पत्रकार दासको भूमिकाबाट मुक्त हुनुपर्छ, ज्योतिष बन्नु हुदैन्:वरिष्ठ पत्रकार

patrakar-nepalaaja-01पाका पत्रकारहरु भन्ने गर्छन्–‘अहिले दक्ष पत्रकारहरु नै छैनन् । पत्रकारिता पेशाको आर्कषण खस्किसक्यो । नयाँ पुस्ता पत्रकारितामा आउनै चाहदैनन् ।’ पत्रकारितामा लामो समय क्रियाशिल भएका अग्रज पत्रकारहरुको यस्तो भनाइबाट प्रस्टै हुन्छ, पत्रकारिता क्षेत्रमा अहिले दक्ष जनशक्तिको अभाव छ ।

नेपालमा पत्रकारहरु च्याउसरी छन् । तर,दक्ष पत्रकारको अभाव नेपाली पत्रकारितामा पुरानै रोग हो । पत्रकारिता जगतमा लामो समय बिताएका पत्रकार गजेन्द्र बुढाथोकी भन्छन्–‘यस्तै हिसावले गुणस्तरहिन पत्रकार च्याउसरी उम्रदै गएभने, २ वर्षमा हजारौ पत्रकारहरु सडकमा आइपुग्छन् ।’ उनको भनाइको सिधा अर्थ हुन्छ अदक्ष पत्रकार उत्पादनले दक्ष पत्रकारलाई समेत असर गर्छ । एउटा कुहिएको आलुले सिंगो बोराको आलु नष्ट पारेजस्तै ।

धेरै मिडियामा दक्ष पत्रकारहरुको अभाव भएको तथ्य पाका पत्रकारहरुले स्विकार्दै आएका छन् । कतिपय अवस्थामा सैदान्तिक र अभ्यासमा पोख्त नभएकाले पत्रकारहरुले धेरै ठूलो गल्तीसमेत गरेका छन् । उनीहरुले गरेको गल्तीको कारण सामान्य घटनाले ठुलो मोडसमेत लिन पुगेको छ ।

दक्ष र स्वतन्त्र पत्रकार कसरी उत्पादन गर्ने ? पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई कसरी आककर्षित गर्ने ? यस क्षेत्रमा भएका नयाँ पुस्तालाई कसरी टिकाइराख्ने ? यस्ता चुनौतीहरुविच पत्रकारिता क्षेत्र अडेको छ ।

नेपालआज डटकमले दक्ष पत्रकार उत्पादन गर्नको लागि फागुन २ गतेबाट पत्रकारिता प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा नेपालका नाम चलेका १५ जना पत्रकारहरुले बानेश्वस्थित नेपालआज डटकमको कार्यालयको हलमा १५ दिनसम्म प्रशिक्षण दिए । तालिम दिने पत्रकाहरुमा कान्तिपुर दैनिकका वरिष्ठ सहसम्पादक हरिबहादुर थापादेखि नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइटेलसम्म थिए ।

नेपालआज डट्कमका प्रधानसम्पादक तथा हिमालय टेलिभिजनमा यक्ष प्रश्न कार्यक्रमका सञ्चालक नारायण पौडेले पहिलोदिनको प्रशिक्षण कार्यक्रम सञ्चालन गरे । तालिमको पहिलो दिन उनले पत्रकारिताको सबल र दुर्बल पक्षहरुको बारेमा बताए । पत्रकार के हो ? र कस्तो हुनुपर्दछ ? यस्तै विषयमा उनीसँग प्रशिक्षार्थीले अन्र्तक्रिया गरेका थिए । ‘पत्रकारहरुले अवस्था हेरेर ब्यवस्था गर्नुपर्छ ।’ उनले भने–‘बाघको सिकार गर्न स्यालको खजाना चाहिन्छ ।’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्नबहादुर कार्की दोस्रो दिन पत्रकारिताको तालिम दिन आए । उनले प्रेस काउन्सिलसँग गलत र नकरात्मक काम गर्ने पत्रकार र मिडियालाई ठीक पार्ने अधिकार रहेको बताए । प्रशिक्षार्थीसँग उनको समकालिन पत्रकारितालाई गुणस्तरिय बनाउन काउन्सिलको भूमिकाको बारेमा लामो सवाल जवाफ भयो । उनको निचोड थियो –‘पत्रकार न्यायधिस जस्तै निष्पक्ष हुनुपर्दछ ।’

तालिमको तेस्रो दिन थिए सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटा । बास्कोटाले प्रशिक्षार्थीहरुलाई सूचनाको हक, पत्रकार आचारसँहिता लगायतको बारेमा बताए । तालिममा उपस्थित भएका प्रशिक्षार्थीहरुले उनीसँग सूचना आयोगको काम कारबाही,भूमिका र औचित्यको बारेमा सवालजवाफ गरे । त्यसका साथसाथै पत्रकारिता क्षेत्रमा देखिएको बिकृतीको मुख्य भागिदारको भन्नेमा बहस चल्यो ।

अधिकाशं प्रशिक्षार्थीहरु समकालिन पत्रकारितालाई कसरी विस्वास गर्ने भन्ने दोधारमा थिए । ‘एउटै विषयमा मिडियाअनुसार फरकफरक समाचार आउछ । सर्मथन र विरोध आउछ ।’ उनीहरुको भनाई थियो –‘त्यस्तो समाचारलाई सामान्य नागरिकले कसरी बुझ्ने ।’ उक्त विषयमा भएको लामो सवालजवाफको कुनै निष्कर्ष निस्केन् ।

त्यसैगरि अर्को दिन तालिममा प्रशिक्षार्थीहरुसँग सवाल जवाफ गर्न आए नेपालआजको प्रधान सम्पादक पौडेल । पौडेलले समाचार लेख्ने तरिका सिकाए । भाषा, प्रस्तुति र शैली कसरी आकर्षित बनाउने भन्ने विषयमा विभिन्न उदारणहरु प्रस्तुत गरे । प्रशिक्षार्थीहरुले उनीसँग समकालिन पत्रकारिताका सम्भावना र चुनौतीको बारेमा बहस गरे । उनको निष्कर्ष थियो –‘तनाव, अभाव र दबाबलाई केही वर्ष झेल्न सक्यो भने पत्रकारितामा राम्रो भविष्य छ । पत्रकारिता गरेर सम्मानको साथ बाच्न सकिन्छ ।’

हिमालय टेलिभिजनको समाचार सम्पादक तथा कान्तिपुर एफएमको लोकप्रिय कार्यक्रम देउडाका सञ्चालक कृष्ण मल्लले समकालिन पत्रकारिताको अवस्थाको बारेमा प्रकाश पारे । समाचारको विषयस्तु, शैली र प्रस्तुतिका विषयमा प्रशिक्षार्थीले सोधेका प्रश्नको जवाफ दिँदै उनले रेडियो र टेलिभिजनमा काम गर्ने पत्रकार कस्तो हुनुपर्छ भन्ने बारेमा जानकारी दिए । मल्लले भने –‘आफू नमरी स्वर्ग देखिदैन । पत्रकारिता हिजो पनि राम्रो थियो, आज पनि छ र भोली पनि राम्रो हुनेछ ।’

मल्लपछि आए, नेपालआजका प्रधानसम्पादक पौडेल । उनले पत्रकारले समाचारमा के गर्नु हुन्छ र के गर्नु हुदैन् भन्ने विषयमा जानकारी दिए । ‘नचाहिदो मानिसलाई धेरै स्थान दिनु हुदैन् ।’ उनले भने –‘पत्रकार जागिरे मानसिकता र दासको भुमिकाबाट मुक्त हुनुपर्छ ।’ ‘समाजलाई कस्तो विषयबस्तु दिनु पत्रकारितामा राम्रो मानिन्छ ?’ एक प्रशिक्षार्थीको जवाफमा उनले भने–‘ समाजले जे हेर्छ, जे अपेक्षा राख्छ त्यो मात्र गर्नुपर्छ भन्ने छैन् । अनुसन्धान र समाजलाई हित पु¥याउने कुरामा जोड दिनुपर्छ । ’

पौडेलपछि वरिष्ठ पत्रकार जीवराम भण्डारी प्रशिक्षार्थीसँग सवालजवाफ गर्न उपस्थित भए । पत्रकारितामा २ दशकभन्दा बढी समय सक्रिय रुपमा लागेका भण्डारी हाल सगरमाथा टेलिभिजनमा एस टिभी टल्क सो कार्यक्रम चलाउछन् । उनले प्रशिक्षार्थीहरुलाइ आफ्नो पत्रकारिता जीवनको विभिन्न अनुभवहरु बाडे । पत्रकारितामै लागेर जीपनयापन गर्न सकिन्छ भन्ने उनको निचोड थियो ।

विभिन्न देशमा पत्रकारिताको अनुभव संगालेका सेन्चुरी कर्मसियल बैंकका सिईयो शेखर वस्ताकोटीले मोर्डन जर्नालिज्मको बारेमा प्रशिक्षण दिए । विदेशी पत्रकारिता र नेपाली पत्रकारितबीच तुलना गर्दै उनले अब, पत्रकारले नयाँ क्रान्ति गर्नु पर्ने आवश्यकता रहेको बताए । नेपालको पत्रकारिताको संख्यामा धेरै वृद्धि भएपनि गुणस्तरमा भने खस्किदै गएको उनले जिकिर गरे ।

बस्ताकोटीपछि कान्तिपुर दैनिकका वरिष्ठ सहसम्पादक हरिबहादुर थापा आए । थापाले प्रशिक्षार्थीहरुलाइ समकालिन समाज र भ्रष्टाचारसमबन्धि कसरी रिर्पोटिङ गर्ने भन्ने विषयमा जानकारी दिए । संसदिय रिर्पोटिङमा लामो समय बिताएकाले थापाले संसदिय रिर्पोटिङका आयामहरुको बारेमा बताए । उनलाई धेरै प्रशिक्षार्थीहरुले गरेको सवालको निचोड थियो –‘कसैको दबाब र प्रभावमा नपरी सत्यतथ्य लैख्दै जानु पर्छ । यस्तै पत्रकारको समाजमा आवश्यक छ । ’

त्यस्तैगरी, भाषा विज्ञ शरच्चन्द्र वस्तीले पत्रकारितामा भाषाको प्रस्तुति र शब्द चयनका विषयमा सटिक जानकारी दिए । पत्रकारिताको मियो भाषा भएको बताउँदै उनले भाषाको ज्ञान नहुने व्यक्ति पत्रकारिता पेशामा नलाग्दा नै उचित हुने तर्क प्रस्तुत गरे ।

पूर्व खेलकुद पत्रकार तथा सामाजिक सञ्जाल विशेषज्ञ उज्वल आचार्यले पत्रकारले सामाजिक सञ्जालको प्रयोगका बारेमा प्रशिक्षण दिए । उनले पत्रकारलाई सामाजिक सञ्जालले पार्ने प्रभावको बारेमा जानकारी दिँदै दाबी गरे– ‘पत्रकारितामा सामाजिक सञ्जालले हिजो, आज र भोलिसम्म प्रभाव पारिरहनेछ ।’

आर्चायपछि आए जनआस्थाका सम्पादक किशाोर श्रेष्ठ । उनले पत्रकारिता क्षेत्रका बिकृती र बिसंगतीको बारेमा बताए । प्रशिक्षार्थीले सोधेको धेरै सवालको जवाफमा उनी सकरात्मक सुनिए । उनले बिगत र बर्तमानको पत्रकारिताको भिन्नताको बारेमा छर्लङग पारे । आफ्नो २ दशक लामो पत्रकारिता अनुभवको बारेमा अनुभव साटे । प्रशिक्षार्थीहरुसगँ सवालजवाफ गर्दै उनले भने–‘पत्रकार ज्योतिष बन्नु हुदैन् ।’

आफ्नो अनुभवहरु साट्न पत्रकार ऋषी धमला पनि आए । आफ्नो टेलिभीजन कार्यक्रममा आएका गेस्टहरुलाई हमला गर्ने उनी तालिममा प्रशिक्षार्थीहरुको हमलामा परे । उनको अनुभव सुन्नभन्दा उनलाई हमला गर्न प्रशिक्षार्थीहरु तयार थिए । त्यो दिन प्रशिक्षार्थीहरुको सवालको जवाफ दिदै धमला व्यस्त भए ।

पत्रकारिता तालिममा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईटेल पनि उपस्थित थिए । उनले प्रशिक्षार्थीहरुलाई उनको २२ वर्षे लामो पत्रकारिता अनुभव र अनुभुतिको बारेमा सुनाए । माओबादी द्वन्दको बारेमा उनले गरेको जोखिमपूर्ण रिर्पोटिङ र त्यसले पारेको प्रभाव सुनाउँदा प्रशिक्षार्थीहरुले तालि बजाए । उनले प्रशिक्षार्थीहरुसंग समाचारको स्रोत खोज्नेदेखि लिएर समाचार लेख्ने विषयको बारेमा छलफल गरे । उनीसंगको सवाफजवाफको निचोड थियो –‘राम्रो र दक्ष पत्रकारको पत्रकारिता क्षेत्रमा पैसा ईज्वत र स्तर सबै माथि छ ।’

पत्रकारमहासघंको पूर्वअध्यक्ष धर्मेन्द्र झा पनि तालिममा प्रशिक्षकको रुपमा थिए । उनले पत्रकार बन्दादेखि अहिलेसम्मको संर्घषको कथा सुनाए । मधेसको केटो काठमाडौंमा पत्रकारको रुपमा स्थापित हुन गरेको संर्घष मन छुने थियो । पत्रकारिताको विविध विषय र अवस्थाको बारेमा उनको चर्चा सुन्न लायक थियो । उनीसँगको सवालजवाफको निचोड थियो–‘पत्रकारिता गरेर जग्गा किन्छु, घर बनाउछु,छोरा–छोरीलाई महंगो स्कूल पढाउछु भनेर नआउनु । यदि त्यस्तो सोच छ भने उमेर र उर्जा हुदै यो पेशा छोड्नु ।’

तालिमको अन्तिम दिन कूटनीतिक नियोगदेखि प्रशासनिक क्षेत्रको अनुभव सँगालेका कृषि विज्ञ सरोज नेपालले प्रशिक्षार्थीहरुलाई व्यवहारिक अनुसन्धानका बारेमा शिक्षण दिए । उनले पत्रकारले तथ्यको मात्र प्रयोग नगरेर अनुसन्धानमा पनि तल्लिन हुनुपर्नेमा जोडदिँदै भने, ‘पत्रकारले विषयवस्तु प्रस्तुत गर्दा सम्बन्धित घटनासँग जोडिएका तथ्यहरुको गहिरो अनुसन्धान गरी प्रस्तुति दिनु पर्छ ।

उक्त प्रशिक्षण कार्यक्रममा १५ जना सिकारु पत्रकारले भाग लिएका थिए । नेपाल आजले संचालन गरेको उक्त प्रशिक्षणमा गृहणीदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुको पनि सहभागिता थियो ।

प्रस्तुतिः सागर बुढाथोकी

 

photo

NOC1-250x300