नेपालमा यसरी विस्तार भएको थियो क्यासिनो !

काठमाडौँ, २० माघ । सोल्टी होटेलमा सन् १९६८ मै क्यासिनो खुलेको थियो, जुन दक्षिण एसियामै पहिलो थियो । सोल्टी होटेलका मालिक तत्कालीन अधिराजकुमार हिमालयविक्रम शाहकै नाममा मन्त्रिपरिषद्ले निर्णय गरी क्यासिनो नेपालको लाइसेन्स दिइएको थियो । पाँचतारे होटेलमा मात्र क्यासिनोको लाइसेन्स पाउने भनिएको थियो, पाँचतारे सोल्टीमा मात्र थियो ।casino1-400x250

सोल्टी नजिकै तहाचलमा घर भएका किशोर सिलवाल अस्कल (अमृत साइन्स) कलेजमा अंग्रेजी पढाउँथे । सन् १९७३ मा सिलवाल पढाउन छाडेर क्यासिनोमा जागिर खान पुगे । लाइसेन्स दिँदा नेपाली ग्राहकलाई क्यासिनो छिर्न रोक लगाइएको थिएन ।

क्यासिनो नेपालमा क्यासिनोमा चल्ने आधुनिक जुवाका खेलका साथै परम्परागत नेपाली जुवा कौडासमेत खेलाइन्थ्यो-मुख्य ग्राहक काठमाडौंका धनाढ्यमध्येबाट हुन्थे । विदेशी जुवाडे क्यासिनोमा उति देखिन्थेनन् । ‘त्यो बेला क्यासिनो नेपालीकै मनोरञ्जनका लागि थियो’, सिलवाल सुनाउँछन् । क्यासिनोका महाप्रबन्धक चूडाराजशमशेर राणा थिए जो त्यसअघि बनमन्त्री भइसकेका व्यक्ति हुन् ।

सन् १९७६ सम्म राणा नेतृत्वको व्यवस्थापनबाटै क्यासिनो चल्यो । त्यसपछि अमेरिकी नागरिक आरडी टटलको कन्टिनेन्टल रिसोर्ट ग्रुपले क्यासिनोको व्यवस्थापन जिम्मा लियो । सिलवालका अनुसार सुरुवात कालमा पनि क्यासिनाको व्यवस्थापन विदेशीले लिएका थिए । भुटानी राजपरिवारका नातेदार लेनी दोर्जीले केही समय क्यासिनो नेपालको व्यवस्थापन नेतृत्व गरेका थिए । उनी हिँडेपछि चूडाराज शमशेरलाई महाप्रबन्धक बनाइएको थियो ।

आरडी टटल क्यासिनोका अनुभवी थिए-मलेसियाको ‘गेन्टिङ हाइल्यान्ड’ मा पनि साझेदार भई क्यासिनो चलाइसकेका । सन् १९८० सम्म पनि नेपालीलाई क्यासिनोमा जुवा खेल्न रोक थिएन, त्यसपछि नेपालीलाई क्यासिनो छिर्न रोक लगाइयो । त्यतिबेलासम्म धेरै भारतीय पर्यटक जुवा खेल्न आउन थालिसकेका थिए, त्यसैले क्यासिनोको व्यापार घटेन । क्यसिनो एउटै थियो, प्रतिस्पर्धा हुने कुरै भएन ।

टटल क्यासिनो बुझेका र अन्तर्राष्ट्रिय नेटवर्क भएका प्रोफेसनल व्यापारी थिए । क्यासिनो नेपालको नाम विदेशका जुवाडेमा फैलिएको थियो । नेपाली जुवाडेलाई छिर्न दिने आवश्यक पनि देखिएन ।

२०४८ सालमा निर्वाचित सरकार बनेपछि थप तीन होटेलमा क्यासिनो सञ्चालनको लाइसेन्स दिइयो । सन् १९९२ मा क्यासिनो अन्ना (होटेल अन्नपूर्ण) र सन् १९९३ मा क्यासिनो एभरेस्ट (होटेल एभरेस्ट) र क्यासिनो रोयल (होटेल याक एन्ड यती) को लाइसेन्स दिइयो । क्यासिनो एउटाबाट एकैचोटी चारवटा हुँदा ग्राहक बाँडिए, प्रतिस्पर्धा चर्कियो । नेपाली ग्राहकलाई खुसुक्क छिराउने काम यहीबाट सुरु भएको सिलवाल सुनाउँछन् ।

क्यासिनोको लाइसेन्स बाँड्ने काम त्यतिमै रोकिएन । पाँचतारे होटेलसँगै क्यासिनो थपिने क्रम चल्दै गयो । पाँचतारे होटेलले केही गर्नुपर्थेन, टटलको नेपाल रिक्रियसन सेन्टरलाई जिम्मा दिए पुग्थ्यो । लाइसेन्स लिइदिएर क्यासिनो चलाउने काम सेन्टरले गथ्र्यो, होटेलले कुस्त भाडा पाउँथे । घरजग्गा कारोबार फस्टाएको बेला थियो, क्यासिनोमा खर्च गर्ने नवधनाढ्य दिन दुगुना, रात चौगुना जन्मिदै थिए ।

नेपालीलाई छिराउन थालेपछि क्यासिनो ‘चाँदी कटाइ’ हुने व्यापार बन्यो । क्यासिनो नेपालमा लामो समय जागिर खाएका एक जना एउटा टेबुलबाट एकैरातमा भारु एक करोड कमाएको आफैंले देखेको सुनाउँछन् ।

होटेल अपग्रेड गरेर पनि क्यासिनो लाइसेन्स लिन थालियो । क्यासिनोकै लागि सांग्रिला र मल्ल होटेल पाँचतारेमा अपग्रेड भए । सबै पाँचतारे सोल्टी, अन्नपूर्ण, एभरेस्ट, याक एनड यती, र्‍याडिसन, हायात, सांग्रिला, मल्लका साथै पोखराको पोखरा ग्रानड र फूलबारी रिसोर्टमा क्यासिनो चलाइयो ।

आरडी टटल भर्सेज राकेश बाधवा सन् ८० को दशकको सुरुमा ओबेराय ग्रुपको व्यवस्थापनमा चलेको सोल्टी होटेलमा फाइनान्स प्रमुख बनेर नेपाल आएका थिए भारतीय नागरिक राकेश बाधवा । सोल्टीमै क्यासिनो चलाउने आरडी टटलको पनि उनी विश्वासपात्र बने । टटले नै उनलाई श्रीलंकामा क्यासिनो खोल्ने जिम्मा दिएर श्रीलंका पठाएका थिए । श्रीलंकामा उनले क्यासिनो चलाए पनि ।

तर, तामिल विद्रोही (लिट्टे) लाई चन्दा दिएको आरोपमा त्यहाँको सरकारले क्यासिनो बन्द गरायो । ठीक त्यहीबेला टटलचाहिँ अरु पाँचतारे होटेलमा क्यासिनो खोल्ने तयारीमा थिए । टटलले २० प्रतिशत सेयर दिएर क्यासिनो एभरेस्ट सञ्चालनको जिम्मा बाधवालाई दिए । क्यासिनो रोयलमा समस्या आएपछि एभरेस्टकै मोडलमा सञ्चालनको जिम्मा बाधवाले पाए ।

नेपाली ग्राहकलाई समेत खुसुक्क स्वागत गरेर क्यासिनो चलाउन थालेको बेला थियो, क्यासिनो गज्जबले चल्यो । टटल-बाधवा साझेदारी एक दशकभन्दा बढी समय मज्जाले चल्यो । त्यसपछि दुवैबीच झगडा हुन थाल्यो ।

२०६२/६३ को राजनीतिक परिवर्तनमार्फत माओवादी शान्ति प्रक्रियामा आएकोताका टटल-बाधवा झगडा उत्कर्षमा थियो । बाधवाले काठमाडौंमा उधुम मच्चाइरहेको माओवादीको ट्रेड युनियनलाई मिलाएर क्यासिनोमा कब्जा गर्न थाले । कानुनी लडाइ पनि सुरु भयो । श्रीलंकामा क्यासिनो खोल्नुअघि टटल-बाधवाले हङकङमा कनोसा इन्भेस्टमेन्ट नामको कम्पनी दर्ता गरेका थिए ।

कम्पनीमा टटलको ८८ र बाधवाको १२ प्रतिशत सेयर थियो । कनोसा इन्भेस्टमेन्टमार्फत श्रीलंकाको क्यासिनो चलेको थियो । पछि नेपालका क्यासिनोलाई पनि यसै कम्पनीअन्तर्गत ल्याइएको थियो । टटलले कनोसा इन्भेस्टमेन्टको नवीकरण आदिका लागि हङकङमै एकजनालाई अधिकृत वारेसनामा दिएका थिए । झगडा उत्कर्षमा पुगेका बेला बाधवाले एउटा टिम खुसुक्क हङकङ पठाए ।

सिलवालका अनुसार कनोसा इन्भेस्टमेन्टको नवीकरण फेल भइसकेको थियो । बाधवाको टिमले टटलले अधिकृत वारेसनामा दिएका व्यक्तिलाई मिलाएर कम्पनी पूरै बाधवाको बनाएर नवीकरण गरिदियो । त्यही आधारमा नेपाल रिक्रियसन सेन्टरमा बाधवाको एकलौटी हक भएको दाबी गर्‍यो ।

कानुनी लडाइ पनि बाधवाले जिते । टटलको हातबाट नेपालको क्यासिनोको साम्राज्य छिनियो । बाधवा क्यासिनोको मालिक बन्दा सबै क्यासिनोमा नेपाल रिक्रियसन सेन्टरको स्वामित्व थियो ।

क्यासिनोको पतन
सन् २०१० तिर आइपुग्दा क्यासिनोमा चौतर्फी आक्रमण सुरु भयो । नेपाली ग्राहकको भरमा चलेका क्यासिनोको लतमा फसेर थुप्रै नेपालीले घरबार गुमाइसकेका थिए । तिनका कथा ब्यथा मिडियामा आउन थाले । क्यासिनोमा पैसा सिध्याउने जुवाडेलाई चर्को ब्याजमा ऋण दिन क्यासिनोमै गुण्डा समूह सक्रिय हुन थालेका थिए ।

तिनको चर्को ब्याजका कारण गुण्डा धनाढ्य बन्दै थिए, जुवाडे घरबार सिध्याउँदै थिए । माओवादीको रजाइमा चलेका क्यासिनोबाट माओवादीका ठूलो नेताका साथै ट्रेड युनियनका नेतृत्व गर्नेसम्मले चा“दी कटाइ गरिरहेका थिए, तर क्यासिनाले रोयल्टी आदि तिरेको   थिएन ।

क्यासिनोको कमाइ र माओवादीको रजाइ कस्तो थियो भने, २०६४ सालमा नेपालीको प्रवेश रोक्न खोज्दा माओवादीको ट्रेड युनियन प्रतिकारमा सडकमै ओर्लिएको थियो । तर, माओवादीको आर्थिक स्रोत भएको थाहा पाएपछि प्रतिस्पर्धी पार्टी क्यासिनोमा नेपाली प्रवेश रोक्न कम्मर कसेरै लागे । क्यासिनोले तिर्नपर्ने रोयल्टी दोब्बर पारियो ।

काठमाडौं प्रहरी प्रमुखको रमेश खरेल लिएपछि रमेश खरेलले क्यासिनोमा नेपाली छिर्न बन्द गर्दिए । उनले क्यासिनोमा छापा मारेर नेपालीलाई पक्राउ गर्न थाले । उता अर्थसचिव रामेश्वर खनालले राजस्व अनुसन्धान विभागमार्फत बक्यौता असुलीमा कडाइ गर्न थाले । बाधवा भारततिर फरार भए ।

क्यासिनो धरासायी बनाउन निर्णायक प्रहारचाहिँ खिलराज रेग्मीको पालामा ल्याएको क्यासिनो नियमावली बनेको सिलवाल बताउँछन् । नियमावलीमा क्यासिनो सञ्चालन गर्न २५ करोड चुक्ता पुँजी चाहिने भनिएको थियो । त्यो २५ करोड पनि कर चुक्ता गरेको प्रमाणसहितको चाहिन्छ भनिएको थियो । क्यासिनोले वार्षिक रोयल्टी पाँच करोड पुर्‍याइयो ।

क्यासिनो सञ्चालनको निवेदन दिन पाँचलाख रुपैयाँ शुल्क तिर्नपर्ने प्रावधान राखियो । ‘तत्कालीन पर्यटनमन्त्री रामकुमार श्रेष्ठले नियमावली क्यासिनो बन्द गर्नै ल्याइएको हो भनेका थिए’, सिलवाल सुनाउँछन् ।नियमावलीविरुद्ध क्यासिनो सञ्चालकको संस्था क्यासिनो एसोसिएसनले न्यायालय गुहार्‍यो ।

अदालतले अन्तरिम आदेश जारी गरेन । यसपछि क्यासिनो बन्द भए । अहिले र्‍याडिसन, हायात, सोल्टी र याक एन्ड यतीका क्यासिनो सञ्चालनमा छन् । सांग्रिला, हायात सोल्टीमा विदेशी व्यवस्थापन छ । र्‍याडिसन र रोयलले अदालतबाट अन्तरिम आदेश लिएर चलाइरहेका छन् ।

क्यासिनो नियमावली मुलुकका क्यासिनो चलाइरहेका नेपाली सञ्चालकलाई विस्थापित गरी विदेशी सञ्चालकलाई स्थापित गर्ने फोहोरी खेल अन्तर्गत ल्याइएको नेपाल क्यासिनो सञ्चालक संघका अध्यक्षसमेत रहेका सिलवालको आरोप छ । उनका अनुसार भारतमै क्यासिनोमा विदेशी लगानी अनुमति दिइएको छैन, लगानीकर्ता भारतीय नागरिक हुनपर्छ ।

नियमावलीमा प्रत्यक्ष विदेशी लगानी (एफडआई) स्वागत गरियो, त्यो पनि बिना शर्त । अरु क्षेत्रमा शतप्रतिशत विदेशी लगानी स्वीकारिएको छैन, निश्चित प्रतिशत सेयर नेपाली नागरिकको हुनपर्छ । तर, क्यासिनोमा शतप्रतिशत विदेशी लगानीको अनुमति छ ।

अब क्यासिनो सञ्चालन गर्ने, बन्द गर्ने वा विदेशी अपरेटरबाट सञ्चालन गर्ने भन्नेमा निर्णायक तहका अधिकारी प्रष्ट हुनपर्ने बेला आएको सिलवाल बताउँछन् । उनका अनुसार अहिलेकै नियमावलीमा संशोधन नगर्ने हो भने बन्द हुन्छन् वा विदेशी अपरेटरले क्यासिनो चलाउँछन् । क्यासिनो बन्दै गर्ने हो भने नियमावली थप कडा बनाइदिए हुन्छ ।

क्यासिनो चलोस, अझ स्थानीय अपरेटरले मौका पाउन भन्ने हो भने नियमावलीमा संशोधन गर्नपर्ने उनको सुझाव छ । चुक्ता पुँजीलाई १५ करोड रुपैयाँ बनाउने माग क्यासिनो एसोसिएसनले गरेको छ । रोयल्टी पाँच करोडबाट तीन करोड रुपैयाँ बनाइएको छ, त्यसलाई अझ कम गर्नुपर्ने, निवेदन शुल्क घटाउनुपर्ने माग छ ।

क्यासिनो पर्यटक भित्र्याउने उत्पादन हुनुका साथै लामो इतिहास भएकाले यसलाई जोगाउनुपर्ने उनको भनाइ छ । लास भेगास क्यासिनो टुरिस्टका लागि विश्वकै १ नम्बर गन्तव्य मानिन्थ्यो । त्यहाँ एक सयभन्दा बढी क्यासिनो छन् । मकाओले क्यासिनो पर्यटनलाई प्राथमिकतामा दिएर १८ वटा क्यासिनो खुल्दा लास भेगास पछि पर्‍यो ।सिंगापुरमा त दुईवटा क्यासिनोले लास भेगासलाई उछिन्दिए ।

नेपाल पनि क्यासिनो पर्यटनका लागि उपयुक्त छ । यसको इतिहास लामो छ नै, जुवा खेल्न सोखिन मानिने चिनिया“ र भारतीय हुन, छिमेकमा छन् । भारतीय जुवा खेल्न मकाओ, सिंगापुरका साथै कम्बोडिया, भियतनामसम्म पुग्छन् । तिनलाई यहा“ आकर्षित गर्न सकिन्छ ।

नेपालीको प्रवेशबारे पनि निर्णायक तहका अधिकारीले नयाँ ढंगले सोच्नपर्ने समय आएको सिलवाल बताउँछन् । यहाँ प्रवेशमा रोक लगाएपछि नेपाली जुवाडे सिक्किम, गोवाका साथै सिंगापुर र श्रीलंकासम्म पुग्न थालेको सिलवाल सुनाउँछन् ।

सन् २०१० मा सिंगापुरको दुई क्यासिनोमा १० महिनामा १४ हजार नेपाली प्रवेश गरेको देखिएको थियो । भारतले दिल्लीमा क्यासिनोको खोल्न अनुमति दिएको छैन । तर, दर्जनभन्दा बढी अवैध क्यासिनो चल्छन् । ती अवैध क्यासिनोमा अधिकांश कामदार नेपाली छन् ।

ती क्यासिनोमा नेपाली ग्राहक पुर्‍याउन काठमाडौंमा एजेन्ट परिचालित छन् । ‘जुवाडेलाई रोक्न खोज्दा नरोकिने रहेछ’, उनी थप्छन्, ‘पैसा भएका नेपालीलाई शर्तसहित खेल्न दिए अर्थतन्त्रलाई राम्रै गर्छ ।’

नेपालीलाई खेल्न नदिने हो भने पनि क्यासिनोलाई वातावरण बनाइदिनुपर्ने उनी बताउँछन् । सिंगापुरमै महिनामा १० लाख क्यासिनो पर्यटक भित्रिन्छन् । जुवा खेल्ने भारतीय, चाइनिजका साथै बंगलादेशी, पाकिस्तानी सबै वरिपरि भएकाले क्यासिनो पर्यटनको सम्भावना रहेको उनी बताउँछन् ।

सबै पाँचतारे होटेलमा क्यासिनो चल्दा झण्डै ९ हजारले रोजगारी पाएका थिए । क्यासिनो बन्द हुन थालेपछि तिनको यहाँको रोजगारी त गुम्यो तर बेरोजगार भएनन् । क्यासिनोमा दक्ष तिनले गोवा, श्रीलंका, मकाओ आदिमा रोजगारी पाए । गोवामा अहिले अधिकांश कामदार नेपाली भएको सुनाउँछन् ।

दिल्लीका अवैध क्यासिनोमा नेपाली कामदार भरिएका छन् । लामो इतिहास र एकचोटी फले/फुलेको व्यवसाय भएका कारण नेपाली जनशक्ति बिक्ने अवस्था भयो ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

photo

NOC1-250x300