नयाँ शक्तिमा एकताको अन्तिम तयारी

काठमाडौं, २६ चैत । वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न भन्दै गठित डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकताको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

दुवै दलका शीर्ष नेताहरु यतिबेला एकतापछिको नयाँ पार्टीको नामको खोजीमा छन् । संघीय समाजवादी फोरमका नेताहरुले एकतापछि बन्ने नयाँ पार्टीको नाम दुवै पार्टीको नाम मिलाएर ‘नयाँ शक्ति संघीय समाजवादी फोरम, नेपाल’ राख्न अथवा ‘नयाँ समाजवादी पार्टी, नेपाल’ राख्न प्रस्ताव गरेका छन् ।

नयाँ शक्तिको केन्द्रीय परिषद बैठकमा पार्टीका सहसंयोजक रामचन्द्र झाले नयाँ वर्षको दिन अर्थात् २०७४ वैशाख १ गते पार्टी एकता गर्ने बताएका थिए । तर, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भने बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे खुलेर कुरा गरेका थिएनन् ।

पार्टी एकताको लागि वार्ता टोलीमा रहेर गृहकार्य गरिरहेका फोरम नेपालका एक नेताले साझापोस्टलाई भने, ‘कि दुवै पार्टीको नाम मिालउाँ, कि कुनै नयाँ नाम प्रस्ताव गरौं भनेर हामीले धारणा राखेका छौं, नयाँ शक्तिका साथीहरुले नयाँ शक्तिलाई नै निरन्तरता दिन प्रस्ताव गर्नुभएको छ ।’

दुवै पार्टीका शीर्ष नेताहरु यतिबेला नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच आपसी सहमतिमा गठन हुँदै गरेको वैकल्पिक राजनीतिक शक्तिको संगठनात्मक सिद्धान्त एवम् अन्तरिम विधान बनाउन व्यस्त छन् । शुक्रबार बानेश्वरमा एक व्यापारीको घरमा नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकीकरणबारे अन्तिम चरणको छलफल भएको थियो ।

शनिबार साँझ ६ नं. प्रदेशको कार्यक्रमबाट फर्केलगत्तै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एकता तयारीमा भएको प्रगतिबारे जानकारी लिने कार्यक्रम रहेको नयाँ शक्तिका एक नेताले जानकारी दिए ।

‘हामी नामदेखि पार्टीको विधान र नेताहरुको समायोजनको बारेमा अन्तिम गृहकार्यमा छौं,’ वार्तामा सहभागी ती नेताले भने, ‘हामी सम्भावित नामहरुको सूचि र पार्टीको विधान तयार बनाएर शीर्ष नेताहरुको बैठकमा प्रस्तुत गर्छौ र त्यहीबाट अन्तिम निर्णय हुन्छ ।’ एकतापछि बन्ने नयाँ पार्टीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणासँगै नेपालमा लोकतान्त्रिक राजनीतिक आन्दोलनको एउटा चरण आधारभूतरुपमा पूरा भएको समान बुझाई राख्ने बताइएको छ । यो एकताले नेपालमा एक वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने नयाँ शक्ति निर्माणको आवश्यकतालाई एक हदसम्म पूरा गर्ने वार्तामा सहभागी नेताहरुको बुझाई छ ।

यस्तो हुनेछ संगठनात्मक सिद्धान्त
नयाँ पार्टीको राजनीतिक मार्गदर्शक सिद्धान्त समुन्नत समाजवादउन्मुख वाम लोकतन्त्र हुने विधान लेख्दै गरेका नयाँ शक्तिका एक नेताले जानकारी दिए । ‘यहाँ वाम शब्दले पार्टीको प्रगतिशील अग्रगमनकारी र अविचलित जनपक्षीय भावनाको अभिव्यक्ति गर्दछ र लोकतन्त्रलाई हामीले उदार वा प्रतिनिधिमुलक लोकतन्त्रको अर्थमा नभई सहभागितामुलक र प्रत्यक्ष लोकतन्त्रका रुपमा प्रयोग गरिएको छ,’ ती नेताले भने । उनले नयाँ समाजवाद राज्य नियन्त्रित समाजवाद नभई समुदाय वा समाज केन्द्रित समुन्नत समाज हुने बताए । यस्तो समाजवादलाई नयाँ शक्तिले समुन्नत समाजवादको नाम दिएको थियो । नयाँ पार्टीले नयाँ शक्तिले अबलम्बन गरेको पाँच ‘स’को अवधारणालाई अबलम्बन गर्नेछ ।

नयाँ पार्टीको विधानमा पनि नयाँ शक्तिले व्यवस्था गरेजस्तै पार्टीको सम्पूर्ण तहमा प्रत्यक्ष मतदानको आधारमा नेतृत्व चयन गर्ने, शक्तिको निक्षेपीकरणलाई प्रोत्साहन गरिने, पार्टी सदस्यलाई नो भोट र प्रत्याह्वानको मत सुरक्षित गरिने प्रावधानहरु राख्नेबारेमा छलफल चलिरहेको ती नेताले जानकारी दिए ।

यसैगरी समानुपातिक समावेशी र सहभागितामुलक प्रतिनिधित्व, पदको मतदान गोप्य विचारको खुल्ला मतदान, बहुहमतको कार्यान्वयन, अल्पमतको सम्मान, शक्ति पृथकीकरणको प्रयोग, राजकीय मनोनयन र पदका लागि आन्तरिक निर्वाचन, मनोनित विभाग, स्थायी र दक्ष कर्मचारी, व्यक्त हैन पद पूर्णकालीन, एक व्यक्ति एक पद, दुई कार्यकाल र स्वायत्त, सबै कमिटी स्वायत्त बनाइने र रचनात्मक आंगिक संगठन नयाँ पार्टीका विशेषता हुनेछन् ।

संघीय ढाँचामा पार्टीको स्वरुप
एकीकरणपछि बन्ने पार्टी संघीय ढाँचाको पार्टी बन्ने विधान निर्माणमा सक्रिय नेताले जानकारी दिए । संगठनहरु प्रत्यक्ष लोकतन्त्रमा आधारित हुने र राज्यको शासकीय ढाँचामा समेत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको मान्यतालाई स्थापित गर्न जोड गरिने कुरा नयाँ पार्टीको विधानमा उल्लेख हुनेछ ।

आठ तहको केन्द्रीय निकायहरु रहने नयाँ पार्टीमा महाधिवेशन, संघीय परिषद्, संघीय समिति, संघीय सल्लाहकार समिति तथा पार्टी संरक्षक समिति, संघीय अनुशासन आयोग, संघीय लेखा परीक्षण आयोग, संघीय निर्वाचन आयोग र संघीय विभागहरु रहने व्यवस्था हुनेछ ।

संघीय समिति अर्थात् केन्द्रीय समितिमा एक अध्यक्ष, ३ सहअध्यक्ष, ७ उपाध्यक्ष, ३ महासचिव, ७ उपमहासचिव, ७ सचिव र एक कोषाध्यक्ष रहने र केन्द्रीय समिति ३०१ जनाको रहनेगरी तयारी भइरहेको वार्तामा सहभागी एक नेताले जानकारी दिए । केन्द्रीय समितिमा ८० प्रतिशत सदस्यहरु प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था गर्न लागिएको उनले बताए । मनोनित हुनेमा समानुपातिक प्रतिनिधित्व र १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नेहरुबाट छनौट गरिने व्यवस्था विधानमा रहनेछ । यसैगरी कुल मनोनित मध्य पचास प्रतिशत नबढ्नेगरी वैकल्पिक सदस्यको व्यवस्था गरिने व्यवस्थालाई अबलम्बन गर्नेगरी विधान तयार भइरहेको ती नेताले बताए ।

नयाँ पार्टीले विशेष संरचना तथा स्थानीय तहको रुपमा जिल्ला समन्वय समिति, निर्वाचन क्षेत्र समन्वय समिति, गाउँपालिका/नगरपालिका समिति/वडा समितिहरु र गैरभौगोलिक विशेष समितिको पनि व्यवस्था गर्ने तयारी गरेको छ । केन्द्र र प्रदेशको निर्वाचन ४/४ वर्षमा गर्ने तयारी गरेको नयाँ पार्टीले गाउँ, नगर, वडाको अधिवेशन भने २/२ वर्षमा गर्ने तयारी गरेको छ । लगातार दुई कार्यकालसम्म मात्र एकजना व्यक्ति अध्यक्ष बन्न पाउनेछ ।

नयाँ पार्टीले जनसंगठन र पार्टी संयन्त्रहरु निर्माण गर्ने तर त्यसलाई संगनात्मक क्षेत्रमा भने आफ्नै विधानअअनुरुप चल्न स्वतन्त्र छाड्ने नीति अख्तियार गर्ने बताइएको छ । पार्टीको झण्डामा भने नयाँ शक्तिको रातो पृष्ठभूमिमा बीचमा सेतो रंगको पाँच कुने तारा भएको चिन्हलाई नै कायम गर्ने सहमति नजिक वार्ता टोलीका सदस्यहरु पुगेको वार्तामा सहभागी एक नेताले जानकारी दिए ।

 

photo

NOC1-250x300