नेकपा एमाले सच्चिनै नसक्ने मोडमा !

ईश्वर अर्याल


बिसं २००६ बैशाख १० गते भारतको कलकत्तामा गरिएको नेपाल कम्युनिष्ट पार्टीको गठनको मुख्य उद्देश्य नेपाली समाजलाई सामन्ती र पूँजीवादी शोषण–दमनबाट मुक्त पारी समाजवाद–साम्यवादतर्फ र्डोयाउनु थियो । पुष्पलालद्वारा विश्वप्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपाली भाषामा अनुवाद गरी त्यसको भूमिकामा नेपाली समाजको विश्लेषण गरेर वैचारिक आधार निर्माण गरिएको थियो, कम्युनिष्ट पार्टी स्थापनाको समयमा ।

बिभिन्न टुटफुट र मनमुटावपछि पनि मिल्ने बिचारधाराहरुको केन्द्रिकरण गर्दै २०४९ सालमा पाँचौं महाधिवेशन मार्फत नेकपा एमालेले जनताको बहुदलिय जनवाद नामको एउटा छुट्टै मौलिक नेपाली क्रान्तिको खाका कोर्यो, जुन सिद्धान्तले नेकपा एमालेलाई अद्यपर्यन्त चलाईरहेको छ । यसको महत्वपूर्ण श्रेय स्वर्गीय मदन भण्डारीलाई जान्छ । उनले यसको ब्याख्या गर्ने क्रममा भनेका थिए “बहुलताका कारण द्वन्द्व हुन्छ , द्वन्द्वले गति प्रदान गर्दछ । प्रकृतिमा बहुलता छ, समाजमा बहुलता छ । बहुलतालाई अस्वीकार गरि माक्र्सबादी बन्न सकिंदैन ।“

जनताको बहुदलीय जनबाद पूर्ण रुपमा कानुनको शासन मान्ने सिद्धान्त हो । जनताका आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक अधिकारहरु, मौलिक अधिकार, मानवअधिकार र नागरिक अधिकारको रक्षाका लागी कानूनी शासनको जरुरी हुन्छ ।

एमाले बिग्र्यो कसरी ?

जनताका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारहरुको सम्मान गर्ने भनेर प्रतिपादन गरिएको जनताको बहुदलीय जनबादको जगमा टेकेको नेकपा एमालेले अहिले मधेश र जनजाती प्रति देखाएको राजनीतिक दम्भ र अराजनीतिक रवैया अनि सामाजिक र सांस्कृतिक असहिष्णुताले स्पष्ट दर्शाउँछ की पार्टी जबजको सिद्धान्त अनुसार चलेको छैन । यतिले मात्र पुग्दैन, पार्टीमा देखिएको चरम सत्तालोलुपता, एनजिओ र आईएनजिओको गठजोड र देशका प्राकृतिक श्रोतको रुपमा रहेका नदीहरु राष्ट्रियताको मापदण्ड बिरुद्ध बैदेशिक लगानिकर्ताहरुसंग सम्झौता गर्ने परिपाटीले एमालेको सैद्धान्तिक क्षयिकरण कुन हदसम्म भएको रहेछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

चुनाव संघारैमा छ, फेरि पनि एमाले नामधारी बुजु्रकहरुले त्यही जबजको सिद्धान्त देखाएर अलि अलि पढेलेखेकाहरुलाई ठग्न जाने तयारीमा छन भने वृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता देखाएर लोभ देखाएर सोझा साझा, वृद्ध, गरिब गुरुवाहरुलाई छल्न जाने तयारीमा छन् । असमान महाकाली सम्झौताले देशको आर्थिक स्थिति कुन हदसम्म गिरायो, अरुण तेस्रो बन्न नदिएर देशलाई बीस बर्षसम्म अँध्यारोमा राखियो अनि अपर कर्णाली परियोजना भारतिय कम्पनीलाई चढाएर देशलाई अझै अँध्यारोमा राख्न चाहने नेकपा एमालेको मुख्य नेतृत्वपंक्तिले पछिल्लो समयमा राष्ट्रबादको नाममा मचाएको उदण्डता र अराजकताको हिसाबकिताब पनि राम्रैसंग हुने देखिन्छ । यद्यपी एमाले यो दोषको एक्लो भागिदार भने होइन ।

दोश्रो संबिधान सभाको निर्वाचनमा मधेशबाट दोश्रो धेरै भोट ल्याएको एमालेमा जब ओली अध्यक्ष बने, त्यही समयबाट निषेधको राजनीति शुरु गर्न थाले । आफैंलाई भोट दिने जनतालाई बिहारीको बिल्ला भिराएर उनले गर्न खोजेको राजनीतिले समाजशास्त्रका धेरै बैज्ञानिक नियमहरुलाई चुनौती दियो । उनले सैद्धान्तिक रुपमै जबजलाई खारेज गरेर दम्भको राजनीति शुरु गरे यद्यपी जबजलाई आफ्नो सैद्धान्तिक अवधारणा हो भनेर भन्न चाहिँ छोडेनन ।

पहाडी समुदायलाई मधेसी समुदाय माथि घृणा ओकल्ने वातावरण सृजना गराएर एमालेका हालका अध्यक्ष केपी ओलीले देशभित्र बढ्दै गएको साम्प्रदायिक सामन्जस्यता, बिभेदको अन्त्य र राष्ट्रिय एकताको शुरुवातलाई रोक्ने काम गरे । यस्ता कुकृत्यहरुले देशलाई लोकतान्त्रिकरणबाट गैरलोकतान्त्रिक संस्कृतिको बाटोमा हिँडाए ।

नेकपा एमाले सच्चिनै नसक्ने मोडमा आएको छ । संसद बन्द गरेर अलोकतान्त्रिक चरित्र देखाउने तर देशको जुनसुकै पनि भुभागमा पुगेर कार्यक्रम गर्न पाउनु हाम्रो लोकतान्त्रिक अधिकार हो भन्दै तर्क अघि सारेर पुनः एमालेले आफ्नो बहुरुपिया ब्यबहारको प्रदर्शन गरेको छ । दम्भ, हठ, क्षुद्रता, निचता को पराकाष्ठामै पुग्ने गरेको एमाले सत्ताबाट बाहिर निस्कनु परेपछी भ्रमको सहारा लिएर आफुलाई राष्ट्रबादी साबित गर्न लागिपरेको कुरा देख्ने जान्ने र सुन्ने सबैले अनुभव गर्न सक्दछन ।

कुनै पृथक बिकासका एजेण्डा बोक्न लजाउने तर जनताको बहुदलिय जनबाद भजाउने खालको नेतृत्वको शरणमा परेको एमाले पतनोन्मुख दिशा समातिरहेको अवस्थामा देशले पनि ठुलो क्षती ब्यहोर्नुपर्ने निश्चित छ । अहिले नेकपा एमाले सैद्धान्तिक रुपमा निकम्मा, बैचारिक रुपमा अस्पष्ट र अग्रगामी निकास दिने बाटोमा नदेख्ने बनेर आफ्नो अनिश्चित भविष्यको यात्रामा लम्किँदो रुपमा भेट्न सकिन्छ ।

नेकपा एमाले अहिले गोयबल्स शैलीको प्रचारको आधारमा मात्र टिकेको स्पष्ट देख्न सकिन्छ । आफुँ बाहेक सबैलाई अराष्ट्रिय तत्व देख्ने र ब्याक्तिगत चरित्रहत्या गर्न पछि नपर्ने खालको असहिष्णुहरुको जमातबाट घेरिएर धिकिर धिकिर धानिएको सासलाई पुनर्जीवन दिन एकदम कठिन छ ।

कुनै दीर्घकालीन राजनीतिक एजेन्डा छैन, बिकास र समृद्धिका योजनाहरुलाई उखान र टुक्कामा रूपान्तरण गरिएको छ, गणतन्त्र र संघीयताप्रती नेतृत्व न त प्रतिबद्ध छ न त त्यसको प्रभावकारी बिकल्प प्रस्तुत गर्ने हैसियतमा छ । कहिले प्रतिगमन आधा सच्चिएको नाउँमा राजतन्त्रप्रति प्रतिबद्धता देखाउने त कहिले राष्ट्रपति बन्ने लालसामा गणतन्त्रप्रति प्रतिबद्ध हुन खोज्ने । मिलेर बसेको समुदायलाई हेप्ने, होच्याउने, फरक राजनीतिक बिचारधारा बोकेकाहरुको कार्यक्रममा गएर मन्च जलाईदिने । के यो कुनै राजनीतिक दर्शन हो ?

राष्ट्रबादको स्याटेलाईट
 
फिल्म सुटिङ गर्ने अभिष्टका साथ सत्तापक्षले संबिधान संशोधनका लागी गरिरहेको कसरतलाई राष्ट्रघात हो भन्दै नेपालको राष्ट्रिय झण्डाको साथमा बुटवल र काठमाडौंमा जनसागर उतारेर ओलीले भनेका थिए, “एमाले तराइमा जादा हाम्रो फोटो ड्रोनले होइन अब स्याटेलाइटले खिच्नु पर्नेछ ।“

एमालेको फोटो खिच्ने प्रयोजनको लागी मात्र आजसम्म स्याटेलाईट कसैले पनि बनाएको छैन । तर भ्रामक नाराले जनतालाई फरक प्रयोजनको लागी सडकमा उभ्याएर, टायर बाल्न लगाएर र सरकारी गाडिहरु जलाउन लगाएर आफ्नो राष्ट्रबादी स्याटेलाइट लाउन्च गरेको छ । तर सो स्याटेलाईट घुम्दा गुम्दै नेपालको कुन कक्षमा गएर क्र्यास हुने हो, कसैलाई यो बिषयमा जानकारी छैन ।

सयथरी बाजा एउटै ताल

पार्टीपंक्तिमा नीतिगत सुधारको कुनै आशा छैन । दलित, जनजाती, मुस्लिम, थारु, मधेशी मध्ये केहिलाई केन्द्रिय या बैकल्पिक सदस्यको ललिपप चुसाए पनि पोलिटब्युरो र स्थायी समिति सदस्यमा दलित, उत्पीडित, जनजाती, मधेशी, थारुहरुलाई आधारभूत रुपमै उपेक्षित गरेर पार्टीगत संरचना बनाइएको छ ।
तर अचम्मको कुरा के छ भने त्यहाँ उत्पीडित समुदायहरुबाट एमालेको प्रतिनिधित्व गरेका जतिपनी प्रतिनिधि र जनताको बिचबाट समर्थन गर्नेहरु छन, उनिहरुले बजाएको बाजाको एउटै ताल छ, त्यो हो नश्लीय चिन्तन । सुवास नेम्वाङ लगायतका केहि नेताहरुले ओलीले मधेशीलाई आँप झर्यो भन्दा, उनिहरुको आन्दोलनलाई माखेसाङ्ग्लो भन्दा र जनजातीहरुलाई पुच्छर नभएको बाँदर भन्दा चुप रहन्छन् अर्थात आफ्नो समुदायमा फर्केर सबैले सयथरी बाजा बजाउँछन तर सबैको बाजाको ताल चाहिँ ओलीको टुक्कासंग हुबहु मिल्ने गरेर निस्कन्छ ।

सच्चिने अवसर

आफुलाई एमालेको प्रतिबद्ध कार्यकर्ता मान्ने युवाहरुले चाहेको खण्डमा सबै कुरा बदलिन सक्छ । तर नेतृत्वको चाकरी गर्दै आफ्नो पद र प्रतिष्ठा जोगाउने वातावरण बनाउन लागेका युवाहरुले आफ्नो जिवनको महत्वपूर्ण समय बर्बाद गरिरहेका छन् । पंक्तिकार यो बिषयमा पूर्ण जानकार छ की, यो आलेख लेख्दै गर्दा पंक्तिकारले आफु कुनै माओबादी कार्यकर्ता, काङ्ग्रेस कार्यकर्ता या मधेशी मोर्चाको कार्यकर्ता भएको आरोप खेप्नुपर्ने छ । भारु खाएको आरोप पनि आउन सक्नेछ । सच्चिनु पर्छ भन्नेहरुले आफ्नो गल्ती मनन गरेर अघि बढ्ने प्रयास गर्नुपर्छ तर अराजकतामा रमाउन बानी परेकाहरु चाहिँ यथास्थितिमै दम्भ र घमण्डको ज्यादै प्रयोग गर्नेछन् ।

देशलाई अझै क्षती हुन नदिने हो भने एमाले या त पतन हुनुपर्छ, या त सच्चिनु पर्छ । सच्चिनको लागी केहि नयाँ र आधारभूत सैद्धान्तिक मान्यतालाई अंगिकार गरेर बिगतमा गरेको गल्तिलाई पश्चाताप गर्नुपर्ने हुन्छ । रद्दीको टोकरीमा फ्याँकिएको जनताको बहुदलीय जनबादलाई एमालेका प्रत्येक सदस्यले एकपटक ठण्डा दिमागले पढ्ने र त्यसअनुसारको कार्यशैलीको अनुसरण गर्ने हो भने ढिलै भएपनी एमालेलाई जनताले पुनः एकपटक सच्चिएको देख्न पाउनेछन । तर दम्भ र हठ नत्यागी, फरक बिचार राख्ने, फरक सामाजिक सांस्कृतिक अस्तित्वमा रहेका समुदायहरुलाई यसै गरेर चिढ्याउन खोज्ने र राजनीतिको मूलप्रवाहबाट टाढा राख्ने प्रयास गर्दै जाने हो भने अबको केहि बर्षमा नेपाल नामको देशबाट एमाले नामको अराजक जमातको निर्मुलीकरण हुनबाट कसैले रोक्न सक्दैन । यसो हेर्दा एमाले नीतिगत रुपमा सच्चिन सक्ने सम्भावना र खरायोको सिङ पलाउन सक्ने सम्भावना उस्ता उस्तै छ ।

मदन भण्डारीले एकपटक भनेका थिए, “सिद्धान्तको लागी जीवन होइन, जीवनको लागी सिद्धान्तको निर्माण गर्नुपर्छ ।“ यसैबाट केहि सिकेर अहिलेको एमालेको नेतृत्वले सिद्धान्तको लागी जीवन अर्पण गर्नुपर्छ भन्ने मान्यता स्थापित नगरोस ।

 

photo

NOC1-250x300