छ ।
यस लेखकले प्रदेश नम्बर ५ को आर्थिक विकासका सम्भावना र चुनौतीका विषयमा अध्ययन गरेर निकालिएको निष्कर्षलाई यहाँ लेखका रूपमा प्रस्तुत गरिएको छ ।

यसरी गरिएको अध्ययनका आधारमा पाँच नम्बर प्रदेशका जनता र जनसंख्या, भौगोलिक अविभाज्यता, सामाजिक पुँजी, तुलनात्मक लाभ, समग्र देशको विकास आदि विषयमा यस प्रदेशको संभावना अध्ययन गरियो ।

जनसंख्यागत रूपमा हेर्दा कति संख्यामा कुन जाति वा धर्मका मान्छे बस्छन् भनेर हेर्ने एउटा गलत प्रचलन देखिएको छ । आर्थिकरूपमा त्यसरीभन्दा कुनै भौगोलिक क्षेत्रमा वा कुनै एक प्रशासनिक क्षेत्रमा बसोवास गर्ने विभिन्न थरीका मान्छेले एकअर्कालाई कसरी सहयोग पु¥याउँछन् भनेर अध्ययन गरिन्छ ।

जस्तो कुनै गाउँमा सबैजना माछा मार्नमात्र जान्ने वा खेती गर्नमात्र जान्नेको बसावास धेरै छ भने लुगा सिउन जान्ने वा बच्चालाई पढाउन जान्ने मान्छेको प्रवेश भए समाज पूरैलाई सहयोग पुग्छ । तराई क्षेत्रमा बसेका बासिन्दाले एक प्रकारको उत्पादन गर्छन् भने पहाडी क्षेत्रकाले अर्कै प्रकारको उत्पादन गरिरहेका हुन्छन् ।

यसरी एक अर्काको उत्पादनको जरुरतले पनि यहाँका वासिन्दालाई निकट ल्याउँछ । त्यस्तै संस्कृति, चाडबाडआदिको विविधताले एक प्रकारको संस्कृति मनाउनेका लागि सामग्री उत्पादन अर्को तरिकाले गर्ने र एक अर्काको परिपूरक हुने काम पनि हुनसक्छ ।
विकास आयातित वस्तु होइन मानव कल्याणको लागि स्थानीयरूपमा विकसित ज्ञान, विधि र विभिन्न अध्ययन अनुसन्धान, परीक्षण एवं जानकारीको आदानप्रदानबाट परिष्कृत परिवर्तन विकास हो ।

समाजले एक अर्काको ज्ञान र अनुभवबाट आफ्नो विश्वास र मान्यता परिष्कृत गर्छ । समरूपी समाजभन्दा बहुरूपी समाज गतिशील हुन्छ । समरूपी समाजमा ज्ञान अनुभव र मान्यता आदानप्रदान गर्ने र छलफल गर्ने विषयहरू एकै किसिमका हुन्छन् । एकै किसिमको सोच हुन्छ । एकै किसिमको विश्वास हुन्छ ।

एकै किसिमको विधि हुन्छ । थप ज्ञान र अनुभवको साटासाट हुने सम्भावना कम हुन्छ । समरूपी समाजभन्दा विविधतायुक्त  समाजमा ज्ञान, विधि र अभ्यासलाई परिष्कृत गर्न कम समय लाग्छ । समरूपी समाज स्थिररूपको हुन्छ ।

गतिशील समाज सृजनशील र उत्पादनशील हुन्छ । हाम्रै देशमा समरुपी समाज र विविधतायुक्त समाजको विकास प्रक्रियालाई तुलना गरेर हेर्न सकिन्छ ।
भौगोलिक अविभाज्यताले जसरी आर्थिक विकास र प्रगतिमा सहयोग गर्छ भौगोलिकरूपमा टुक्रिँदा कुनैपनि अवस्थामा सम्भव हुँदैन । उदाहरणका लागि पाँच नंबर प्रदेश चीन र भारत जोड्ने सबैभन्दा नजिकको बाटो बन्नसक्छ ।

कुनै बेलाको ‘सिल्क रोड’ पनि यही प्रदेशको मुस्ताङ, काली गण्डकी हुँदै बुटवलको सैनामैना भएर जान्थ्यो भन्ने पनि बिर्सनु हुँदैन । यस्तो सहज कोरिडोरलाई फुटाएर दुईवटा प्रदेश बनाइयो भने हुनसक्ने आर्थिक फाइदा लिन त्यति सहज हुँदैन । त्यस्तै काठमाडौंबाट पोखरा र लुम्बिनीसम्मको रेलमार्गबाट यस क्षेत्रमा ठूलो विकास हुने संभावना रहेको छ ।

यसका लागि पनि एकीकृत रहन धेरै जरुरी देखिन्छ । आधुनिक सिँचाइ प्रणालीद्वारा सिँचाइ सुविधा उपलब्ध गराउन पनि प्रशस्त सम्भावना छन् बबई, बबई भेरी डाइभर्सन, कालिगण्डकी तिनाउ, राप्ती कपिलवस्तु, माडी–दाङ उपत्यका  डाइभर्सन, र अन्य मझ्यौला एवम् साना सिँचाइहरू केही उदाहरण हुन् । पर्यटन विकासको पूर्ण प्याकेज तयार गर्न यस प्रदेशले ठूलो सम्भावना दिएको छ ।

भौगोलिक विविधताले पर्यटकलाई २ – ३ घन्टाको बीचमा फरकफरक प्राकृतिक स्वाद प्रदान गर्न संभव छ । पर्यटन विकासमा यो प्रदेश तुलनात्मक लाभ भएको क्षेत्र हो ।
सामाजिक पूँजी पनि यस क्षेत्रको अर्को ठूलो सम्पत्ति हो । साधारणतः सामाजिक पुँजीको मापन गर्न सकिँदैन तर आर्थिक विकासका लागि यसको ठूलो महत्व हुन्छ । सामाजिक पुँजी भनेको आर्थिक र सांस्कृतिक पुँजीको संयुक्तरूप हो ।

ज्ञानको साटासाट, अनुभवको आदानप्रदान, सामाजिक विविधता र एक अर्काप्रतिको विश्वासले सामाजिक पुँजी निर्माण गर्छ । जुन क्षेत्रमा सामाजिक पुँजी समृद्ध हुन्छ सो स्थानमा लगानी आउँछ, उद्योग धन्दाको निरन्तरता हुन्छ र बजारको अभिवृद्धि पनि हुन्छ ।

पाँच नंबर क्षेत्रको तराई र पहाडी क्षेत्रको जुन प्रकारको तादाम्य देखिएको छ र जसरी पहाडी क्षेत्रका मानिसले समथर भूभागमा बस्ती बसाएर सम्पूर्ण क्षेत्रको विकासका लागि काम गरेका छन् र जसरी तराई क्षेत्रका वासिन्दाले यस क्षेत्रमा शान्ति, सद्भाव र भातृत्व विकास हुन सहयोग गरेका छन् ती सबै हिसाबले यहाँ सामाजिक पुँजी अत्यधिक छ भन्न सकिन्छ ।

प्रदेश नम्बर ५ मा रहेको ऐतिहासिक, सास्कृतिक वस्तुस्थिति, प्राकृतिक सम्पदा, मानवीय एवम् भौतिक पूर्वाधारको अवस्था, कृषि औद्योगिक एवम् सेवा क्षेत्रको विकास आदिले प्रदेशको अर्थतन्त्रको स्वरूप निर्धारण गर्छ ।

प्रदेशको आर्थिक आधार सहर र ग्रामीण क्षेत्रको आपसी सम्बन्धमा निर्भर रहेको हुन्छ । प्रदेशको दिगो विकास र ग्रामिण क्षेत्रको विकासमा निर्भर गर्छ । असन्तुलित विकासले प्रदेशको विकासलाई दिगोरूप दिन सक्दैन । गाउँ सहरको आपसी सम्बन्धको मात्रात्मक अवस्थाले प्रदेशले लिनसक्ने प्रतिस्पर्धात्मक एवं तुलनात्मक लाभ निर्धारण गर्छ ।
कुनै पनि क्षेत्रको आर्थिक विकासका लागि तुलनात्मक लाभका क्षेत्रको पहिचान र एक अर्काको तुलनात्मक लाभका क्षेत्र परिपूरक वस्तुमा भयो भने त्यस क्षेत्रले विकासको गतिको नेतृत्व लिन सक्छ ।

पाँच नम्बर प्रदेशमा उद्योगको संचालनमा पहाडी र मधेसीमूलका व्यक्तिको लगानी बराबरजस्तै देखिएको छ भने उद्योगमा चाहिने कच्चा पदार्थको उत्पादनमा पनि सबैथरीको उत्तिकै सहभागिता देखिन्छ । उद्योगलाई चाहिने बिजुलीको उत्पादनमा यो क्षेत्र निकै अगाडि छ भने औद्योगिक वृद्धिमा पनि यस क्षेत्रलाई अन्य प्रदेशले जित्न सकेको देखिदैन ।

त्यस्तै सेवामूलक उद्योगमा यो क्षेत्रको हिस्सा ४९.३ प्रतिशत देखिन्छ । कृषि क्षेत्रमा ४३.२ प्रतिशत र उद्योग क्षेत्रमा ७.५ प्रतिशत देखिएको छ । जीवनस्तर सर्वेक्षणका अनुसार पनि नेपालको औसत प्रतिव्यक्ति आय र यस प्रदेशका जनताको प्रतिव्यक्ति आय करिब समानमा नै देखिएको छ ।

मानव विकास सूचकांकमा यस प्रदेशका जिल्लालाई तुलनात्मकरूपमा हेर्दा रुपन्देही, पाल्पा, नवलपरासी, बाँके, बर्दिया, अर्घाखाँची, दाङ र गुल्मी राष्ट्रिय औसतभन्दा केही बढी नभए पनि हाराहारीमा छन् ।

कम भएका जिल्ला जस्तै कपिलवस्तु, प्युठान, रुकुम र रोल्पाले पनि २०५८ को तुलनामा २०६८ मा निकै प्रगति गरेको देखिन्छ ।
तुलनात्मकरूपमा यातायात सञ्जाल राम्रो भएको प्रदेश हो यो ।

ऊर्जा, यातायात, खानेपानी, सरसफाइ र प्रविधिमा गरिएको लागानीले आर्थिक क्रियाकलापको विस्तारलाई पृष्ठपोषण गर्छ । निजी क्षेत्रलाई थप लगानी गर्न प्रेरित गर्छ ।

गुणस्तरीय पूर्वाधारको विकासले गुणात्मक चक्रको प्रभावबाट कुल आम्दानी, उत्पादकत्व र रोजगारको स्तरमा सकारात्मक प्रभाव पर्छ । पूर्वाधारहरूबीच एक पूर्वाधारले अर्को पूर्वाधारलाई र अर्को पूर्वाधारले अर्को पूर्वाधारलाई सकारात्मकरूपमा थप पूर्वाधार विकासमा सहयोग पु¥याउँछ ।

यसरी पूर्वाधारमा भएको विकासले पूर्वाधारमा जति प्रतिशतले विकास भएको छ त्यति नै प्रतिशतले  आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएका छन् ।

समग्र  राष्ट्रिय  अर्थतन्त्रलाई आर्थिक वृद्धिको सामान्यरूपबाट दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सहयोग पु¥याउँछ । यस प्रदेशको विकासले अन्य प्रदेशको विकासलाई पनि अतिरिक्त लाभ प्रदान गर्न सक्छ ।

भौगोलिक, सांकृतिक, प्राकृतिक स्रोत साधन, उद्यमशीलता, मानवीय पूँजीको विकासआदिका कारणले यस प्रदेशमा हुने विकासले सँगैका अन्य प्रदेशहरूमा पनि सकारात्मक विकास ल्याउन प्रेरित गर्छ । पाँच नम्बर प्रदेश जति अन्य प्रदेशले आफु बाहेकका प्रदेशमा अतिरिक्त आर्थिक लाभ विस्तार गर्ने सम्भावना देखिँदैन ।

तसर्थ यस प्रदेशले समग्र नेपालको आर्थिक विकासको लागि नेतृत्व प्रदान गर्नसक्छ । यस प्रदेशले आफ्नो प्रदेशको संवृद्धिबाट अन्य प्रदेशमा सकारात्मक परिवर्तन ल्याउन वा संवृद्धि वितरण गर्न सक्छ ।

तसर्थ प्रदेश नं. ५ आर्थिकरूपले रणनीतिक क्षेत्र पनि हो । यस प्रदेशको भौगोलिक एवं सांस्कृतिक स्वरूपमा परिवर्तन वा यसको अविभाज्यतामा खलबल आएमा आर्थिकरूपमा ठूलो लागत बेहोर्नु पर्ने र आर्थिक विकासको लागि दशकौँ प्रतीक्षा गर्नुपर्ने हुनसक्छ ।

यसरी आर्थिक विकासका लागि अत्यन्त सम्भावना भएको र भोलिको नेपालको विकासको नेतृत्व गर्नसक्ने क्षेत्रलाई किन टुक्य्राउन खोजिँदै छ भनेर राजनीतिकरूपमा खोजी गर्नुपर्ने जिम्मेवारी त यो देशलाई माया गर्ने सबैको हुँदै हो ।

तर, आर्थिकरूपमा पनि यस प्रदेशलाई टुक्र्यायो भने निकै ठूलो संभावनाको क्षति हुने र भएको आर्थिक विकासमा पनि नकारात्मक असर पर्ने देखिन्छ ।

यो क्षेत्रको विकासले १ देखि ७ प्रदेशसम्मलाई बल प्रदान गर्न सक्ने संभावना जसरी धेरै छ त्यसरी नै यो प्रदेशलाई खण्डीकरण गरेको अवस्थामा सबै प्रदेशमा नकारात्मक असर पर्नजाने हुन्छ ।

पाँच नम्बरको प्रदेशलाई राजनीतिकरूपमा हेरेर विभिन्न दृष्टिकोणले छलफल गरिए पनि आर्थिक रूपमा र अविभाज्य आर्थिक रूपमा हेरेर यसका संभावनाको खोजी गर्न नसक्नु र सो संभावनाबाट जनतालाई प्रत्यक्ष आर्थिक लाभ के हुन्छ भन्ने अध्ययन नहुनु देशकै लागि अत्यन्त प्रत्युदपादक हुने देखिन्छ  ।

 

photo

NOC1-250x300