people Nepal » थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक परीक्षण’ थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक परीक्षण’ – people Nepal

थवाङबाट विप्लवको नयाँ ‘राजनीतिक परीक्षण’

netra-bikram-chand_M3XsUAihlg

नेत्र पन्थी रातोपाटीका समाचार सम्पादक हुन् । 

काठमाडौंमा देउवा–प्रचण्ड केमेस्ट्री, थवाङमा विप्लव र देउवाका कार्यकर्ताको सहकार्य

काठमाडौं – देशभर स्थानीय तहको चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीले केही ठाँउमा चुनावलाई रणनीति रुपमा उपयोग गरेको पाइएको छ । रोल्पा र पाल्पा लगायतका केही जिल्लामा सो पार्टीले स्वतन्त्र रुपमा आफ्ना नेतालाई उम्मेदवार बनाएको छ । यद्यपि पार्टीको स्थानीय नेतृत्वले विज्ञप्ती निकालेर चाहीँ ती आफ्ना पार्टीका नेता–कार्यकर्ता नरहेको बताएको छ ।
 
युद्धकालदेखि नै माओवादीको आधार इलाका मानिने रोल्पाको थवाङमा नेकपाका एक कार्यकर्ताले गाउँपालिका प्रमुखमा आफ्नो उम्मेदवारी दिएका छन् । थवाङ गाउँपालिकामा विप्लव पार्टीका युवा नेता अमित घर्ती मगरले गाउँपालिकाको अध्यक्षका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

केही महिना अगाडि थवाङमा पार्टी महाधिवेशन गरेर विप्लवले थवाङलाई आफ्नो पार्टीको हेडक्वाटर बनाउन खोजेका थिए । उनले हेडक्वाटरमाथिको अरुलाई ‘कब्जा’ गर्न दिन तयार भएनन् । यो पक्कै पनि विप्लवले आफ्नो राजनीतिको रणनीतिक प्रयोग गरेका हुन् ।

 
उम्मेदवारी दर्तापछि नेकपा रोल्पाका पार्टी सेक्रेटरी जागृतले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाल दोस्रो चरणको चुनावी नाटक मंचन भैरहेको सन्र्दभमा आज थवाङमा हाम्रो पार्टीको तर्फबाट उम्मेदवार मनोनयन  भनेर भ्रमपूर्ण समाचार भैरहेको प्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीका तर्फबाट उम्मेदवार भनेका व्यक्तिहरु हाम्रो पार्टीको नभई दलाल संसदीय व्यवस्थाको भ्रमजालमा परेका व्यक्तिहरु हुन् ।’ विज्ञप्ती मार्फत नेकपाले औपचारिक रुपमा उम्मेदवारी दर्तालाई अस्वीकार गरेको छ ।
 
तर, एक पृष्ठ लामो विज्ञप्तीमा ती व्यक्तिहरुमाथि कारवाही गरिएको चाहीँ कतै उल्लेख छैन । यही नेर छ विप्लवको नयाँ राजनीतिक परीक्षणको कथा ।


 
चुनावका विषयमा विप्लवले आफ्ना पार्टीका नेता–कार्यकर्तासँग कहिलेकाही अनौपचारिक कुराकानी गर्थे । यहीँ कुराकानीमा उनले केही तथ्यहरु राख्थे, जुन उनको चुनावबारेको धारणा बुझ्न मद्दतदायी देखिन्छन् । विप्लवले यस्ता भेटमा चुनावलाई जीवनमरणको सवाल नबनाउ भनेका थिए । उनको बुझाई के थियो भने, ‘चुनाव सक्रिय बहिस्कार गरौँ, चुनाव हुँदा हामीलाई नै फाइदा हुन्छ तर, यसैलाई जीवनमरणको सवाल बनाउन हुँदैन ।’
 
यति मात्र होइन यस्ता भेटमा विप्लवले ‘एउटै कुरालाई समातेर बस्ने होइन, सबै प्रयोग गर्दै जानुपर्छ’  पनि भन्थे । तत्काल सशस्त्र संघर्षमा जाने अबस्थामा सम्पूर्ण शक्ति लगाएर चुनाव भाँड्ने रणनीति लिन सकिने विप्लवसँग विकल्प थियो । र, त्यस्तो खालको जनशक्तिपनि थियो । तर, यो प्रयोगमा विप्लव गएनन् । अर्थात चुनाव बहिस्कार पनि गर्ने र हुन पनि दिने बाटो लिए । यो उनको राजनीतिमा नयाँ प्रयोग हो । गृहमन्त्रालयले पनि पहाडी जिल्लामा विप्लवको पार्टी चुनौतिपूर्ण रहेको भनेर उनको शक्ति स्वीकार गरेको थियो ।
 
थवाङ रोल्पाको पनि रोल्पा । अर्थात, माओवादी आन्दोलनको विरासत । अहिले विप्लवले आफुलाई माओवादी आन्दोलनको मुल विरासत ठान्छन् । यस्तो ठाँउमा स्थानीय सत्ता काँग्रेस, माओवादी वा एमालेको हातमा जान दिनु कति उपयुक्त हुन्छ ? यो विषयमा पक्का पनि विप्लवले सोचेका थिए । केही महिना अगाडि थवाङमा पार्टी महाधिवेशन गरेर विप्लवले थवाङलाई आफ्नो पार्टीको हेडक्वाटर बनाउन खोजेका थिए । उनले हेडक्वाटरमाथिको अरुलाई ‘कब्जा’ गर्न दिन तयार भएनन् । यो पक्कै पनि विप्लवले आफ्नो राजनीतिको रणनीतिक प्रयोग गरेका हुन् ।
विप्लवले उठाएको एकीकृत क्रान्तिमा थवाङका जनताको मत के छ ? परीक्षण हुन बाँकी छ । दोस्रो संविानसभामा बहिस्कार मार्फत थवाङले वैद्य–विप्लवको राजनीतिलाई समर्थन गरेको थियो । विप्लवको यो नयाँ प्रयोगलाई थवाङले कसरी लिन्छ ? असार १४ को मतदानको दिन हिसाब आउँला ।
 
स्वतन्त्र उम्मेदवारमार्फत विप्लवले केही विषय परीक्षण गर्न खोजेका हुन सक्छन् । यदि चुनावलाई त्यहाँका जनताले बैधानितका दिएर स्वतन्त्र उम्मेदवारलाई जिताए भने विप्लवका लागि भविष्यमा चुनावी राजनीतिको आधार र सम्भावना पनि तयार हुन्छ । विप्लव जस्ता राजनीतिक खेलाडीले यो कुरा बुझ्ने नै भए । र, नारा तथा कार्यनीति बदल्नका लागि यसले नजिर पनि तयार गर्न सक्छ । जसरी अहिले वैद्य माओवादी चुनावमा आयो ।
यति मात्र होइन, राजनीतिक कोर्स र आर्दश छाडेको गंभीर आरोप विप्लवले प्रचण्डमाथि लगाएका छन् । यस्तो अवस्थामा थवाङमा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले चुनाव जित्यो भने त्यो विप्लवका लागि चुनौति हुन सक्थ्यो । विप्लवले यो कोणबाट पनि हिसाव गरेका होलान् । अझ् महत्वपूर्ण प्रश्न थवाङमा भएको काँग्रेससँगको तालमेलले विप्लवले भविष्यमा ‘प्रधान दुश्मन’ र ‘सहायक दुश्मन’ सँग कति संघर्ष र कति सहकार्य गर्ने भन्ने सन्देश पनि दिएका छन् । काठमाडौंमा देउवासँग प्रचण्डको केमेस्ट्री मिल्ने उता थवाङमा विप्लव र देउवाका कार्यकर्ताबीच सहकार्य हुने । यो अनौठो राजनीतिक प्रयोग दुर्लभ परिघटना हो र हुनेछ ।
 
थवाङसँग विप्लवको अर्को नाता छ । उनले थवाङ महाधिवेशनबाट आफ्नो पार्टीको नाम फेरेका छन् । काठमाडौंमा जनयुद्ध दिवस पारेर उद्घाटन गरिएको विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र फागुन ५ गतेबाट रोल्पाको थवाङमा भएको थियो । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जहाँ पार्टीको नाम परिवर्तन गर्ने प्रस्ताव थियो र कारण पनि । थवाङ जाँदा माओवादी थियो, विप्लवको पार्टी । अनि फर्कदा नेपाल कम्युनिष्ट पार्टी मात्र । नाम फेरेर पनि विप्लवले राजनीतिमा एउटा प्रयोग गरेका छन् ।
 
२०५१ सालमा एकता केन्द्रमा विभाजन भएपछि बहुमत केन्द्रीय सदस्यले पार्टीको नाम नेकपा माओवादी बनाएका थिए । यद्यपि त्यतिबेला निर्मला लामा समूहले भने एकता केन्द्रकै नामममा पार्टी चलाएको थियो । त्यसबेला नेकपा माओवादी नाम प्रयोग गर्दा सार र रुप मिल्न गएको थियो । त्यसकारण माओवादी नाम ठीक थियो भन्ने विप्लवको बुझाई थियो । ‘जनयुद्ध र संविधानसभाको पहिलो चुनावमा आउँदासम्म माओवादी पार्टीको पहिचान, बलिदान देश र जनताको रक्षक तथा सत्य र न्यायको प्रतीक जस्तो थियो । जब शान्ति प्रक्रियामा प्रचण्ड र बाबुरामले आत्मसर्मपण र विर्सजनको बाटो समाते र ती नेताको आर्थिक जीवन रहस्यमय बन्दै गयो । पैसाका लागि तस्कर, दलाल, कमिसनखोरसँग साँठगाँठ बढ्दै गयो, तब माओवादी जनताको आँखामा नराम्रो हुँदै गयो ।’ विप्लवको भनाई थियो, ‘माओवादीका दुश्मनहरुले योजनाबद्ध रुपले सञ्चारमाध्यम र प्रचारप्रसारबाट माओवादीलाई बदनाम गर्दै जाने नीति अपनाए । कहिलेकाहीँ साना घटनामा पूर्वलडाकु जोडिए पनि त्यसलाई अनावश्यक रुपमा बढाइबढाई प्रचार गर्ने गरियो ।’ पार्टीको नामबाट माओवादी हटाउनुको कारण खोल्दै विप्लवले लेखका छन् ।
 
यति मात्र होइन, ‘भित्री विचलन र बाह्य हमलाबाट पछिल्लो समयमा माओवादीलाई विचलन र विकृतिको प्रतीक बनाउन खोजिएको छ ।’ भन्ने उनको बुझाई थियो । सहज, सरल र सजीव नामका लागि नेपाल कम्युनिस्ट पार्टी राख्नु उपयुक्त हुन्छ भन्ने उनको बुझाई थियो । थवाङ महाधिवेशनमा नाम फेरेका विप्लवले थवाङबाटै नयाँ राजनीतिक प्रयोग गर्ने सम्भावना रहने नै भयो । चुनावको उपयोग पनि यही कडी हुन सक्छ ।
 
माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी आन्दोलनको ‘विरासत’ बचाउन नसकेको विप्लवको ब्याख्या छ । तर, उनी आफै चाहीँ ‘माओवादी’ सँग दूर भए । विप्लवको बुझाईमा प्रचण्ड–बाबुराम लगायतका नेताले ‘माओवादी’ को विरासत धान्न त सकेनन् नै बरु यसलाई प्रदुषित बनाए । ‘माओवादी’ छाड्ने विप्लवको घोषणा मुद्दाबाट भाग्ने कोशिष हो वा आन्दोलनलाई नयाँ शिराबाट उठाउने ‘प्रयास’ थवाङमा चुनावका उपयोगजस्ता विषयमा फेरि प्रश्न उठाउने ठाँउ दिएको छ । त्यहीँ थवाङको बन्दसत्रमा चुनावमा उपयोग गर्ने प्रस्ताव पनि आएका थिए । तर, अन्तिममा चाहीँ बहिस्कारको नीति पास भयो ।
 
एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेर ‘नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद स्थापना’को लक्ष्य राखेको विप्लव नेतृत्वको माओवादीले महाधिवेशनबाट नाम परिवर्तन गर्ने निर्णय आफैमा बहसको विषय थियो । अन्य माअ‍ोवादी धाराका नेताले चाहीँ यसको आलोचना गरेका थिए ।
 
विप्लवले आफ्नो नेतृत्वमा जन्माएको पार्टी शुरु देखि नै चर्चामा रह्यो ।  कहिले ‘भौतिक कारवाही’ त कहिले ‘चन्दा आतंक’ ले विप्लव नेतृत्वको पार्टी चर्चामा आईरहन्छ । उनले आफ्नो नेतृत्वमा पार्टी गठन गर्दासम्म केही प्रयोग गर्दै अगाडि बढेका छन् । थवाङको प्रयोग पनि यसैको शिलशिला मान्न सकिन्छ ।
 
०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बन्यो, नकेपा–माओवादी । प्रचण्ड र बाबुरामसहितका नेतासँग वैद्यसँगै सम्बन्ध विच्छेद गर्नेमा विप्लव पनि थिए । विप्लवलाई त्यसबेला पार्टी विभाजन गराउने एक सूत्रधारका रुपमा प्रस्तुत गरियो ।
 
प्रचण्ड र बाबुरामसँग सम्बन्ध विच्छेद गरेका वैद्य र विप्लवले ०६९ पुस २७ देखि माघ २ सम्म सातौँ राष्ट्रिय सम्मेलन गरे । वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भयो । महाधिवेशनबाट जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा पारित भयो ।
 
वैद्यसँग सम्बन्ध विच्छेद नगर्दै विप्लव पक्षले आफ्नो कार्यशैली भूमिगत सुरु गरेको थियो । पार्टीभित्र पार्टी, सङ्गठनभित्र सङ्गठन र योजनाभित्र योजनाअनुसार विप्लवपक्षको भिन्दै संचरना निर्माणको गृहकार्य, १८ कात्तिकको राति कार्यदिशाअनुसार विप्लवले देशभर ‘वालपेन्टिङ’, ‘नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिउँ, एकीकृत क्रान्तिको सिद्धान्त जिन्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद’ जस्ता नारासहित गरिएको वाल पेन्टिङ गराएका थिए ।
 
‘वाल पेन्टिङ’ लगत्तै २६ र २७ कात्तिकमा कपिलवस्तुको शिवगढीमा विप्लवपक्षीय नेताहरुको गोप्य भेला भयो । प्रत्येक जिल्लाबाट दुई–दुई जना, केन्द्रीय सदस्य र जनवर्गीय सङ्गठनबाट प्रतिनिधित्व रहेको भेलाले विप्लवको प्रस्तावलाई परिमार्जनसहित पारित गर्यो ।

विप्लवको व्यक्तिगत छविले पनि विभिन्न प्रयोगको माग गर्छ । सिद्धान्तमा जति दृढ र कठोर देखिन्छन्, उनलाई बुझ्नेहरुका अनुसार उनी त्यति नै सरल पनि छन् ।  कुशल संगठक र आफुलाई गतिशिल नेतृत्वको रुपमा स्थापित गर्न चाहन्छन उनी ।

 
बूढाहरुबाट क्रान्ति हुन नसक्ने अवस्था आएको भन्दै विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे ।
 
पार्टी मुख्यालय बुद्धनगरमा ८ मङ्सिरमा गएर विप्लव र खड्कबहादुर विश्वकर्माले मोहन वैद्यको माओवादीसँग सम्बन्ध विच्छेद गरेको लिखित पत्र बुझाएपछि आफूपक्षीय नेताहरुको गोप्य वैठक चिवतनमा डाके । ११ देखि १३ मङ्सिरसम्म भएको वैठकले विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन गर्यो । सात सदस्यीय हेडक्वाटर र ६५ सदस्यीय प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति बनाए पनि उनीहरुको नाम भने सार्वजनिक गरिएन । यी सवै माओवादीकै नाममा भए ।
 
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा कालो झन्डा गाड्नेदेखि  एनसेलका टावर हान्नेसम्मका काम विप्लव माओवादीकै नाममा भए । सेभ दी चिल्डे«न र बल्र्ड भिजनजस्ता अन्तर्राष्ट्रिय संस्थामा आक्रमण होस वा  लगानी बोर्डका सीईओ राधेश पन्तको घर घेराउ र वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो दलेर विप्लव माओवादीले चर्चा बटुलेको थियो । अदालत परिसरमै लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने प्रयास नै किन नहोस्, सवै विप्लव माओवादीकै नाममा भएको प्रयोग हुन् । तर, अहिले थवाङको चुनाव चाहीँ अरु नाममा भयो प्रयोग । पार्टीका नाममा पनि होइन, स्वतन्त्रका नाममा ।
 
बेला बेला गृहमन्त्रीलाई ठाडठाडै चुनौती दिएर विप्लवले आफ्नो राजनीतिक कोर्सवारे सनदेश दिन पनि खोजेका छन् । १० माओवादी घटकवीच एकता भएको अर्कोदिन अर्थात जेठ ७ मा काठमाडौंमा शक्तिप्रर्दशन र जेठ २७ मा नेपाल बन्दसँगै विप्लव नेतृत्वको माओवादीले आफ्ना गतिविधि बढाएको थियो । जुन दिन विप्लव माओवादीले नेपाल बन्दको आव्हान गरेको थियो, त्यही दिन एक दैनिक पत्रिकामा भारतीय बामपन्थी पत्रकार आनन्दस्वरुप बर्माको ‘जनयुद्ध–२ को संकेत’ शीर्षकमा लेख नै छापिएको थियो । यसलाई संयोग र अनौठो मान्ने दुवै खालका मानिस थिए ।
 
विप्लवको व्यक्तिगत छविले पनि विभिन्न प्रयोगको माग गर्छ । सिद्धान्तमा जति दृढ र कठोर देखिन्छन्, उनलाई बुझ्नेहरुका अनुसार उनी त्यति नै सरल पनि छन् ।  कुशल संगठक र आफुलाई गतिशिल नेतृत्वको रुपमा स्थापित गर्न चाहन्छन उनी । कार्यकर्तासँग निरन्तर जोडिने र जोखिम मोल्न नडराउने उनको स्वभाव मानिन्छ । सामान्य जीवनशैलीको ठूलो सम्पती हो । सिद्धान्त र व्यवहारबीच तालमेल गराउने प्रयास गर्छन । यी उनका विशेषता मानिन्छन् । यसबाहेक उनका केही कमजोरीबारे पनि चर्चा हुन्छ । धेरैले उनलाई एउटा महत्वकांक्षी नेताका रुपमा बुझ्ने गर्दछन् ।
 
र, समग्रमा विप्लवको अवको प्रयोग के हुन्छ ? यो चाहीँ ठ्याक्कै भन्ने ठाँउ अझै छैन । थवाङबाट थवाङमै बस्ने वा काठमाडौं फर्कने राजनीतिक पण्डितलाई मात्र होइन, उनकै पार्टीका नेता–कार्यकर्तालाई विश्वास छ, थाहा चाहीँ छैन ।