तिहार नआउँदै फूल फूलेपछि समस्या

तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । 

पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । तिहारको समयमा पोखरामा लगभग रु एक करोड मूल्य बराबर फूलको कारोबार हुने गर्छ । यसवर्ष तिहार आउनु झण्डै दुई साता अगावै फूल फूलेका कारण धेरै कृषकलाई चिन्तित बनाएको छ । फूलको व्यावसायिक खेती विकासका लागि पोखरामा पुष्प परामर्श केन्द्र सञ्चालनमा ल्याइए पनि कृषकले त्यसको उपयोग गर्न नसक्दा समस्या भएको फ्लोरीकल्चर एशोसिएसन नेपाल कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वारले बताए ।

“कास्कीमा फूलखेतीतर्फ केही वर्षयता कृषकको आकर्षण बढ्दै गएको छ,” उनले भने, “तिहारका लागि पात्रो नहेरी फूल लगाउँदा यसवर्ष धेरै कृषकका नर्सरीमा फूल फूलिसकेका कारण समस्या भएको छ ।” जिल्लामा फूलखेतीतर्फ कृषकको बढ्दो मोहले व्यवसायिकता लिँदै गएको र एशोसिएसनमा हालसम्म ३६ व्यवसायी आवद्ध भइसकेको उनले जानकारी दिए ।

तिहारलाई लक्ष्य गरी घरको प्रयोजनका लागि पनि फूल लगाउने प्रचलन बढेको पाइन्छ । यस पर्वमा कुकुर, गाई, गोरु जस्ता जनावरको पूजाका साथै घर आँगन गोठ आदिमा माला एवं तोरणमा पनि फूलको प्रयोग हुने भएकोले यसको अत्याधिक खपत हुने गर्दछ ।
पोखरामा तिहारमा ८० प्रतिशत फूल पोखरा र आसपासबाटै आउने गरेको र २० प्रतिशत भारतबाट आयात गर्ने गरिएको द्वारले बताए ।

तिहारका लागि गाउँगाउँमा सयपत्री फूल लगाउने क्रम वर्षेनी बढिरहेको ओमबुद्ध नर्सरी पृथ्वीचोककी सञ्चालिका नरमाया प्रसाईं बताउँछिन् । कास्कीमा पुष्प व्यवसायको विकासलाई लक्ष्य गरी २०६२ मा नै फ्लोरीकल्चर एशोसिएसन गठन भएको संस्थापक अध्यक्ष वसन्त बानियाँले बताए ।(रासस)

 

photo

NOC1-250x300